Tuesday, May 07, 2024

-->

उपत्यकाका सुविधाजनक सडकमै ज्यानमारा लापरबाहीः ३ वर्षमा ३१ हजार दुर्घटना, ५४४ को मृत्यु

​​​​​​​काठमाडौँ उपत्यकामा भइरहेको सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा अधिकांश युवा छन्। ट्राफिक प्रहरीकै तथ्यांकअनुसार तीन वर्षमा १७ देखि ३५ वर्ष उमेर बीचका ३०० जनाको जीवन सडकमै समाप्त भएको छ।

उपत्यकाका सुविधाजनक सडकमै ज्यानमारा लापरबाहीः ३ वर्षमा ३१ हजार दुर्घटना ५४४ को मृत्यु

काठमाडौँ– भदौ १७ गते पेप्सीकोलामा भएको डरलाग्दो सवारी दुर्घटनाबाट मोटरसाइकल र स्कुटरमा यात्रा गरिरहेका सर्लाही घर भएका २१ वर्षीय राज भट्टराई र २५ वर्षीया सशस्त्र प्रहरी जवान उषा थापाले ज्यान गुमाए। सामाजिक सञ्जालमा बाहिरिएको दुर्घटनाको भिडियोले अहिले पनि धेरैको मस्तिष्क रिँगाइरहेको छ। 

त्यस  घटनाबारे उपत्यका ट्राफिक प्रहरीले प्रारम्भिक अनुसन्धानपछि निष्कर्ष निकाल्यो– “जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बस तीव्र गतिमा थियो। दायाँतर्फ मोडिन लागेको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेका बागमती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल, बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको टाटा जिपलाई बसले ठक्कर दियो। ठक्करमा परेको मोटरसाइकलका चालक भट्टराई र स्कुटरपछाडि सवार थापाको ज्यान गएको हो।”

दुर्घटनामा अन्य १४ जना घाइते भए। तीमध्ये गम्भीर चोट लागेका ६ घाइतेको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचार जारी छ।

बस तीव्र गतिमा हाँक्नु, मोटरसाइकलले नियम मिचेर लेन पार गर्नु र पैदलयात्रुले लापरबाहीपूर्वक बाटो काट्नुले दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्। यस्ता घटनाको मुख्य कारण मानवीय लापरबाही नै हुने गरेको उनले बताए।

“पेप्सीकोला दुर्घटनाबारे अनुसन्धान त भइरहेको छ, तर पनि बस तीव्र गतिमा गएको थियो। अर्कोतिरबाट आएको मोटरसाइकलले त्यसरी नै नियम मिचेर लेन क्रस गरेको थियो। सडकमा हिँडेका यात्रुहरूले पनि लापरबाही गरिरहेका थिए। ती सबै दृश्य भिडियोमा देख्न सकिन्छ,” उनी भन्छन्।

संघीय राजधानी शहरमा ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेको एसएसपी भट्टको बुझाइ छ। देशको राजधानीकै भीडभाडयुक्त सडकमा समेत अनियन्त्रित गतिमा सवारी हाँक्नु र त्यो नै दुर्घटनाको प्रमुख कारण बनेको देखिनुले लापरवाही कुन हदमा छ भन्ने छर्लङ्ग पार्छ।

“काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटना हुनुमा मानवीय लापरबाही नै सबैभन्दा बढी जिम्मेवार देखिन्छ। लापरबाहीकै कारणले भएका दुर्घटना ९० प्रतिशतभन्दा ज्यादा छ। सवारी साधन चलाउँदा लापरबाही गर्नु, तीव्र गतिमा चलाउनु, सवारी चलाउँदा लागुपदार्थ या मादकपदार्थ सेवन (लापसे/मापसे) गर्नु र सवारी अनुशासनको पालना नगर्नुले दुर्घटना बढिरहेको देखिन्छ,” एसएसपी भट्ट भन्छन्, “यीमध्ये पनि काठमाडौँ उपत्यकामा ओभरस्पिडका कारण सडक दुर्घटना भइरहेको छ। दुईपांग्रे सवारीको दुर्घटना र क्षति झन् बढ्दो छ।” 

यो पनि: महामारीझैँ सवारी दुर्घटना र हाम्रो भूमिका

पछिल्लो केही वर्षयता सवारी दुर्घटनाको ग्राफ तीव्र रूपले बढेको तथ्यांकले देखाउँछ। अधिकांश घटनामा चालकको लापरबाही देखिएको ट्राफिक प्रहरीको निष्कर्ष छ। बितेका तीन वर्षमा काठमाडौँ उपत्यकामा भएको सवारी दुर्घटनाको आँकडा निकै भयानक देखिन्छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाभित्र मात्र विगत तीन वर्षमा ३० हजार ९५३ सवारी दुर्घटना भएका छन्। दुर्घटनाबाट ५४४ जनाले ज्यान गुमाएका छन् भने २४ हजार ४२३ जना घाइते भएका छन्। गम्भीर घाइते भएका ७४७ जनामध्ये पनि कतिको उपचारकै क्रममा ज्यान गएको देखिएको छ। तीन वर्षको तथ्यांकमा सबैभन्दा बढी २४ हजार ६५० वटा त मोटरसाइकल/स्कुटर मात्र दुर्घटनामा परेका छन्।

‘लापरबाहीको कारण राज्यको निकम्मापन’
तीव्र गति, मापसे, लापसे, चालक र पैदलयात्रुको लापरबाहीलगायतका सवारी नियम उल्लंघनले मात्र दुर्घटना भइरहेको सरकारी निष्कर्षमा सवारीविज्ञहरू सहमत छैनन्। पद्मकन्या बहुमुखी क्याम्पसमा जनसंख्या विषय अध्यापनरत सडक सुरक्षाविज्ञ भगवती सेढाईं सवारी दुर्घटनामा राज्यको सबैभन्दा चरम् लापरबाही देख्छिन्। उकालो लागिरहेको सडक दुर्घटना रोकथाम र नियन्त्रणमा सरकारको बेवास्ताले सर्वसाधारणको ज्यान गइरहेको उनको बुझाइ छ।

“दुर्घटना भयो कि ट्राफिक प्रहरीले सडक र सवारी प्रयोगकर्ताको लापरबाही मात्र देख्छ। तर त्यस्तो लापरबाही कसरी भयो, त्यो रोक्न के गर्नुपर्छ, आफ्नो भूमिका कस्तो छ, रोकथाम र नियन्त्रणमा प्रगति कस्तो हुँदैछ भन्ने कुरा उसले देख्दैन। त्यो सबै गर्नु राज्यको दायित्व हो,” उनी भन्छिन्, “प्रहरीले त्यस्तो तथ्यांक मात्र देखाउने होइन, आफूहरूले राम्रोसँग सडक सुरक्षाका नियमहरू पालना गराउन नसकेको कुरा पनि स्वीकार गर्नुपर्‍यो। बनेका सवारीनियम कार्यान्वयन गराउन राज्य कति सफल भयो? त्यतातिर पनि ध्यान दिनुपर्छ।” 

यो पनि: सवारी दुर्घटना: राज्यको बेवास्ताले सर्वसाधारणको ज्यान धरापमा

सडक प्रयोगकर्ताहरू संवेदनशील भएर मात्र नपुग्ने र सडक सुरक्षाका लागि बनेका नीतिनियम बलियोसँग कार्यान्वयन नहुँदासम्म दुर्घटना नरोकिने सेढाईंको बुझाइ छ। अन्य जिम्मेवार मुलुकहरूको उदाहरण दिँदै उनी भन्छिन्, “विकसित देशमा सडक सुरक्षालाई मानवअधिकारका रूपमा लिइन्छ। त्यो मानवअधिकार भनेको सडकमा यात्रा गर्दा सुरक्षित रहन पाउने प्रयोगकर्ताहरूको अधिकार हो। नेपालमा राज्यबाट त्यसप्रति निरन्तर बेवास्ता भइरहेको छ।”

नेपालमा सडक दुर्घटना बर्सेनि डरलाग्दो गतिमा बढिरहेको सरकारी तथ्यांकले नै देखाउँछ। त्यसमाथि पनि काठमाडौँ उपत्यकामा भइरहेको सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा अधिकांश युवा छन्। ट्राफिक प्रहरीकै तथ्यांकअनुसार तीन वर्षमा १७–३५ वर्ष उमेर समूहका ३०० जनाको जीवन सडकमै समाप्त भएको छ। 

“दुर्घटनामा देशभरि नै युवाको ज्यान बढी गइरहेको छ। बाहिरतिर सडक सुरक्षाका लागि लगानी गर्दा त्यसबाट जोगिने मानवीय पुँजिको मूल्य हेरिन्छ। मान्छे बाँचे भने देशलाई योगदान पुग्ने ठानिन्छ। आफ्नो देशका नागरिकको जीवन बचाउने दायित्वलाई राज्यले प्राथमिकतामा राख्छ। त्यसकारण सडक सुरक्षामा खर्च गर्नु भनेको लगानी फिर्ता हुनु हो भन्ने मान्यता छ,” सडक सुरक्षाविज्ञ सेढाईं थप्छिन्, “हाम्रो देशमा भने यस्तो कुराको वास्तै छैन। सुरक्षित सडक बनाउन र बनेका सडकमा यात्रालाई सुरक्षित बनाउने व्यवस्थित योजना नै छैन। यस्ता यावत् कारणले सडक दुर्घटनाको क्षति भयावह बन्दैछ।” 

“नागरिकले गल्ती गर्छन् रे। तर त्यो गल्ती गर्नु हुँदैन भनेर सिकाउने र त्यस खालको वातावरण बनाउने काम त राज्यको हो नि। दुर्घटना भएपछिको उद्धार, उपचार र जीवनको पुनर्स्थापना गर्ने काममा पनि राज्य चुकिरहेको छ,” उनले भनिन्। 


सम्बन्धित सामग्री