Monday, April 29, 2024

-->

बढ्दो सुक्खापनले खाद्य सुरक्षा, ऊर्जा उत्पादन र पिउने पानीमा ‘हिउँदे चुनौती’

साढे आठ मेगावाट जडित क्षमताको अपर हेवाखोला हाइड्रोपावरबाट हिउँदमा ६९ लाख ५६ हजार ३७७ किलोवाट प्रतिघण्टा विद्युत उत्पादन हुनुपर्नेमा यस वर्ष झन्डै १० लाख किलोवाट कम निस्कियो।

बढ्दो सुक्खापनले खाद्य सुरक्षा ऊर्जा उत्पादन र पिउने पानीमा ‘हिउँदे चुनौती’
बाजुराको सुक्खाग्रस्त खेत। तस्वीर सौजन्य: प्रकाश सिंह

काठमाडौँ– जलवायुमा आएको विश्वव्यापी परिवर्तनका कारण एकातिर अस्वाभाविक वर्षाले निम्त्याउने बाढी र पहिरोजस्ता घटनामा बढोत्तरी भएको छ भने अर्कोतर्फ लामो समयको खडेरीले पानीका स्रोतहरू सुक्दै गएका छन्। त्यसको प्रभाव कृषि, जैविक विविधता र मानिसको स्वास्थ्यमा परेको छ। 

विश्व बैंकका अनुसार जलवायु परिवर्तनकै कारण विश्वको ८० प्रतिशत जनसंख्या खाद्य सुरक्षाको उच्च जोखिममा रहेको छ। त्यसमध्ये अफ्रिका र नेपाल सहितको दक्षिण एशियालाई अझ उच्च जोखिमका रूपमा पहिचान गरिएको छ। जलवायुमा आएको बदलावले विकसित भएको एलिनो (प्रशान्त महासागरको पानी सामान्यभन्दा बढी तातो हुने जलवायुजन्य क्रिया) र त्यसैका कारण बढेको सुक्खाले ठूलो जनसंख्यालाई गरिबिको रेखामुनि धकेल्ने विश्व बैंकको प्रक्षेपण छ। 

उदाहरणका लागि सन् १९९३ मा विकसित ‘एलिनो’ को प्रभावले उत्पन्न खडेरीका कारण ब्राजिल, संयुक्त राज्य अमेरिका र अफ्रिकामा मात्र मकैको उत्पादन १० देखि ५० प्रतिशतले घटेको थियो। विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०२२ मा ७८ देशका तीन अर्ब ३३ करोड मानिसले खाद्य असुरक्षाको सामना गरेका छन्। कोभिड–१९ को महामारीभन्दा अघि यो समस्या दुई अर्ब हाराहारीको जनसंख्यामा सीमित थियो।  

विपद जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० ले पनि नेपालको कृषि क्षेत्र सुक्खा खडेरीका कारण प्रभावित भएको देखाएको छ। नेपालको कुल खेतीयोग्य जमिनको ३८ प्रतिशत भूभागमा सिँचाइ सुविधा छ। बाँकी जमिनमा आकासे पानीको भरमा खेती गरिन्छ। लामो समय खडेरी पर्दा उत्पादनमा असर पर्ने गरेको कार्ययोजनामा उल्लेख छ। त्यसको उदाहरणस्वरूप यस वर्षको खडेरीलाई लिन सकिन्छ।

पर्सा जिल्लाको कोन्हिया गाउँमा यसपालि रोपाइँको सिजनमा खडेरीले धाँजा फाटेको खेत। तस्वीर:रितेश  त्रिपाठी/उकालो

एलिनोको प्रभावकै कारण यस वर्ष धान रोप्ने समय असार–साउनमा पानी नपर्दा तराई क्षेत्रमा धेरै किसानका खेत बाँझै रहने पुगे। यद्यपि त्यसबाट उत्पादनमा के कति कमी भयो, सरकारले त्यसको तथ्यांक अझै सार्वजनिक गरेको छैन। खडेरीका कारण तराई र पहाडमा बस्ने करिब पाँच हजार परिवार प्रतिवर्ष प्रभावित हुने गरेको तथ्यांक सरकारकै विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा परेको छ।

१२ वर्षका लागि बनेको नयाँ कार्ययोजनामा खडेरीका कारण नेपालका अरू क्षेत्रभन्दा हिमालपारिका मुस्ताङ र मनाङसहित तराई र पश्चिम पहाड बढी प्रभावित हुने गरेको उल्लेख छ। त्यहाँ मंसिरदेखि असारसम्म सुक्खा हुन्छ। यसबाट पानीका मूल र भूमिगत स्रोतहरू सुक्दै गएका छन्। हुन पनि पश्चिम पहाडका जलाधार क्षेत्रमा गरिएको अध्ययनले त्यहाँको खानेपानीका मुहानमध्ये ७० प्रतिशतभन्दा बढीमा पानीको मात्रा घटेको देखाएको छ। 

अमेरिकी सहयोग नियोग ‘यूएसआईडी’ को सहयोगमा सञ्चालित पानी परियोजना अन्तर्गतको ‘वातावरणका लागि युवा सञ्जाल’ले पश्चिम पहाडका झिमरुक, मध्य–कर्णाली, बोगाटान–लगाम–कर्णाली, ठूलीगाड र रंगुन जलाधार क्षेत्रका चार हजार २२२ वटा पानीका मूलमा गरेको अध्ययनले ७० प्रतिशतभन्दा बढी मुहानहरूमा पानी घटेको देखाएको छ। 

ऊर्जा उत्पादनमा क्षति र अवरोध
सुक्खा बढ्दै जाँदा ऊर्जाको मुख्य स्रोत मानिएको जलविद्युत आयोजनामा पनि असर देखिएको छ। बर्खामा अस्वाभाविक पानी परेर बाढीका कारण प्रभावित आयोजनाले हिउँदमा भने पर्याप्त पानीको अभावमा क्षमताभन्दा कम विद्युत उत्पादन गरिरहेका छन्।

तराईमा सुक्खायामका बेला हरेक वर्ष दोहोरिने पानी संकटको एक दृश्य। तस्वीर: रितेश/उकालो

नेपाल विद्युत प्राधिकरणका अनुसार प्रसारण लाइनमा जोडिएका आयोजनाबाट गत वर्षको हिउँदमा भन्दा यस वर्षको हिउँदमा ३० देखि ३५ प्रतिशतले विद्युत उत्पादन घट्यो। प्रायः सबै आयोजनामा सुक्खा खडेरीका कारण हिउँदमा अनुमान गरिएभन्दा कम विद्युत उत्पादन हुन थालेको छ।

संखुवासभास्थित साढे आठ मेगावाट जडित क्षमताको अपर हेवाखोला हाइड्रोपावरमा हिउँदको समयमा ६९ लाख ५६ हजार ३७७ किलोवाट प्रतिघण्टा विद्युत उत्पादन हुनुपर्नेमा यस वर्ष अनुमान गरिएभन्दा झन्डै १० लाख किलोवाट घटेर प्रतिघण्टा ५९ लाख ८५ हजार १७० किलोवाट मात्र विद्युत उत्पादन भएको उक्त हाइड्रोपावरका सचिव विवेक बस्नेत बताउँछन्। 

इपानका अध्यक्ष गणेश कार्की यसलाई अप्रत्याशित घटनाका रूपमा लिन्छन् “योजना निर्माण गर्दा हिउँदमा बग्ने खोलाको पानी नापेर औसतमा पनि सबभन्दा न्यूनतम पानीको उपलब्धता अनुमान गरेर आयोजनाको डिजाइन गरिन्छ,” उनी भन्छन्, “अब यस्ता हिसाब पनि मिल्न छोडे। यसलाई हामीले अनपेक्षित घटनाको रूपमा लिएका छौँ।”

वाराही हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सूर्य अधिकारी त विद्युत उत्पादनमा पूर्वानुमानभन्दा ४० प्रतिशतसम्म ह्रास आएको बताउँछन्।

त्यसमाथि बर्खामा अस्वाभाविक रूपमा पर्ने पानीले ऊर्जाको मुख्य स्रोत जलविद्युत क्षेत्र पछिल्ला वर्षमा प्रभावित बनेको छ। गत असार पहिलो हप्ता पूर्वी नेपालमा भएको अस्वाभाविक वर्षा र त्यसपछि आएको बाढीका कारण कोशी नदीको जलाधार क्षेत्रमा पर्ने १३ वटा जलविद्युत आयोजनामा बाढीले पूर्ण रुपमा क्षति पुर्‍यायो। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष गणेश कार्कीका अनुसार एक रातको बाढीले त्यहाँ नौ अर्बको क्षति पुर्‍याएको थियो। 

सुक्खाको मारमा ग्रामिण महिला
नेपालको ८० प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगे पनि त्यो सुरक्षित छैन। जनसंख्याको ठूलो हिस्सा अहिले पनि पर्याप्त पिउने पानीको पहुँचबाट बाहिर छ। जलवायुमा आएको परिवर्तनले खानेपानीको पहुँचलाई झन् टाढा धकेलेको छ। यसले ग्रामिण क्षेत्रका महिला र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ। 

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) की नेपाल प्रतिनिधि डा. मनोहरा खड्का खडेरीले पानीका मुहान सुक्दा गाउँमा पानी लिन एक–दुई घण्टा टाढासम्म जानुपर्ने बाध्यता रहेको र त्यसबाट महिला र बालबालिका प्रभावित भएको बताउँछिन्। “अहिले पनि पानी बोक्ने काम महिलाको हो भन्ने मान्यता गाउँघरमा छ। खडेरीले मूल सुक्दा उनीहरू जोखिममा छन्,” उनी भन्छिन्।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–३ फुल्पिङकोटको पँधेरामा १० वर्षअघिसम्म बर्षैभरि पानी पाइन्थ्यो। तर पछिल्लो समय पुस लागेपछि पानी सुक्छ। सोही ठाउँकी रश्मी भण्डारीका अनुसार पानी लिन महिलाहरू गाउँभन्दा २ घण्टा टाढा जानुपर्छ। गाउँका हरेक घरमा पानीको जोहो गर्नेमा महिला नै हुन्छन्। गर्भवती र सुत्केरी अवस्थामा समेत उनीहरू पानी बोक्न बाध्य छन्। यसले गर्दा गाउँका धेरै महिलामा आङ खस्ने समस्या रहेको खड्का बताउँछिन्। 


सम्बन्धित सामग्री