Saturday, April 27, 2024

-->

संयोगले बाँचेकाहरू
ज्यानमारा घरबाट जोगिएर पनि मेटिएन जिउज्यान बचाउने चिन्ता

वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्छन्– ‘राहत र उद्धारको काम छिट्टै टुंग्याएर भूकम्प प्रतिरोधात्मक अस्थायी संरचना बनाउनतर्फ तत्काल नलागे चिसोले थप मानवीय क्षति हुन सक्छ।’

ज्यानमारा घरबाट जोगिएर पनि मेटिएन जिउज्यान बचाउने चिन्ता
चिसोको चिन्तामा सिर्पाचौरकी ललिता पुन। तस्वीरहरू: लोकेन्द्र/उकालो

सिर्पाचौर (जाजरकोट)– जब रात पर्दै जान्छ, बारेकोट गाउँपालिका–१, सिर्पाचौरकी पानसरा पुनको मन साँघुरिँदै जान्छ। पूर्वको हिउँचुली, पश्चिमको कुशे र दक्षिणको चाखुरे हिमालको सिरेटो पालभित्र मात्र होइन, पानसराको मनमै पस्छ। 

उनी भन्छिन्, “यी...बरै..। हेर्दौना, कसरी सनसन सन्काउँछ। माथिबाट चाखुरेले हान्छ। पारिबाट हिउँचुलीले हान्छ। यताबाट कुशेले हान्छ। यच्चुना, कच्चरी बइने? अब यसैले मार्ने भयो।” 

गरिबीले अहिलेसम्म पानसराको परिवारलाई घरको छानो फेर्न दिएको थिएन। सिर्पाचौरका दुई टोल पुनवाडा र घर्तीवाडाका प्रायः सबै घरमा ढुंगाको छानो भए पनि उनको घर खरले छाएको थियो। त्यही खर पनि दुई वर्षअघि फेर्दा नयाँ घर बनाउने योजना बनाएकी थिइन् उनले। 

“४०/५० वर्ष पुरानो घर हो। खर फेर्दा छोराहरूले अब घरै फेर्नुपर्‍यो भन्थे। पैसा पनि हुनुपर्‍यो। पैसा भएनन्, के गर्नु? अर्को साल फेरौँला भनेका थियौँ। पहिल्यै छानो फेरेको भए अहिले त्यही छानोले मारिहाल्ने थियो,” संयोगले बाँचेकी पानसरा सुनाउँछिन्, “भुइँचालोले बेस्सरी हल्लायो। घर त गर्‍याङगुरुङ भइसक्यो, दैवले बचायो।”

भूकम्पले भत्काएको घरबाट छोरीले उद्धार गरेकाले बाँचेकी पानसरा पुन।

पानसरालाई छोरी देउसरा पुनले बचाएकी थिइन्। दिनभरको कामले थाकेको उनको सिंगो परिवार बेलुका ८/९ बजेतिर सुतिसकेको थियो। छोरा महेन्द्र (२२) र विक्रम (१७) पनि निदाइसकेका थिए। “दिनभरि दाउरा–घाँस गर्‍यौँ। थकाइ पनि लाग्यो, मस्त निद्रामा परिसकेछौँ,” विनाशकारी भूकम्प जाँदाको क्षण सम्झँदै उनी भन्छिन्, “त्यही बेला भुइँचालो गयो। छोराहरू बाहिर आइसकेछन्। ढोका नखुल्ने, म भित्रको भित्रै। ढुंगाले चेपिएपछि छोरीले बाहिर निकाली।”

त्यसयता उनको परिवार निदाउन सकिरहेको छैन। भूकम्प नआओस् भन्दै पुकार गरिरहेको छ। पानसरा भन्छिन्, “बल्ल बल्ल बाँचेका छौँ। दैव दाइना हून्, अब भुइँचालो नआइदेओस्।” उनले पार गरेका ६० वर्षमा यस्तो भूकम्प गएको कहिल्यै थाहा पाएकी थिइनन्।

भूकम्पले चिराचिरा बनाइदिएको घर नजिकै पालमुनिबाट उनी भन्छिन्, “अलि पछि हिउँ पर्ला, के गरेर बस्ने होला? हामीलाई भूकम्पले बल्ल बचायो, चिसोले मार्ने भयो। आठ हातको पालले हिउँ छेक्दैन। सरकारले बचाउने बन्दोबस्त गरिदिनुपर्‍यो।” यो पुकार उनको मात्र नभई सिंगो सिर्पाचौर बस्तीको हो। 

‘बर्षौंपछि पाएको ओत पनि भूकम्पले खोस्यो’
सिर्पाचौर पुनवाडाकी ६० वर्षीया ललिता पुनले कलिलो उमेरमै श्रीमान् सर्क पुनलाई गुमाउनु परेको थियो। साथमा तीन छोरी थिइन्। खरको छानोमा बस्दाबस्दै ललिताले ४० वर्ष बिताइन्। एक वर्षअघि मात्र जनता आवास कार्यक्रममार्फत उनको घर बन्यो।

चिसोमा ललिता पुनको परिवार ओत लागिरहेको पाल।

“अब त बलियो घर भइगो, रामरी बसौँला भनेको त भूकम्पले भत्काइदियो,” सामुन्नेमा भूकम्पले चिराचिरा पारेको घर हेर्दे ललिता भन्छिन्, “सरकारले एक पटक बनाइदिएको घर भूकम्पमा पर्‍यो। अब दुईपटक त सरकारले पनि घर कहाँ बनाइदेला र?”

कात्तिक १७ गते भूकम्प आउँदाको दिन ललिताले दिनभर घाँसदाउरा गरिन्। बेलुका चाँडै सुतिन्। बिहे गरेका छोरीहरू कहिलेकाहीँ मात्रै उनीकहाँ पुग्छन्। त्यस दिन भने संयोगबस छोरी सुन्तली पनि माइतीघरमै थिइन्। भूकम्पले हल्लाएको घरको गारो भत्किएर खसेको ढुंगा निधारमा लागेपछि मात्रै उनी ब्युँझिइन्। 

मध्यरातको अँध्यारोले केही देखिँदैनथ्यो। यताउता हेर्दा नजिक कोही पनि नदेखेकी ललिता जसोतसो ढोकासम्म पुगिन्। घर भत्किएर ढोका खोल्नै नसकिने गरी बन्द भएको थियो, मुस्किलले खुल्यो। त्यसपछि उनले घर छाडिन्। “केको कृपाले हो म बाहिर आएपछि मात्रै घर भत्कियो,” ललिताले भनिन्।

ललिताको घर बाहिरबाट हेर्दा चर्किएर चिरा चिरा परेको मात्र देखिन्छ। भित्र भने बस्नै नमिल्ने गरी भत्किएको छ। उनको मात्रै होइन, बाहिरबाट ठीकठाक देखिने बारेकोट सिर्पाचौरका अधिकांश घरहरू भित्रबाट त्यसरी नै भत्किएका छन्। 

सिर्पाचौर गाउँ

कैलाशी, फुल्चाउले लेकको काखमै रहेको सिर्पाचौरमा हिउँदका बेला हिँउ परेर अत्यधिक चिसो बढ्छ। भूकम्पले सिंगो बस्तीलाई विस्थापित बनाइदिएपछि कठ्यांग्रिदो चिसोमा सिर्पाचौरका स्थानीयहरू रातदिन कष्ट काट्न विवश छन्।

वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह त्रिपालको मात्र भर परेर बस्तीहरूमा अस्थायी बसोबासको संरचना बनाउनतर्फ ध्यान नदिइए चिसोले नै मान्छेको ज्यान लिने बताउँछन्। 

उनी भन्छन्, “राहत तथा उद्धारको कामलाई छिट्टै टुंग्याएर भूकम्प प्रतिरोधात्मक अस्थायी संरचना बनाउनतर्फ लागिहाल्नुपर्छ। त्यसो गर्न सके मात्रै भूकम्पमा परेर बाँचेका बारेकोटवासीहरूलाई चिसोबाट जोगाउन सकिन्छ। तत्काल राज्यले अस्थायी टहराको व्यवस्था नगरेको खण्डमा चिसोले थप मानवीय क्षति बढाउँछ।”

सिर्पाचौर भूकम्पको केन्द्रबिन्दु बनेको ठाउँ हो। यसको तल्लो तहमा रामीडाँडा र माथिल्लो तहमा सिर्पाचौर बस्ती पर्छ। सिर्पाचौरमा भूकम्पले घर भत्काएर चार जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरियो। 

वडाध्यक्ष ऐनबहादुर गिरी

सामान्य घाइते भएकाहरू प्रत्येक घरमा भेटिन्छन्। करिब तीन हजार जनसंख्या रहेको यस वडामा ५५४ घरधुरी छन्। ती सबै घरपरिवारलाई भूकम्पले विस्थापित बनाइदिएको छ। यसमध्ये पनि दुई बस्ती बयाला र सिर्पाचौरमा बढी क्षति भएको वडाध्यक्ष ऐनबहादुर गिरीले बताए।

“बस्तीलाई व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ। चिसो झन् झन् बढ्दै छ, पालले छेक्ने कुरा छैन। पालिकाबाट आएको राहतले केही ठाउँमा पुगेको छ, कतै अझैसम्म पुगेको छैन,” वडाध्यक्ष गिरीले भने, “नपुगेका बस्तीहरूमा त्रिपाल मात्र भए पनि पुर्‍याउन पहल गरिरहेका छौँ।”


सम्बन्धित सामग्री