Sunday, April 28, 2024

-->

रक्षामन्त्री र अर्थमन्त्रीबीचको बेमेल बाहिरिँदै, मञ्च ‘शेयर’ गर्नसमेत अस्वीकार

एक वर्ष अघिदेखि बढ्नथालेको बेमेल कार्यवाहक प्रधानमन्त्री बनेका खड्काले बिहीबार महतलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा भएको भनाभनको कारण सतहमै प्रकट हुनथालेको देखिन्छ।

रक्षामन्त्री र अर्थमन्त्रीबीचको बेमेल बाहिरिँदै मञ्च ‘शेयर’ गर्नसमेत अस्वीकार 

काठमाडौँ– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिकोत्सव कार्यक्रममा शुक्रबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का मुख्य अतिथिका रूपमा सहभागी भएकै कारण अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएका छन्। 

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री महत बन्ने पक्का भइसकेको थियो। उनको सचिवालयले मन्त्रीको कार्यक्रम तालिकामा पनि बिहान ९ बजे रहेको सोही कार्यक्रमका कारण बिहानका अरू बैठक तथा भेटघाट राखेको थिएन। तर त्यसमा अप्रत्यासित बदलाव तब आयो जब कार्यवाहक प्रधानमन्त्री खड्काले बिहीबार साँझ ६ बजेतिर सेजन अध्यक्ष सुजन ओलीलाई फोन गरी कार्यक्रममा आफू आउन लागेको जानकारी गराए। खासमा सेजनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेको थियो। तर प्रधानमन्त्रीले आफू आउन नसक्ने बताएका थिए।

प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन दुबई गएका कारण कार्यवाहक प्रधानमन्त्रीको रूपमा खड्काले आउने इच्छा देखाएका थिए। “हामीले कार्यक्रम तीन घण्टा लामो हुने बताएपछि खड्काले आफू एक घण्टामात्रै रहने भन्नुभएको थियो,” सेजन अध्यक्ष ओलीले भने। 

कार्यवाहक प्रधानमन्त्री उपस्थित हुने गरी सेजनले कार्यक्रमको तयारी शुरू गर्‍यो। तर बिहीबार साँझ साढे ९ बजे अर्थमन्त्रीका प्रेस सहयोगी प्रकाश थापाले सेजन अध्यक्ष ओलीलाई फोन गरी प्रमुख अतिथि बनाइने शर्तमा मात्रै अर्थमन्त्री उपस्थित हुने भन्दै खड्का प्रमुख अतिथि हुने कार्यक्रममा उपस्थित नहुने जानकारी गराए। त्यसपछि सेजनका पदाधिकारीहरूले राति अबेरसम्म अर्थमन्त्रीलाई मनाउने प्रयत्न गरेका थिए, जुन बिहान कार्यक्रम शुरू हुनुअघिसम्म जारी रह्यो। 

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले बिहान सवा ८ बजेतिर मन्त्री महतलाई फोन गरी उपस्थित हुन अनुरोध गरे। सेजनलाई अर्थमन्त्रीभन्दा पनि अर्थमन्त्रीलाई सेजन चाहिने भन्दै निम्ता इन्कार नगर्न उनले जोड गरे। “सेजनलाई अर्थमन्त्री वर्षमा एकाध चोटि यस्तै बेला चाहिने हो,” प्रधानले फोनमा भनेका थिए, “मन्त्रीलाई त सेजन वर्षैभरि चाहिन्छ।”

त्यसपछि मन्त्री महतले १० मिनेटमा खबर गर्छु भनेर पछि फोन गर्दा उपस्थित नहुने जवाफ दिएको प्रधानले बताए।   

खड्का–महत पुरानै विवाद 
अर्थ र रक्षा मन्त्रालयका कर्मचारीहरूका अनुसार खड्का र महतको चिसो सम्बन्ध दुवै मन्त्रालयमा आभाष हुने खालको छ। रक्षा मन्त्रालयबाट माग भएका कार्यक्रम तथा बजेटमा अर्थमन्त्रीको अरुचि देखिने गरेको छ। रक्षाको मागबारे ‘ब्रिफिङ’ गर्दा मन्त्री महतले ‘भनिरहन्छन्, छाड्दिनुस न’ भन्दै पन्छाउने गरेको र रक्षाका थुप्रै फाइल यतिबेला अर्थमा ‘पेन्डिङ’ रहेको अर्थसम्बद्ध स्रोतले बतायो। कार्यवाहक प्रधानमन्त्री बनेका खड्काले महतलाई बिहीबार मन्त्रालयमै बोलाएर छलफल गर्दा भएको भनाभनको कारण महत उनीसँग एउटै मञ्चमा सहभागी नहुने अडानमा पुगेको सम्बद्ध स्रोतले बतायो। भनाभनबारे खड्का र महत दुवैले मुख खोल्न चाहेका छैनन्। तर रक्षाका फाइल अर्थमा अड्किएकोबारे दुई मन्त्रीबीच भनाभन भएको आकलन गरिएको छ।    

गत आमनिर्वाचनपछि २०७९ पुस १० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनबारे छलफल गर्न डाकेको गठबन्धन बैठकमा कांग्रेसको एउटा समूह आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा थियो। अर्को समूह भने पूर्व सहमतिअनुसार दाहाललाई सरकारको नेतृत्व दिई गठबन्धन जोगाइराख्नपर्ने पक्षमा थियो। कांग्रेस केन्द्रीय सदस्य तथा देउवापत्नी डा. आरजु देउवा, महत आदि देउवाकै नेतृत्वको निरन्तरताको पक्षमा थिए भने खड्का दाहाललाई नेतृत्व दिने पक्षमा। 

प्रधानमन्त्री नपाइने भएपछि ‘खाना खान जान्छु’ भनेर निस्केका दाहालले सोझै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमालेसहितको गठबन्धन गरी प्रधानमन्त्री बन्ने वातावरण बनाएका थिए। उनी निस्केपछि देउवापक्षीय दुई समूहबीच भनाभन हुँदा खड्का र महतबीच झण्डै हात हालाहालको अवस्था बनेको समाचारसमेत सार्वजनिक भएका थिए जसको तत्काल दुवै नेताले प्रतिवाद गरेनन्। भोलिपल्ट कांग्रेस प्रवक्ता महतले खड्कामाथि आफूले हातपात गरेको भनी सार्वजनिक भएका समाचारमा सत्यता नभएको दाबी गरेका थिए। 

त्यसको हप्ता दिनपछि उपभासभापति खड्काले पनि कुनै विवाद नभएको भन्दै प्रस्टीकरण दिएका थिए। “बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” खड्काले ट्विटरमा लेखेका थिए, “यो कुरा सत्य होइन।” उक्त दिन केही मुद्दामा आफूहरूका बीचमा फरक ढंगले बहस भएको भने उनले स्वीकारेका थिए।

खड्का र महतबीच मनमुटाव बालुवाटारको त्यो विवादभन्दा पनि पुरानो छ। कांग्रेसमा शेरबहादुर देउवाको गुटमा पनि खड्का, बालकृष्ण खाण लगायतको एउटा उपगुट छ भने डा. आरजु देउवा नेतृत्वको अर्को उपगुटमा महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायत छन्। १४औँ महाधिवेशनमा देउवाको प्यानलबाट खड्काले उपसभापति र महतले महामन्त्रीमा प्रतिष्पर्धा गरेका थिए। खड्का विजयी भए पनि महत पराजित भए। त्यसयता गुटभित्रकै अन्तर्घातले गर्दा आफू पराजित भएको गुनासो उनले गर्दै आएका छन्। खड्काका साथै बालकृष्ण खाणले आफ्नो बफादार मतदातालाई भोट ‘क्रस’ गर्न उक्साएको आरोप आरजु उपगुटले लगाउने गरेको छ।  

माओवादी अध्यक्ष दाहालको नेतृत्वमा २०७९ पुस १० गते बनेको माओवादी–एमालेसमेतको गठबन्धन भत्काएर कांग्रेससहितको गठबन्धन बनाउने गृहकार्य खड्काको अगुवाइमा भएको थियो। माओवादी–एमाले गठबन्धनको सरकार ६१ दिनमै धराशायी भई फागुन १२ गते एमालेलाई विस्थापित गरेर सरकारमा कांग्रेस सामेल भयो।  

गठबन्धन भत्काउन सफल भएपछि खड्काको कद स्वतः बढेको थियो। आफू मन्त्री हुन इच्छुक नभएको अभिव्यक्ति दिए पनि त्यतिबेला उनी अर्थ वा गृह मन्त्रालयसहित उपप्रधानमन्त्री भएर सरकारमा कांग्रेसको नेतृत्व गर्न चाहन्थे। “गृह माओवादीको भागमा पर्‍यो,” कांग्रेसका एक नेता भन्छन्, “आरजु नेतृत्वको उपगुटको कारण अर्थ नपाएपछि खड्का रक्षा मन्त्रालयमा चित्त बुझाउन पुग्नुभयो।”   

प्रधानमन्त्री बनाउन पहिलेदेखि नै पार्टीभित्र गरेको प्रयत्नकै कारण दाहालसँग खड्काको व्यक्तिगत सम्बन्ध राम्रो छ। प्रधानमन्त्री र रक्षामन्त्री दुवैले अर्थतन्त्र समस्यामा रहेको अभिव्यक्ति दिँदै आएका छन्। त्यही कारण अर्थमन्त्री महत प्रधानमन्त्रीसँग पनि बेखुशी छन्।

पहिल्यैदेखि चिढिएको महत समूहले खड्कालाई रोक्न शेखरको उपप्रधानमन्त्रीत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराउने प्रयास गरेको थियो। त्यसको बदलामा पार्टी प्रवक्तासमेत रहेका महत मन्त्री भइसकेपछि खड्काले मन्त्री भएको व्यक्ति पार्टीको प्रवक्ता हुन नसक्ने तर्क गर्दै मीन विश्वकर्मालाई प्रवक्ता बनाउने प्रयास गरेका थिए। तर त्यसमा उनी सफल भएनन्। 


सम्बन्धित सामग्री