Sunday, April 28, 2024

-->

दिल्लीको वायु प्रदूषण घटाउन कृत्रिम वर्षा सफल होला?

विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।

दिल्लीको वायु प्रदूषण घटाउन कृत्रिम वर्षा सफल होला

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको स्तर ‘गम्भीर तह’बाट तल नझरेपछि क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउनेबारे चर्चा भइरहेको छ। पछिल्ला केही सातायता छिमेकी राज्यहरूमा किसानले पराल जलाउने, सवारीसाधनबाट निस्किने धुवाँका कारण दिल्लीका बासिन्दा विषाक्त तुवाँलोमा सास फेर्न बाध्य छन्।

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनता निसास्सिएर बस्न बाध्य भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको छ। र त्यसको समाधान खोज्न भारतको राजनीतिक नेतृत्व पनि आतुर देखिन्छ। बढ्दो वायु प्रदूषणबाट दिल्लीवासीलाई राहत दिन यहाँको नेतृत्वले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने योजना अगाडि बढाएको हो।

गत बुधबार दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले आम आदमी सरकारले दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी गरिरहेको बताएका थिए। उनले विषाक्त धुवाँबाट राजधानीवासीलाई राहत दिन यही महिना क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराइने तयारी अनुरूप आईआईटी कानपुरका वैज्ञानिकसँग छलफलसमेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धुवाँले ढाक्दछ। दिल्ली संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ र धुवाँका कारण प्रत्येक वर्ष कैयौँ मानिसले अकालमै ज्यान गुमाउने गरेको अध्ययनले देखाएका छन्।

दीपावलीका बेला प्रयोग गरिने पटकालगायतका वस्तुबाट निस्किने धुवाँले झनै प्रदूषण बढाउने गरेको विज्ञहरूले बताउँछन्। दीपावलीका बेला प्रदूषण उच्च हुने आकलन गर्दै दिल्लीका पर्यावरणमन्त्री रायले सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली र निजी सवारी चलाउन रोक्ने निर्णय गरेका थिए। यस्तै, विद्यालयको बन्द गरेर अनलाइन प्रणालीबाट पठनपाठन गराउन सरकारले निर्देशन दिएको छ।

अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन। यसैबीच क्लाउड सिडिङमार्फत वर्षा गराएर प्रदूषण कम गर्ने तयारी सरकारले गरेको हो। भारतीय सञ्चार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री रायले क्लाउड सिडिङसम्बन्धी मापदण्डहरू पूरा गरेर नोभेम्बर २०–२१ सम्ममा कृत्रिम वर्षासम्बन्धी ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्न सकिने बताएका छन्। 

आईआईटी कानपुरका वैज्ञानिकहरूले क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गराउने परियोजनामाथि सन् २०१७ देखि नै काम गर्दै आएका छन्। तर क्लाउड सिडिङबाट वर्ष गराउनका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक हुन्छ। त्यस्तै, यसका लागि अन्य मन्त्रालयहरूको मन्जुरी पनि चाहिने हुन्छ।

बीबीसीका अनुसार दिल्लीमा प्रदूषण न्यूनीकरणका लागि क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउन सुझाव दिइएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटक सुझाव दिइए पनि कार्यान्वयमा भने ल्याइएको थिएन। दिल्लीको प्रदूषणदर पुनः नियन्त्रणबाहिर भएपछि पुनः यो विषयले चर्चा पाएको हो।

केही विज्ञहरू क्लाउड सिडिङबाट गराइने कृत्रिम वर्षा जटिल र महँगो हुने बताएका छन्। यसबाहेक, यो पूर्ण रूपमा प्रदूषणसँग लड्न कत्तिको प्रभावकारी छ भन्ने प्रमाणित भइसकेको छैन। विज्ञहरूले वातावरणमा यसले पार्ने दीर्घकालीन प्रभावबारे बुझ्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।

आईआईटी कानपुरका अनुसन्धानकर्ताले तयार पारेको दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्बन्धी परियोजनाअनुसार ३०० वर्ष किलोमिटर क्षेत्रफललाई समेटिने छ। यो परियोजनाको नेतृत्व गरेका मणिन्द अग्रवालले समाचार संस्था रोयटर्ससँग भनेका छन्, “क्लाउड सिडिङबाट वर्षा गराउँदा दिल्लीको सम्पूर्ण भूभागलाई समेट्न सकिँदैन। त्यसैले केही किलोमिटरको क्षेत्रफलमा मात्र कृत्रिम वर्षा गराइने छ।”

उनले अन्य देशमा पनि कृत्रिम वर्षा गराएर प्रदूषण न्यूनीकरणका लागि काम भइरहेको उल्लेख गर्दै यो प्रक्रियालाई कडीकडाइका साथ अगाडि बढाउनुपर्ने बताउँछन्। उनका अनुसार वर्षापछि तत्काल वायूको गुणस्तरमा सुधार आएको देखिन त सक्छ तर ४८ देखि ७२ घण्टामा फेरि प्रदूषण स्तर बढेर आउन सक्छ।

मुखर्जीले क्लाउड सिडिङलाई महँगो प्रक्रियाका रूपमा अर्थ्याउँदै यसले दिगो प्रभाव पारेको अहिलेसम्म प्रमाणित नभएको तर्क राख्छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनको भनाइ छ।

“अस्थायी निर्णयले मात्र हुँदैन। यसका लागि प्रोटोकलको पूर्ण पालना गर्नुपर्छ। यसलाई सम्भव बनाउनका लागि अलगअलग विशेषज्ञहरूको टिम बनाउनुपर्छ। यो टिममा मौसमविद्, वायु गुणस्तर नीति विशेषज्ञ र महामारी विशेषज्ञहरूलाई समेट्नुपर्छ,” उनले भने।

केही विज्ञहरूले क्लाउड सिडिङ पछिका अज्ञात पक्षहरूको प्राविधिक ज्ञान अझै कमी रहेको भन्दै यसबारे चिन्ता व्यक्त गरेका छन्। “क्लाउड सिडिङका कारण हावाको गुणस्तर सूचकांक कति घट्छ भन्ने थाहा हुन सकेको छैन। कस्तो प्रभाव पार्छ भन्ने पनि हामीलाई थाहा छैन। किनकि हामीले प्रकृतिको नियमित प्रक्रियालाई उल्ट्याउन खोज्दै छौँ,” जलवायु विज्ञ अविनाश मोहन्तीले बीबीसीसँगको कुराकानीमा भनेका छन्। कृत्रिम वर्षा गराएर र हावाको गति परिवर्तन गरेर मात्र प्रदूषणको समस्या अन्त्य नहुने उनीको भनाइ छ।

क्लाउड सिडिङ प्रविधिमार्फत बादलमा रहेको आर्द्रता सघन बनाएर पानी पारिन्छ। यस प्रक्रियामा सिल्भर आयोडाइड र क्लोराइडजस्ता लवणहरू बादलहरूमा छर्किइन्छ। विमान या जमिनबाटै मेसिनमार्फत हावामा सिल्भर आयोडाइड, ड्राई आइस र क्लोराइड छर्किइएपछि बादलमा पानी जम्न थाल्छ र वर्षा हुन्छ।

दिल्लीमा अघिल्लो दुई हप्तामा एयर क्लालिटी इन्डेक्स (एक्यूआई) लगायत र ४५० भन्दामाथि पुगेको थियो। चिकित्सकहरूका अनुसार कुनै पनि स्वस्थ व्यक्तिका लागि सिफारिस गरिएको एक्यूआई ५० भन्दा कम हुनुपर्छ। एक्यूआई ५० भन्दा बढी भए फोक्सोसँग सम्बन्धित रोगबाट पीडितहरूका लागि घातक हुन सक्छ र फोक्सोको क्यान्सरको जोखिम पनि बढ्छ। एजेन्सीको सहयोगमा


सम्बन्धित सामग्री