Friday, May 03, 2024

-->

आफैँलाई असुरक्षित बनाउँदै बीच सडकबाट बाटो काटिरहेका पैदलयात्रु

जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने भए पनि कसैले हतार भएर त कसैले थाहा नपाएर नै 'जेब्राक्रस'को प्रयोग नगरेको पैदल यात्रुहरू बताउँछन्।

आफैँलाई असुरक्षित बनाउँदै बीच सडकबाट बाटो काटिरहेका पैदलयात्रु
तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ– नयाँ बानेश्वरका सुमन बास्कोटालाई बीच सडकबाट बाटो काट्दा जोखिम हुन्छ भन्ने कुरा थाहा नभएको होइन। हतार भएकाले 'जेब्राक्रस'सम्म पुग्न नसकेको उनी बताउँछन। 

“मलाई काममा जान हतार थियो, जेब्राक्रससम्म पुग्न समय लाग्ने भएकाले बीच सडकबाटै पार गर्न बाध्य भएँ,” उनी भन्छन्, “मान्छेलाई हतार भएको हुन्छ, कताको जेब्राक्रस खोज्न जानु?”

त्यस्तै, किनमेलका लागि न्युरोड पुगेका राकेश खड्काले पनि हातमा मोबाइल चलाउँदै ट्राफिक नियम विपरीत जेब्राक्रसमा नपुगी बाटो काटे। उनलाई पनि जेब्राक्रस प्रयोग गनुपर्छ भन्ने थाहा थियो। तर अरूले जतासुकैबाट सडक पार गरेको देखेपछि आफूलाई पनि जेब्राक्रस प्रयोग गर्नुपर्छ भन्ने नलागेको उनी बताउँछन्।

“न ट्राफिक लाइटकोे व्यवस्था छ न त कसैले जेब्राक्रसको प्रयोग नै गरेका छन्,” सडक अनुशासनको पालना नगरी बाटो काट्दै गरेको भेटिएका उनी भन्छन्, “अरूले गरेको देखिनँ र मैले पनि गर्नुपर्छ भन्ने लागेन अनि यहीँबाट सडक पार गरेँ।” सडकका ठाउँ ठाउँमा जेब्राक्रस बनाइए पनि त्यसको प्रयोग नभएकोमा भने उनी स्वयंले असन्तुष्टि व्यक्त गरे। 

कानूनमा भएको व्यवस्था व्यवहारमा लागू हुन नसकेको पैदल यात्रुको अनुभव छ। जेब्राक्रसमा बाटो काट्दासमेत तीव्र गतिमा गुडेका सवारी साधन नरोकिँदा हातले इशारा गर्नुपर्ने र जोखिम बढ्ने सम्भावना रहेको बताउँछिन् भक्तपुर, चारदोबाटोकी शोभा भुसाल। उनी भन्छिन्, “जेब्राक्रसको प्रयोग गर्दागर्दै त हाम्रो ज्यानको सुरक्षा छैन भने हामीले किन नियमको पालना गर्ने?”

काठमाडौँ, मूलपानीका दिपक शर्माले पनि सडक पार गर्दा जेब्राक्रसको प्रयोग गरेनन्। सँगै हिँडिरहेका अन्य दुई जनाले समेत उनले जसरी नै जेब्राक्रसमा नपुगी सडक पार गरे। “मलाई हतार थियो, जेब्राक्रसबाट सडक पार गर्न अलि माथि जानुपथ्र्यो,” उनी भन्छन्, “हतार भएकाले तलैबाट हिँडियो।”

चाबहिलकी सिता शाक्यले आफूलाई जेब्राक्रसको बारेमा जानकारी नै नभएको बताइन्। “मलाई जेब्राक्रसमै पुगेर बाटो काट्नुपर्ने कारण के हो भन्ने नै थाहा थिएन,” उनी भन्छिन्, “सबै पैदल यात्रुलाई जेब्राक्रसको बारेमा थाहा नहुन सक्छ। यस विषयमा सरोकारवाला निकायले पैदल यात्रुलाई जानकारी दिनुपर्छ।”

सिता र दिपकजस्तै जानकारी नभएर या हतार मानेर जथाभावी सडक पार गर्ने पैदलयात्रु धेरै छन् जसका कारण पनि उनीहरू सडक सुरक्षाका लागि बनाइएका जेब्राक्रसको प्रयोग गरिरहेका छैनन्। 

पैदल यात्रुहरूका अनुसार जेब्राक्रसको प्रयोग गरेर बाटो काटिरहेको देख्दादेख्दै पनि तीव्र गतिमा आएका सवारी साधनले गति नियन्त्रण गरेको पाइँदैन। फलस्वरूप जेब्राक्रसको प्रयोग गर्दागर्दै पनि दुर्घटना भइरहेको छ। त्यही कारण पनि जथाभावी बाटो काट्ने बानी परेको कतिपय पैदल यात्रुहरूको अनुभव छ। त्यसरी यात्रा गर्दा दुर्घटनाको जोखिम बढ्ने भए पनि कसैले हतार भएर त कसैले थाहा नपाएर नै जेब्राक्रसको प्रयोग नगरेको उनीहरू बताउँछन। 

सडकका ठाउँ ठाउँमा बनाइएका जेब्राक्रसको प्रयोग भएको छैन। काठमाडौँका सडकमा जेब्राक्रसका संकेतहरू कतै मेटिएर मधुरो भएका छन्, कुनै ठाउँमा त पूरै रङ खुइलिएर देख्न पनि नसकिने अवस्था छ। 

के भन्छन् सवारी चालक? 
कालिमाटीका ट्याक्सीचालक रामकुमार खड्का ट्राफिक नियमको पालना सवारी चालक या पैदल यात्रु एक पक्षले मात्र गरेर नहुने बताउँछन्। मानिसहरूले जथाभावी बाटो काट्दा आफूहरूलाई समेत समस्या पर्ने गरेको उनको अनुभव छ। “साँझको बेला मानिसहरू धेरै हुन्छन्। त्यो बेला जथाभावी काटो काट्दा गाडी अनियन्त्रित भई दुर्घटना हुने सम्भावना बढी हुन्छ। तर पैदलयात्रुले यो कुरा नबुझ्दा हामी चालकलाई अप्ठ्यारो हुने गरेको छ,” खड्का भन्छन्।  

त्यस्तै, अर्का चालक देवेन्द्र बस्नेत भन्छन्, “जेब्राक्रसनजिक पुग्दा त सवारीको गति कम गर्ने गरेको छु। तर पैदल यात्रुले नै जेब्राक्रसको प्रयोग गरेका हुँदैनन् र गरेकाहरूले पनि उनीहरुका लागि रातो बत्ती बलिरहेको बेला बाटो काट्ने गरेका छन्।”

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ अन्तर्गत दफा १२६ मा पैदलयात्रुले सडक पेटीबाट हिँड्नुपर्ने उल्लेख छ। ऐनमा पैदल हिँड्ने मानिसले जेब्राक्रस, सबवे, आकाशे पुल वा निर्धारित ठाउँबाट मात्र बाटो काट्नुपर्छ भनिएको छ। 

जेब्राक्रसको नजिकैबाट पैदल यात्रुले मनोमानी बाटो काट्दा समेत केही गर्न नसकिएको स्वीकार्छन् ड्युटी गरिरहँदा भेटिएका ट्राफिक प्रहरी आशिष खड्का। उनी भन्छन्, “माथिबाट आदेश आयो भने ट्राफिक प्रहरीले बीच सडकबाट बाटो काट्ने यात्रुलाई नियन्त्रण गर्न सक्छ, तर हामीलाई त्यस्तो आदेश आएको छैन।” आदेशबिना आफूहरूले कुनै कारबाही गर्न नसक्ने उनले बताए। 

कतिपय मानिसहरूमा चेतना भएर पनि अहमताका कारण उनीहरूले जेब्राक्रसको प्रयोग नगर्ने गरेको उनी बताउँछन्। पैदलयात्रु आफैँ सचेत नभएसम्म जेब्राक्रसको पूर्ण प्रयोग हुन नसक्ने दाबी गर्दै खड्का भन्छन्, “कति मानिसलाई जेब्राक्रसको प्रयोगबारे चेतना छैन। कतिलाई थाहा भएर पनि घमण्डका कारण होला बुझाउन नसकिने रहेछ।”

तस्वीर:सुस्मिता/उकालो

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार यसबारे नियम छ तर कार्यान्वयन छैन। ट्राफिक नियमको पालना नगर्ने पैदल यात्रुलाई २०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था कानूनमा भए पनि त्यो कार्यान्वयनमा नआएको उनी बताउँछन्। “आफ्नो सुरक्षाको लागि नियम नै लगाउनु पर्ने हो र?” उनी भन्छन्, “पैदल यात्रुको ज्यानको सुरक्षा गर्ने जिम्मा ट्राफिक प्रहरीको मात्रै होइन। सबैभन्दा पहिले आफैँ सचेत भएर जेब्राक्रसको प्रयोग गर्नुपर्छ।” 

बाटो काट्दा के कुरामा ध्यान दिने? 
पैदलयात्रुले बाटो काट्दा ख्याल गर्नुपर्ने कुराहरूको जानकारी ट्राफिक प्रहरीले बेला बेलामा सार्वजनिक रूपमा प्रवाह गर्ने गरेको छ। तीमध्ये सबैभन्दा महत्वपूर्ण सूचना जेब्राक्रस र आकाशेपुलको प्रयोग गर्नुपर्छ भन्ने हो। पैदलयात्रा गर्दा सडकपेटी भएका ठाउँमा पेटीबाट र नभएको ठाउँमा सडककोे दाहिने किनाराको प्रयोग गर्नुपर्छ। त्यस्तै, ट्राफिक बत्ती बल्ने स्थानमा बाटो काट्दा मानवको चित्र अंकित बत्तीमा हरियो बलेपछि मात्र बाटो काट्ने र रातो बल्नासाथ रोकिने गर्नुपर्छ। 

यसैगरी ट्राफिक प्रहरीको इसाराअनुसार सवारी साधन रोकिएको अवस्थामा, सडक तथा सवारीको गति र अवस्था हेरेर सुरक्षित भएपछि मात्र बाटो काट्नु दुर्घटनाबाट जोगिने अर्को उपाय हो। छोटो र सिधा स्थानबाट समूह बनाएर पंक्तिमा बाटो काट्ने, यो समयमा मोबाइल फोनको प्रयोग नगर्ने, गफगाफमा नलाग्ने जस्ता सुरक्षात्मक व्यवहारले पैदलयात्रुलाई सुरक्षित बनाउँछ।  

त्यस्तै, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई बाटो काट्न सहयोग गर्नुपर्छ। रोकिराखेको सवारीको अगाडि वा पछाडिबाट बाटो काट्नु हुँदैन। रातको समयमा सडकमा हिँड्दा टाढाबाट देखिने खालका टल्किने वा चम्किलो लुगाको प्रयोग गर्नुपर्छ।

सवारी चालकहरूले पनि मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु हुँदैन। लेन अनुशासन मिचेर तीव्र गति वा लापरबाहीका साथ सवारी चलाउँदा दुर्घटना निम्तिन्छ। सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नु पनि सुरक्षाको दृष्टिले जोखिम मानिन्छ। त्यसबाहेक ट्राफिक बत्ती, संकेत चिन्ह तथा इसाराको सदैव पालना गर्ने, जेब्राक्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिनेजस्ता नियमहरू सवारी चालकले पालना गर्नुपर्ने हुन्छ।


सम्बन्धित सामग्री