पोखरा–
साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज?
हातका औँला चाली राख्यौ, को आउँदैछ आज?
हिजो अस्ति उप्किएका घरका छेउ कुना
बिहानदेखि टाली राख्यौ, को आउँदैछ आज?
एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त
सिंगै फूलको डाली राख्यौ, को आउँदैछ आज?
शृंगारिक गजल लेखनमा स्थापित प्रकट पंगेनी ‘शिव’ आफ्ना सिर्जना छाडेर सधैँका लागि बिदा भएका छन्। उनी आफ्ना सिर्जनाजस्तै सरल जिन्दगी बाँचेर गएको पोखरेली कवि रमेश श्रेष्ठ बताउँछन्। प्रकटसँग लामो संगत गरेका कवि श्रेष्ठ वैशाख ५ गते सेती किनारमा उनको अन्त्येष्टिमा भाग लिइरहँदा एकतमास थिए।
“पछिल्लो समय दुःख पाउनुभयो। आर्थिक रूपमा निकै समस्या भयो,” कवि श्रेष्ठ भन्छन्, “अझै १०÷१५ वर्ष बाँच्नुपर्ने मान्छे हो, चाँडै जानुभयो। तर १०–१५ वर्ष बढी बाँचेको भए अझ बढी दुःख पाउनुहुन्थ्यो होला। अझ धेरै राम्रो गीत गजल पनि लेख्नुहुन्थ्यो होला। त्यति आयु लिएर आउनुभएको थियो, जानुभयो।”
भोलिको अप्ठ्यारो परिस्थिति सोचेर प्रकट कहिल्यै चिन्तित हुँदैन थिए। जिन्दगी बाँच्नकै लागि सम्झौता गरेनन्। जस्तो आइपर्छ उस्तै काम गरे। एक थोक होइन अनेकै गरे। अनुभव लिए। तिनै अनुभवलाई साहित्य सिर्जनामा पनि उतारे।
कवि रमेश श्रेष्ठले ४३ वर्षअघि प्रकटलाई अर्कै ‘अवतार’मा भेटेका थिए। २०३३ सालमा रूपाकोटबाट उच्च शिक्षा हासिल गर्न पोखरा झरेका उनले ‘पंगेनी आर्ट’ चलाएका थिए। त्यहाँ साइनबोर्ड लेखिरहेका देखिन्थे। “उहाँसँग मेरो चिनजान २०३८ सालबाट मात्र भएको थियो। म ८/९ कक्षा पढ्थेँ,” कवि श्रेष्ठ भन्छन्, “त्यतिखेर साइनबोर्ड लेख्ने काम धेरै हुन्थ्यो। त्यसैले उहाँ र म जोडियौँ।”
त्यो समय बिँडी तान्ने चलन थियो। ‘हनुमान छाप’ बिँडी कम्पनीका १० वटा साइनबोर्ड बनाउने जिम्मा प्रकटले लिएका रहेछन्। बोर्डमा अक्षर चाहिँ ‘हनुमान छाप बिँडी तान्नुहोस्, फुर्तिलो हुनुहोस्...’ यस्तै केही लेख्नुपर्ने थियो। त्यो बोर्डको साइडमा हनुमानले पहाड उचालेको ठाउँमा, पहाडको सट्टा बिँडी उचालेको बनाउनुपर्ने थियो।
“आर्टमा पहिलेदेखि नै मेरो धेरै रूचि थियो। म स्कुल जाँदाआउँदा उहाँले काम गरेको हेर्थें। हनुमान छाप बिँडीको बोर्ड बनाउन उहाँ धेरै दिन घोरिनुभयो तर काम गर्न सक्नुभएन। एक दिन मैले हेरेँ, दाइले स्केच गर्नुभएको पटक्कै मिलेको थिएन। मलाई चित्र बनाउन दिन भनेँ,” श्रेष्ठ भन्छन्।
प्रकटले पहिला श्रेष्ठको अनुहार क्वारक्वार्ती हेरे। अनि बोले, “भाइले बनाउनुहुन्छ भने बनाइदिनुस्। तपाईंलाई पनि अलिकति पैसा दिउँला। मलाई चित्र बनाउन आउँदैन भाइ, अक्षर मात्रै लेख्ने हो।”
रमेशले चित्र बनाइदिए। प्रकटले अक्षर लेखे। काम बन्यो। त्यसपछि प्रकट र कवि श्रेष्ठको दोस्ती जम्यो।
२०४० सालमा एसएलसी दिएपछि रमेशले काम पर्दा प्रकटलाई सघाउँथे। त्यसबापत केही आम्दानी पनि हुन्थ्यो। २०४४ सालको अन्तिमतिर रमेश अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा काम गर्न थाले। प्रकट कृषि केन्द्रको परियोजनाका लागि लुम्ले गए।
लुम्लेको परियोजना सकिएपछि प्रकट फेरि पोखरा फर्किए। मियाँपाटनमा उही ‘पंगेनी आर्ट मिडिया’ खोले। अनि पोखराकै एक निजी स्कुलमा अध्यापन गरे।
केही समययता भने प्रकटले पोखरा छाडेका थिए। जन्मथलो रूपा गाउँपालिकाको सातमुहाने देउरालीमा होमस्टे सञ्चालन गर्दै आएका थिए। होमस्टेको नाम जुराएका थिए– यशस्वी कटेज। त्यहाँ आउने पाहुनाहरूलाई प्रकट आफैँ खाना तयार पारेर पस्कन्थे। गजलका शेर लेख्न छोडेका थिएनन्।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा उनले सामाजिक सञ्जालमा यस्तो शेर शेयर गरेका थिए–
मनमा राग–पराग भए पो नयाँ वर्ष मनाउनू
भाइरलको प्रकोपले ग्रसित छु, कस्तो खुशी जनाउनू
अर्को वर्ष बाँचिएछ भने तीन दिनअघि माया साटौँला
त्यतिबेला यशस्वी कटेजलाई कटेजजस्तै बनाउनू ।
प्रकट सातमुहाने देउराली गइसकेपछि रमेशसँग भेट पातलियो। साहित्य अनुरागीहरू बेलाबेला यशस्वी कटेज पुगेको जानकारी सामाजिक सञ्जालमा नियालिरहेका थिए। हठात! प्रकट बिरामी भएको खबर सुने।
“म त झसंगै भएँ। त्यसपछि मनिपाल अस्पतालमा भेट्न जाँदा साह्रै सिकिस्त हुनुहुन्छ भन्दाभन्दै ३ बजेतिर उहाँ सकिनुभयो। उहाँसँग छुट्टै प्रेम थियो है!” उनी भन्छन्, “अब वर्णन गरेर साध्य छैन। वर्णन गरेर पनि सक्दिनँ होला। भोलि हामी मरेपछि पनि अरूले त्यस्तै भन्छन्। उहाँलाई श्रद्धासुमन व्यक्त गर्नबाहेक अरू के नै गर्न सक्छौं!”
लेखक तीर्थ गुरुङ प्रकटसँग नजिक हुन नपाएकोमा थकथकी मान्छन्। भेटमा आत्मीयता साट्नेबाहेक नजिकिएर सम्बन्ध गाँस्न नपाउँदै उनी फ्याट्टै गइहालेको गुरुङले बताए। “प्रत्येक भेटमा मेरो स्वास्थ्यको विषयलाई लिएर चिन्ता गर्नुहुन्थ्यो। माया गर्नुहुन्थ्यो। नजिकिएर जीवनजगतबारे कहिल्यै कुरा गर्न पाइएन,” गुरुङ भन्छन्।
प्रकटका गीत, गजल र कविताका प्रशंसक धेरै छन्। पछिल्लो समय उपन्यास लेखिरहेका थिए। त्यो उपन्यासको पाण्डुलिपि उनले पूरा गरे वा गरेनन् तीर्थ यकिनसँग भन्न सक्दैनन्। “मेरो किताब प्रकाशन भइसकेपछि उहाँले आफू पनि उपन्यास लेख्दै गरेको भन्नुभएको थियो। उहाँको उपन्यासको पाण्डुलिपि छाडेको हुनुपर्छ,” गुरुङ भन्छन्।
प्रकटको ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’ गरी दुई गीत संग्रह, ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह र ‘अक्षरभरि अक्षता’ कवितासंग्रह प्रकाशित छन्। प्रकटले रचना गरेका करिब ५० गीत रेकर्ड भएका छन्।
आउ पीर लुकाएर खुशी खोज्न जाउँ कतै
पाइन्छ कि एकैछिनलाई हाँसो पाउने ठाउँ कतै
लेखक गनेस पौडेल प्रकटको यो गीतबाट प्रभावित छन्। “धेरै राम्रा गीतहरू सिर्जना गर्नुभयो। मैले स्कूलमा धेरै बच्चाहरूलाई उहाँको गीत उपहार पनि दिएको छु,” पौडेल भन्छन्।
पोखरेली साहित्यका ‘त्रिमूर्ति’का रूपमा आफूले सरुभक्त, तीर्थ श्रेष्ठ र प्रकट पंगेनीलाई मानेको उनले सुनाए। तर बेपरबाह मदिरापान गर्ने प्रकटको बानी उनलाई निको लाग्दैन थियो। “हौसिने बानी अलि खराब थियो। आर्थिक रूपमा एकदमै कमजोर भइसक्नु भएको थियो। खर्चालु स्वभाव थियो। रक्सी एकदमै खाने, अराजक। उहाँले पारिवारिक व्यवस्थापन गर्न पनि सक्नुभएन,” उनी भन्छन्।
शृंगारिक गजल लेख्ने प्रकट शेरहरूमा गुमनाम प्रेमिका ‘अन्ना’को बखान गर्थे। गजलमा प्रयोग गर्ने बिम्बका कारण उनलाई सुन्न रूचाउनेहरू धेरै थिए।
लेखक सरस्वती प्रतीक्षा राम्रा सर्जक र मायालु अंकलको रूपमा चिनेको बताउँछिन्। पोखरेली युवा सांस्कृतिक परिवारमा सक्रिय छँदा प्रतीक्षा र प्रकटबीच चिनाजानी भएको थियो। चिनाजानी गराउने स्रष्टा सरुभक्त थिए।
लेखक प्रतीक्षालाई त्यो पलको स्मरण अझै ताजै छ– साहित्यकार सरुभक्तले ‘मेरी छोरी’ भनेर चिनाउँदा कतिपय साथीहरू रनभुल्लमा परेको देखिन्थे। उनी भन्छिन्, “तर त्यो सबैमा प्रकट पंगेनी ‘शिव’ मात्र यस्तो हुनुहन्थ्यो, बाबाले मेरी छोरी भनेर चिनाउना साथ ‘साथीकी छोरी, मेरी पनि छोरी’ भनेर आत्मीयताले मलाई अंगाल्नुभयो र सधैँ छोरी नै भनिरहनु भयो।”
उनले पनि सधैँ ‘अंकल’ भनेर सम्बोधन गरिन्। प्रकटले लेखकको आँखाले भन्दा पनि बढी ‘साथीकी छोरी’ भन्ने आँखाले प्रेम गरेको महसुस हुन्थ्यो उनलाई।
तर प्रकटको कविताबारे उनका केही विमति छन्। “कविता लेख्दाका ती दिनहरूमा प्रकट अंकलका कविताहरू बढी गृहस्थी जस्ता लाग्थे। उहाँ घर व्यवहार र सम्बन्धका आयामहरूमा कविता सुनाउनुहुन्थ्यो,” उनी भन्छिन्, “मेरो रुझान तत्कालीन अवस्थामा अलि बढी बौद्घिक र प्रयोगधर्मी कविताहरूमा थियो।”
यसर्थ साहित्यिक संगत भने प्रकटसँग अलि नजमेको उनी बताउँछिन्। यद्यपि, अनुज पुस्तालाई प्रेरणा दिएर उनले पोखरामा धेरै गीतकार जन्माए। “उहाँले हृदय निचोरेर लेखेका कतिपय गीतहरूलाई धेरैले हृदयको कुनामा सधैँका लागि सजाएर राखेका छन्। उहाँका गीतहरू र गीतकार व्यक्तित्व मलाई सबैभन्दा बढी सशक्त पाटो लाग्छ,” उनी भन्छिन्।
शृंगारिक गजल र स्टेज तताउने नाममा उहाँले ‘अर्कै लय’ समातेपछि आफ्नो विमति रहेको उनको भनाइ छ। एकदमै अव्यवस्थित र लापरवाह जिन्दगी बाँचेको पनि उनले कहिल्यै मन पराइनन्। “बाबा सरुभक्त र कवि तीर्थ श्रेष्ठका मुखबाट उहाँबारे यति धेरै कुराहरू बारबार सुनेकी छु कि कहिलेकाहीँ त ती किस्साहरू बटुलेर केही लेखे संस्मरणको मोटै किताब बन्छ जस्तो लाग्छ। हुन त आफ्नै आँखाअगाडि उहाँलाई घाटमा बलेको देखेर आएकी हुँ,” उनी भन्छिन्, “तर घरीघरी प्रकट अंकल जानु भो भनेर अझै विश्वास गर्न सकिरहेकी छैन।”