Tuesday, April 30, 2024

-->

पर्या–साहित्यको सौन्दर्यशास्त्रबारे विवेचना

को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।

पर्या–साहित्यको सौन्दर्यशास्त्रबारे विवेचना

केही हप्ताअघि विश्व कविता दिवस परेको रहेछ, अलि पहिले पृथ्वीधात्री दिवस मनाइएको रहेछ र सँगसँगै गत मार्च २७ मा विश्व रंगमञ्च दिवस पनि मनाइयो। भर्खरै मानवतावादी लेखक म्याक्सिम गोर्कीलाई उनको जयन्ती मार्च २८ को सन्दर्भमा संसारभर धेरैले सम्झिए पनि। सामाजिक सञ्जालमा धेरै मित्रजनले अनेकन् प्रकारले साहित्य लेखन र काव्यिक रचना/सिर्जना पनि गरिरहेकै छन्। लाग्छ कि साहित्य लेखनमा आममानिसको रुचि बढ्दै गएको छ। पद्यात्मकभन्दा गद्यात्मक काव्यशैली सरल भए पनि साहित्यिक लेखनमा उच्चस्तरको सांस्कृतिक चेतना (कल्चरल कन्ससनेस), मूल्य र सौन्दर्यबोध (एस्थेटिक भ्यालु) र कलात्मक भाषा–शैली हुनु आवश्यक मानिन्छ। 

मानवीय सभ्यतासँगै सञ्चार कार्यका लागि भाषा (ल्याङ्ग्वेज)को विकास भएदेखि नै प्राक्–साहित्यका रूपमा कविता लेखन शुरू भएको मानिन्छ। ऐतिहासिक चेतनाको प्रतिबिम्बित गर्दै प्राचीनकाल, मध्यकाल, आधुनिककाल र उत्तर आधुनिक (पोस्टमोर्डन) युगसम्म आइपुग्दा कला र साहित्यका क्षेत्रका विधा, शैली र लेखन आयाममा विविधीकरण भएको देखिन्छ। साहित्यलाई खासगरी सामाजिक–सांस्कृतिक क्रियाप्रतिक्रिया स्वरूप उत्पन्न हुने मानवीय चेतना, संज्ञानात्मक सोचाइ (कग्निटिभ थिकिंग), संवेदना, भावना, मूल्य, कल्पना प्रयोग भएको सञ्चार विधाका रूपमा हेर्ने गरिन्छ। 

साहित्यलाई समाजको ऐना भनिन्छ। समाजमा जेजस्ता कार्य–चेतना हुन्छन्, प्रतिबिम्बका रूपमा सो साहित्यबाटै देखिन्छ भनिन्छ। यसमा अक्षर, शब्द र वाक्यको कलात्मक संयोजनले साहित्यको सन्देश र लेखन मूल्य पनि दर्साएको हुन्छ। खासगरी आदिम सिन्धु घाँटी र नाइल नदीका सभ्यतापछि क्रमशः विकसित प्राचीन ग्रिस, रोमन र भारतीय साहित्यिक इतिहासलाई अध्ययन गर्दा मानिसले सामाजिक–सांस्कृतिक सम्बन्ध विस्तार गर्दै जाँदा उत्पन्न भएका भावनात्मक विचार लौकिक र अलौकिक माध्यमबाट प्रकट गरे। प्राचीनकालतिर हेर्दा लोकगीत, लोककथा, सबाई, अन्ताक्षरी, स्तुतिगान, भजन, मन्त्रणा र अनेकौँ किम्बदन्तीसहित इलियड एन्ड द ओडिसी (होमर), रामायण (वाल्मीकि) र महाभारत (वेदब्यास) जस्ता ठूला–ठूला महाकाव्य सिर्जना भएको देखिन्छ भने मध्यकाल र आधुनिककालतिर आइपुग्दा प्रख्यात धार्मिक पुस्तक (बाइबल, कुरान, गीता, त्रिपिटक आदि) र काव्य विधाभन्दा फरक साहित्य रचना पनि विकसित हुँदै आएको पाउँछौँ। 

अंग्रेजी साहित्यमा सेक्सपियर, टीएस इलिअट, मार्क ट्विन, विलियम वर्डस्वर्थ, अर्नेस्ट हेमिङवेका कविता, नाटक र उपन्यासदेखि हिन्दीमा प्रेमचन्दका उपन्यास र नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदनसम्मको उत्कृष्ट सिर्जना हामीले पढेका छौँ। यसरी नै कालान्तरमा विकसित भएका साहित्यका धेरै स्वरूप थपिँदै गए, जसमा चित्रकला, चलचित्रकला, निबन्ध, गजल, गीत, कथा, आत्मवृत्तान्त, साहसिक नियात्रालगायत थुप्रै किसिमका भाषिक लेखन शैली (जन्‍रा)बाट रचना भएका कृति पनि पढेका छौँ।

पर्या–साहित्य
साहित्यको ऐतिहासिक विकासक्रममा कुनै खास विचारधारासहित विकसित भएका धेरै खाले लेखन कृति आए। खासगरी पुनर्जागरण (रेनासन्स) कालमा विकसित भएका प्राकृतिकता, धार्मिकता, सुन्दरता, मायाप्रेम, ममता, समता, वीरता, देशभक्तिजस्ता शास्त्रीय धारालाई आधुनिककालमा आएर मार्क्सवादी (क्रान्तिकारी) र नवउदारवाद (सेकुलर) धारसँगै स्वच्छन्दतावादी (रोमान्टिज्म) धारले स्थान लिँदै गयो। उत्तर आधुनिककालसम्म आइपुग्दा विज्ञान र प्रविधिसँगै प्रगतिवाद, मानवतावाद, यथार्थवाद, अस्तित्ववाद, संरचनावाद र विनिर्माणवादको प्रयोगले प्रचलित साहित्यका धेरै जन्‍रा (विधा/शैली)मा नयाँ–नयाँ विचारको परीक्षणसमेत हुन थाल्यो, पुराना विचार भत्कँदै गए। यसै क्रममा यतिखेर पर्यावरणीय साहित्य (पर्या–साहित्य/इको लिटरेचर)को विशिष्ट र नयाँ अवधारणा प्रयोगमा आएको छ। वातावरणीय साहित्य सिर्जना गर्ने स्रष्टाले यसलाई ‘हरियो साहित्य’को उपनाम पनि दिएको पाइन्छ। 

औद्योगिक क्रान्तिसँगै आएको प्रवोधनकालीन (इन्लाइटमेन्ट) विचारले मानव समुदायले विकास र उत्पादन भएको वस्तु उपभोगबाटै समग्र सुख तथा तृप्ति पाउँछ भन्नेमा जोड दियो तर त्यसो भएन। किनकि पृथ्वीमा रहेका प्राकृतिक स्रोतसाधन सकिँदै गएको थियो, प्लास्टिक र प्रदूषणलगायत धेरै वातावरणीय समस्या बढ्दै गएको थियो। वन मासिँदै गएको, जैविक विविधता घट्दै गएको, बाढीपहिरो र मरुभूमीकरण बढ्दै गएको तथा रोगव्याधी थपिँदै जाँदा आममानिस झनै दुखी हुँदै थिए। समाजमा धनी वर्गसँग मात्रै सुख थियो भने आममानिसमा गरिबी र दुःख फैलिँदै थियो, जसका कारण उनीहरूमा विद्रोहको चेतना जागृत हुन लागेको थियो। आदिवासी जनजाति समूह, रैथाने समूह, महिला समूह, कृषक तथा श्रमजीवी समूह र सर्वसाधारण प्रकृति र वातावरणीय सन्तुलनसँग एकाकार भई रमाउँदै बसेका त थिए, तर सन् १९६० पछि गरिएको औपनिवेशिक एवं असन्तुलित विकासको ढाँचाले गर्दा यो अवस्थामा दरार पैदा भएको थियो। 

यसबखत व्यापारी र उद्योगपति वातावरणीय स्रोतसाधनको शोषण र लुट मात्रै गर्थे, जसले गर्दा सन् १९९० पछि जलवायु परिवर्तनको समस्या झनै जटिल रूपमा देखियो र आममानिसउपर प्राकृतिक प्रकोपजन्य पीडा, वेदना, दुःख र कष्टसाध्य जिन्दगी थपियो। यसैबखत पृथ्वी, वातावरण, प्राकृतिक स्रोत र जैविक विविधताको मूल्य दर्साउँदै पर्यावरणीय प्रणाली र जलवायु समस्याजस्ता विषयमा साहित्य लेखनमार्फत जागरण र चेतना व्यक्त गर्न पर्या–साहित्यको नयाँ अवधारणा आयो। अन्य परम्परागत साहित्य र कलात्मक धारामा मञ्चन हुने मानवतावाद, प्रेमवाद, मायावाद, सुन्दरतावादजस्ता प्रतिकात्मक मूल्यउपर हरियो विद्रोहको आवाज निकाल्दै यतिखेर यो पर्या–साहित्य समस्त मानव समुदायअगाडि उभिन पुगेको छ।

पर्या–साहित्यको रूपरेखा
हाम्रो साझा घर पृथ्वी अति नै सुन्दर छ, प्रकृति मनमोहक छ। र त यो सुन्दरता मानवजातिले भरपुर उपयोग गर्नुपर्छ भन्ने खाले विचारले प्रकृतिवाद, स्वच्छन्दतावाद, उन्मुक्तबाट र अति स्वतन्त्रतावाद उत्पन्न भएको थियो। मध्यकालमा त हरेक सृष्टि रचनाको रंगिन मूल्यलाई लालित्यको भित्ताभरि पोतिएको थियो। जस्तो: समुद्रको नीलो सुन्दरता, हरिण र बाघको सुनौलो छाला, जेब्रा र जिराफको सेतो धर्सो भन्नुस् या ताल तलैया, झरना र नदीको कलकल ध्वनि वा वसन्ती बतासको सुसेलीको बयान साहित्यमा बेजोड रूपले प्रस्तुत भयो। 

प्रकृति के हो? पर्यावरणीय प्रणाली (इकोसिस्टम) के हो र यो प्राकृतिक अन्तरसम्बन्ध मानव समुदाय र समाजका लागि किन चाहिन्छ? यी चिजको निरन्तरता हुनुपर्छ या पर्दैन? के रुखबिरुवा, माटो, हावा, पानी, हिउँ, सागर, महासागर, आकाश इत्यादि भोग्य वस्तु मात्रै हुन्? के यी मानिसजातिले उपभोग गर्नका लागि मात्रै बनेका हुन् त? यी चिज, पदार्थ र वस्तु मानिसबाहेक अन्य प्रजातिका लागि नचाहिने हो त? भिक्टोरियन युग वा औपनिवेशिक धारणाका आधारमा हेर्दा जोसँग धन, बल र सामर्थ्य छ उसैले मात्रै यी वस्तु भोग्न सक्छ भन्ने चिन्तन भएकाले त्यस समय यो इकोसिस्टम संरचना र पद्धतिमाथि नै आक्रमण गरिएको थियो। अहिले पनि प्राकृतिक तेल र खनिज पदार्थका लागि युद्ध अपराधजस्ता कार्य भइरहेकै छन्। मानिसको यस्तो दानवीय व्यवहारले प्रकृतिको सुन्दरता त के अस्तित्व नै बिलोपनतिर अगाडि बढेको बेला सचेतना र ज्ञानले सजिएको एउटा मानव समूह यतिबेला झस्किएको छ। पर्यावरणीय प्रणालीको विनाशले मानव सभ्यता नै बिर्सजनको संघारमा उभिएको छ। प्रकृतिको नेचुरल इभोलुसनरी प्रोसेस नै अवरुद्ध भएको छ।  

त्यसो भए को हुन् पृथ्वी विनाश गर्ने मानवरूपी मखुन्डोधारी दानव? को होलान् ती पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति नै अहिले पृथ्वी र प्रकृति विनाशका खलपात्र हुन्। औद्योगीकरण, पश्चात्यकरण र मोर्डनिज्म विचारले युद्ध र उपभोगवादलाई अति प्रश्रय दिएकै कारण यो समस्या उत्पन्न भएको हो। हरित गृह ग्यास र विषाक्त कार्बन उत्सर्जन बढ्दै जाँदा भएको तापमान वृद्धि पनि यही उपभोगवादसँग जोडिन पुग्छ। पर्या–साहित्यले यही कार्य–कारण सम्बन्धलाई मानवीय चेतनाको दृष्टिकोणबाट कलात्मक रूपमा पेस गर्छ। यो संकटबारे खबरदारी  गर्दै हरियो चेतना विस्तार गर्न खोज्छ।

यसर्थ, पर्या–साहित्यले पृथ्वीको वेदना, दुख कष्ट र यसको अस्तित्व संरक्षण, जलवायु, जैविक सम्बन्ध, रुख, नदी, तालतलैया, बाघ, चित्तल-मृग, चरा, माहुरी, धमिरा, कमिलालगायत सारा जीव जीवात्मासहित उनीहरूसँगै बाँचेका आदिवासी जनजाति, रैथाने र पिछडिएका समूह, महिला, उत्पीडित जनता, सीमान्तकृत जनसमूह, किसानका विषय/मुद्दा एकाकार गर्दै समस्त श्रमजीवी जनताको भाषा बोल्ने, लेख्ने र व्यक्त गरिँदै आएको छ। पर्या–साहित्यको यो आवाज लेटिन अमेरिकाको अमेजन जंगलमा मानव  र पर्यावरणको सहअस्तित्वको गीत गाउँदै युरल, आल्प्स्, साइबेरिया हुँदै अफ्रिकाभित्र साभानामा सुसेली मार्दै मध्यपूर्वको मरुभूमिमा नाचगान गर्दै एशियाको हिमाली पर्वतमा आएर गुञ्जायमान हुन पुगेको छ।

पर्या–साहित्यको ऐतिहासिक विकास र दार्शनिकीकरण
दार्शनिक अवधारणाले कुनै पनि विस्तु के हो? चेतना के हो? यसको सत्य के हो भनेर खोजबिन गर्छ। वैज्ञानिक र व्यवस्थित अध्ययनमार्फत वास्तविक जगत‍्मा रहेको अन्तर्विरोध सत्यता बोध गर्नु नै दर्शन हो भनिन्छ। त्यसो भए पर्या–साहित्यलाई कस्तो वस्तु मान्ने हो? पर्यावरणीय चेतना बोकेको साहित्य ज्ञान नै पर्या–साहित्य हो भनेर हामीले यसको रूपरेखा (फर्म या आकार प्रकार) बनाइसकेपछि अब हामीले यसको अस्तित्व हुन्छ या हुँदैन (या छ कि छैन समेत) भनेर विवेचना गर्नुपर्ने हुन्छ। यसैलाई दार्शनिकीकरणको प्रक्रिया भनेर बुझिन्छ। 

एरिस्टोटल, सोक्रेटस र प्लेटोदेखि बुद्ध, कान्ट, हेगेल, मार्क्स र एंगेल्ससम्मले यो पृथ्वी, जगत्, ब्रह्माण्ड, प्रकृति, मानव जातिको विकास र सामाजिक प्रक्रियाबारे आआफ्नो कोणबाट व्याख्या गरेका छन्। यसैबखत सामाजिक प्रक्रिया विकसित हुँदै गर्दा उत्पन्न भएको संस्कृति, कला र साहित्यको पनि सापेक्ष व्याख्या हुने नै भयो। पर्या–साहित्यको दार्शनिकीकरण गर्दा मूल रूपमा यसको अस्तित्व (एक्जिस्टेन्स एन्ड रियालिटी), अस्तित्वमा हुनुको कारण (रिजनिङ एन्ड लजिक), ज्ञान मीमांसा पद्धति (इपिस्टोमोलोजी) र उक्त वस्तुको मूल्य निर्धारण तथा सौन्दर्यबोध (भ्यालु जजमेन्ट एन्ड एस्थेटिक)को मापन गर्दै यसभित्र यी चिजको व्यापकताको स्तर के कस्तो छ भनेर सूक्ष्म रूपमा हेर्ने गरिन्छ। 

अनि यो ज्ञान पदार्थवाद (मेटेरलिस्ट) वा आदर्शवाद (आइडिलिस्ट) मध्ये कुन दार्शनिक कित्तामा पर्छ भन्नेबारे चर्चा गरिन्छ। निश्चित रूपमा पर्या–साहित्यले ब्रह्माण्ड (प्रकृति/पर्यावरणीय प्रणाली)को संरचना र पद्धतिको चलायमानता (फङ्सनल मोसन/थर्मोडाइनामिक्स/क्वान्टम सिद्धान्त/डायलेक्टिल)लाई स्वीकार गर्छ, यसले विज्ञानका तथ्य र प्रमाणलाई मान्छ। अनि यही ढाँचाभित्र आफ्नै हरियो भाषा (हरित अक्षर, शब्द र वाक्य) विकास गर्दै गएको छ। प्रचलित साहित्यिक वातावरणमा आफ्नै अस्तित्वको र सत्यापन निर्माण पनि गरेको देखिन्छ। 

फिक्सन र ननसिफक्सनसहित धेरैखाले लिटलरी जन्‍रा; जस्तै: कविता, उपन्यास, नाटक, चलचित्र आदिमा आफ्नो प्रभावशाली उपस्थिति र अस्तित्व देखाएको छ। ज्ञान निर्माणका क्षेत्रमा साहित्यले आफ्नो महत्त्व र सहअस्तित्वको ज्ञानबोध गराएको छ भने मानव समाज र प्रकृति अर्थात् पर्यावरणका बोधगम्य सन्देश पैदा गरेको छ। यसको प्राकृतिक मूल्य र सौन्दर्य चेतना पनि मापन गराएको छ। यी सबै विधिगत व्यवहारमा हेर्दा पर्या–साहित्यले पदार्थवाद (भौतिकवाद) लाई नै पछ्याएको नै देखिन्छ। यसैले सत्यबोध गर्ने भौतिकवादी मान्यता बोकेको मानवतावाद, यर्थाथवाद र प्रगतिशील चरित्र रहेको सम्मिश्रणसहितको ज्ञान (कम्पोजिट नलेज) रहेको नयाँ साहित्यिक डक्ट्रिनका रूपमा पर्या–साहित्य विकसित हुँदै गएको छ।  

ऐतिहासिक कालक्रम हेर्दा हरियो प्राक्–साहित्यका रूपमा यो प्रकृतिवादी भई अंकुरित भयो भने प्राचीन र मध्यकालीन साहित्यमा यो बिम्बवाद (सिम्बोलिज्म) का रूपमा अनि विविध मेटाफोरका रूपमा भरमार प्रयोग हुन सफल भयो। यतिबेला प्रेम र सुन्दरताको प्रतीक जनाउँदै सिमसिमे वर्षा, चन्द्रमाको मुहार, शीतल छहारी, निर्मल जल र झरनाको पानी, नीलो आकाशजस्ता बिम्ब प्रतिबिम्ब निर्माण हुने गरेको पाइन्छ। आधुनिक काल (औद्योगिक काल) मा मानव समुदाय जब मेसिन, प्रविधि र पुँजीको हतियार लिएर उत्पादनको बृहत् प्रक्रियामा संलग्न भयो, तब समाजमा शोषण, दमन, असमानता र बहिष्करणजस्ता क्रियाकलाप झनै बढी उत्पन्न भए र वर्गीय चेतना पनि यसरी नै उत्पन्न भयो। 

अनि समाजलाई वास्तविकताको ऐना देखाउन साहित्यमा मानवतावाद र यर्थाथवादसँगै आयो र प्रगतिशील साहित्यको जन्म भयो। पुस्किन, दोस्तोभस्की, लियो टोल्सटोय, एन्टोन चेखब र माक्सीम गोर्कीका साहित्य मानवतावाद र यर्थाथवादको सन्देश बोकेर आएका थिए भने एन्टिनियो ग्रास्मी, ब्रतोल्त ब्रेख्त, लु सुन, अलर्बट कामु, फ्रान्ज काफ्का, पाब्लो नेरुदा,  खलिल जिब्रान र नोम चोम्स्कीसम्म आइपुग्दा यसमा अस्तित्ववाद अनि प्रगतिवाद र हेजेमनीविरोधी अराजकतावाद पनि मिसियो, जो विद्यमान विभाजित सामाजिक पद्धति, अन्याय र उत्पीडनप्रति महाविद्रोही भयो र अमानवीय व्यवहार रहेको हाम्रो समाजको पुनर्संरचना गर्नुपर्ने मत त्यसले राख्यो। 

पोस्टमोर्डन कालमा फ्रेड्रिक नित्से र ज्याक्स डेरिडाले विनिर्माणवादको भाष्य नै ल्याए, जसले विद्यमान भाषा र साहित्य (टेक्स एन्ड ग्रामर) को विनिर्माण र सांस्कृतिक बहुलता आवश्यक छ भन्ने दलिल राख्यो। वातावरणवाद पनि यसै सिलसिलामा जन्मियो। मानव जातिलाई मानव केन्द्रित (एन्थ्रोपोसेन्ट्रिक) मार्गभन्दा पर्यावरणकेन्द्रित (इकोसेन्ट्रिक) सांस्कृतिक मार्ग अपनाउन आव्हान गर्दै पर्या–साहित्य सन् १९९० देखि जोडदार रूपले प्रवेश गर्‍यो। जलवायु परिवर्तन र पर्यावरणीय प्रणालीमा कुलीन र धनी वर्गका मानिसले गरेको अत्याचार, अति दोहन, शोषण, अन्याय, लोभीपन र व्यभिचारजस्ता क्रियाकलापप्रति विद्रोह गर्दै यो प्रगतिशील बिचारका साथ आएको छ। 

कविता, निबन्ध, नाटक, उपन्यासमा इको–फिक्सन पनि यसरी नै प्रयोग भएको छ। सडक आन्दोलन, आर्ट ग्यालरी र चलचित्र कलासम्म यो फैलिएको पनि छ। उदाहरणका लागि जेम्स क्यामरुनको 'अवतार' चलचित्र हेरौँ, यसमा त पान्डोरा ग्रहको रैथाने अधिकार, त्यहाँका नाभी आदिवासीको पर्या–चेतना एवं संर्घष र उनीहरूको वातावरणवादी सांस्कृतिक मूल्यलाई जायज ठानेको छ अनि अरूको स्रोत कब्जा गर्न चाहने पृथ्वीका लोभी पात्रहरूउपर तीखो प्रहार गरेको छ।

पर्या–साहित्यको सौन्दर्यबोध विवेचना
पर्या–साहित्यको उद्बिकास क्रम हेर्दा आवश्यकताले नै यसको जन्म भएको देखिन्छ। यो मानवतावादी, यथार्थवादी छ र प्रगतिशील चेतनाले युक्त छ। यसले प्रकृति र पर्यावरणीय प्रणाली विनाशप्रति खबरदारी गर्ने विद्रोही नायकत्व लिएको छ।

खासगरी सबै खाले जन्‍रामा बुनिने स्टोरिटेलिङ वा न्यारेटिभ (संकथन) मा राखिएका मूल पात्र, चरित्र, स्टोरी प्लट, स्टोरीको ल्यान्डस्केप, कथाभाव, प्रस्तुति र सन्देश केप्रति लक्षित छन् र यी सिर्जनाको सामाजिक एस्थेटिक भ्यालु के छ भनेर लेखाजोखा गर्ने कार्यलाई आलोचनात्मक सौन्दर्यबोध भन्ने गरिन्छ। सरसरी हेर्दा यसको थ्योरी एप्रोचमा न्यू क्रिटिसिज्म, मार्क्सिजम्, पोस्ट कोलोनियलिजम्, एक्जिस्टेन्सियलिजम्, फेनेमोलोजी, स्ट्रक्चरालिजम्, पोस्ट मोर्डनिज्म, जन्‍रा क्रिटिसिज्म, फेमिनिस्ट क्रिटिसिज्म गरी नौ प्रकारका अवधारणाबाट आलोचना गर्ने गरिन्छ। पर्या–साहित्यले थयार्थवाद, मानवतावाद र प्रगतिशील चेतनाको समग्र कथा भन्ने भएकाले यसको मूल्य मापन गर्दा मार्क्सवादी सौन्दर्यवादको अवधारणा नै अपनाइएको पाइन्छ। 

साहित्यमा मार्क्सवादी दर्शनको प्रयोग गरेको रहेछ भने यो बढी जनपक्षीय र भौतिकवादी चेतना निर्माण गर्न सक्ने रहेछ भनिन्छ। भौतिकवादी सुन्दरता वास्तवमा यथार्थवादी र वस्तुवादी हुन्छ अनि यसले रहस्यवाद तथा परम्परावादको विद्रोहको संयोगको रूपमा श्रमको मूल्य माग गर्ने क्रान्तिकारी नायकको चरित्र निर्माण गर्दै देखापर्छ। अर्थात् यसले द्वन्द्वात्मक र सामाजिक परिवर्तनको विचारको सत्यता आत्मसात् गर्छ। साहित्यभित्रको कथाको सौन्दर्यबोध गर्दा त्यसको सुन्दरता, चेतना र मनोरञ्जनलाई भौतिक विज्ञानका आँखाले हेर्छ र सो सौन्दर्य आम मानिसका लागि अग्रगामी चेतना निर्माण गर्न उपयोगी हुन्छ कि हुन्न भन्ने ढंगले विश्लेषण गर्छ। 

समाजमा वर्गीय लडाइँ हुन्छ, विद्रोहको चेतना निर्माण हुन्छ। पर्यावरणीय र प्राकृतिक स्रोत हडप्न पुँजीवादीहरू अग्रसर हुन्छन् भने यीविरुद्ध आममानिस (श्रमजीवी)हरू नै उच्च चेतनासाथ निर्मम रूपमा लड्नुपर्छ भन्ने सन्देशको यो साहित्यले पक्षपोषण गर्छ। 

सुन्दरता के हो? पर्या–सुन्दरता के हो? जसरी पुँजीवादले महिलालाई वस्तुका रूपमा उपभोग गर्छ, के त्यसरी नै प्रकृतिको सुन्दरता पुँजीपति वर्गले मात्र उपभोग गर्न मिल्छ? यो गलत छ भनेर यस्ता खाले नैतिक प्रश्नको थुप्रै उत्तर खोज्ने क्रममा पर्या–साहित्यले आफूलाई पर्यावरणीय प्रणाली र पृथ्वीउपर भएका अन्याय र अत्याचारको प्रतिरोधकका रूपमा उभ्याउँछ। यो नै पर्या–साहित्यमा रहेको चेतनाको मूल्यबोध हो।

नेपालमा पर्या–साहित्य र विकास
सन् १९६० पछि वैश्विकस्तरमा नयाँ साहित्यिक ढाँचा बोकेर आएको पर्या–साहित्यको पहिलो पुस्ताले अफ्रिका, क्यारेबियन र अमेजनका आदिवासी जनजातिको संघर्षका गाथा लेख्यो र वनजंगल र जैविक विविधताको संरक्षणको मूल्य बोक्यो। बिस्तारै इको फेमिनिस्ट हुँदै आयो। यसलाई पर्या–साहित्यको पहिलो लहर भनियो। सन् १९९० पछि जब जलवायु संकट पैदा भयो। त्यसपछि यसले सोसियोसेन्ट्रिक र इकोसेन्ट्रिक विचारको दोस्रो लहर लिएर आयो। जुन स्थानीय, क्षेत्रीय र वैश्विक तहको पर्यावरणीय चेतना निर्माण गर्न सफल भयो। यसले नवउदारवादले गरेको वातावरण विनाश, अन्याय, स्रोतको अपूरणीय दोहन र जनसमुदायमाथि थोपरिएको गरिबी र विभेदलाई मुद्दा बनायो (केन हिल्टनर २०१४)। 

अनि यसले दिगो विकासको नाममा भित्र्याएको ग्रीन ग्रोथ अप्रोच, ग्रीन ट्रान्जिसन र ग्रीन वासिङजस्ता पर्या–अपराध (इकोसाइड)को मुखौटो उतार्‍यो, पनि। यसै सिलसिलामा पर्या–साहित्य भारतीय उपमहाद्वीपमा आएपछि नेपाल छिरेको पाइन्छ। भारतीय साहित्यले पनि मानवतावाद, यर्थाथवाद र प्रगतिशील सिर्जनाका धेरै जन्‍रामा उपस्थिति देखाएको छ। खासगरी रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, अमृता प्रितम, राहुल सांकृत्यायन, देवीप्रसाद चट्टोपाथ्य, भीष्म सहनी, एम सुल्तानपुरी र मुल्कराज आनन्दका रचनामा यी चेतना भेटाइन्छ। पर्यावरणीय चेतनाको बिस्तार 'चिप्को आन्दोलन'पछि जोडदार रूपमा यस क्षेत्रमा फैलिएको देखिन्छ। 

नेपालमा पनि भानुभक्तकालीन समयपछि बिस्तार भएको साहित्यमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, बीपी कोइराला, पारिजात, भूपी शेरचन र मोदनाथ प्रश्रित आदिले मानवतावादी लेखन प्रयोगमा ल्याए। प्रगतिशील साहित्यका क्षेत्रमा यतिखेर खगेन्द्र संग्रौला, घनश्याम परिश्रमी, कृष्णसेन इच्छुक, अमर गिरी, निनु चापागाईं, मनऋषि धिताल, अशेष मल्ल, विमल निभा, रसुवाली कवि, गुरुदत्त ज्ञवाली, अर्जुन पराजुलीजस्ता धेरै सर्जकले साहित्य रचना गरिरहेको पाउँछौँ। सरसर्ती नियाल्दा नेपाली साहित्यमा पर्या–साहित्य शुरूआती चरणमा रहेको पाइन्छ, यसका सर्जकका रूपमा गोविन्दराज भट्टराई, कृष्ण बाउसे, विजय हितान, नरेन्द्र पराशर, अनिता पन्थी, रोशन शेरचन र हिमलाल श्रेष्ठ, देबेन सापकोटा, दधी सापकोटा, गंगा पोखरेललगायत धेरै स्रष्टा आएका छन्। यसरी हेर्दा नेपालमा वातावरणीय चेतनालाई पर्या–साहित्यका माध्यमबाट मानवतावाद, यर्थाथवाद र प्रगतिशील चेतनाभित्र घुलमिल गराउँदै क्रमशः अघि लगेको पाइन्छ। 

निश्चय पनि नेपालको सन्दर्भमा पर्या–साहित्यले अझै जोडदार रूपले हिमाल, चुरे, पूर्व कोशीदेखि पश्चिम महाकालीसम्मको आवाज अनि यहाँका वनजंगल, नदीनाला, तालतलैया, निकुञ्जका बाघ, हात्ती, चरा र पुतलीका संघर्षका सन्देश सुनाउनै पर्छ। सोही वरपर रहेका रैथाने, आदिवासी, थारू, माझी र कुमाल समेतको आवाज बुलन्द गर्नैपर्छ। आशा गरौँ, नेपाली पर्या–साहित्यले यस धर्तीको अस्तित्व रक्षाका निमित्त पर्यावरणीय सहअस्तित्वमा रहेका विश्वभरका समस्त परिश्रमी मानव समुदायलगायत किसान, महिला र सीमान्तकृत समूहको संघर्षको सौन्दर्यबोध गर्दै पर्या–चेतनाको हरियो गीत अझ गुञ्जायमान गराउने गरी अगाडि बढ्ने छ। 


घिमिरे वन तथा भूसंरक्षण विभागमा कार्यरत छन्।


सम्बन्धित सामग्री