Sunday, April 28, 2024

-->

८ वर्षदेखि अस्पतालको शवगृहमा अजित, बुबा भन्छन्– ‘छोराको होइन, हाम्रो दाहसंस्कार गर’

अन्तरजातीय प्रेमविवाहलगत्तै धादिङमा मृत भेटिएका अजित मिजारको शव ८ वर्षदेखि शिक्षण अस्पतालमा छ। प्रहरीले फर्जी पोस्टमार्टम रिपोर्ट बनाउन लगाएर गाडेको शव निकालेको परिवार अझै न्यायको संघर्षमा छ।

८ वर्षदेखि अस्पतालको शवगृहमा अजित बुबा भन्छन्– ‘छोराको होइन हाम्रो दाहसंस्कार गर’
अजितकी हजुरआमा बाटुली (बायाँ), अजित (इन्सेटमा माथि) र बाबु हरिभक्त तथा आमा काली।

काभ्रे— उमेर २० वर्ष नाघिसकेकै थिएन। आठ वर्षअघि पाँचखालका अजित मिजार र मण्डनदेउपुरकी कल्पना पराजुलीको प्रेमले उमेर बिर्सियो। उनीहरूले २०७३ असार २५ गते बिहे गरे। त्यसको चार दिनपछि धादिङको परेवाटारमा अजितको शव भेटियो।

शव भेटिएको आठ वर्षसम्म अत्येष्टि हुन सकेको छैन। शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। न्याय नपाएसम्म शव नउठाउने परिवारको अडान छ। बुवा हरिभक्त ढकाल भन्छन्, “न्याय नदिए हाम्रो दाहसंस्कार होला, छोराको हुने छैन।”

अजितको शव भेटिएपछि उनको परिवारले केटी पक्षविरुद्ध जाहेरी दिएको थियो। यो मुद्दा अहिले सर्वोच्च अदालत पुगेको छ। धादिङ जिल्ला अदालतले शव भेटिएको दुई वर्षपछि २०७५ जेठ २० गते हत्या आरोपितलाई सफाइ दिने फैसला गरेको थियो। उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो। उच्च अदालतका न्यायाधीश श्यामजी प्रधान र विमल सुवेदीको संयुक्त इजलासले २०७९ वैशाख १२ गते दोषीलाई उन्मुक्ति दिने गरी फैसला गरेपछि मुद्दा सर्वोच्च पुगेको बुवा हरिभक्त बताउँछन्।

“नियोजित रूपमा छोराको हत्या गरे। त्यो कुरा न्यायालयले देखेन,” हरिभक्त भन्छन्, “हाम्रा लागि कानून पनि हुँदोरहेनछ, यो कानून भनेको पहुँचवालाहरूका लागि रहेछ।”

उनी नौ महिनाअघि ‘मुद्दा दोहोर्‍याइ हेरी पाऊँ’ भन्दै सर्वोच्च गएका छन्। सर्वोच्चले फागुन ८ गते मुद्दाको पेसी तोकेको छ। “छोराको लास कसरी भेटिएको थियो, कसरी गाडिएको थियो भन्ने कुराहरू (कानूनले) किन नदेखेको होला?” उनी भन्छन्, “संसारलाई थाहा छ, मेरो छोराको हत्या भएको हो। आत्महत्या मरिगए हुनसक्दैन।”

अजितका परिवारलाई प्रहरीको अनुसन्धानमाथि नै शंका छ। मुद्दालाई मिहिन ढंगबाट न्यायालयले नहेरेको हरिभक्त गुनासो गर्छन्।

हरिभक्तको घर पाँचखाल नगरपालिका–६ तामाघाट चोकबाट एक किमि दायाँतर्फ मोडिएपछि पुगिने शिखरपुरमा छ। उनका छोरा अजित त्यहीँ हुर्केबढे। अजित र मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीकी कल्पना दुई वर्षदेखि प्रेममा रहेको कुरा उनीहरूको बिहेपछि मात्र परिवारले थाहा पाए। 

बुवा हरिभक्त ढकाल र आमा काली।


बिहेपछि एकअर्काको परिवारले शोधखोज गर्न थाल्यो। २०७३ असार २६ गते बिहान कल्पनाका बुवा भोजबहादुर पराजुली पाँचखाल पुगे। स्थानीय रमेशप्रसाद काफ्ले भोजबहादुरलाई लिएर हरिभक्तको घर पुगेका थिए। भोजबहादुरले अजितकी आमा कालीलाई भेटेर भनेका थिए, “छोरा कहाँ छ, झिकाउनुपर्‍यो।” 

असार २७ गते पाँचखाल प्रहरी चौकीमा झिकाउने कुरा भएपछि त्यो दिन भोजबहादुर आफ्नो बाटो लागे। त्यही दिन बेलुका ८ बजेतिर रमेशलाई कल्पनाका बुवा भोजबहादुरको फोन आयो। “मिजारसँग बिहे गरेर जाने भए लिनलाई चौकी किन जानुपर्‍यो? एकपटक छोरीसँगै कुरा गराइदिनुपर्‍यो।” 

अजितको घर पुगेर रमेशले भोजबहादुर र छोरी कल्पनाको कुरा गराए। घर फर्केर आउन भोजबहादुरले गरेको प्रस्ताव कल्पनाले अस्वीकार गरिन्। भोजबहादुरले लगातार चारपाँच पटक फोन गरे। रमेशले अदालतमा दिएको बयानअनुसार भोजबहादुरले त्यो दिन ‘मिजारसँग बिहे गर्ने?’ भनेपछि छोरीसँग बाझाबाझ भएको थियो। भोजबहादुरले आफ्नैअगाडि जातीय कुरा गरेकाले अजितले आत्महत्या गरेको नभई हत्या नै भएको रमेशले बयान दिएका छन्।

हजुरबालाई बहिष्कार, नातीको ‘हत्या’
शिखरपुरमा अन्तरजातीय विवाह गर्ने अजित पहिलो थिएनन्। उनका हजुरबुवा रामबहादुर ढकाल र बाटुली मिजारबीच २०१८ सालमै बिहे भएको थियो। दलित समुदायकी युवती बिहे गरेपछि रामबहादुरलाई कथित उपल्लो समुदायले बहिष्कार गरेको थियो।

बाटुली (७६) का अनुसार रामबहादुरले उनका लागि परिवार नै छाडिदिएका थिए। उनी भन्छिन्, “त्यतिबेला गाउँमा बस्न दिदैनथे। म गएको होइन, उनी आफ्नो घरपरिवार छोडेर मसँग आएका हुन्। अहिले त नातीलाई नै मारिदिए।”

बाटुलीलाई अजितको हत्या कसरी भयो? के भयो? थाहा छैन। तर ‘पराजुली थरका माइती पक्षहरूले मारेका हुन्’ भन्नेमा उनी प्रष्ट देखिन्छिन्। अजित हराएको गते उनको जानकारीमा छैन। यद्यपि, दुईचार जना मान्छे आएर घर घेरा हालेको कुरा मनसपटलमा ताजै छ। उनले भनिन्, “नाती हराएको दिनाँ, दाह्रीजुंगा पालेका मान्छेहरू आएर घर वरिपरि घुम्थे।” 

पछि एकैपटक बाटुलीलाई छोराबुहारीले ‘अजितलाई मारेको’ सुनाएपछि उनको होस उड्यो।

प्रहरीकै अगाडि धम्कीः माटोमाथि हिँड्न दिन्नँ
विवाह गरेका अजित र कल्पनालाई खोजतलास गरेर असार २६ गते पाँचखाल चौकी पुर्‍याइयो। उमेर नपुगी बिहे गरेको भन्दै माइती पक्षको दबाबमा प्रहरीले त्यही दिन अलग बनाइदियो। त्योबेला कल्पनाकी दिदी सम्झनाले प्रहरीकै सामुन्ने भनेकी थिइन्, “जति पैसा खर्च गरेर पनि अजितलाई माटोमाथि हिँड्न दिन्नँ।”

प्रहरी चौकीबाट घर आएपछि अजित र उनको परिवारलाई अपरिचित व्यक्तिहरूबाट धम्की आउन थाल्यो। फोनमा ‘अजित कहाँ छ? के गरिरहेको छ?’ भनेर सोधखोज हुन्थ्यो। अजितकी आमा काली भन्छिन्, “जे हुनु भइसक्यो, अब केही हुँदैन भन्ने लागेको थियो।”

असार २९ गते केही अपरिचित व्यक्ति घरमा आएर सोधखोज गरे। त्यसको एक दिनअगाडि फोन गरेर कल्पनाले ‘म २९ गते जसरी भए पनि यहाँबाट भागेर आउँछु’ भनेका कारण अजित मोबाइल घरमै छाडेर बाहिर निस्किएका थिए। त्यसपछि अजित बेपत्ता भए।


त्यति बेलै कल्पनाका बुबा भोजबहादुरका साथी कन्हैया कर्माचार्यले अजितको मोबाइलमा बारम्बार फोन गरिरहेका थिए। परिवार भने अजित हराएपछि प्रहरीमा निवेदन दिने तयारीमा थियो। गाउँका जान्नेबुझ्नेहरूले ‘छोरी हराएको हो र! छोरा हो, आइहाल्छ’ भन्दै थिए।

अजितकी आमाका अनुसार दुई दिनसम्म अजितको खोजखबर गर्दा केही पत्ता लागेन। ३१ गते बिहानै आमा काली तामाघाटको मासु पसलमा छोराको हालखबर बुझ्न पुगेकी थिइन्। भिड अत्यन्तै भएकाले नबुझेरै फर्किइन्। 

दिउँसो ३ बजेतिर फेरि उनी त्यही पसल पुगिन्। “पसले दाइले धादिङमा एक जना झुण्डिएको फोटो मोबाइलमा आएको छ, त्यही त होइन भने। त्यति टाढा जान मेरो छोरासँग पैसा नै थिएन। कहाँ त्यहाँ जान्छ, ‘होइन’ भनेँ,” कालीलाई त्यो क्षण अझै सम्झना छ, “पछि त्यो दाइले झुण्डिएको फोटो देखाउनुभयो। जुत्ता, कपडाले चिन्यौँ, अजितै रहेछ।”

त्यति बेलासम्म पनि प्रहरीले अजितबारे परिवारलाई जानकारी गराएको थिएन। अजितको तस्वीर सामाजिक सञ्जालमा आइसकेको रहेछ। पसलेले देखाएको तस्वीर सामाजिक सञ्जालबाटै लिइएको थियो।

फर्जी पोस्टमार्टम रिपोर्ट, फितलो अनुसन्धान
सामाजिक सञ्जालमा अजितको तस्वीर आइसकेको थियो। त्रिपाललाई बटारेर बनाइएको डोरीमा झुण्डिएको र खुट्टाले भुईंमा टेकेको देखिन्थ्यो। प्रहरीले अजितको परिवारलाई खबर गरेकै थिएन। परिवार रातभरि लगाएर भोलिपल्ट बिहानै धादिङको गजुरी पुग्यो।

बिहान ७ बजेतिर गजुरी चौकी पुगेर अजितको बुवा हरिभक्तले छोराको शवबारे सोधे। तर प्रहरीले दुई वटा शव पुरिसकेको बतायो, एउटा त्रिशुलीले बगाएर ल्याएको र अर्को प्रतीक्षालयमा झुण्डिएको। अजितको परिवारले शव हेर्न जिद्दी गर्‍यो। प्रहरीले शवको पोष्टमार्टम भइसकेको, क्षतविक्षत् भएको र हेर्न नमिल्ने बतायो। ‘हामीले सद्गत गरिसक्यौँ पाँचखालबाट आए पनि तपाईंहरू जानुहोस्’ भनेर प्रहरीले भनेको थियो। तर बुवा हरिभक्तले ‘मेरो छोरोको सद्गत तपाईंहरूले गरेर हुन्छ?’ भनेर अड्डी कसे। पाँचखालबाट गएका आफन्तले पनि साथ दिए। मृतकको परिवार र अधिकारकर्मीको दबाबमा साउन २ गते शवको उत्खनन् भयो।

उत्खननअघि प्रहरी अधिकारीहरूले भनेका थिए, “पाँच फिट गहिरो खनेर गाडिएको छ, जेसीभी खर्च तपाईंहरूको लाग्छ।” त्रिशूली नदी किनारमा प्रहरीले जेसीभी लगाएर गाडिएको भनिएको शव डोजरले थोरै खन्दै निक्लिएको थियो। शवको पोस्टमार्टम पनि गरिएको थिएन, प्रहरीले ढाँटेको थियो। हरिभक्त भन्छन्, “प्रहरीले कहाँ लानुहुन्छ भनेर सोध्यो। पोस्टमार्टम गर्न लिन्छौँ भनेँ। तर प्रहरीले पोस्टमार्टम गर्न नदिने अडान लियो।”

पछि अजितको परिवारले दाहसंस्कारका लागि लैजाने भनेर एम्बुलेन्समा शव हालेर सिधै काठमाडौँ ल्याए। त्रिवि शिक्षण अस्पतालले ‘पोष्टमार्टम भइसकेको’ भन्दै एम्बुलेन्सबाट शव निकाल्न दिएन। पछि केही अधिकारीकर्मीहरू गएर एक रातका लागि राखिदिन आग्रह गरेपछि मात्र अनुमति दिइयो। “त्यो दिनदेखि शव राखेको राख्यै भयो। न्याय नपाएसम्म अझै रहन्छ,” हरिभक्त भन्छन्।

शिक्षण अस्पतालले पनि एकदुई दिन शव परीक्षण गर्न मानेन। त्यसको कारण प्राथमिक स्वास्थ्य केन्द्र गजुरी थियो। डा. अमृता श्रेष्ठले पोस्टमार्टम भइसकेको कागज तयार गरेकी थिइन्। पछि अनुसन्धानका क्रममा त्यो फर्जी साबित भयो। प्रहरीले औपचारिकताका लागि पोस्टमार्टम रिपोर्ट आवश्यक परेको भनेपछि फर्जी बनाइदिएको डा. श्रेष्ठले अदालतमा बयान दिएकी छन्।

डा. अमृता श्रेष्ठले पोस्टमार्टम रिपोर्ट 'फर्जी' भएको भन्दै अदालतलाई दिएको बयान।


त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठले अदालतमा बयान दिँदा शवमा घाउचोट र नीलडाम भएको बताएका छन्। तर डा. अमृता श्रेष्ठले बकपत्र गर्दा जीउमा घाउचोट नभएको र अनुहार नीलो भएको बताएकी छन्। राय बाझिएको भन्दै उच्च अदालत पाटनले शिक्षण अस्पतालको मेडिकल बोर्डलाई तथ्य राय दिन आदेश दिएको थियो।

घटना भएकै बेला दलित नागरिक समाजले बनाएको स्थलगत अध्ययन प्रतिवेदनमा पनि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रकै चिकित्सकहरूले डा. अमृता श्रेष्ठले पोस्टमार्टम नगरी रिपोर्ट दिएको बताएका छन्। गजुरीका डाक्टरले नागरिक समाजको टोलीसँग भनेका छन्, “३० गते बिहान लास आइपुगेको थियो। प्रहरीको रिपोर्ट नआइकन पोष्टमार्टम गर्न मिल्दैन भने पनि डा. अमृता सक्रिय हुनुभयो।”

शिक्षण अस्पताल फरेन्सिक मेडिसिनले पोस्टमार्टमबारे अदालतलाई पठाएका पत्रहरू। 


पोस्टमार्टम  नै नगरेर रिपोर्ट तयार पार्ने चिकित्सकमाथि अनुसन्धान हुनुपर्ने भए पनि त्यही रिपोर्टलाई आधार मानेर उल्टै जिल्ला अदालतले ‘आत्महत्या भएको’ फैसला गरेको अधिवक्ता मोहन साशंकर बताउँछन्। उनी भन्छन्, “जिल्ला अदालतले गरेको यस्तो त्रुटिपूर्ण फैसलालाई उच्चले पनि साथ दियो।”

पोष्टमार्टम नै नगरेर तयार बनाइएको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ लेखिएको थियो। शिक्षण अस्पतालका डाक्टरहरूले समेत यसैलाई सदर गरिदिएका थिए। 

प्रहरीमाथि शंका गर्ने अरू धेरै कारण र बयानतर्फ अदालतले ध्यान नै नदिएको अधिवक्ता साशंकरको भनाइ छ। “प्रमाणहरू नष्ट पार्न सक्रिय प्रहरी अधिकृतमाथि नै अनुसन्धान हुनुपर्ने हो तर उनीहरूकै रिपोर्टका आधारमा फैसला भयो। सदर भयो,” उनी भन्छन्।

सरकारी समितिकै ठहरः हत्या
अजितको शव भेटिएको दुई हप्तापछि २०७३ साउन १५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा भोजबहादुरलगायतविरूद्ध जाहेरी दर्ता भयो। हत्या भएको भन्दै नागरिक समाज तथा विभिन्न संघसंस्थाले विरोध जनाए। त्यसपछि तत्कालीन व्यवस्थापिका संसद् सदस्य कमला दोङको संयोजकत्वमा २०७३ भदौमा छानबिन उपसमिति गठन भयो। उक्त समितिले हत्या नै भएको ठहर गरेको थियो। त्यति मात्र नभई, सबुतहरू नष्ट पार्न प्रहरी नै सक्रिय बनेको समितिको निष्कर्ष थियो।

त्यसपछि तीन जनाविरूद्ध मुद्दा दायर भयो। धादिङ जिल्ला अदालतले २०७३ असोज ६ गते कल्पनाका बुबा भोजबहादुरलाई कारागार चलान गर्न र दिदी सम्झना तथा काका पर्ने टेकबहादुरलाई धरौटीमा छाड्न आदेश दियो। पछि पुस २८ गते भोजबहादुर २५ हजार धरौटीमा रिहा भए।

अदालतले पनि दोषीलाई उन्मुक्ति दिएको भन्दै विरोध भएपछि माघ ६ गते तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपालीको संयोजकत्वमा छानबिन समिति बनाइयो। फागुनमा श्रीपाली नेतृत्वको समितिले हत्या नै भएको निष्कर्षसहित प्रतिवेदन तयार गर्‍यो। तर २०७५ जेठ २० गते प्रमाण नपुगेको भन्दै धादिङ अदालतले तीनै जना आरोपितलाई सफाइ दियो।

तस्वीर सौजन्य: शिवहरि ज्ञवाली


अजित हत्याकाण्डमा सबैतिरबाट नाम जोडिएका र शंकास्पद भूमिका खेलेका भक्तपुरका कन्हैया कर्मचार्यविरूद्ध प्रहरीले जाहेरी नै लिएको थिएन। अजितले प्रेमविवाह गरेकी किशोरी कल्पना पनि हत्यामा संलग्न भएको पीडित परिवारको दाबी रहे पनि उनीमाथि प्रहरीले अनुसन्धान नै गरेन। उच्च अदालत पाटनले २०७९ वैशाख १२ गते जिल्लाकै फैसला सदर गरिदियो।

२०८० वैशाख २२ गते अजितका बुबा हरिभक्तले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्। तर सरकारी वकिलको कार्यालय भने सर्वोच्च गएन। “हाम्रो न्यायालयले नै हत्यालाई मृत्यु बनाइदिए, दोषीलाई उन्मुक्ति दिए। केटीलाई कन्हैया कर्मचारीले ‘तेरो अजित तीन दिनभित्र मर्छ’ भनेर हात हेरेको कुरा अदालतले किन नदेखेको होला? प्रहरीले फर्जी पोष्टमार्टम गराउन लगायो, त्यो कुरा किन नदेखेको होला?,” हरिभक्त भन्छन्, “यो देशमा न्याय कहिले पाइन्छ?”

घटना हुनुभन्दा तीन दिनअगाडि असार २८ गते भक्तपुरमा आफ्नो हात हेर्दै कन्हैयाले ‘तेरो अजित केही दिनमा मर्छ’ भनेको कल्पनाले अदालतमा बयान दिएकी छन्। जबकि उनी हात हेर्ने पेशाका व्यक्ति नभएको अजितको परिवारको दाबी छ।


अजित मृत भेटिएकै दिन पटकपटक उनको मोबाइलमा फोन सम्पर्क गरेका कर्माचार्यलाई प्रहरीले भोजबहादुरको व्यवसायिक साथी मात्र भएको भन्दै मुद्दा नचलाएको हो। अजितका परिवारले भने उनीसहित कमजोर अनुसन्धान गर्ने प्रहरी निरीक्षक प्रकाश जबेगु, फर्जी पोष्टमार्टम रिपोर्ट बनाइदिने डा. अमृता श्रेष्ठलगायतमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्यसचिव सीताराम घले अजितको शव प्रक्रिया नपुर्‍याइ हचुवामा गाडिएको र फर्जी पोष्टमार्टम बनाउन सरकारी अधिकारी नै सक्रिय भएको बताउँछन्। त्यही कारण हत्याका दोषीले उन्मुक्ति पाएको उनको भनाइ छ।

प्रेम विवाहदेखि हत्यासम्मका घटना सरकारले नै गठन गरेका विभिन्न समितिबाट पुष्टि भए पनि फर्जी रिपोर्ट बनाउने र गलत अनुसन्धान गर्नेलाई कारबाही नभएको घले बताउँछन्। “न्याय नै मरेको अनुभूत हुन थालेको छ। यतिसम्मकी अदालतकै आदेश अदालतबाटै बेवास्ता र नजरअन्दाज गरेर न्यायको घाँटी निमोठ्ने काम भए,” घले भन्छन्।

त्यसैगरी मानवअधिकारकर्मी शिवहरि ज्ञवाली पीडित पक्षको मधुरो आवाज नजरअन्दाज गरी जातीय हिंसा र हत्या जस्तो जघन्य घटनालाई न्यायालयले सामान्य रूपमा हेरेको बताउँछन्। “यो देशमा दलितहरूको हत्या हुनु सामान्य भयो। त्यसमाथि सरकारी संयन्त्रहरू नै बचाउमा उत्रिनु पनि सामान्य भयो। त्यो अजितको हत्या र त्यसको अनुसन्धानले देखाउँछ,” उनले भने।


सम्बन्धित सामग्री