Saturday, April 27, 2024

-->

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्दा काठमाडौँको ठमेलमा अझै प्रतिबन्ध

दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्दा काठमाडौँको ठमेलमा अझै प्रतिबन्ध
प्रशासनले तोकेको समयसीमाभित्र रात्रिकालीन व्यवसाय बन्द गराउन ठमेलमा खटिएका प्रहरी। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई चौबीसै घण्टा खुला गर्न उच्च अदालत पोखराले गत बुधबार अल्पकालीन अन्तरिम आदेश दियो। अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडका व्यापारव्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश जारी गरेको हो।

त्यसअघि त्यहाँको व्यापारव्यवसाय सञ्चालनमा रोक नलगाउने आदेशको मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन्। त्यसमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानून विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न रोक्ने वा रोक्न लगाउने कार्य नगर्नू भनेको छ।

तर काठमाडौँको पर्यटकीय क्षेत्र मानिने दरबारमार्ग र ठमेलमा भने रात्रिकालीन व्यवसायमाथिको रोकावट अझै जारी छ। यी क्षेत्रमा रातको समयमा व्यापार व्यवसाय गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले रोक लगाएको हो। २०७९ साल मंसिर १३ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले दरबारमार्ग तथा ठमेल क्षेत्रमा व्यवसायको प्रकारअनुसार सञ्चालनको समय तोकेको छ जसमा होटल व्यवसायलाई राति १२ बजेसम्मको समयसीमा छ। त्यो समयपछि व्यवसाय खोलेमा दरबारमार्ग र सोह्रखुट्टे वृत्तबाट खटिएका प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिने गरेका छन्।

त्यसैगरी, समितिले क्लब र डिस्कोलाई बिहान ४ बजेसम्म खोल्ने अनुमति दिएको छ। डान्स, दोहोरी, रेस्टुरेन्ट एन्ड बारलाई राति २ बजेसम्म र अन्य रेस्टुरेन्टलाई रातको १२ बजेसम्म खोल्ने अनुमति दिइएको छ। बाँकी पसलहरू राति ९ बजे बन्द गरिसक्नु पर्ने समितिको बैठकको निर्णयमा उल्लेख छ।

समयसीमाको पावन्दीले रुष्ट व्यवसायी
समिन तामाङ ठमेलस्थित 'निओन क्याफे' चलाउँछन्। उनको क्याफे चल्ने समय नै राति आठ बजेबाट शुरू हुन्छ। ठमेलका चर्चित क्लब 'लर्ड अफ ड्रिङक्स' (एलओडी) जाने बाटोमा उनको क्याफे भएकाले राति उनको पसलमा धेरै ग्राहक आए पनि सबैलाई समिनले खाजा खुवाउन सक्दैनन्। किनभने १२ बज्नासाथ प्रहरीको गाडी उनको क्याफे अगाडि सिट्टी बजाउन आइपुग्छ।


“दुई सातादेखि मेरो क्याफेभित्र आएर प्रहरीले चेतावनी दिइरहेको छ। यो मलाई मात्र होइन, यहाँ होटल रेस्टुरेन्ट हुने जति कसैलाई पनि मन परेको छैन। मानिसहरू क्लबमा नाचेर आउँछन्। भोक लाग्यो भन्दै कोही मम माग्छन्, कोही अन्य ‘स्टिक फूड’ माग्छन्,” तामाङ भन्छन्, “तर ठ्याक्कै त्यही बेला पसल बन्द गराउन प्रहरीको गाडी आइपुग्छ। हाम्रो व्यवसाय चल्ने नै राति हो। तर प्रशासनले प्रतिबन्ध लगाउँदा चल्ने बेला नै बन्द गर्नु परेको छ।”

‘ओल्ड हाउस क्याफे एन्ड तन्दुर’का सञ्चालक हुन् रोजन गुरुङ। उनलाई दुई साताअघि सोह्रखुट्टे प्रहरी वृतका प्रहरीले सादा पोशाकमै आएर कुट्दै लगेका थिए। उनले कुटाइ खानुको कारण थियो भोकाएका ग्राहकलाई खाना खुवाउनु। प्रहरीले उनलाई झापड् हान्दै गाडीमा राखेर प्रहरी वृत्तमा लगेको उनकै क्याफेका एक कामदार बताउँछन्।

“नियन्त्रणमा लिनु ठीक हो, तर सादा पोशाकमा आएर प्रहरीले त्यसरी हात छोड्नु कति जायज हो? न हामीले केही अपराध गरेका छौँ न त कुनै कानून उल्लंघन नै,” ती कामदार भन्छन्, “साहुलाई त्यसरी पिट्दै लगेको देखेर हामीलाई एकदमै डर लागेको छ।”

ठमेलस्थित ‘स्यान्डविच प्यालेस’का सञ्चालक विवेक थापा पनि १२ बजेपछि पसल खोल्ने आँट गर्दैनन्। १२ बजेपछि एकैछिन पनि पसल खुलेको देख्नेबित्तिकै प्रहरीले गाडीमा हुलेर थुनिहाल्ने डरले १२ बज्नुअगावै पसल बन्द गर्ने गरेको उनी बताउँछन्।

“पसल चल्नै ११-१२ बजेबाट शुरू हुन्छ तर त्यही समयमा प्रहरीहरू बन्द गराउन आइपुग्छन्, के गरौँ?” विवेक भन्छन्, “यहाँका पसलहरूमा ग्राहक भरिभराउ भए पनि पक्राउ परिने डरले व्यवसायीहरू आफ्ना सटर बन्द गर्न बाध्य हुन्छन्।”


जिल्ला सुरक्षा समितिको बैठकले होटल तथा रेस्टुरेन्टलाई राति १२ बजेसम्मको समय तोके पनि दशैँ अघिसम्म प्रहरीले उनीहरूलाई २ बजेसम्म खोल्न दिने गर्थ्यो। तर दशैँपछि त्यसको दुई घण्टा अगाडि नै प्रहरी आएर बन्द गराउने गरेको ‘लिटिल बुद्ध’ रेस्टुरेन्टका व्यवस्थापक जन बास्तोला बताउँछन्। यो अधिकांश विदेशी ग्राहकहरू आउने रेस्टुरेन्ट हो। यहाँ नेपालीहरू छिटफुट मात्रै देखिन्छन्।

“१२ बज्नासाथ प्रहरी आएर रेस्टुरेन्ट बन्द गर्न दबाब दिन्छन्। अधिकांश ग्राहक विदेशी हुनाले प्रहरीको व्यवहारले लज्जित बनाउँछ। कतिपय विदेशीहरूले यहाँ १२ बजेपछि होटल खोल्नु गैरकानूनी हो भनेर सोध्छन्,” बास्तोला भन्छन्, “अस्ति मात्रै हाम्रो एउटा कामदारलाई प्रहरीले समातेर लग्यो। रातभरि थुनेर बिहान मात्रै छोड्यो।”

‘चौबीसै घण्टा खोल्न दिनुपर्छ
दरबारमार्ग र ठमेल क्षेत्रका धेरैजसो पसल भने सञ्चालकहरूका स्वेच्छाले नै बन्द हुने गरेका छन्। पसल बन्द गर्न प्रहरीबाट कुनै दबाब नआएको उनीहरू बताउँछन्। ठमेलमै भित्ते तस्वीरका पसल चलाइरहेका सविन गुरुङ आफ्नै इच्छाले चाँडै पसल बन्द गर्ने गरेको बताउँछन्। बिहान ९ बजे खुल्ने उनको पसल  राति पनि ९ बजे नै बन्द भइसक्छ।

“हामीले चाँडै बन्द गर्ने भएर पनि होला, अहिलेसम्म हाम्रो पसल बन्द गर्न प्रहरी आएका छैनन्,” उनी भन्छन्, “प्रहरीले ठमेलका अरू पसल बन्द गराउँदै हिँडेका छन् भने त्यो एकदमै गलत हो। यो त २४ घण्टै खुला रहनुपर्ने क्षेत्र हो।”

ठमेललाई चौबीसै घण्टा खुलाउन आफूहरू लामो समयदेखि संघर्ष गरिरहेको ठमेल टुरिजम बोर्डका अध्यक्ष भविश्वर शर्मा बताउँछन्। आफूहरू निरन्तर प्रहरी प्रशासन र सरोकारवाला निकायहरूसँग समन्वयकारी भूमिकामा रहेको उनको भनाइ छ। ठमेलको रात्रिकालीन व्यवसाय चाँडै नै निर्बाध हुनेमा उनी विश्वस्त छन्।


“मलाई लाग्छ, मंसिरदेखि ठमेलमा व्यवसाय गर्न कुनै किसिमको रोकतोक हुने छैन। यहाँका व्यवसायीहरूले प्रहरीको गाडी देखिनेबित्तिकै सटर झार्नुपर्ने स्थिति अबदेखि आउँदैन। प्रहरीले सटर बन्द गराउनुको सट्टा सुरक्षा दिनेछ,” शर्मा भन्छन्, “हामी निरन्तर संवादमा छौँ। उहाँहरूबाट पनि राम्रै संकेत आएको छ। अब ठमेल २४ घण्टै चलायमान बन्छ।” 

 के कारणले रात्रिकालीन व्यवसायलाई खुम्च्याइँदै ?
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत शान्ति सुरक्षाको कारण ठमेल र दरबारमार्गका रात्रिकालीन व्यवसाय सञ्चालनको समयसीमा तोक्नु परेको बताउँछन्। दरबारमार्ग र ठमेल क्षेत्रको व्यवसायमा समयसीमा तोक्नुपर्ने निर्देशन गृह मन्त्रालयबाटै आएपछि यस्तो निर्णय भएको जानकारी उनले दिए। ठमेलमा व्यवसायीहरू मात्र नभई स्थानीय वासिन्दा र समाज पनि भएकाले रात्रिकालीन व्यावसायिक क्रियाकलापको समयसीमा तोकिएको उनको भनाइ छ।

“एक वर्षअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सुरक्षा निकायसँगै दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायीहरू पनि थिए। त्यतिबेला नै सबैलाई मान्य हुने समयसीमा तोकिएको थियो। त्यसबेला कोरोना महामारी र अन्य कारणले पनि त्यसमा सबै सहमत भएका थिए,” प्रमुख जिल्ला अधिकारी बस्नेत भन्छन्, “तर अहिले फेरि दरबारमार्ग र ठमेललगायत क्षेत्रका व्यवसायीहरूबाट २४ घण्टै व्यवसाय खोल्न पाउनुपर्ने आवाज उठिरहेको छ। यसमा हामी पनि सकारात्मक नै छौँ। चाडपर्व सकियोस् अनि सबै पक्षसँग छलफल गरेर उचित निर्णय लिन्छौँ।”

सोह्रखुट्टे प्रहरी वृतका एक प्रहरी अधिकृत पनि सुरक्षाकै कारण आफूहरूले समयमै पसल बन्द गराउने गरेको दाबी गर्छन्। “हामी त माथिबाट जे निर्देशन आउँछ त्यहीअनुसार चल्ने हो। हाम्रो व्यक्तिगत चाहनाले केही हुने होइन। तर सुरक्षाको हिसाबले यो क्षेत्र अलिक संवेदनशीलचाहिँ छ,” ती प्रहरी अधिकृत भन्छन्, “हामीलाई खोल्न देऊ भन्ने आदेश आयो भने खोल्न दिइहाल्छौँ नि।”

काठमामडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेल ठमेल बन्द गराउनुमा सुरक्षा नै प्रमुख कारण भएको बताउँछन्। दरबारमार्ग र ठमेलमा राति सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार नभएकै कारण प्रहरीले समयसीमाअनुसार पसलहरू बन्द गराउने गरेको उनको भनाइ छ।

“कुनै पसल वा व्यवसायीहरूसँग प्रहरीको व्यक्तिगत दुश्मनी हुँदैन। सुरक्षा प्रदान गर्ने प्रहरी नै हो। तर क्लब र दोहोरी घरहरूभित्र अत्यधिक मदिरा सेवन गरेका मान्छेहरूबाट केही अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रहरी तोकिएको समय भएसी बन्द गराउन जान्छन्,” प्रवक्ता ढुंगेल भन्छन्, “फेरि ठमेल र दरबारमार्गमा खालि क्लब, दोहोरी घर र रेष्टुरेन्ट मात्रै पनि छैनन्। कति मान्छेहरू क्लबको चर्को आवाजले डिस्टर्ब भयो भनेर प्रहरीलाई सिकायत गर्छन्, कतिले बाहिर झगडा परेर रातभरि सुत्न पाएनौँ भनेर गुनासो गर्छन्। हो यही कुराहरू नमिलेर प्रहरीले तोकेको समय पुगेपछि ठमेल बन्द गराउँछ।”


सम्बन्धित सामग्री