Friday, May 03, 2024

-->

ऋणबाट मुक्ति पाइने ठानेर प्रसाईंको ‘आन्दोलन’मा आएका महिला

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ या ब्याज मात्र भए पनि मिनाहा हुने आशामा सयौँ महिला प्रसाईं नेतृत्वको ‘आन्दोलन’मा सहभागी हुन काठमाडौँ आएका छन्।

ऋणबाट मुक्ति पाइने ठानेर प्रसाईंको ‘आन्दोलन’मा आएका महिला 

काठमाडौँ– यसअघिका सडक आन्दोलनमा प्रायः अघिअघि पुरुष र पछिपछि महिला देखिन्थे। तर मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले काठमाडौँका विभिन्न स्थानबाट निकालेको जुलुसमा पुरुषका अघिअघि गृहिणी महिला देखिए। 

तीमध्ये कतिपय महिला घरमा ससाना बालबच्चा छोडेर सडकमा होमिएका थिए। कतिपय त गर्भवती भएको अवस्थामा आन्दोलन गर्न काठमाडौँ आएका पनि भेटिए। आखिर किन यी महिला ज्यानको बाजी लगाएर आन्दोलनमा आए त? यसको मुख्य कारण थियो– बैंक, लघुवित्त, सहकारी लगायतका वित्तीय संस्थाको ऋणबाट मुक्ति पाउने आशा। 

यस्तै, आशा राखेर आन्दोलनमा नारा लगाइरहेकी थिइन् मोरङ केराबारीकी ४१ वर्षीया सुनिता मगर। उनले पाँच वर्षअघि आफ्ना बालबच्चा पढाउन जीवन विकास माइक्रोफाइनान्स लगायतबाट २० लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर समयमै तिर्न नसकेपछि बिरक्तिएकी उनी दुर्गा प्रसाईंले थालेको अभियानमा संलग्न भइन्।

प्रसाईंले सबै नागरिकको २० लाख रुपैयाँसम्म ऋण मिनाहा गर्नुपर्ने, नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने, संवैधानिक राजतन्त्र ब्युँताउनुपर्नेजस्ता माग अघि सार्दै ‘महाअभियान’ शुरू गरेपछि आफ्नो पनि ऋण मिनाहा हुने उनले ठानिन्। त्यसैले घरमा बालबच्चा छोडेर उनी मोरङबाट बसको यात्रा गर्दै बुधबार काठमाडौँ आएकी हुन्। चाबहिलस्थित एक पार्टी प्यालेसमा बास बस्न पाएकी उनी बिहीबार हिँडेरै बल्खु पुग्न तयार भइन्। 

 


“ऋण तिर्न सकिएन भने बाँच्न सकिन्न। प्रसाईंले महाअभियानमा लागेपछि ऋण मिनाहा हुन्छ भन्नुभएको छ। त्यसैले आन्दोलनमा सहभागी हुन आएकी हुँ,” उनले भनिन्। ऋणबाट मुक्ति हुने चाहनाले मात्रै काठमाडौँ आएको हो त? उनले थपिन्, “देशका सबै नेताहरू भ्रष्ट भए। व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने पनि हाम्रो माग हो।” 

कावासोती–२, नवलपुरमा जुत्ताचप्पल व्यवसाय गर्दै आएकी ५६ वर्षीया सीता खनाल पनि आन्दोलनमा अघिअघि थिइन्। उनी एकल महिला हुन्। कोरोना महामारीमा आफ्नो करिब एक करोड रुपैयाँ नोक्सानी भएको उनको गुनासो छ। अहिले आफू व्यवसायमा सक्रिय हुन तयार भए पनि देशको वातावरणले साथ नदिएको उनले बताइन्। “लघुवित्तमा पुर्जा धितो राखेर नुन खाएका छौँ। ऋण लिएका धेरै असहायहरू आफ्नो जीवन समाप्त गर्न बाध्य छन्। यस्तो अवस्थाको अन्त्य होस् भनेर आन्दोलन गर्न आएकी हुँ,” खनालले भनिन्।

यो आन्दोलन कुनै व्यक्तिसँग मात्रै नभएर राज्यसँगको लडाइँ भएको ठान्ने उनले भनिन्, “गणतन्त्रमा हामी स्वतन्त्र भएनौँ। हामीले आफ्ना माग राखेर आन्दोलन गर्दा पनि सरकारले हस्तक्षेप गरेको छ। यो देशमा गणतन्त्र आवश्यक छैन। नेता मात्रै धनी हुने गणतन्त्र फाल्न पनि हामीले लडाइँ गरेका हौँ।” 

आन्दोलनमा अघिअघि देखिएका कतिपय महिला आफ्नो ऋणको ब्याज मात्रै मिनाहा भइदेओस् भन्ने चाहना राखेर काठमाडौँ आएका छन्। चितवन रामनगरबाट आएकी ४५ वर्षीया देवीमाया लम्साल त्यही आशामा छिन्। आफ्नो ऋण कति छ त्यो भने खुलाउन नचाहेकी उनले व्यवसाय डुब्दा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेको सुनाइन्। 

“राष्ट्रमा शोषण अन्त्य हुनुपर्छ। हामी गरिब जनताको ढाड सेक्ने गरी लिइएको चर्को ब्याजदर खारेज गर्नै पर्छ। राजा भनेको हाम्रो अभिभावक हो। राज्यमा कायम अराजकताको निर्मूल राजाबाट मात्रै सम्भव छ,” उनले भनिन्। व्यवसायमा भएको घाटाका कारण मानिसले आत्महत्या गरिरहेको भन्दै खनालले चिन्ता व्यक्त गरिन्।


 

रोजीरोटीको लागि मौसमी व्यवसाय गर्ने ४९ वर्षकी विष्णुमाया उपाध्याय जुम्लाबाट विस्थापित भएर २१ वर्षअघि काठमाडौँ आएकी थिइन्। पाँच जनाको परिवारसहित नरदेवीमा बस्दै आएकी उनले पनि आफ्नो पाँच लाख रुपैयाँ ऋण रहेको सुनाइन्। व्यवसाय चलाउन र छोराछोरीलाई पढाउन लघुवित्तबाट लिएको ऋणको ब्याज मिनाहा हुने आसले आफू आन्दोलनमा आएको उनको भनाइ छ। “व्यवसाय गर्न र बच्चाहरूलाई पढाउन लघुवित्तबाट पाँच लाख ऋण लिएका थियौँ। त्यसको ब्याज तिर्दै छौँ। त्यही ऋणको भार हट्छ कि भनेर आन्दोलनमा आएको हुँ,” उनले भनिन्।

ऋणको सावाँ या ब्याज मिनाहा हुने आशामा उनीहरू जस्ता सयौँ महिला प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका छन्। 

पीडितको समर्थनमा काठमाडौँका महिला 
आन्दोलनमा सहभागी काठमाडौँवासी महिलाहरू भने आफ्ना लागि भन्दा पनि अरू महिलालाई पीडाबाट मुक्त गराउन प्रदर्शनमा सहभागी भएको बताउँदै थिए। चप्पल कारखानाकी ४९ वर्षीया कमला ढकालले भनिन्, “युवा जति बिदेसिन बाध्य भएका छन्। घरमा महिला मात्रै छन्। उनीहरू पनि ऋणमा डुबेका छन्। हजारौँ महिला यस्तो समस्यामा परेका छन्। उनीहरूलाई केही भए पनि राहत मिल्छ कि भनेर म पनि आन्दोलनमा आएकी हुँ।” 

उनले थपिन्, “केही गरी खाऊँ भनेर ऋण लिएका गरिब महिलाको बिजोग भएको छ। बैंक र सहकारीको सबै ऋण मिनाहा हुनुपर्छ।” चन्द्रागिरि–१२ बाट आएकी ५० वर्षीया निरूपा केसीले पनि गरिब महिलालाई माथि उठाउन आन्दोलनमा होमिएको बताइन्। “गरिबले दुःख पाएको नेताहरू भ्रष्टाचारी भएर हो। सबै भ्रष्टाचारीहरूको निर्मूल गरेर हाम्रो राष्ट्र, धर्म बचाउन राजा आउनुपर्छ,” उनले भनिन्।  

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने यी महिलाको भनाइ छ। तर उनीहरूले चाहनाले माग पूरा हुने सम्भावना देखिँदैन। किनभने कसैले भन्दैमा बैंकबाट लिएको ऋण मिनाहा हुन नसक्ने सरकार र नेपाल राष्ट्र बैंकले प्रस्ट्याउँदै आएको छ।


सम्बन्धित सामग्री