Thursday, April 25, 2024

-->

रुकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?

माओवादी द्वन्द्वले जगाइदिएको सामाजिक चेतनाले गाउँ–गाउँमा अन्तरजातीय विवाह गर्न कस्सिएकालाई राहत दिएको थियो। जातीय हिंसाको पराकाष्ठा देखाउने रुकुमको सोती हत्याकाण्ड दबाउन माओवादी नेताहरू नै सक्रिय बने।

रुकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय

काठमाडौँ– “तिमीलाई मल्ल ठकुरीको सम्धी बन्ने इच्छा छ!”

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीका इन्द्रबहादुर मल्लले २०७६ पुसतिर जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका मोहन विकलाई भनेको वाक्य हो यो।

मोहन तीन वर्षअघि हत्या गरिएका नवराज विकका बाबु हुन्। इन्द्रबहादुर भने नवराजकी प्रेमिकाका ठूलोबुबा हुन्। सोतीका इन्द्रबहादुर पछिल्लो समय भेरी–४ मा नै व्यवसाय गर्दै आएका थिए।

इन्द्रबहादुरकी भतिजी नवराजलाई भेट्न रानागाउँ गइरहन्थिन्। इन्द्रबहादुरको कुराले झस्किएका मोहनले नवराजलाई नभेट्न भन्दै किशोरीलाई सम्झाएका थिए। तर, उल्टै उनले मोहनलाई भनेकी थिइन्, “बुबा, हामी माओवादी हौँ। अहिलेको जमानामा केको जातभात? हामी मान्दैनौँ।”

मोहनले यस्तो जवाफ पाएको पाँच महिनापछि २०७७ जेठ १० गते नवराजसहित ६ जनाको हत्या भयो। कुटपिटबाट १२ जना घाइते भए। कुटपिट र हत्याको कारण जात नै थियो। 

त्यस दिन साथीहरूसहित प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराजको जात नमिलेको भन्दै मल्ल परिवार र सोतीका स्थानीयले आक्रमण गरेका थिए। हत्यामा संलग्न भएको आरोप लागेका इन्द्रबहादुर अहिले पनि तारेख धाइरहेका छन्। माओवादीबाट निर्वाचित तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल भने पुर्पक्षका लागि थुनामा छन्। उनलाई मुख्य अभियुक्तका रूपमा मुद्दा चलाइएको छ।

डम्बरबहादुरको पक्षमा ‘शक्ति प्रयोग’
इन्द्रबहादुरले मोहनलाई ‘ठकुरीको सम्धी बन्ने’ भनेर व्यंग्य गरेको तीन महिनापछि २०७६ चैत १७ गते नवराज प्रेमिका भेट्न सोती गएका थिए। तर, मल्ल परिवारले नवराजलाई कुटपिट गर्‍यो। कुटपिटपछि वडाध्यक्ष डम्बर आफैँले उनलाई इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाए।

नवराजलाई त्यो रात प्रहरी हिरासतमा राखियो। अर्को दिन वडाध्यक्षको रोहबरमा प्रहरीले उनलाई परिवारको जिम्मा लगाउन खोजेको थियो। तर, प्रहरी कार्यालयमा बोलाउँदा डम्बरले उल्टै जातीय विभेदयुक्त शब्द प्रयोग गर्दै ‘त्यो ...को मुख हेर्न आउँदिनँ, त्यसको परिवारलाई जिम्मा लगाइदिनू’ भनेको त्यसबेला इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी बताउँछन्।

त्यसपछि, मल्ल परिवारले दुई जनालाई भेट्न बन्देज लगाएको थियो। जाजरकोट सदरमुकाम खलंगामै बस्ने इन्द्रबहादुरले नवराज कता जान्छन् भनेर चियो गर्ने र सोतीमा भएका परिवारलाई जानकारी दिने गर्थे। तर, सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरू सम्पर्कमै थिए।

भेटघाटमै बन्देज लगाएपछि नवराज बिहे गरेर प्रेमिका भित्र्याउन सोती जाँदा आक्रमणमा परे। उक्त घटनामा घाइते भएका सुदिप खड्काका अनुसार, मल्ल परिवारको अवरोधपछि नवराजको समूह फर्किएको थियो। तर, वडाध्यक्ष डम्बरबहादुरले युवाको समूह जम्मा पारेर फर्किंदै गरेकामाथि आक्रमण गरेका थिए।

आक्रमणबाट घाइते भएका महेश कार्कीका अनुसार कुटपिट भइरहँदा उनीहरूले ‘तिमीहरूलाई मार्ने उद्देश्य होइन, तीन जनालाई मात्र हो’ भनेका थिए। त्यो आवाज सुन्ने बित्तिकै आफू भेरीमा हाम फालेको उनले बताए। 

नवराज, लोकेन्द्र सुनार र सञ्जु विकको हत्या गर्ने उद्देश्यले आक्रमण भएको देखिएको र प्रमाण नष्ट गर्न घाइते भएका गोविन्द शाही, टीकाराम सुनार र गणेश बुढाको पनि हत्या भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। यो घटना छानबिनका लागि प्रतिनिधिसभाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा विशेष समिति बनाएको थियो।

समितिलाई यसबारे रुकुम पश्चिमका सीडीओ उपेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिएका थिए। आक्रमणको नेतृत्व तत्कालीन वडाध्यक्ष डम्बरबहादुरले गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्।

वडाध्यक्ष डम्बरबहादुर सोतीकै हुन्। मल्ल परिवारसँग माओवादी नेता जनार्दन शर्माका भाइ अनिल शर्माको ससुरालीतर्फको नाता छ। डम्बरबहादुर अनिलका जेठान हुन्। त्यस्तै, पुर्पक्षमा रहेका सन्तोष अनिलका साला हुन्।

यो पनि: न्यायका लागि लडिरहेका ६ आमा

वडाध्यक्ष डम्बरबहादुर र चौरजहारी नगरपालिकाका तत्कालीन मेयर विशाल शर्मा काका–भतिज हुन्। डम्बरकी आमा र तत्कालीन मेयर शर्माकी पत्नी सहोदर दिदीबहिनी हुन्। यो प्रकरणमा डम्बरबहादुरलाई जोगाउन विशाल, अनिलदेखि जनार्दन शर्मासम्मको भूमिका रहेको घटनाक्रमले देखाउँछन्।

हत्या भएकै दिन जेठ १० गते वडाध्यक्ष डम्बरबहादुर पक्राउ परेका थिए। तर, मेयर विशालले इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई ‘वडाध्यक्षलाई मेरो क्वाटरमा लिएर आऊ’ भनेर आदेश दिए। उनको आदेश मानेको प्रहरीले डम्बरलाई मेयरको जिम्मा लगाएको थियो। अर्को दिन, जेठ ११ गते डम्बर पुनः पक्राउ परेका थिए। 

प्रतिनिधिसभामा जनार्दनको विवादास्पद अभिव्यक्ति
घटना भएको तेस्रो दिन, २०७७ जेठ १२ गते, रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसद्मा यसबारे बोलेका थिए। “रुकुमको सोतीमा दलितका कारण घटना भएको होइन। उनीहरूलाई कसैले मारेको होइन। गाउँलेले लकडाउनको बेला लखेट्दा भेरीमा हाम फालेर डुबेर मरेका हुन्,” शर्माले भनेका थिए।

त्यही बैठकमा सांसद प्रकाश रसाइलीले शर्माको अभिव्यक्तिको प्रतिवाद गरेका थिए। उनले दुई पूर्वगृहमन्त्री आरोपितहरूको बचाउमा लागेको बताएका थिए। उनले भनेका अर्का पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोटका सांसद थिए।

घटना भएको बेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए। थापाकै निर्देशनमा जेठ १३ गते गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा छानबिन समिति बन्यो। तर, प्रकाश रसाइली, मीन विश्वकर्मा, पार्वती विशुंखेलगायत तत्कालीन सांसदहरूले प्रतिनिधिसभामा समितिमाथि प्रश्न उठाएका थिए। जनार्दन शर्माको चलखेलमा बस्नेतको नेतृत्वमा समिति बनाएको उनीहरूको आरोप थियो।

अभियुक्तहरूलाई रुकुम जिल्ला अदालतमा उपस्थिति गराउन लैजाँदै प्रहरी।

त्यसपछि, जेठ २६ गते सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको थियो। उक्त समितिले एक महिनामा प्रतिवेदन बुझाउँदै जातीय कारणले ६ जनाको हत्या भएको उल्लेख गरेको थियो। संसदीय छानबिन समितिले नै जेठ १२ गते प्रतिनिधिसभामा जनार्दन शर्माले दिएको अभिव्यक्ति गलत भएको पुष्टि गरेको थियो।

घटनाको भोलिपल्ट माओवादी नेता (तत्कालीन नेकपा नेता र अहिले कर्णालीका मुख्यमन्त्री) राजकुमार शर्मा र चौरजहारीका मेयर विशाल शर्मा रुकुम पश्चिमका प्रहरी प्रमुख र सीडीओ भेट्न मुसिकोट गएको माओवादी रुकुमका एक नेताले बताए। जनार्दनकै निर्देशनमा उनीहरूले अनुसन्धान प्रभावित पार्ने गरी भेटघाट गरेको उनी बताउँछन्।

अधिकारकर्मी भन्छन्– राजनीतिक हस्तक्षेप भयो
जातीय विभेदको चरम रूप उजागर गरेको यो हत्याकाण्डमा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। अहिले २३ जना थुनामा छन्। रुकुम जिल्ला अदालतले यो मुद्दामा अन्तिम फैसला सुनाउन वैशाख २४ गते तोकेको पेसी सारेर जेठ ३१ गते पुर्‍याइएको छ।

रुकुम हत्याकाण्डको अध्ययन गरेका अधिकारकर्मी तथा अधिवक्ता बद्री भुसाल राजनीतिक चलखेल गरेर आरोपितहरूलाई बचाउन खोजिएको बताउँछन्। “तीन वर्षदेखि मुद्दा अड्किएको छ। आरोपीहरूलाई शुरूमा राजनीतिक रूपमा बचाउन खोजिएको थियो। अहिले पनि उनीहरू सक्रिय छैनन् भन्न सकिँदैन,” उनी भन्छन्।

यसमा रुकुम पश्चिम र जाजरकोटकै कतिपय नेता र अधिकारकर्मीहरू लागेको जाजरकोटका एक अधिकारकर्मीको भनाइ छ। नाम उल्लेख गर्न नचाहने ती अधिकारकर्मी भन्छन्, “हाम्रै अधिकारकर्मी साथीहरू पनि घटनालाई कमजोर पार्न लागे। बाहिर न्यायका लागि भन्ने, भित्रभित्र रुकुमका नेताहरूसँग मिल्ने काम गरे। मुद्दा कमजोर गर्नतिर लागे। त्यो गरेकै कारण उनीहरूले पार्टीमा (माओवादीमा) स्थान पाइसकेका छन्।”


सम्बन्धित सामग्री