Friday, May 03, 2024

-->

युद्धमा ३ पटक मृत्यु जितेर पनि अहिले पलपल ‘मरिरहेका’ नरवीर

माओवादीका पूर्वलडाकु नरवीर भन्छन्– ‘व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएँ। जिउभरि बमका छर्रा र गोली छन्। यसरी कति दिन बाँच्न सकिएला र?’

युद्धमा ३ पटक मृत्यु जितेर पनि अहिले पलपल ‘मरिरहेका’ नरवीर
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– यतिबेला सत्ता र शक्तिको बागडोर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन्। तर दश वर्षसम्म आफ्नो ज्यानको बाजी लगाएर उनैबाट निर्देशित युद्ध लडेका घाइते लडाकुहरू भने उपचारको खोजीमा छटपटाइरहेका छन्। त्यस्ता तमाम घाइते पूर्वमाओवादी लडाकुमध्येका एक हुन् दैलेखको भगवतीमाई गाउँपालिका–७, बडाभैरवमा जन्मिएका नरवीर परियार ‘विमर्श’।

माओवादीले देखाएको सपना पछ्याउँदै उनी १८ वर्षको उमेरदेखि युद्धमा होमिए। २०३८ सालमा जन्मिएका उनी घरका एक्ला छोरा हुन्। दैलेखकै डुंगेश्वर गाउँपालिका–२, शेर्माकोटस्थित जनकल्याण माविबाट २०५४ सालमा एसएलसी पास गरेका नरवीरको शिक्षक वा सरकारी जागिरे बन्ने सपना थियो। तर समाजमा भएको जातीय छुवाछुतले उनलाई माओवादी सशस्त्र विद्रोहको छापामार बनायो। माओवादीले हातमा बन्दुक थमाइदिएपछि उनको नाम रह्यो– ‘कमरेड विमर्श’। 

बम, बारुद र गोलीले शरीर क्षतविक्षत बनाएको छ। सशस्त्र संघर्षका धेरै तिथिमिति सम्झन उनलाई मुस्किल पर्छ। तर माओवादीले केका लागि आफ्नो हातमा हतियार दियो त्यो भने प्रस्टसँग थाहा पाएको उनी बताउँछन्।

२०५४ सालको अन्त्यतिर, शेर्माकोटकै दलबहादुर परियार सुर्खेतमा बसेर आईएस्सीसम्मको पढाइ सकी गाउँ फर्किए। शेर्माकोट स्कुलमा विज्ञान पढाउने शिक्षक थिएनन्। त्यो अभाव पूरा गर्न विद्यालयले उनलाई बोलायो। विद्यार्थी र विद्यालयको भौतिक संरचनाले स्वागत गरे पनि विद्यालय व्यवस्थापन समिति र गाउँलेले उनलाई इन्कार गरे। कारण हो, दलबहादुर दलित समुदायका थिए। 


उनले स्कुलको आँगनमा शिक्षक भएर टेकेका मात्र के थिए एक्कासि ढुंगा बर्सिन थाले। आफ्ना छोराछोरीलाई दलितले पढाउन नहुने भन्दै गाउँलेले ढुंगामुगा बर्साएका थिए। त्यसरी स्कुल प्रवेशमा बन्देज व्यहोरेपछि दलबहादुर एउटा सिलाइ मेसिन किनेर शेर्माकोटमै सिलाइ पसल सञ्चालन गरेर जीविकोपार्जन गर्न थाले। आफू पनि दलित समुदायकै भएका कारण नरवीरलाई लाग्यो, “स्कुलमा ढुंगामुगा गर्दा धेरै मन दुःखेको थियो। आखिर पढेर के हुँदो रहेछ र? दलितले शिक्षा नै दिन मिल्दो रहेनछ भने म शिक्षक बन्नुको के अर्थ भन्ने लाग्यो।”

विज्ञान पढेर सिलाइमा फर्किएका दलबहादुरको घटनाले नरवीरका मनमा अनेक प्रश्नहरू उब्जिए। त्यसपछि माओवादीको सशस्त्र विद्रोहमा समर्थन जनाउन थाले। अन्ततः उनी २०५६ सालको जेठ २२ गतेदेखि भूमिगत भए। माओवादी जनयुद्धमा नरवीर लाग्नुको उद्देश्य थियो– “व्यवस्था फेर्ने र वर्गविहीन समाजको निर्माण गर्ने। त्यसका लागि जस्तोसुकै बलिदान दिन पछि नपर्ने।”

नरवीरलाई माओवादी युद्धमा सामेल गर्न मायाप्रसाद शर्मा (पारसमणि) लगायतका नेताले मेहनत गरेका थिए। छापामार बनेको दुई वर्ष बितिसकेको थियो। सानातिना प्रहरी चौकी आक्रमणलगायतका भिडन्तमा सामेल भए पनि ठूला आक्रमणमा उनी गएका थिएनन्। २०५७ सालको साउन–भदौतिर पार्टीका कमान्डरहरूले डोल्पाको सदरमुकाम दुनै आक्रमण गर्ने योजना सुनाए। आक्रमणमा जानेहरूको सूचीमा उनको नाम पर्‍यो। 

सबैभन्दा तल्लो तहको छापामार अर्थात् एक सिपाही मात्र रहेका नरवीरलाई आक्रमण गर्न जाने बेला सिपाहीभन्दा माथिल्लो दर्जाको पदवी दिएर ‘एफजीएल’ बनाइयो। “हाम्रो स्कुलिङअनुसार जाजरकोटको रिम्ना प्रहरी कार्यालयलाई छलेर पालीकल्पत भन्ने ठाउँमा पुग्यौँ। त्यहाँबाट करिब ४/५ दिन हिँडेर डोल्पाको दुनै पुगेका थियौँ। दुनैमा हामी सफल भयौँ। ३०/३५ जना प्रहरीलाई त पक्राउ गरेरै ल्याएका थियौँ। हाम्रा दुई जना साथीहरू घाइते हुनुहुन्थ्यो। दुई वटा ग्रुपको बीचमा म थिएँ। हिँड्दा बाटोमा म निदाएछु,” नरवीर दुनै आक्रमपछिको दिन सम्झिन्छन्, “मसँग ४० किलोभन्दा बढीको बोराको भारी थियो। धेरै दिनको अनिदो थियौँ। म बाटोमै निदाएछु। दुवै ग्रुपले छोडिसकेछन्। पछि बाटो हराएर जाजरकोटको बारेकोट भन्ने ठाउँमा पुगेँ।” 

नरवीर र उनकी श्रीमती कल्पना युद्धकालमा सँगै लडाकु रहेका बेला। उनीहरूका चार छोराछोरीमध्ये जेठो छोरा युद्धकालीन समयमै जन्मेका थिए। 


नरवीरले कागजात सम्झेको गह्रुङ्गो भारी पैसाको हो भन्ने कुरा उनले जाजरकोट पुगेपछि मात्र थाहा पाए। “कमान्डरहरूले मलाई कारबाही गर्ने कुरा निकाल्नुभयो। किन भन्दा त मलाई पैसा लिएर भाग्यो भन्ने सोच्नुभएको रहेछ। म भने भोकभोकै जाजरकोट पुगेको थिएँ,” उनी सम्झन्छन्। पैसाको बोरा नै हरायो भनेपछि माओवादी वृत्तमा उतिबेला ठूलै हल्लीखल्ली हुन्थ्यो। कमान्डर पासाङ (निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन) र तत्कालीन भेरी–कर्णाली पार्टी सह–इन्चार्ज प्रकाण्ड (हाल विप्लव नेकपाका शीर्ष नेता) उनको नजिक आए। उनीहरूले नरवीरले बोकेको बोरा खोल्दै केरकार गर्न थाले। 

दुनैमा प्याक गरिएको बोरा बाटोमा कतै नखोलिएको पाइएपछि विमर्श पार्टीभित्र इमानदारको सूचीभित्र परे। ०५७ असोज ९ गते भएको दुनै आक्रमणका बेला अग्रपंक्तिमा रहेर काम गरेकै कारण उनलाई ‘सेक्सन कमान्डर’को जिम्मेवारी दिइयो। केही समय नरवीरले जनमुक्ति सेनाको ‘प्लाटुन हेडक्वार्टर’ सुर्खेतमा रहेर काम गरे। पछि २०५८ मंसिर ८ गते दाङ आक्रमण गर्दा उनी सेक्सन कमान्डर नै थिए। त्यो आक्रमण पनि ‘सफल’ भएपछि नरवीरको समूह रुकुमको महतगाउँ पुग्यो। 

त्यसबेलाका स्मृतिबारे उनी भन्छन्, “त्यतिबेला हिँड्दाहिँड्दै योजनाहरू बन्थे। अगाडिका कमान्डरहरूले जे भन्नुहुन्थ्यो त्यही गर्थ्यौं। एकपटक त लेकमै भिडन्त भयो। लडाइँका लागि राति प्युठान जाँदै थियौँ। अर्को साइटबाट सेनाले मोर्टार बम फाल्यो। त्यसपछि भिडन्त शुरू भयो। बम शक्तिशाली थियो। मसँग त एसएलआर राइफल मात्र थियो। तापनि लड्दै गएपछि हामीले जित्यौँ। त्यसपछि प्युठान आक्रमणको योजना स्थगित भयो।” डोल्पाको दुनै र दैलेखको नौमुले आक्रमणपछि माओवादी लडाकुको संख्या थपिएको थियो। २०५७ सालतिरै भएको नौमुले आक्रमणमा खुट्टामा गोली लागे पनि नरवीरलाई त्यसले खासै असर पारेको थिएन।  

२०५८ सालमै भएको रोल्पाको गाम आक्रमणमा माओवादीले पाएको सफलतापछि विमर्शले ‘प्लाटुन भीसी’ (भाइस–कमान्डर) को जिम्मेवारी पाए। त्यसपछि थुप्रै साना लडाइँहरूको नेतृत्व उनैले गर्नुपर्‍यो। तर अहिलेसम्म मोर्टार बमका छर्राहरू शरीरभरि रहने गरी लडेको युद्ध भने नरवीरका लागि रुकुम खाराको पहिलो आक्रमण हो। २०५९ जेठ १३ गते भएको त्यस आक्रमणमा परेर उनी गम्भीर घाइते भए।


खारामा आक्रमण गर्न माओवादीलाई सजिलो थिएन। नेपाली सेना बलियो रूपमा खडा थियो तर कमान्डरहरूको निर्देशनका अगाडि ‘सेनाको तयारी राम्रो छ’ भन्नु अपराधजस्तै थियो। “लडाइँ बेलुका ८/९ बजेबाट शुरू भएको थियो। जित्छौँ भन्ने थियो। पछि हाम्रा हतियारहरू जाम भए। जनमुक्ति सेना पनि थाकिसकेको थियो। तर, अगाडिका कमान्डरहरूले लड्नुपर्छ भनेर निर्देशन दिइरहे। म कमान्डर प्रभाकरको ग्रुपमा थिएँ। पहिलो एसल्ट ग्रुपको कमान्ड कम्पनी कमान्डरले गर्नुभएको थियो। दोस्रो एसल्टको कमान्ड मैले गरिरहेको थिएँ।” 

लड्दालड्दै घडीले रातको दुई बजाउँदै थियो। त्यहीबेला सेनाको माइन बममा परेर नरवीर घाइते भए। त्यसपछि उपचारका लागि स्वास्थ्यकर्मी समूहले उनलाई रोल्पा पुर्‍याए। त्यो लडाइँमा एकैपल्ट धेरै माओवादी छापामारले ज्यान गुमाएको र असफलता हात परेको उनले पछि थाहा पाए। तर घाइते हुनुभन्दा पहिला नै उनले त्यसको अनुमान गरेका थिए।

“चार वटा बटालियनको कमान्डमा आक्रमण शुरू गरेका थियौँ। समग्र लडाइँको कमान्ड प्रभाकर, पासाङ र छहारीले गर्नुभएको थियो। कमान्डरकै कमजोरीले हार व्यहोरेका हौँ। सूचना प्रवाह सही किसिमको थिएन। कमान्डर प्रभाकरको ग्रुप अगाडि बढिरहँदा पासाङको ग्रुप नपुग्ने, पासाङको ग्रुप पुग्दा प्रभाकरको नपुग्ने भइरहेको थियो। म प्रभाकरको ग्रुपमा थिएँ। ब्याक होऊँ भन्दा पनि मान्ने अवस्था आएन,” नरवीरले त्यो रात सम्झिए, “दुई बजेसम्म त्यस्तै भइरहेको थियो। त्यसपछि मलाई थाहा भएन। सयौँ कमरेडहरूले सहादत प्राप्त गरेको र घाइते भएको खबर पछि पाएँ।” 

घाइते भएपछि उनले दुई महिना आराम गर्ने छुट पाए। शरीरमा गाडिएका बमका ठूला छर्राहरू निकालिए पनि साना–साना टुक्रा यत्रतत्र छरिएर बसेका थिए। आरामको अवधि सकिएपछि त्यस्तै शरीर लिएर उनी अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणमा सहभागी भए। अहिले सम्झँदा पछुतो मान्छन् उनी, “परिवर्तनका लागि मृत्यु केही होइन भन्ने स्कुलिङ थियो, त्यस्तै लाग्थ्यो पनि। त्यसकारण आलो चोट र जिउभरि गाडिएका छर्रा लिएर पनि लड्न गएँ। यस्तो अवस्था भोग्नुपर्छ भन्ने थाहा पाएको भए कमान्डरलाई लाग्ने गोली र बमका छर्रा हामी आफ्नो ज्यानमा किन थाप्थ्यौँ र?”

युद्धका बम र गाेलीले नरवीरको शरीरमा बनाएका चोट। हात, खुट्टा, पेट, टाउको र आँखामा रहेका बमका छर्रा एव‌ं गोली अझै निकाल्न बाँकी छ।


सन्धिखर्क आक्रमणमा पनि नरवीरको दायाँ खुट्टामा गोली लाग्यो। बमका छर्रा बोकेर लडेकै कारण थप सुर्‍याउन माओवादीले उनलाई सन्धिखर्क आक्रमणपछि प्लाटुन कमान्डर बनायो। “माइनका छर्रा र गोली लागिसकेपछि पार्टीले थप्दै गएको जिम्मेवारी स्विकार्नुको सट्टा मैले आराम गर्नुपर्दो रहेछ भन्ने अहिले लाग्छ। तर युद्धको जोस अर्कै थियो। जब सांस्कृतिक टिमले गीत बजाउँथ्यो त्यतिबेला सिधै छातीमा गोली थाप्न मन लाग्थ्यो,” उनी त्यसबेलाको आवेग सम्झन्छन्।

अन्तिम लडाइँ 
सन्धिखर्क आक्रमणपछि जुम्ला सदरमुकाम खलंगा आक्रमणको तयारी भयो। पहिले हार नमानी दर्जनौँ गोलीका छर्रासँगै युद्ध लडेका नरवीरलाई २०५९ कात्तिक २९ गते भएको जुम्ला आक्रमणले भने जीवनभर सताइरहेको छ। जुम्ला आक्रमणमा नरवीरको जिम्मामा तीन वटा ‘एसल्ट ग्रुप’ थियो। योजनामा नरवीरले एउटा एसल्ट सम्हाल्ने भनियो। तर परिस्थिति यस्तो आइलाग्यो कि अन्य दुई एसल्ट पनि उनैले सम्हाल्नुपर्ने भयो। 

उनको ग्रुप जुम्लाको टोप्लाबाट अगाडि बढिरहेको थियो। त्यो दिनलाई नरवीर यसरी सम्झिन्छन्, “एउटा बटालियनमा दश वटा एसल्ट ग्रुप थिए। अरूले कहाँबाट कसरी कमान्ड गरिरहेको थिए थाहा भएन। टोप्लाबाट गएका तीन बटालियनमध्ये एउटा एसल्टको नेतृत्व मैले गरेको थिएँ। अरू कमरेड दीपक र युवराजले गर्नुभएको थियो। दीपक बाटोमै लडेर घाइते हुनुभयो। जुम्लामा फायर खोलेको एक घण्टापछि युवराज पनि घाइते हुनुभयो। त्यसपछि ती तीनवटै एसल्ट ग्रुपको नेतृत्व मैले गर्नुपर्ने भयो।”

जुम्ला आक्रमणका बेला पनि एसल्टको कमान्ड गरिरहेका नरवीर राति १ बजेतिर घाइते भए। अर्को एसल्टका कमान्डर युवराजसँगै उनलाई पनि सरकारी सुरक्षाफौजले चलाएको गोली दायाँ तिघ्रामा लाग्यो। गोलीले तिघ्राको पाँच इन्च जति भाग उछिट्टाएर फालिदिएपछि पनि अगाडिका कमान्डरहरूको निर्देशन र संघर्षको रापतापले उनी रोकिएनन्। घाउमा पट्टी बाँधेर तीनै एसल्टको नेतृत्व गर्दै सेनाको ब्यारेक कब्जा गर्नतर्फ अघि बढे। तर पाँच मिटरजति अगाडि पुग्नासाथ सेनाले थापेको ‘माइन’मा परे। 

नरवीरको स्वास्थ्य अवस्था र आवश्यकताबारे २०७४ सालमा दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दिएको सिफारिस प्रमाण।


त्यतिबेलासम्म नरवीर कम्पनी सहायक कमान्डर भइसकेका थिए। जुम्लाको त्यो आक्रमण नै उनको अन्तिम लडाइँजस्तै भयो, “शरीर जलिरहेको थियो। एक–दुई मिनेट केही नभए पनि म त्यहीँ बेहोस भएछु। माइनबाट उछिट्टिएर आएका छर्राहरू शरीरमा जताततै गाडिन पुगेछन्। दायाँ आँखाको दृष्टि नै गुमेछ। तत्काल एचपी ग्रुप (स्वास्थ्यकर्मीहरूको समूह) ले मलाई उद्धार गरेर भारतको लखनउ पुर्‍याइसकेको रहेछ। छ/सात महिनापछि मात्र मेरो राम्रोसँग होस खुल्यो। त्यतिबेला अस्पतालमै थिएँ। छेउमा बसेर बाजुराका कमरेड राजुले मलाई हेरचाह गर्नुभएको रहेछ। लडाइँ के भयो भनेर सोध्दा चलिरहेको छ भन्नुभयो।”

आफ्नै मृत्युको खबर
पार्टीभित्र नरवीर युद्धमा परेर मारिएको खबर फैलिएको थियो। बोल्ने अवस्थामा पुगेपछि उनलाई अस्पतालमै छोडेर राजु पनि बेपत्ता भए। उनी मारिएको खबर पार्टीकै कार्यकर्ताहरूमार्फत घरसम्म पनि पुगिसकेको थियो। उपचार लिँदालिँदै तीन वर्ष त उनले लखनउको सहारा अस्पतालमा बिताए। नेपालका युद्धमा घाइते भएका लडाकुको उपचार, अन्य खर्च व्यवस्थापन र निको भएपछि घर पठाउने काम माओवादीकै प्रवासी नेपालीको संगठन ‘अखिल भारत नेपाली एकता समाज’ले गर्थ्यो। उनले पनि त्यो सुविधा पाए। 

त्यहीबेला आफ्नै मृत्युको खबर पत्रिकामा पढेको उनी बताउँछन्। नरवीर भन्छन्, “प्रवासी नेपाली संगठनका साथीहरूमार्फत मकहाँ आइपुगेको पार्टीकै मुखपत्र जनादेश पत्रिकामा मेरो फोटोसहित कमरेड विमर्शको निधन भनेर लेखिएको पाएँ। पार्टीले सहयोगीका रूपमा पठाएका बाजुराका कमरेड राजु पनि त्यसअघि नै मलाई छाडेर हिँडिसकेका थिए। बैसाखी टेकेर हिँडडुल गर्न सक्ने भएपछि देश फर्किनुपर्छ भन्ने लाग्यो।” 

नरवीर नेपाल फर्किंदा हतियार बिसाएर माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो। घरपरिवार नरवीरको मृत्यु भयो भनेर विक्षिप्त थियो। सँगै युद्धमा गएकी श्रीमती कल्पना घर फर्किसकेकी थिइन्। घर नपुग्दै बाटोमै उनले साँच्चै दुखद खबर सुन्नुपर्‍यो। माओवादी कार्यकर्ताहरूले ‘नरवीरको मृत्यु भयो, अब दाइको सपना पूरा गर्न तपाईं युद्धमा हिँड्नुपर्‍यो’ भनेर उनकी बहिनी रामसरालाई पनि लगेको रहेछ। २०६१ सालतिर बर्दियाको गणेशपुरपछि दैलेखको डुंगेश्वरमा भएको भिडन्तमा उनको ज्यान गएछ। पटक–पटक मरेर बाँचेका नरवीर जाजरकोटमा सुनेको बहिनीको मृत्युसम्बन्धी खबरले भने निकै स्तब्ध भए। 

माओवादीको 'जनमुक्ति सेना नेपाल'ले नरवीरलाई दिएको लडाकु परिचयपत्र।


त्यो अप्रत्याशित क्षणबारे उनले भने, “नेपाल आउँदा गणतन्त्र आइसकेछ कि भन्ने लागेको थियो। लखनउबाट फर्केर जाजरकोट आइपुगेँ। त्यहाँ पार्टीका साथीहरूलाई भेटेँ। बहिनी शहीद भइसकेको खबर उहाँहरूले नै सुनाउनुभयो र मलाई घरसम्म पुर्‍याइदिनुभयो। बहिनीसँगै लडेका साथीहरूलाई भेट्दा उहाँहरूले बहिनीका बारेमा बताउनुभयो। मेरो दाइ शहीद हुनुभयो। उहाँको सपना पूरा गर्न म युद्धमा आएको हुँ भन्ने गर्थिन् रे मेरी बहिनी। मैले सुनेअनुसार आर्मीले समातेर कठोर यातना र बलात्कारपछि मारिदिएको रहेछ उनलाई।”

युद्धका घेरै कुरा नरवीरको सम्झनामा छैनन्। पार्टी र घरपरिवारले उनलाई मृतकका रूपमा स्वीकार गरिसकेको थियो। नरवीर युद्धमा गएका बेला बिरामी अवस्थामा रहेका बाबु कुलसिंको हेरचाह र उपचार नपाई २०५८ सालतिर मृत्यु भइसकेको थियो। आमा पदमकलाका आँखाहरूबाट आँसु बग्न छाडेको थिएन। २०६३ सालको अन्तिमतिर घर पुग्दा पहिले पार्टीका नेता कार्यकर्ताले गाउँमा आफ्नो स्मृति कार्यक्रम राखेको थाहा पाएको उनले बताए। 

यो पनि: माओवादी ‘क्रान्ति’को रङ बदलिएपछि हन्डर रोजेका युद्ध–पत्रकार

यसबारे नरवीरलाई राम्ररी चिन्ने र पहिले युद्धमा सँगै रहेका बडाभैरवकै बासिन्दा गणेश खड्का (बजिर) लाई पनि सम्झना छ। “हामी २०५९ सालसम्म सँगै थियौँ। पछि म गण्डक गएँ। उहाँहरू जनमुक्ति सेनाको छैटौँ डिभिजनमा हुनुहुन्थ्यो। जुम्ला आक्रमणमा कमरेड विमर्शले सहादत प्राप्त गर्नुभयो भन्ने खबर पार्टीभित्र र गाउँमा पनि आएको थियो। तर पछि उहाँ सम्पर्कमा आउनुभयो,” हाल माओवादी केन्द्रको भगवतीमाई गाउँपालिकाका इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका खड्काले उकालोसँग भने।

युद्धकालीन घाउचोटको उपचार गर्दागर्दै आफ्नो सर्वस्व सिकएको उल्लेख गर्दै नरवीरले सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको नाममा भदौ ५ गते लेखेको निवेदन। 


बैसाखी टेकेर घर पुगेका नरवीरलाई घरको अवस्था देखेर भारी पीडा भयो। उनलाई दैलेखमा बस्न मन लागेन। आमा, श्रीमती र युद्धकालमै जन्मेका छोरासहित सपरिवार उनी सुर्खेत झरे। सुर्खेतमा माओवादी सेनाका लडाकुहरूलाई शिविरमा राखिएको थियो। त्यहाँ पुग्दा उनलाई जीवितै देखेर सबै साथीहरू खुशी भए र फूलमालाले स्वागत गरे। सेनामा बस्नुभन्दा पनि उत्पादनमा जोडिनुपर्छ भन्ने सुझाव उनीहरूले दिए। त्यसपछि नरवीरले काम खोजे र कपडा सिलाउँदै परिवार पाल्न शुरू गरे।”

घुमिफिरी पुर्ख्यौली पेसामा
पार्टीले शान्ति प्रक्रियाको काम चलिरहेको र घाइते लडाकुहरूको व्यवस्थापन हुने भन्दै आश्वासन दिन थालेको एक वर्ष बितिसकेको थियो। आश्वासनले मात्र जीविका नचलेपछि सुर्खेत, वीरेन्द्रनगरको अमर टेलर्समा सिलाइको काम थालेका नरवीरसँग त्यसबाहेक अरू विकल्प थिएन। जुन कारणले विद्रोह गरेका थिए त्यही काममा फर्किनुपर्दा उनको मन निकै निचोरियो। त्यो पीडा सम्झिँदै उनले सुनाए, “गाउँका दलबहादुर दाइले पढेर पनि शिक्षक बन्न नपाएपछि सिलाइमा लाग्नुपरेको देखेर विद्रोह गरेको थिएँ। परिवर्तनका लागि युद्ध लडेर शान्तिप्रक्रियामा पुगिसक्दा मैले पनि उही काम गर्नुपर्‍यो। त्यसबेला मन साह्रै खिन्न भयो। अशक्त ज्यानले अरू काम गर्न सक्ने कुरा थिएन।” 

बेलाबखत पार्टीका डिभिजन कमान्डरहरू उनलाई भेट्न गइरहन्थे। जो जति भेट्न जान्थे उनीहरू सबैले ‘नआत्तिनुहोस् कमरेड हामी सबै मिलाउँदै छौँ’ भनेर सान्त्वना दिई फर्किन्थे। उनको जीवन निकै संघर्षमा धकेलियो। गोली र बमका छर्रा गाडिएको शरीरले कष्टपूर्वक आफैँ काम गरेर जीवन चलाउनुबाहेक अर्को विकल्प रहेन। केही समयपछि आफ्नै व्यवसाय शुरू गर्ने योजनासहित साथीहरूसँग सहयोग मागे। २०६४ सालमा केही ऋण र केही सहयोग जुटाएर वीरेन्द्रनगरमै ‘जगत टेलर एन्ड ट्रेनिङ सेन्टर’ नामको सिलाइ पसल खोले। 

उनले सिलाइसम्बन्धी सबै काम गर्ने योजनासहित सदवीर बूढाको ठूलो घर भाडामा लिएर काम थाले। छोरी र श्रीमतीले भरपुर मिहिनेत गरे जुन खेर गएन। दुई वर्षमै सिलाइ व्यवसाय फस्टायो। जगत टेलरलाई सबैले चिन्न थाले। अलि पछि त्यसलाई नरवीरले उद्योगमा परिणत गरे। सिलाइसम्बन्धी सम्पूर्ण सेवासँगै विद्यालय पोसाक र ब्यागहरू बनाउने काम पनि गर्न थाले। उनले हतियार बिसाएर व्यवसायमा जोडिँदाको क्षण सम्झिए, “आफैँले गरिरहेको पुर्ख्यौली पेसालाई व्यवस्थित बनाउँछु भन्ने लाग्यो। काम राम्रो भइरहेकाले छोराछोरीलाई पढाउन, आफूसँग काम गर्ने भाइबहिनीहरूलाई तलबभत्ता दिन र घरभाडा तिर्न पुग्थ्यो।”

पछिल्लो बसाइँसराइस्थल बर्दियाको बढैयाताल गाउँपालिकाले नरवीरको उपचारमा सहयोगको आग्रह गर्दै प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयलाई अघिल्लो वर्ष लेखेको पत्र।


छोटो समयमै सफल व्यवसायी बनेका नरवीर विभिन्न ठाउँमा प्रशिक्षक बनेर पुग्थे। व्यापार राम्रो भएपछि उनले सुर्खेतकै इत्राममा जग्गा किनेर सानो घर बनाए। 

‘युद्धको घाउ सन्चो हुँदो रहेनछ’ 
जीवनलाई लयमा फर्काउन कोशिश गरिरहेका नरवीरको व्यवसाय तीन वर्षसम्म सोचेभन्दा राम्ररी चलेको थियो। तर २०६८ पुसको अन्तिम साताबाट उनको शरीर चल्न छोड्यो। हलचल गर्न नसक्ने भए। छरछिमेकीको सल्लाहअनुसार देवीदेवताका भाकल र पूजाआजामा व्यवसायबाट कमाएको आम्दानी खर्चिए। कुनै सुधार नभएपछि केही पैसाको जोहो गरेर उनलाई उपचारका लागि भारत लगियो। शरीरका धेरै ठाउँमा बमका छर्रा थिए। चिकित्सकले तिनै छर्रा र नशासम्बन्धी समस्याको कारण हिँडडुल गर्न गाह्रो भएको बताए। परिवार नै उपचारमा लागेपछि उनको व्यवसाय ठप्प भयो। 

६/७ महिना भारत बसेर उपचार लिए, तर सुधार भएन। नेपालका विभिन्न अस्पतालहरू चहार्दा पनि निको भएन। उपचार गर्दागर्दै ऋणमा चुर्लुम्म डुबिसकेका कारण गाउँघरका सहयोगी र शुभचिन्तकहरूलाई ऋण तिर्न सक्ने अवस्था नभएपछि सुर्खेत, इत्रामको घरजग्गा १८ लाखमा बेचेर उपचारमा लागेको ऋण घटाए। त्यतिले नपुगेपछि दैलेखको पुर्ख्यौली थलो पनि आठ लाखमा बेचे। उनको सुर्खेतको घरबारी मनबहादुर विकले र दैलेखको घरबारी शेरबहादुर खड्काले किनेका छन्। 

चार वर्षयता सुर्खेतबाट पनि विस्थापित भएर उनी बर्दियाको मैनापोखरामा बस्दै आएका छन्। आफूसँग भएको सम्पूर्ण जायजेथा बेचेर लगाउँदा पनि उपचार गर्न नसकेको उनी बताउँछन्। बमका छर्रा र गोली अहिलेसम्म शरीरमै छन्। २०७४ फागुनमा बर्दियाको बढैयाताल गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले नरवीरको उपचार सहयोगका लागि बनाइदिएको सिफारिस पत्रमा उनको शरीरमा लागेका चोटपटकको अवस्थाबारे उल्लेख छ। त्यसमा लेखिएअनुसार उनको पेटमा गोली छ। दाहिने खुट्टामा गोली र बमका छर्राहरू छन्। टाउको, दायाँ आँखा र बायाँ हातमा पनि बमका छर्रा बाँकी नै छन्। दायाँ आँखाको दृष्टि क्षमता गुमेको छ भने दायाँ कानको सुन्ने क्षमता कमजोर छ। 


शरीरमा लिइराख्नुपरेका बमका छर्रा र गोलीहरूले नरवीरलाई सुत्नखान दिइरहेका छैनन्। तिनलाई निकाल्न, अप्रेसन गर्न निकै खर्च लाग्ने भएपछि उनले ठाउँ–ठाउँमा गुहारे तर कहीँबाट पनि सहयोग नपाएको उनको गुनासो छ। गहिरो सुस्केरा छाड्दै उनी भन्छन्, “युद्धको घाउ कहिल्यै सन्चो हुँदो रहेनछ। उपचारमा सारा जीवन र सम्पत्ति गइसक्यो। सबै कमरेडहरूलाई भनियो, तर कसैले सुन्नुभएन।”

नरवीर २०७५ मा काठमाडौँको माइतीघर मण्डलमा ११ दिन आमरण अनसनसमेत बसे। ०७५ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले ४४ जनाको औषधि खर्च राज्यले व्यहोर्ने निर्णय गरेर झारा टारेको उनी बताउँछन्। सरकारले न घाइतेको शरीरबाट गोलीको छर्रा निकालिदियो न त उनीहरूलाई जीवन निर्वाह गर्ने आधार नै बनाइदियो। “वीर अस्पतालमा म लगायतका घाइतेहरूको उपचारका लागि राज्यले केही सहयोग गरेको हो। तर हाम्रो शरीरमा भएका माइन र गोलीका छर्राहरू निकालिदिने काम भएन” नरवीर भन्छन्। 

उपचारका लागि गत माघदेखि काठमाडौँ आएर बसेका नरवीर कहिले सिंहदरबार धाउँथे त कहिले सँगै युद्ध लडेका साथीहरूलाई भेट्थे। तर कसैले पनि आफ्नो गुनासो नसुनेपछि गत भदौ २ गते सिंहदरबारअगाडि उभिएर आफ्नै शरीरमा आगो लगाए। त्यतिबेला आफन्तहरूले उनलाई बचाए। भदौ १९ गते पनि त्यस्तै सोच लिएर सिंहदरबारको दक्षिण गेटमा पुगेका थिए। तर आफन्त र चिनेका साथीभाइहरूले थाहा पाएर रोके। अहिले आफन्त र अन्य घाइते लडाकुहरूले उनलाई निरन्तर सम्झाइरहेका छन्। 

आफन्त र साथीभाइको सम्पर्कमा रहेका नरवीरले उकालोसँग निराश हुँदै भने, “ऋणले पहिले नै उठिबास लगाइसक्यो। अब बस्ने बास र खाने गाँसको टुंगो छैन। सहयोद्धा कमरेडहरूले चिन्न छाडे। आफ्नै रगतपसिनाबाट आएको व्यवस्थामा यस्तो छ। बाँचेर के गर्नु? यसका लागि हामीले युद्ध लडेका होइनौँ।” माओवादीको सशस्त्र विद्रोहमा आफू लडेकोमा भन्दा बढी नेताहरू बदलिएकोमा पछुतो लागेको उनी बताउँछन्।


सम्बन्धित सामग्री