Sunday, April 28, 2024

-->

‘छोरा मरे पनि न्याय मरेको रहेनछ’

रुकुम, सोतीका गाउँलेले जाजरकोट, रानागाउँका नवराज विकलाई 'जात नमिलेपछि' विहे त गर्न दिएनन् नै, प्रेम गरेको बदलामा उनीसहित ६ युवाको ज्यानै लिए। शोकाकुल आमाहरूले त्यसको साढे तीन वर्षपछि न्याय पाएका छन्।

‘छोरा मरे पनि न्याय मरेको रहेनछ’
बायाँबाट क्रमश: टिकाराम सुनार र उनकी आमा गीता, गोविन्द शाही र उनकी आमा भिमीकुमारी, गणेश बुढा र उनकी आमा राधिका, लोकेन्द्र सुनार र उनकी आमा लक्ष्मी, सन्दीप विक (सञ्जु) र उनकी आमा सविता तथा नवराज विक र उनकी आमा उर्मिला।

काठमाडौँ– रुकुम सामूहिक हत्याकाण्डमा ज्यान गुमाएका गणेश बुढाकी आमा राधिका चार दिनदेखि रुकुमपश्चिम जिल्ला अदालतअगाडि धर्नामा थिइन्। अदालतको गेटबाट राधिका बारम्बार एकै स्वरमा पुकार गर्थिन्, “छोरा दिन सक्दैनौ, न्याय देऊ।”

रुकुम जिल्ला अदालतले मंगलबार गरेको फैसलाले राधिकालाई राहत दिएको छ। अदालतका न्यायाधीश खड्कबहादुर केसीको इजलासले रुकुम सामूहिक हत्याकाण्डमा संलग्न २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो। पीडितहरूले यो फैसलाबाट न्याय पाएको महसुस गरेका छन्। राधिका भन्छिन्, “यत्ति पनि पाइँदैन कि भन्ने लागेको थियो। छोराहरू मरे पनि न्याय मरेको रहेनछ।”

घर जाजरकोटको कुशेमा भए पनि राधिकाको परिवार जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिका–४ रानागाउँमा डेरा गरेर बस्थ्यो। २०७७ जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको सामूहिक हत्याकाण्डमा छोराले ज्यान गुमाएपछि राधिकाका आँखामा आँशु ओभाएका थिएनन्। क्रूर र अमानवीय हत्याकाण्डमा संलग्नहरूलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि राधिकाको प्रतिक्रिया छ, “हाम्रो को थियो र? उनीहरूलाई जन्मकैद हुँदैन कि भन्ने लागेको थियो। फैसलाले खुशी छु।” 

रुकुम हत्याकाण्डमा छोरा गुमाउने उनीसहितका ६ आमाहरू उत्तिकै खुशी छन्। लोकेन्द्र सुनारकी आमा लक्ष्मी भन्छिन्, “चार दिनदेखि धर्ना गरिरहेका थियौँ। फैसला आएपछि एकदम खुशी छु। मेरा छोराहरूले न्याय पाएका छन्। हामीलाई पनि न्याय भएको छ।” 

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार अभियोग लागेका आठ जनाले सफाइ पाएका छन् भने नवराजकी प्रेमिका र उनकी आमालाई दुई/दुई वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिबाना भएको छ। 

गणेश बुढाकी आमा राधिका। तस्वीर: लोकेन्द्र/उकालो

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा ३४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। साढे तीन वर्षसम्म मुद्दा टुंगोमा नपुगेपछि पीडित परिवारलाई शंका उत्पन्न भएको थियो। “अपराधीहरूलाई बचाउन ठूलाठूला मान्छेहरू लागे,” लोकेन्द्रकी आमा लक्ष्मी भन्छिन्, “काखैको छोरा त कहाँ आउलान् र? ढिलै भए पनि न्याय आएको छ।”

अहिलेसम्म लक्ष्मीले आफ्नो व्यथा व्यक्त गर्ने सास र शब्द पाएकी थिइनन्। तर जिल्ला अदालतले दोषीलाई जन्मकैदको सजाय सुनाएपछि अब न्यायमाथि चलखेल गर्न खोज्नेहरूविरुद्ध लड्ने साहस लक्ष्मीमा आएको छ। उनी भन्छिन्, “अदालतले सास निकाल्ने बनाइदिएको छ। हाम्रो मुटुमाथि चर्किरहेको घाउमा मलम लगाइदिएको छ। सबैलाई धन्यवाद।”

     यो पनि: रुकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?

जात नमिलेपछि रुकुम, सोतीका गाउँलेले जाजरकोट रानागाउँका नवराज विश्वकर्मालाई विहे त गर्न दिएनन् नै तर प्रेम गरेको बदलामा ज्यानै लिए। उनलाई सघाउन गएका सन्दीप विक, टीकाराम सुनार, गोविन्द शाही, गणेश बुढा र लोकेन्द्र सुनारलाई समेत सोतीका गाउँलेले लेखेटीलखेटी क्रूरतापूर्वक हत्या गरेर भेरी नदीमा फ्याँकेका थिए। त्यसपछि ६ परिवार आँशुको आहालमा थियो। 

फैसलापछि गोविन्द शाहीकी आमा भिमीकुमारीले उकालोसँग भनिन्, “छोराविनाको हाम्रो जीवन अन्धकार त थियो नै। हामीले साढे तीन वर्षदेखि छोराको आत्माले शान्ति पाउन अपराधीले दण्ड पाउनुपर्छ भन्दै आएका थियौँ। हत्यारालाई जन्मकैद गरेर अदालतले हाम्रो आँशु पुछिदिएको छ। हामीमाथि न्याय गरेको छ।” 

गोविन्द शाहीकी आमा भिमीकुमारी शाही। तस्वीर: लोकेन्द्र/उकालो

यस घटनापछिको कानूनी लडाइँमा पीडितलाई लगातार साथ दिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी यो फैसलाले न्यायालयको शिर उँचो भएको बताउँछन्। त्रिपाठी भन्छन्, “नेपालको इतिहासमै एउटै मुद्दामा २४ जनाले जन्मकैद सजाय पाएको यो पहिलो मुद्दा हो। यसबाट अदालतले आफ्नो विश्वसनीयता पनि बढाएको छ। पीडितले पनि न्यायको अनुभूति गरेका छन्।”

तर पीडितले राहत महसुस गरे पनि क्रूर सामूहिक हत्याकाण्डलाई सत्ता र शक्तिका भरमा सामसुम पार्न अझै पनि प्रयास हुनसक्ने अधिकारकर्मीहरू बताउँछन्।

दलित अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारकर्मी तथा अनुसन्धानकर्ता शिवहरि ज्ञवाली फैसलामाथि शंका गर्ने ठाउँ बाँकी नै रहेको बताउँछन्। “कर्तव्य ज्यानमा जन्मकैद हुन्छ नै। तर यो त सिंगो गाउँ उठेर लखेटीलखेटी क्रूर र अमानवीय तवरबाट गरिएको हत्याकाण्ड थियो। मारिनेको संख्या ६ भए पनि हत्याको प्रवृत्ति नरसंहार थियो। जन्मकैदले मात्रै पुग्दैन। यो कुरा अदालतले ध्यान दिएन जस्तो मलाई लाग्छ। सर्वस्वसहित जन्मकैद हुनुपर्ने थियो,” उनी भन्छन्। 

न्याय माग्दै पीडित परिवारहरूले नागरिक समाज र अधिकारकर्मीहरूको सहयोगमा हत्यालगत्तै गरेको प्रदर्शन। तस्वीर: लोकेन्द्र/उकालो

इतिहासमा दलित समुदायमाथि पहिले यति क्रूर तरिकाले सामूहिक हत्या नभएको ज्ञवाली बताउँछन्। तर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सशस्त्र विद्रोह शुरू गरेको ठाउँ जाजरकोट–रुकुममै नरसंहार हुँदा र उनकै पार्टी पंक्तिले अपराधको पक्षमा वकालत गर्दा दुःख लागेको उनको टिप्पणी छ। “उहाँको सिंगो पार्टी अमानवीय नरसंहारको पक्षमा र जघन्य अपराधका दोषीलाई बचाउन यसरी लाग्यो कि अहिले सामान्य तरिकाले पाउने सजायमाथि पनि पीडित खुशी हुनुपर्ने अवस्था आयो।”

सामसुम पार्न खोज्ने त्यो सक्रियता 
२०७७ जेठ १० गते बेलुका नवराजहरूमाथि कुटपिट भयो। उनीहरूको चिच्याहट जाजरकोटको कालेगाउँसम्म सुनिन्थ्यो। त्यसरी कुटपिटपछि बेपत्ता पारिएका युवा दुई दिनसम्म भेटिएनन्। जेठ १२ गते नवराज र थप दुई जनाको शव भेटियो। बेपत्ता तीन जनाको खोजतलास जारी थियो। 

१२ गते नै रुकुमपश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले त्यो अपराधको खुलेआम बचाउ गरे। त्यसबेला उनले संसद‍्मै उभिएर भनेका थिए, “उनीहरूलाई कसैले मारेको होइन। गाउँलेले लकडाउनको बेला लखेट्दा आफैँ भेरीमा हामफालेर डुबेर मरेका हुन्।” संसद‍्मा शर्माको त्यो अभिव्यक्तिले सारा दलित समुदायमाथि चोट पुग्यो।

शर्माले घटना जातीय विभेदका कारण भएको होइन भन्दै संसद‍्मा गरेको दाबीलाई नागरिक समाज, दलित समुदाय र अधिकारकर्मीले कुतर्कको संज्ञा दिए। अन्तरजातीय प्रेम गरेकै कारण घटना भएको नस्वीकारेका शर्माले घटनामा सलंग्न मुख्य अभियुक्त डम्बर मल्लका साथै युवतीका बुवाआमा र आफन्तको संरक्षण गरे। अनाहकमा ज्यान गुमाएका युवकहरूकै दोष देखाउने उनको अभिव्यक्ति निकै आलोचित बन्यो। 

शर्माको अभिव्यक्तिपछि मीन विश्वकर्मा, प्रकाश रसाइली, पार्वती बिसुंखे र जाजरकोटका भैरवसुन्दर श्रेष्ठ लगायतका सांसदले संसद‍्मै उनको चर्को विरोध र खण्डन गरे। 

घटना राजनीतिक रूपमा चर्किदै जाँदा भेरीमा बगाइएका युवाको शव भेटिन थाल्यो। भेरीमा आफैँ बगेर ज्यान गुमाए भनिएका युवाको शव क्षतविक्षत अवस्थामा पाइएका थिए। उनीहरू कसैको अनुहारमा चोट थियो, कसैको मुख काटिएको थियो। कसैको जिब्रो काटिएको थियो, कसैको टाउकोमा चोट थियो जुन विवरण प्रहरीको मुचुल्कामै उल्लेख छ। 

त्यसपछि घटना राष्ट्रियकरण भयो। जातीय हिंसाको बर्बरतापूर्ण उदाहरण भन्दै सडकदेखि संसद्सम्म विरोधको आगो बल्यो। धेरै संख्या र पहुँच भएका कथित उपल्लो जातकाले दलित युवाको सामूहिक हत्या गरेका थिए। त्यसको पक्षमा तत्कालीन सांसद शर्मासँगै उनको राजनीतिक पहुँच र शक्ति पनि उभिएको थियो। अहिले आएर अदालत र न्याय पीडितको पक्षमा उभिएको रुकुम पुगेका दलित अधिकारकर्मी खगेन्द्र सुनार बताउँछन्। 

“केही सचेत नागरिक र न्याय चाहनेहरूबाहेक शक्तिमा भएकाहरू कोही पनि दलितको पक्षमा थिएनन्। अपराध गर्नेहरू भरपुर रूपमा शक्ति प्रयोग गरिरहेका थिए। हामीसँग निरन्तर न्यायका लागि संघर्ष गर्नुको विकल्प थिएन,” शुरूआती दिनदेखि नै रुकुम हत्याकाण्डका पीडितहरूसँग रहेका अधिकारकर्मी सुनार भन्छन्, “अहिले अदालतले पीडितका पक्षमा फैसला गरेर आफ्नो साख जोगाएको छ। मनमनमा पीडाको ज्वाला दन्काउँदै भौतारिनुपरेको अदालत वरपरका चोकहरू मात्र पीडितको प्यारो बनेका थिए। रुकुम जिल्ला अदालतले त्यो ज्वालालाई शीतल पारिदिएको छ।”

शोकाकुल आमाहरू अदालतअगाडि यसरी अनसनमा बसेका थिए। तस्वीर सौजन्य: खगेन्द्र सुनार

हत्याकाण्डको पक्षपोषणमा त्यतिबेला माओवादी राजनीतिबाट आएका नेता जनार्दन शर्मा मात्रै सक्रिए थिएनन्। उनकै सहयात्री तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि शर्मालाई साथ दिएका थिए। 

घटनाको १० दिनपछि थापाले ‘जातीय भेदभाव अमेरिकामा पनि कायम रहेकाले नेपालमा विभेद हुनु स्वाभाविक भएको’ टिप्पणी गरेर जातसँग जोडिएको जघन्य अपराधलाई सामान्य बनाउन खोजे। घटनालाई सामसुम पार्न माओवादी पृष्ठभूमिबाट आएका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अरू पनि कतिपय प्रभावशाली नेताहरू नै पछि परेनन्। 

त्यसको प्रभाव शवको पोस्टमार्टम रिपोर्टदेखि संसदीय छानबिन समितिसम्ममा परेको थियो। तर सडकको चर्को दबाबले सरकारी तवरबाटै विभिन्न छानबिन समितिहरू बने। अनुसन्धान अघि बढ्यो। विभिन्न राजनीतिक दल, छानबिन समिति, मानवअधिकारकर्मी र संघर्ष समितिले दिएका प्रतिवेदनहरूले क्रूर हत्या प्रमाणित गरिसक्दा पनि शक्ति र सत्ताका ‘भित्रियाहरू’ चलखेल गर्न छाडेका थिएनन्।

साढे तीन वर्षपछि अन्ततः जिल्ला अदालतले २४ जनालाई जन्मकैद सजाय सुनाएर पीडितलाई राहत दिएको जाजरकोट निवासी नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह बताउँछन्। “उनीहरूको चलखेल घामजस्तै छर्लंग थियो। तर अदालतले पीडितको आवाजलाई सुनेर सम्मान गरेको छ। न्यायको जित भएको छ,” उनले भने। 

सोती हत्याकाण्डको चिच्चाहटले अहिलेसम्म पनि गाउँलेहरूको मन शान्त भएको थिएन। पीडितले न्यायका लागि संघर्ष गर्न कुनै ठाउँ बाँकी राखेका थिएनन्। रुकुम जिल्ला अदालतको ढोकादेखि काठमाडौँको माइतीघरसम्म ‘न्याय देऊ, न्याय देऊ’ भन्दै उनीहरूले पैतला खियाएका थिए।

त्यस दिन के भएको थियो?
आङ सिरिंग पार्ने रुकुम सोती हत्याकाण्ड धेरैको स्मृतिमा ताजै छ। घटना भएको दिन शनिबार थियो। नवराजले सोती जानेबारे नजिकका नातेदार सन्दीप विक ‘सञ्जु’ लाई जानकारी गराएका थिए। परिवारका अनुसार सञ्जुले ‘विहेकै कुरा भएपछि साथीहरूलाई पनि भन्नुपर्छ’ भन्ने सल्लाह दिए। उनकै सुझावअनुसार रानागाउँमै १०/११ जना साथी जम्मा भए। 

‘मार्देलान्, यस्तो काम नगर’ भनेर नवराजका बुवा मोहनलाल उनलाई सम्झाइरहन्थे। तर उनकी प्रेमिकाले केही समयअघि घरमै आएर नवराजका बुवाआमालाई ‘हामी माओवादी हौँ। जातसात केही मान्दैनौँ’ भनेको सम्झँदा ठूलो जोखिम ठानेनन्।

त्यस दिनका लागि नवराज र उनका साथीहरूबीच भएको सल्लाह उनको परिवारले चाल नपाएको होइन। नवराजकी आमा उर्मिलालाई उनीहरू कहाँ जान लागेका हुन् भन्ने थाहा भइसकेको थियो।  तर ‘यति धेरै साथीसँग छ आइजान्छ होला’ भन्ने उनलाई लागेको थियो। उर्मिला भन्छिन्, “आँगनमा उनीहरू जमघट भएर खासखुस गर्थे। मैले थाहा पाइसकेको थिएँ। केही दिनअघि मात्रै चौरजहारी प्रहरीबाट छोरालाई कागज गरेर ल्याएको थिएँ। बाबु, अब केही नगर भनेको त थिएँ नै।” 

मध्यान्ह १२ बजेतिर नवराजहरू घरबाट हिँडे। रानागाउँमा सबै साथीहरू जम्मा भएर उनीहरू सोतीतिर लागेका थिए। भेरी किनारको धल्ला पुलमा मेटलाका साथीहरू थपिए। सबै जना भएर रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा साँझको ५ बज्दै थियो। 

सोती हत्याकाण्डका घाइतेका अनुसार त्यसअघि करिब दुई घण्टा भेरी नदीको छेउ धल्लामा साथीभाइ जम्मा भएर कुराकानी भएको थियो। मटेला र चौरजहारीबाट धल्ला पुगेका ९ जना साथीहरूलाई साथ लिएर गएका नवराज करिब एक घण्टाको उकालो छिचोलेर सोती पुगेका थिए।

भेरी नदीस्थित हत्या भएको स्थल। तस्वीर: लोकेन्द्र/उकालो

प्रेमिकाको घर पुग्न बाँकी नै थियो। टाढैबाट देखेकी उनकी आमाले नवराजलाई धारेहात लगाउँदै भनिन्, “डुम फेरि आइस्, अस्तीको चुटाइले पुगेन, आज नमारेर छोडिन्न।” लगत्तै उनले वडाध्यक्षसहित पाँच/सात जनालाई फोन गरिन्। त्यो हेरिरहेका नवराज र उनका साथीहरू मन चिसो पार्दै ‘अब बस्नुहुँदैन’ भन्ने निष्कर्षमा पुगे।

प्रेमिकी आमाले थप गाली बर्साइरहेकी थिइन्। उनीहरूले ‘काफल खान आएका हौँ, गइजान्छौँ’ भनेर उनको आक्रोश शान्त पार्ने प्रयास गरे। तर उनीहरूको कुरालाई लत्याउँदै धमाधम गाउँका मानिसहरू जम्मा हुन थालेपछि नवराजहरू प्रेमिकाको घरबाट भागेर सडकसम्म पुगे।

त्यसबेला उनीरूलाई पछ्याउँदै गएका स्थानीय मानबहादुर मल्लले बलजफ्ती बाटोमै रोकेर पानी खान भने। तर नवराज र उनका साथीहरूले मानेनन्। उनीहरूले आफूहरूमाथि आक्रमण हुँदैछ भन्ने बुझिसकेका थिए। गाउँबाट अलि तलको गैरीनाउलामा पानी पिएर फराकिलो ढुंगामा बसेर थकाइ मार्दे गरेका बेला उनीहरूमाथि एक्कासि आक्रमण शुरू भयो। 

सयौँको संख्यामा आएका गाउँलेहरूले ढुंगामुढा बर्साउन थाले। ढुंगाले लागेर कतिपयलाई गम्भीर चोट लाग्यो। आक्रमण गर्नेहरू लखेट्दै आए। नवराजका केही साथीहरू भागेर ज्यान जोगाउन सफल भए। तर नवराज सहितका ६ जनालाई गाउँलेले कब्जामा लिएर अंगभंग हुने गरी कुटपिट गरे। 

      यो पनि: न्यायका लागि लडिरहेका ६ आमा

नवराजका केही साथीहरू पौडी खेलेर भेरी नदी तर्दै सुरक्षित ठाउँमा पुगे। उनीसँग गएका सबै भेरी किनारमै हुर्किएका थिए। उनीहरूलाई पौडेर नदी वारपार गर्नु सामान्य थियो। तर त्यो साँझ नवराजसहितका ६ जनाले भेरी तर्न पाएनन्। क्रूरतापूर्वक कुटपिट गरेर हत्या गरी आक्रमणकारीले उनीहरूलाई नदीमा बगाइदिए। घटनामा १२ जना घाइते भए।

आक्रमणबारे थाहा पाएपछि साँझ ७ बजेदेखि सिंगो जाजरकोट भेरी किनारतिर सोझियो। बेपत्ता युवाको खोजतलास गर्नतिर सबैको ध्यान केन्द्रित भयो। घटनाको एक घण्टापछि नै नवराजको शव भेटियो। त्यसपछि सम्पर्कमा नआएका अरू पनि मारिएको हुनसक्ने आशंका गरियो। भोलिपल्ट बिहानैदेखि बेपत्ता पारिएकाहरूको खोजी हुन थाल्यो। थप दुई जनाको शव जेठ १२ गते भेरी नदीमा भेटियो। त्यसपछि घटनामा मारिएका सबैको शव भेटिन १० दिन लागेको थियो।  

शुरूमै भेटिएकाहरूको शवको प्रकृतिबाट उनीहरूको विभत्स हत्या भएको देखिएपछि जाजरकोटमा आन्दोलन शुरू भयो। नागरिक समाज, दलित अधिकारका क्षेत्रमा काम गरिरहेका अभियन्ता र राजनीतिक दलहरूले समेत आन्दोलन थाले। तर माओवादी पृष्ठभूमिका तत्कालीन नेकपामा आवद्ध नेता–कार्यकर्ताहरू भने त्यसबेलादेखि नै मौन बसेका थिए। 


सम्बन्धित सामग्री