Sunday, April 28, 2024

-->

खगेन्द्र सुनारः सोती संघर्षका सूत्रधार

सोती हत्याकाण्डका दोषीहरूलाई जोगाउने राजनीतिक चलखेलले न्यायालयमाथि पीडितको शंका थियो। त्यसविरुद्ध निरन्तर चलेको सडक संघर्ष सामान्य घटना थिएन। त्यही संघर्षका सेतु हुन् दलित अधिकारकर्मी खगेन्द्र सुनार।

खगेन्द्र सुनारः सोती संघर्षका सूत्रधार

काठमाडौँ– रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते भएको सामूहिक हत्याकाण्ड धेरैको स्मृतिमा ताजै छ। जाजरकोट रानागाउँका नवराज विकसहित ६ युवाको रगत भेरीमा बगेको धेरैले बिर्सेका छैनन्। हत्या भएको साढे तीन वर्षपछि गएको मंसिर १९ गते रूकुमपश्चिम जिल्ला अदालतले हत्यामा संलग्न २४ जनालाई दोषी ठहर गर्‍यो।

अदालतले जन्मकैदको फैसला सुनाएपछि सोती हत्याकाण्डका पीडितहरू न्यायालयलाई धन्यवाद दिन काठमाडौँसम्म आइपुगे। हत्यामा संलग्नलाई जोगाउने राजनीतिक चलखेलले न्यायालयमाथि पीडितको शंका थियो। त्यसविरुद्ध निरन्तर चलेको सडक संघर्ष सामान्य घटना थिएन। त्यही संघर्षका सेतु हुन्, दलित अधिकारकर्मी खगेन्द्र सुनार।

उनी नवराजहरूको हत्या भएको दिनदेखि रूकुमपश्चिम जिल्ला अदालतले फैसला गरेको दिनसम्म पीडितको साथमा रहे। त्यसैले पीडितहरू न्याय पाएको महसुस गर्दै विभिन्न ठाउँमा पुगिरहेका छन्। खगेन्द्रसहित अधिकारको पक्षमा वकालत गर्नेहरू न्यायको भूमिमा फूलमाला चढाइरहेका छन्। 

रूकुम अदालतको गेटमा त एक बोरा फूलमाला लिएर गएको नवराजका बुवा मोहन सम्झिन्छन्, “अपराधीलाई जोगाउन जनार्दन शर्मा जस्ता ठूला नेताहरू लागे। तर पनि रूकुममा छोराहरूको हत्या भयो। त्यही रूकुम अदालतले अपराधीलाई जन्मकैद सुनायो। त्यसैले खुशी भयौँ। रूकुममा त एक बोरा फूलको माला लिएर चढायौँ।” 

रूकुम अदालतबाट न्यायको महसुस भएको अधिकारकर्मी खगेन्द्र बताउँछन्। जिल्ला अदालतको फैसलाले त पीडितले न्याय पाएको महसुस गरेका छन्। अन्तिम निरुपणका लागि मुद्दा गएमा उच्च तहका न्यायालयहरूबाट पनि उनीहरूले न्याय पाउलान्? के अब दोषी जोगाउने राजनीतिक चलखेल हुँदैन? प्रश्नका पुलिन्दा धेरै छन्।

तस्वीर:कृष्पा श्रेष्ठ/उकालो

सामूहिक हत्याकाण्डजस्तो मुद्दामा माथिल्लो अदालतले न्याय नदिने र राजनीतिक दाउपेचमा दोषीलाई उन्मुक्ति दिने काम भए फेरि संघर्षमा उत्रिने चेतावनी दिइरहेका दलित अधिकारकर्मी हुन् खगेन्द्र सुनार। 

रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीबाट २०७७ जेठ १० गते बेलुकी आएको एउटा खबरले जाजरकोटमा सन्नाटा छायो। खबर थियो– नवराजलाई सोतीका गाउँलेले मारिदिए रे। तर नवराजका बुवा मोहनलाई विश्वास लागेन, “चल्लो (कुखुरा) हो र मार्नलाई? प्रहरी बन्ने छोरा हो। कसरी मार्छन्?”

अघिल्लो चोटि २०७६ चैत १७ गते प्रेमिका भेट्न नवराज सोती पुग्दा मल्ल परिवारले कुटपिट गरेर इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएको घटनाबारे मोहन जानकार थिए। त्यसैले हदै भए छोरालाई समातेर प्रहरीसमक्ष बुझाए होलान् भन्ने उनले सोचे। नवराजको प्रेमकथा घर, गाउँ र समाज सबैलाई थाहा थियो। तर यसरी ज्यान लिन्छन् भन्ने कल्पना कसैले गरेका थिएनन्। आखिर जे नहोस् भन्ने थियो त्यही भयो।

यो पनि: न्यायका लागि लडिरहेका ६ आमा

बेपत्ता युवालाई खोज्न भेरी किनारतिर सोझिएकाहरूले एकपछि अर्को शव भेट्टाए। हत्या भएको दुई दिनसम्म के भयो होला भन्ने कुरामा अन्योलग्रस्त थियो जाजरकोट। सामाजिक सञ्जालमा विरोधको आगो बले पनि जाजरकोट शान्त, मौन र सुनसान थियो। जब खगेन्द्र जाजरकोट पुगे, आन्दोलनको राँको बल्यो। जिल्लामा सुस्ताएका विभिन्न संघ/संगठन र संस्थाहरू चिरनिन्द्राबाट ब्युँझिएजसरी सडकमा उत्रिए। अनि जिल्ला प्रहरी कार्यालयको गेटमा आन्दोलन शुरू भयो।

आन्दोलनको थालनी भने भेरी नगरपालिका—४ रानागाउँस्थित नवराजको घरबाट भएको थियो। खगेन्द्रले छोरा गुमाएको वियोगमा शोकाकुल बनेका आमाहरूलाई लिएर शुरूमा रानागाउँदेखि जिल्ला प्रहरी कार्यालय गैरीखालीसम्म प्रदर्शन गरे। जेठ १२ गते बेलुका नै जिल्ला प्रशासन कार्यालयअगाडि गएर धर्ना शुरू गरे।

तस्वीरहरू:लोकेन्द्र/उकालो

त्यही दिनको प्रतिनिधिसभा बैठकमा माओवादी पृष्ठभूमिका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जनार्दन शर्माले “सोतीमा दलितका कारण घटना भएको होइन। उनीहरूलाई कसैले मारेको होइन। गाउँलेले लकडाउनको बेला लखेट्दा भेरीमा हामफाल्दा आफैँ डुबेर मरेका हुन्” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसविरुद्ध, शवको पोस्टमार्टम र फरारहरूलाई कारबाहीको माग गर्दै खगेन्द्रले जाजरकोट दरबारअगाडि अनशन शुरू गरे। त्यतिबेला खगेन्द्रको माग थियो, “अनुसन्धान फितलो भयो। हत्यारालाई लुकाउन खोजियो। प्रहरी गम्भीर हुनुपर्छ।”

यो पनि: रूकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?

घटनालगत्तै तत्कालीन गृहमन्त्रालयका  सहसचिव जितेन्द्र बस्नेत नेतृत्वमा छानबिन समिति बन्यो। तर समितिले प्रारम्भिक जानकारी नै गलत दियो। छानबिन प्रभावित पार्न खोजिएको र नेता शर्माको चलखेलले बनाएको समिति मान्य नहुने भन्दै खगेन्द्रले अनशन जारी राखे। जेठ १४ गते राति तत्कालीन जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख किशोरकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाएर अनशन स्थगित गरे। 

त्यसपछि भने जाजरकोटमा आन्दोलन चर्किन थाल्यो। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हत्यामा संलग्नलाई संरक्षण गरेको भन्दै जनार्दन शर्मा र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पुत्ला नै जलाएको थियो। त्यसपछि बस्नेत नेतृत्वको छानबिन समिति अनुसन्धानबाट पछि हट्यो। त्यो आन्दोलनमा अधिकारका क्षेत्रमा काम गर्ने अभियन्ता र मानव अधिकारकर्मीहरू जोडिए। 

“जाजरकोटकै नेताहरू आन्दोलन केही गर्नु पर्दैन भनेर पीडित परिवारलाई सम्झाइरहेका थिए,” खगेन्द्र आफू जाजरकोट पुगेको समय सम्झन्छन्, “सबै आँशु मात्रै निकालिरहेका छन्। रोइरहेका छन्। केही पत्रकारहरूले सोधपुछ मात्रै गरिहेका छन्। पछि यसले हुँदैन भनेर आन्दोलन शुरू गरियो।”

आन्दोलन त्यतिमै सीमित भएन। जिल्लास्तरमा विभिन्न सरोकारवालाहरू मिलेर नगेन्द्र शाह, छवि पन्त नेतृत्वमा सोती घटना संघर्ष समिति बन्यो। संघर्ष समितिले विभिन्न आन्दोलन र विरोधको कार्यक्रम गर्ने निर्णय गर्‍यो। घटनाबारे आन्दोलन, विरोध प्रदर्शन आदि इत्यादि कामहरू समितिले गर्ने भएपछि खगेन्द्र बाँकी प्रक्रिया पुर्‍याउन सुर्खेत पुगे। 

यसबीच जाजरकोटमा विभिन्न प्रदर्शनहरू भए। पोस्टमार्टम रिपोर्ट, सामूहिक हत्याकाण्डमा राजनीतिक चलखेलजस्ता विषयलाई लिएर आन्दोलन भइरह्यो। हत्या गरिएका ६ जनाको शव जेठ २० गतेसम्म भेटिइसकेको थियो। खगेन्द्र फेरि जेठ २२ गते कर्णाली प्रदेश प्रहरीका डीआईजी वसन्त पन्तलाई सोधेर जाजरकोट जान सुर्खेतबाट हिँडे। तर सल्यानबाट उनलाई अगाडि बढ्न दिइएन।

माथिको आदेश छ भन्दै खगेन्द्र सुनारसहित सुर्खेतका टेकेन्द्र विकलाई पनि जाजरकोट जानबाट रोक लगाइयो। तत्कालीन गृहमन्त्रीकै आदेशमा खगेन्द्रलाई रोक लगाइएको घटना अनपेक्षित थियो। 

जाजरकोट पुगेर आन्दोलनको शुरूआत खगेन्द्रले नै गरेका कारण फेरि ठूलो आन्दोलन हुने सम्भावना देखेर उनलाई रोकिएको थियो। “मलाई अच्चम लागेको थियो। पहिलोपटक आन्दोलन शुरू गरियो। पछि त्यहाँकै माओवादी नेताहरूले गृहमन्त्रीलाई भनेर मलाई जाजरकोट जान निषेध गरेका थिए,” खगेन्द्रले भने। 

यस घटनालाई लिएर सार्वजनिक वृत्तमा निकै विरोध भयो। ६ जनाको विभत्स हत्याजस्तो विषयलाई लिएर भइरहेको आन्दोलन रोकिएन। सोती संघर्ष समिति र नागरिक समाज अधिकारका लागि दिनहुँ सडकमा आइरहे।  

पछि  ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरेर मुद्दा दायर भयो। मुद्दा कानूनी प्रक्रियामा अगाडि बढेपछि पनि पीडितका पक्षमा खगेन्द्रले वकालत गर्दै आइरहे। बेलाबेला जाजरकोटका पीडितसँग भेट गर्दै न्यायका लागि लड्न सान्त्वना दिइरहे।

यो पनि: ‘छोरा मरे पनि न्याय मरेको रहेनछ’

रूकुम घटनालाई लिएर कर्णालीका विभिन्न जिल्लामा उनले आन्दोलन गरे। त्यस क्रममा २०७७ फागुन १० गते दैलेख बजारमा ठूलो प्रदर्शन गरेका थिए। यस्तै, चैत ३० गते नेपालगञ्जमा प्रदर्शन गरे। त्यसको लगत्तै दाङ र सल्यान लगायतका जिल्लामा पुगेर नवराजका लागि न्याय माग गरिदिन आग्रह गर्दै प्रदर्शन गरे। कहिले माओवादीको ‘जनयुद्ध दिवस’का दिन प्रदर्शन गरे त कहिले संविधान दिवसमा प्रदर्शन गरे। २०७९ चैत ७ गते पनि प्रदर्शन गरे। त्यसयता निरन्तर न्यायका लागि प्रदर्शन भइरहे। 

गएको कात्तिक १७ गतेको भूकम्पमा सोती हत्याकाण्डका पीडितहरू पनि परे। उनीहरूलाई त्रिपाल लगायतका सामग्रीहरू लिएर खगेन्द्र जाजरकोट पुगे। त्यतिबेला नै थाहा पाए, २०८० मंसिर ५ गते फैसला हुँदैछ। न्यायका लागि दबाब दिन त्यतिबेला नै जाजरकोट पुगे। तर फैसलाको मिति सर्‍यो। कात्तिक २५ गतेदेखि नै दोषीलाई छुटाउने चलखेल भइरहेको हल्ला सुनेपछि फेरि प्रदर्शन गर्ने तयारी खगेन्द्रले गरे।

भूकम्पमा परेका सोती सामूहिक हत्याकाण्डका पीडितलाई केही राहत दिएर सुर्खेत फर्किएका खगेन्द्र मंसिर १९ गते फैसला मिति तोकिएको थाहा पाएपछि मसिंर १४ गते नै जाजरकोट पुगे। १५ गते रूकुमपश्चिम पुगे। त्यस दिनदेखि रूकुम श्चिम जिल्ला अदालतअगाडि न्यायका लागि अनशन बसे। चार दिनसम्म अनशन बसेर फैसलापछि अनशन तोडे। 

फैसलापछि खगेन्द्रलाई लाग्यो, “रूकुमले परिवर्तन चाहेको रहेछ। यो अदालतले हामीले रूकुममाथि गरिरहेको शंका मेटाइदियो जस्तो लागेको छ। न्यायको पक्षमा संसार नै रहेछ। यो देशमा न्याय चिन्ने मानिसहरू रहेछन्। अदालत पनि रहेछ।”

आफैँ बहिष्करणमा
२०४७ जेठ २ गते दैलेखको नारायण नगरपालिका—५ छातीकोटमा जन्मिएका खगेन्द्रले यो मात्र नभई पछिल्लो समय कर्णालीमा दलित अधिकारका क्षेत्रमा सशक्त काम गर्दै आएका छन्। 

१४ जनाको परिवार थियो। खगेन्द्रका बुवा कमानसिंह सुनको व्यापार–व्यवसायमा थिए। खगेन्द्र परिवारका माइलो छोरा हुन्। सात वर्षको हुँदा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दैलेखबाट पढाइ शुरू गरे। तर १० वर्षसम्म माओवादीले चलाएको सशस्त्र युद्धले छातीकोटमा चयनसँग बस्न दिएन। खगेन्द्रका दाइ खड्कबहादुर सुनार नेपाल प्रहरीमा भर्ती भएका कारण निधारमा राता फेटा बाँधेर माओवादी कार्यकर्ताहरू बेलाबेला खगेन्द्रको परिवारमाथि आइलाग्थे।

पछि माओवादीको चहलपहल निकै बढेपछि छातीकोटमा बस्ने अवस्था आएन। त्यहाँबाट परिवार विस्थापित भयो। परिवारका कोही सदस्य सुर्खेत आए त कोही दैलेख बजार। खगेन्द्र भने सुर्खेत झरे। सुर्खेतको वीरेन्द्रनगरस्थित गुम्तीपुर स्कुलबाट उनले कक्षा आठ पूरा गरे। वीरेन्द्रनगर—९, लाइटीकोइलीमा रहेको शिव माध्यमिक विद्यालयबाट २०६३ सालमा एसएलसी पास गरेका खगेन्द्रले सुर्खेतको जनमाविबाट कक्षा १२ उत्तीर्ण गरे।

सानै उमेरबाट विद्रोही स्वभावका खगेन्द्रले काठमाडौँको आरआर क्याम्पसबाट राजनीतिशास्त्र र इतिहासमा स्नातक पढे। रहरले २०६६ सालबाट कलाकारितामा लागेका उनले रेडियो पञ्चकोशीबाट पत्रकारिता शुरू गरेका थिए। २०६८ सालतिर काठमाडौँ आएर पनि केही समय पत्रकारिता गरे। उनले रेडियो सगरमाथा लगायतका सञ्चार संस्थाहरूमा काम गरे। त्यतिबेला नै दैलेखका सेते दमाईको हत्याको मुद्दा बाहिरियो।

त्यतिबेला दलित आन्दोलनलाई सहयोग गरे पनि उनी सक्रिय थिएनन्। पछि नवराजको घटनाले सक्रिय बनाएको खगेन्द्र बताउँछन्, “दलित आन्दोलनलाई सहयोग नगर्ने भन्ने होइन। आफू नै दलित समुदायबाट प्रतिनिधित्व गरिरहेका कारण आन्दोलनलाई सहयोग त गरियो नै। तर मभित्रको मानवताको आगो जाग्नका लागि नवराजहरू मर्नुपर्‍यो।”

खगेन्द्र आफैँ पनि अन्तरजातीय विवाह गरेर समाजको बहिष्करणमा परेका व्यक्ति हुन्। उनी भन्छन्, “अहिलेसम्म ससुराली टेकेको छैन। स्वीकार गरेका छैनन्।” उनले दैलेखकै सीता गुरूङसँग प्रेम विवाह गरेका थिए। बिहेपछि अहिलेसम्म सीताले माइतीको दैलो टेक्न पाएकी छैनन्। आफैँ बहिष्करणमा परेर पनि कर्णालीबाट पछिल्लो समय जल्दोबल्दो रूपमा दलित समुदायको हक र हितमा काम गरिरहेका छन् उनी। 

२०८० वैशाख १ गते वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि उनले धर्ना दिए। तर अधिकारका लागि प्रदर्शन गर्न पुगेका खगेन्द्र लगायतका अधिकारकर्मीहरूमाथि प्रहरीले लाठी बजारेको थियो। “यो देशमा अधिकार माग्न जाँदा लाठी खानुपर्छ। आक्रमण हुन्छ। यसको अन्त्य गर्नुपर्छ,” खगेन्द्र भन्छन्। 

गएको असार १ गते पनि कर्णाली प्रदेशको बजेटलाई लिएर भएको विरोधको नेतृत्व उनैले गरेका थिए। त्यतिबेला प्रहरीको लाठीबाट तीन जना घाइते भएका थिए। खगेन्द्र पक्राउ परे। तर दलित समुदायका पक्षमा बजेट विनियोजन नभएको संशोधन हुनुपर्ने भन्दै हिरासतमै उनले भोक हडताल गरे। पछि उनीविरुद्ध शान्ति सुरक्षा खलबल्याएको भन्दै मुद्दा चल्यो। 

हिरासतभित्रै सात दिनसम्म भोक हडतालपछि २० हजार धरौटीमा उनी छुटे। बजेट पनि संशोधन भयो। तर उनी त्यतिमै रोकिएनन्। असोज ३ गते संविधान दिवसको दिन फेरि प्रदर्शन गरे। “संविधान दिवस मनाइरहने, तर अधिकार नपाएर दलितहरू मरिरहेका छन्। अधिकार पाउनुपर्छ भनेर प्रदर्शन गरेका थियौँ,” खगेन्द्र भन्छन्, “यो क्रम निरन्तर चलिरहन्छ।”

सोती सामूहिक हत्याकाण्डयता दलित समुदायका मुद्दा बलियो रूपमा उठाउँदै आएका खगेन्द्र कर्णालीका विभिन्न जिल्लाहरूमा पुगेर दलित समुदायको हक र अधिकार स्थापित गर्न निरन्तर लागिरहेका छन्।

तपाईंको आन्दोलन कुनै व्यक्तिगत स्वार्थपूर्ति र दलित समुदायलाई पदको भर्‍याङ बनाउनका लागि त होइन भन्ने प्रश्नमा उनले जवाफ दिए, “यो आन्दोलन होइन, एक खालको लडाइँ हो। तपाईंले भनेजस्तो मैले गर्नुपर्ने पनि छैन। म आफ्ना लागि आफैँ लड्दै छु। कुन स्वार्र्थले मलाई अल्झाउला? अबका आन्दोलनहरू हिजोको जस्तो सानातिना सम्झौतामा रोकिँदैनन्।” अहिले खगेन्द्रले ‘आफ्ना लागि आफैँ’ भन्ने अभियान शुरू गरेका छन्। उनी यसको संयोजक हुन्।


सम्बन्धित सामग्री