काठमाडौँ– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर परिसरमा २०७९ चैतमा एउटा चितुवा देखियो। चितुवाले साँझ बिहान बटुवालाई आक्रमण गरेर घाइते बनाएपछि स्थानीयले डिभिजन वन कार्यालय काठमाडौँलाई खबर गरे। तर वन कार्यालयका प्राविधिक पुग्दा चितुवा देखिएन।
डिभिजन वन कार्यालय काठमाडौँका वन अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक जाने र चितुवा नभेटिने क्रम दुईतीन पटक चल्यो। अनि वन कार्यालयको वन्यजन्तु उद्धार टोलीले चितुवालाई खोरमा आहारा राखेर ट्र्यापमा पार्यो।
यसरी समातिएको चितुवालाई वनमा लगेर छाडिएको थियो। त्यसपछि कीर्तिपुरमा चितुवा देखिएको छैन।
तीन वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका बस्तीमा चितुवा पसेर घरपालुवा जनावर र मान्छेलाई आक्रमण गर्दा त्यसको उद्धारका लागि सदर चिडियाखाना जावलाखेलका प्राविधिक पुग्नुपर्थ्यो। डिभिजन वन कार्यालयले पनि चितुवा उद्धारका लागि चिडियाखानासँगै सहयोग माग्नुपर्ने अवस्था थियो। किनभने डिभिजन वन कार्यालयसँग चितुवालाई बेहोस बनाउने चिकित्सकसहित अन्य आवश्यक सामग्री र जनशक्ति थिएन।
समयमा चितुवाको उद्धार नगर्दा स्थानीय आतंकित हुन्थे। कहिलेकाहीँ स्थानीयको आक्रमणबाट बस्ती पसेका वन्यजन्तु मर्ने पनि गरेका थिए। अहिले डिभिजन वन कार्यालय काठमाडौँ आफैँ सक्षम हुँदा बस्ती पसेका वन्यजन्तुको उद्धार चाँडो हुन थालेको छ।
डिभिजन वन कार्यालय काठमाडौँकी वन अधिकृत सरस्वती अर्याल वन्यजन्तुको उद्धारका लागि भेटेनरी डाक्टर र वन्यजन्तु बेहोस गर्न आवश्यक पर्ने ‘डाट गन मेसिन’सहितको प्राविधिक टोली तयार गरेपछि चिडियाखानासँग गुहार माग्नुपर्ने अवस्था नरहेको बताउँछिन्। “स्थानीयले हामीलाई खबर गर्नुहुन्थ्यो। तर हामीसँग प्राविधिक टिम थिएन। हामीले निकुञ्ज, विभाग हुँदै चिडियाखानाको टिमलाई खबर गर्नुपर्ने बाध्यता थियो,” उनी भन्छिन्, “समयमै प्राविधिक टिम पुग्न सक्दैनथ्यो। अहिले यो समस्या छैन।”
केही हप्ताअघि मात्र डिभिजन वन कार्यालय काठमाडौँबाट सरुवा भएका डिभिजनल वन अधिकृत बद्रीकुमार कार्की चितुवा बस्तीमा पसेपछि तत्कालै सम्बन्धित ठाउँमा पुग्न सक्ने गरी उद्धार टोली तयार हुनुपर्ने बताउँछन्। यसअघि जनशक्ति नहुँदा काम गर्न नसकेको बताउँदै अहिले अध्ययनपछि प्राविधिकसहितको टोली तयार भएको उनको भनाइ छ।
“चितुवा बस्तीमा पसेपछि तत्कालै उद्धार टोली पठाउनुपर्थ्यो। हामीसँग जनशक्ति नहुँदा चिडियाखानामा भन्नुपर्ने, त्यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग स्वीकृति लिनुपर्ने प्रकृयाले झन्झट भइरहेको थियो,” उनी भन्छन्, “हाम्रो अध्ययनबाट एक जना पशु चिकित्सक र डार्ट गन भए काम गर्न सक्ने निष्कर्ष निकालेर प्रदेशमा बजेटको माग गर्यौँ।”
चार वर्षमा २० चितुवाको उद्धार
काठमाडौँ उपत्यकाका बस्तीमा बारम्बार चितुवासहितका वन्यजन्तु पस्न थालेपछि मान्छे र वन्यजन्तु दुवै खतरामा पर्ने गरेका थिए। समाधानका लागि बागमती प्रदेशको तत्कालीन पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु उद्धारको प्राविधिक टोली तयार गर्न चार वर्षअघि डिभिजन वन कार्यालय काठमाडौँलाई बजेटको व्यवस्था गरिदिएको थियो।
बजेटको व्यस्वथा भएपछि एक जना भेटेनरी डाक्टरलाई करारमा नियुक्त गरेर आवश्यक सामग्रीको व्यवस्था गरिएको वन अधिकृत अशोक पराजुली बताउँछन्। उक्त प्राविधिक टोलीले अहिलेसम्म बस्ती पसेका २० वटा चितुवाको उद्धार गरिसकेको छ।
पराजुलीका अनुसार काठमाडौँ डिभिजन वन कार्यालयको टोली उपत्यकाका ललितपुर र भक्तपुरसहित नुवाकोट तथा दोलखा पुगेर समेत चितुवाको उद्धार गरेको छ। “हाम्रो टिमले सकेसम्म डार्ट नगरी वन्यजन्तु नियन्त्रणमा लिने प्रयास गर्छ। तर वन्यजन्तु रिसाह भएको र सामान्य तरिकाले नियन्त्रणमा लिन नसक्ने अवस्थामा मात्र डार्ट गर्छौँ,” उनी भन्छन्, “हामीले काम शुरू गरेपछि उपत्यकामा वन्यजन्तुबाट समस्या भएका घटना धेरै कम भएका छन्।”
उद्धार टोलीले नियन्त्रणमा लिएका चितुवालाई चिडियाखाना ल्याउँछ। त्यहाँ स्वास्थ्य परीक्षण गरी पूर्ण स्वस्थ्य भएपछि मात्र वनमा छोडिन्छ। यी जनावर छोडिने ठाउँबारे डिभिजन वन कार्यालयका प्रमुख र प्राविधिक टोलीबाहेक अरू कसैलाई जानकारी हुँदैन।
अहिलेसम्म चितुवा उद्धार गरिएको र गुनासो आएको आधारमा चितुवाको समस्या काठमाडौँका नागार्जुन, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकामा देखिएको छ। वन अधिकृत पराजुली ९० प्रतिशत चितुवाको उद्धार पुसदेखि वैशाखसम्ममा भएको बताउँछन्।
“उक्त समयमा सुक्खा भएर पानीका लागि र घाम ताप्न चितुवा बस्तीमा आएको हुनसक्छ,” पराजुली भन्छन्, “त्यसबाहेक मानिसहरूले जंगल नजिक पनि घर बनाएका छन्। कुकुर र कुखुरा खान बस्तीतिर आएको पनि हुनसक्छ। यसमा अध्ययन हुनु जरुरी छ।”
काठमाडौँ उपत्यकामा अहिले सर्प, अरिंगाल र सानातिना वन्यजन्तु देखिँदासमेत उद्धारका लागि स्थानीयले वन कार्यालयलाई खबर गर्ने चलन बढेको अर्की वन अधिकृत सरस्वती अर्याल बताउँछिन्।
वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी डिभिजन वन कार्यालय काठमाडौँले गरेको काम वन्यजन्तुका कारण समस्या हुने अन्य जिल्लाका लागि पनि उदाहरणीय भएको बताउँछन्। “चितुवाले समस्या बनाएका पहाडी जिल्लामा पशु चिकित्सकसहितको टिम बनाएर काम गर्न सकिने काठमाडौँको उदाहरणले देखाएको छ,” उनी भन्छन्, “प्रदेश सरकारले बजेटको व्यवस्था गरेर डिभिजन कार्यालयलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने देखियो।”
बागमती प्रदेशमा कार्यरत रहँदा तत्कालीन समयमा आफूहरूको पहलबाट नै परीक्षणका लागि शहर पसेका वन्यजन्तु उद्धारका लागि बजेटको व्यवस्था गरिएको पुडासैनी बताउँछन्। डिभिजन वन कार्यालयले उक्त परीक्षणलाई सफलतामा परिणत गरेको उनको भनाइ छ।
डिभिजन वन कार्यालयको टोलीले वन्यजन्तुसँगै घरपालुवा जनावरको पनि उद्धार गर्ने गरेको छ। काठमाडौँमा भैँसी, राँगा र साँढेहरूले आतंक मच्चाउँदा यही टोलीले नियन्त्रणमा लिने गरेको वन अधिकृत पराजुली बताउँछन्।
गत भदौ ६ गते काठमाडौँको बुद्धनगरस्थित एक विद्यालयमा पसेको भैँसीलाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको थियो। त्यसअघि चन्द्रागिरि, गौशालालगायत ठाउँबाट तीन वटा भैँसी र एउटा साँढेलार्ई नियन्त्रणमा लिइएको थियो।