Monday, April 29, 2024

-->

स्वाभाविक मृत्यु स्वीकार्न सिकाउने यमपञ्चक

कुनै न कुनै रूपमा एक दिन काल अवश्य आउँछ र हामी सबैलाई टपक्कै टिपेर लैजान्छ। संसारका सबै मानिस एकजुट भएर लडे पनि मृत्युविरुद्धको युद्ध जित्ने सामर्थ्यको कल्पना गर्नु व्यर्थ छ।

स्वाभाविक मृत्यु स्वीकार्न सिकाउने यमपञ्चक

संयोगवश मेरो जन्मदिन यस्तो समयमा पर्छ जतिबेला सबैले अकाल मृत्युको भयबाट छुटकारा पाउन देशभर दीप प्रज्ज्वलन गरिरहेका हुन्छन्। मृत्युका देवता यमको पूजा र उत्सवका साथ तिहारको भव्य स्वागत गरिएकै बेला जन्मदिन मनाउन पाउँदा मलाई मनमनै एक किसिमको आनन्द आउँछ। मेरै लागि नभए पनि म जन्मँदा दीपावली भएको थियो भनेर सम्झँदा खुशी हुने एउटा कारण थपिएको पाउँछु।

यो खुसियालीको समयमा मेरो मनमा दुई वटा प्रश्न खेलिरहेका छन्– मृत्यु र अकाल मृत्यु कति फरक छ? पूजा–आराधनाले मृत्युमाथि विजय दिलाउँछ त? पछिल्ला केही वर्षयता जब तिहार लाग्छ तब म यही सोच्ने गर्छु। दुई वर्षअघि मैले त्यस्तै केही पात्रहरू भेटेकी थिएँ जसलाई नोटमा टिपेकी रहेछु। राष्ट्रिय जनगणनाको सुपरिवेक्षक भएर काम गरिरहँदाको कुरा हो। चितवनको एक बस्तीमा, पूर्वपश्चिम राजमार्गछेउमै एउटा सानो चिटिक्क परेको घर रहेछ। घरधुरी सूचीकरण प्रयोजनका लागि त्यहाँ पुगेकी मैले एक जना वृद्ध बुवालाई देखेर कामकै सिलसिलामा सोधेँ– घरमा को को बस्नुहुन्छ बुवा?

मेरो सोधाइ नितान्त पेसागत थियो। तर जसलाई सोधेकी थिएँ, उहाँले व्यक्तिगत चासोकै रूपमा लिनुभएछ। जवाफमा बडो गम्भीर भएर भन्नुभयो, "म, आमा अनि एउटी नातिनी मात्र छे नानी। सानो नाति थियो, बिचरा यै आँगनमा खेल्दाखेल्दै बसले किचिदियो।" त्यति भनेर बुवाले बरर आँसु झार्नुभयो। अघिसम्म कति सहज भएको मलाई त्यति सुनेपछि भने साह्रै नमज्जा लाग्यो। थप प्रश्न केही सोध्नै सकिनँ।

म चुपचाप बसिरहेको देखेर बुवाले आफैँ बाँकी कुरा सुनाउनुभयो। उहाँका छोरा पोखरातिर र बुहारी विदेशमा बस्दा रहेछन्। दुर्घटनामा नाति गुमाउँदाको पीडा भने कहिल्यै नछाड्ने गरी मनमै गढेर बसेको थियो। बुवालाई सान्त्वना दिने शब्दको अभाव भयो मसँग। निसासिँदो श्वासले सकेसम्म त्यो परिस्थितिबाट भाग्न संकेत गर्दै थियो। किनकि म मृत्युसँग असाध्यै डराउने मान्छे हुँ। मृत्यु साक्षात्कार गरेपछि कोही कहिल्यै फर्केर आउँदैन भन्ने सत्य स्वीकार्न मलाई सारै गाह्रो हुन्छ र उत्तिकै पीडाबोध पनि।

हतारमा आफ्नो काम सकेर बुवाको मलिनो अनुहारमा आफ्नो पिन्चे हाँसो मिसाई 'आफ्नो ख्याल राख्नुहोला बुवा' भनेर म त्यस घरबाट बिदा भएँ। हरेक दिन हजारौँ यात्रुलाई पूर्व–पश्चिमका गन्तव्यतर्फ डोर्‍याउन व्यस्त राजमार्ग। सुबिस्तापूर्वक जिउने सपना पूरा गर्न त्योसँगै जोडेर बनाएको आवासको आँगन नै नातिको चिहान बनेको हेर्न विवश बुवाको अनुहार मेरो मनमा एक तमास आइरह्यो। तर केही घरहरू सूचीकरण गर्न बाँकी नै थियो। डुल्दै जाँदा अर्को उस्तै कथाले मलाई पर्खिइरहेको रहेछ।

उमेरले ३५ कटेका एक जना दाजु उही राजमार्गमा भएको दुर्घटनाबाट अपांग भएर वृद्ध आमाबुवाको सहारामा जीवन काटिरहेका रहेछन्। दुर्घटनाले अपांगता दिएसँगै श्रीमतीले अर्को बिहे गरेर धोका दिएको कथा ती दाजुकै अगाडि उहाँकी आमाको मुखबाट सुन्नुपर्‍यो। आडैमा बसेर सपनासरि उजाडिएको आफ्नो कथा सुनिरहेका ती दाजुको पीडाको नदी उहाँको आँखाबाट बगिरहेको थियो। त्यो देख्दा विचलित भएको मनले थप काम गर्ने आँट र अनुमति दुवै नदिँदा म घर फर्किएँ।

त्यसयता मैले हरेक मृत्युलाई नियाल्न थालेँ। मेरो चिनजानकी एक जना आमा हुनुहुन्छ जसले आफ्नो १७ वर्षका छोरा गुमाउनुभयो। हरेक दिनजसो ती आमा रुँदै बिलौना गर्नुहुन्छ– मेरो बाबु भएको भए यस्तो गर्थ्यो, अहिले यति वर्षको हुन्थ्यो आदि इत्यादि। मनमा बाँचिरहेको छोरालाई बिर्सेर ती आमा हाँसेको मैले कहिल्यै देखेको छैन।

कोही मानिसले मृत्यु चाहँदैन। तर मृत्युलाई कसैले टार्न पनि सक्दैन। कवि शिरोमणि लेखनाथ पौड्यालको कविता नै छ– "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,  इन्द्रै बिन्ती गरून् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो" कुनै न कुनै रूपमा एक दिन काल अवश्य आउँछ र हामी सबैलाई टपक्कै टिपेर लैजान्छ। संसारका सबै मानिस एकजुट भएर लडे पनि मृत्युविरुद्धको युद्ध जित्ने सामर्थ्यको कल्पना कदापि सम्भव छैन।   

त्यस दिन भेटिएका पात्रहरूका पीडासँग म अहिले पनि बेलाबेला युद्ध गर्दै छु। अकालमा आफ्ना सन्तान गुमाएका आमाबुवालाई हेर्छु। लाचार र बीभत्स मृत्यु कुरिरहेकाहरूको भिडमा आफैँलाई उभिएको देख्छु। कतै मृत्युको शोक मडारिएको त कतै मृत्युसँग पनि खुशी मनाइँदै गरेको दृश्य पाउँछु। यो सबै हेर्दा मृत्युको भयलाई जितेरै छाड्ने भोक जाग्दै गएको छ।

त्यही क्रममा यसपालि एक आफन्तको घरमा भइरहेको स्रोह्रश्राद्धमा पुगेकी थिएँ। दिवंगत व्यक्तिको परिवारका  सदस्यहरू श्राद्ध सकिएपछि 'पितृ प्रसाद' खाइपिई कुराकानी गर्दै खुशी मनाइरहेका थिए। उनीहरू श्रद्धाका साथ आनन्दले आफ्नो पितृलाई सम्झँदै पनि थिए। यस्तो लाग्थ्यो कि त्यहाँ मृत्युको एक उत्सव भइरहेको थियो। श्राद्धका सहभागी हामी सबैले अकाट्य सत्यका रूपमा एकनासले पर्खिइरहेको अन्तिम साझा गन्तव्य पनि उही थियो– मृत्यु।

संसारका सबै मानिस मृत्युदेखि भयभीत छन्। त्यही मृत्यु कतै उत्सवमय छ। कतिले बाँच्न सकस भएर मृत्युको याचना गरिरहेका छन्। कतै त्यही मृत्युको यादले बाँचेकाहरूलाई पनि ज्युँदै मारिरहेको छ। मृत्यु एक भए पनि यसका रूप अनेक हुँदा रहेछन्। हरेक जीवनको छाया बनेर उभिएको मृत्युको कल्पना गर्दा यस्तो लाग्छ– शरीरको भित्र र बाहिर आवागमन गरिरहेको सास छुटेर जब हावामा हराउँछ तब मृत्यु नामको एउटा चिठ्ठी लासको नाममा कोरिन्छ।

अनेक सपना साँचेर बाँचिरहेका मानिसहरूको आफ्नै छायाजस्तो रहेछ मृत्यु। जबसम्म एक मुठी सास बाँकी रहन्छ तबसम्म छायाले पछ्याइरहन्छ। छायाको धर्म हो सधैँ सँगै रहनु। मृत्युले जीवनलाई उसै गरी यति गहिरो प्रेम गर्छ कि जुनीजुनी साथ दिन्छु भन्ने आफ्ना प्रिय/प्रेयसीलाई पनि माथ गर्दै उसले अन्ततः सबै जीवनहरूलाई सोहोरेर सधैँलाई आफ्नो बनाउँछ। प्रेमका वाचालाई छेक्ने सर्वशक्तिशाली चुनौती केही छ भने त्यो केवल मृत्यु नै हो।

जीवनसँगै जन्मिन्छ मृत्यु
दार्शनिक सुकरातलाई विष खुवाउने जब निश्चित भयो तब उनका सबै चेलाहरू अगाडि बसेर रोए। मर्न तम्तयार सुकरातमा दुःखको लेस मात्र पनि थिएन। उनले चेलाहरूलाई सोधेछन्, "तिमीहरू किन रोएको?" चेलाहरूले रुँदै भनेछन्, "अब तपाईंलाई विष दिन्छन् र तपाईं मर्नुहुन्छ।" त्यसपछि सुकरातले बडो आनन्दका साथ भनेछन्, "त्यसो भए त जुन दिन म जन्मिएँ त्यसै दिन पो तिमीहरू रुनु पर्थ्यो त! किनकि जन्मेकै बखत म मर्ने निश्चित भएको थियो। म जन्मेको थिइनँ भने मेरो कहिल्यै मृत्यु पनि हुँदैनथ्यो। त्यसकारण मृत्युलाई जन्मको सुखद अन्त्य मानेर आनन्दित महसुस गर्नुपर्छ।" तर यहाँ सबै सुकरात हुन सक्दैनन्।

यो सत्य बुझ्न कसरी सम्भव हुन्छ? सायद कोही प्रियजन अकालमै गुमाएकाहरूलाई सोध्नुपर्ला। प्राण धड्किनु र रोकिनु बीचको जुन क्षण छ त्यो जीवन हो  या मृत्युको भयबाट भाग्ने अर्को बहाना? जीवनको अर्थ बुझ्न योगी, तपस्वी, भिक्षु वा ज्ञानी बन्नै पर्छ? त्यागमार्गमा लागेका साधुसन्तहरूले यो सबै कुरालाई जितेका हुन्छन् त? यी त सबै मेरो मनका प्रश्नहरू भए। फेरि पनि म जति जति गहिरोसँग मृत्युलाई सोच्छु त्यति नै मलाई आफ्नै जन्मदिन र तिहारको याद आउँछ।

तिहारको महिमा र मृत्युको भय
म सानै छँदा दशैँको अन्तिममा पर्ने कोजाग्रत पूर्णिमा अर्थात् शरद पूर्णिमाको दिन हजुरआमाले आकाशे दीप बाल्नुहुन्थ्यो जुन कार्तिक शुक्ल द्वादशी (हरिबोधिनी एकादशीको भोलिपल्ट) हवन गरेर दीपदान गरेपछि सम्पन्न हुन्थ्यो। उहाँ सधैँ भन्नुहुन्थ्यो– आजबाट धर्तीमा लक्ष्मी माताको आगमन हुन्छ। आकाशको शीतबाट अमृतको वर्षा हुन्छ। खानामा त्यो शीत पारेर खानुपर्छ, जाग्राम गर्नुपर्छ। त्यसैले यस दिनबाट अकाल मृत्युको भय हुँदैन। दुःख दरिद्रताबाट मुक्ति मिल्छ, शान्ति-समृद्धि आउँछ।

यही आस्थाका साथ उहाँ दीप जलाउनुहुन्थ्यो। बाँसको लिंगोमाथि बलेको त्यो बत्तीको उज्यालो हेर्दा लक्ष्मी आउँछिन् भन्ने हामी पनि मान्थ्यौँ। यसैगरी कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथिका दिनबाट कार्तिक शुक्ल द्वितीया तिथिसम्मका पाँच दिन मनाइने तिहारका हरेक दिनको आआफ्नै कथा प्रसंग छ। मृत्युका देवता यमराज र उनका प्रतिनिधि मानेर पूजा गरिने काग, कुकुर सबैको एउटा साझा भाव छ– अकाल मृत्युको भय नहोस्।

कृष्णपक्षको त्रयोदशी तिथिका दिन धन्वन्तरि देवताको पूजा गरिन्छ जसलाई आजभोलि धन्तेरस पनि भनिन्छ। सानो छँदाका यससम्बन्धी प्रसंग मलाई खासै याद भएन। तर हजुरआमा भन्नुहुन्थ्यो– धन्वन्तरि देवता (वैद्य राज) समुद्र मन्थनबाट उत्पत्ति भएका थिए। उनले रोगव्याधि र अकाल मृत्युबाट बचाउन सक्थे। आजको भाषामा भन्नुपर्दा उनी एक कुशल डाक्टर थिए। उनको पूजा गर्दा घरमा कसैलाई कुनै रोगव्याधिले छुँदैन र यसै दिनबाट यमपञ्चकको शुरूआत हुन्छ। यसको पनि हरेक दिनको आफ्नै विशेष कथा र महत्त्व छ जुन मृत्युको भयबाट मुक्तिसँग नै सम्बन्धित छ।

प्रचलित कथाअनुसार एक दिन यमराजकहाँ यमदूतहरूको सभा भएको थियो रे। आफ्ना दूतहरूलाई यमराजले सोधेछन्– यति धेरै मानवहरूको प्राण हरण गर्दा तिमीहरूलाई दया लागेन? त्यसबीच एक यमदूतले भनेछन्– हामी त हजुरको आज्ञाको पालन गर्दै छौँ महाराज। तर एउटा सत्य कथा छ। त्यसपछि उनले त्यो कथाको बेलिबिस्तार लगाउन थालेछन्।

"एक राज्य थियो। त्यहाँका राजा हंस सिकार गर्न जंगल गएका थिए। उनी बाटो भुलेर अर्कै राज्यमा पुगे जहाँका राजा हेमाले उनलाई आफ्नो दरबारमा स्वागत गरे। त्यसै दिन राजा हेमालाई पुत्रलाभ भयो। राजाले खुशी भएर हर्षबढाइँ गरे। तर ज्योतिषीहरूले उनको जन्मपत्रिका हेरेर राजकुमार अल्पायुका छन् र विवाह भएको चार दिनमा उनको मृत्यु हुन्छ भन्ने थाहा पाए।

छोराको भविष्य सुनेर डराएका राजाले मन्त्रीलाई भने– राजकुमारलाई यमुना नदीको गुफामा लैजाऊ जहाँ कुनै नारीको उपस्थिति नहोस् र बालकले ब्रह्मचर्यको पालना गरोस्। त्यस ठाउँमा लगेर राख्दा उसले विवाह गर्दैन र अकाल मृत्यु हुँदैन। मन्त्रीले त्यसै गरे।

राजकुमार हुर्किएर ठूलो भएपछिको एक दिन त्यहाँ उनै राजा हंसकी छोरी डुल्दै आइपुगिन् जो अति नै सुन्दरी थिइन्। उनको सौन्दर्यमा मोहित भएर राजकुमारले विवाहको प्रस्ताव राखे। त्यो प्रस्ताव दुवैलाई मन्जुर भयो र उनीहरूले गन्धर्व विवाह गरे। त्यसको चार दिनपछि नै आफ्नो जिम्मेवारी बमोजिम मैले राजकुमारको प्राण लिएँ। तर उनकी नवविवाहिता पत्नीको चित्कारले मलाई साह्रै भावविभोर बनायो। अत्यन्तै दया लागेर आयो। तापनि मैले केही गर्न सकिनँ।"

यो सुनेर पनि यमराज मौन बसेको देखेपछि उनलाई यमदूतले सोधेछन्– त्यस्तो कुनै उपाय छैन महाराज जहाँ कसैको अकाल मृत्यु नहोस्? यमराजले भनेछन्– जसले कृष्ण पक्षको त्रयोदशी तिथिको दिन मेरो नाममा विधिपूर्वक आराधना गरेर दीपदान गर्छन्, उनीहरूले अल्पायु र अकालमा मृत्युवरण गर्नु पर्दैन।

त्यस दिनबाट दीपदानको प्रचलन रह्यो भन्ने किंवदन्ती पाइन्छ। दुर्घटनाको जोखिम, अकाल  मृत्युको भय र यमराजले दिनसक्ने दु:खबाट छुटकारा पाइन्छ भन्ने मान्यताका साथ आज पनि हामी घर घरमा यमदीप दान गर्छौँ। यसबेला यमराजलाई उनकी बहिनी यमुनाले लगातार पाँच दिनसम्म आफ्नो घरमा राखेर विभिन्न प्रकारका मिठाइ र पकवानले स्वागत गर्छिन्। उनले अन्तिम दिन सप्तरङ्गी टीका,  दुबो र मखमलीको माला लगाएर सयपत्री फूलले पूजा गरी दुबोले तेलको धारा लगाएर आफ्नो दाजुलाई प्रसन्न बनाएपछि यमले यो समयभरि कसैको पनि दाजुभाइको अकाल मृत्यु नहुने वरदान दिए भन्ने मान्यताका साथ आजसम्म पनि भाइटीका लगाइन्छ।

आफ्ना दाजुभाइको लामो आयु मागेर आस्थाका साथमा पूजा गरिन्छ, खुशी मनाइन्छ। तर विडम्बना, तिहारको पञ्चकमा यो संसार कुनै दुर्घटना र अकाल मृत्युबाट मुक्त भएको कथा किंवदन्तीको लोकमै सीमित छ। यद्यपि हामी उही विश्वासका साथ तिहार मनाइरहेका छौँ। किनभने यो मान्यताले संस्कारको रूप लिइसकेको छ। उमेर र ऊर्जाको बलमा मृत्यु जितिने निश्चित नभए पनि त्यही कामनाका साथ निरन्तर उत्सवका रूपमा बत्ती बालेर तिहार मनाई आएको परम्परा छ। यसकारण यमपञ्चकका बत्तीले मृत्युलाई उत्सवका रूपमा स्वीकार्न सिकाइरहेझैँ लाग्छ।

 मृत्युको मेघले सिञ्चेको जीवन
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पृष्टि बर्धनम्।

ऊर्वारुक मिव बन्धनान्मृत्या मुक्षीय मामृतात्।।

महामृत्युञ्जयको यो श्लोक उच्चारित भइरहँदा होस् या तिहारको रमझममा मृत्युका देवता यमलाई पूजा गर्दै गर्दा वा शरद् पूर्णिमामा अमृतपान गर्दा नै किन नहोस्, आज पनि विश्वमा हरेक दिन एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। यस हिसाबले प्रत्येक मिनेटमा १०४ जनालाई मृत्युले आफ्नो बनाइरहेको छ। सन् २०१२ मा प्रकाशित प्राध्यापक क्लिफर्ड स्यापरको एक चिकित्सा अनुसन्धानले बिहान ११ बजेको समयमा धेरै मानिसको मृत्यु हुने खुलासा गरेको थियो। जुनसुकै बेला होस् तर मृत्यु निश्चित छ नै।

हाम्रो आस्था, विश्वास र धर्मले जीवनयापन सिकाउँछ र बाँच्नका लागि आशा र आँट पनि दिइराख्छ। त्यसैले हाम्रा धर्म, परम्परा, संस्कार र हामीबिच गहिरो सम्बन्ध छ। तिहार अर्थात् यमपञ्चकका धेरै प्रसंग र कथा-किम्बदन्तीहरूले जीवन र मृत्युलाई सँगसँगै जोडेका छन्। यस पर्वले स्वाभाविक मृत्युलाई स्वीकार्न सिकाएको छ। किनभने यसमा 'अकाल मृत्यु'को भयबाट मात्र मुक्ति मागिन्छ, कालगतिलाई निषेध गरिँदैन।  

स्वाभाविक मृत्युको उत्सव मनाउनुमा सृष्टिको निरन्तरता गाँसिएको छ। किनभने मृत्यु भएन भने नयाँ पुस्ता हुँदैनथे र नयाँ सिर्जना पनि हुँदैनथ्यो। यसकारण प्राकृतिक मृत्युलाई सम्मानका साथ आत्मसात् गर्नु तिहारको सांस्कृतिक सन्देश हो। वैदिक मूल्य मान्यताहरूले पनि यो सत्यलाई स्वीकारेका छन्। यथार्थमा यो निकै पीडादायी भएर पनि धर्मग्रन्थहरूले मृत्युलाई जीवनकै अभिन्न अंग मान्न सिकाएका छन्। त्यसैले हामी तिहार यसरी मनाऊँ– अकाल मृत्युको भय पन्छाएर अवश्यम्भावी मृत्युदेखि नडराउने बनौँ।


सम्बन्धित सामग्री