Monday, May 06, 2024

-->

मनऋषिको अक्षरयात्रा
माओवादी ‘क्रान्ति’को रङ बदलिएपछि हन्डर रोजेका युद्ध–पत्रकार

शान्ति प्रक्रियामा आएपछि पनि पहिलेजसरी नै कुनै दिन युद्धविराम तोडिन्छ भन्ने लाग्थ्यो। हामीलाई शीर्ष नेताहरू त्यसै भन्थे। धेरै पछि थाहा भयो, नेतृत्वले झूटो सपना देखाएर अल्झाइरहेको रहेछ।

माओवादी ‘क्रान्ति’को रङ बदलिएपछि हन्डर रोजेका युद्ध–पत्रकार
उकालोसँगको कुराकानीमा मनऋषि धिताल तस्वीरः कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– मनऋषि धितालको बाल्यकाल जुम्लाको सिञ्जामै बित्यो। माध्यमिक शिक्षाका लागि बर्दिया पुगे। त्यहाँ हुने साहित्यसम्बन्धी प्रतियोगिताहरूमा सधैँ प्रथम हुन्थे। राष्ट्रिय निकुञ्जले हरेक वर्ष निबन्ध प्रतियोगिता गर्थ्यो। त्यसमा बर्दियाको पाताभारमा अवस्थित एकप्रिय माविको शिर सधैँ उच्च हुन्थ्यो, उनकै कारण। पुरस्कार थाप्दा उनका गुरुहरूले ‘इन्जिनियर बन्नुपर्छ’ भनेर आशीर्वाद दिन्थे, सायद कक्षामा पहिलो र अतिरिक्त क्रियाकलापमा पनि पहिलो भएर होला।

स्थानीय पत्रपत्रिकामा पनि मनऋषिको नाम देखिन्थ्यो। उनको रुचि साहित्य, पत्रकारिता र राजनीति थियो। १० वर्षको उमेरदेखि नै उनी वामपन्थी ‘स्कुलिङ’मा हुर्किएका थिए। आफ्ना परिवर्तनका पक्षधर साथीहरूसँग विद्यालयमै संगठित हुन्थे। २०५० सालमा बर्दियाबाट माध्यमिक शिक्षा उत्तीर्ण गरे। २०५१ सालतिरको कुरा हो, उच्चशिक्षा लिन काठमाडौँ पसे। राजधानीसँग उनको सुमधुर सम्बन्ध थिएन। तर, सपनाले कर्णालीमा बस्न नदिएरै काठमाडौँ पुर्‍याएको थियो। त्यसपछि उनको रुचि एकातिर, बाध्यता एर्कोतिर भइदियो।

पाटन क्याम्पसमा साइन्सको विद्यार्थी भए। दाल–पिठो आए पनि पढाइ खर्च र कोठाभाडा पठाउन सक्ने घरको अवस्था थिएन। अनि मनऋषिलाई लाग्यो– सबैका सपना कहाँ पूरा हुन्छ र! जे जस्तो भए पनि मजदुरी गरेर पढ्छु। तर, बाटो देखाउने कोही थिएनन्। एक बिहानको कुरा हो ‘पत्रिका बेच्ने मान्छे चाहियो’ भनेर पत्रिकाबाटै खबर पाए, त्यो कान्तिपुर दैनिकका लागि थियो। 

ललितपुरको कुपण्डोलमा अवस्थित आफ्नो डेराको पुस्तकालयमा मनऋषि। तस्वीरः कृष्पा/उकालो

ललितपुरको कुपण्डोल बस्ने मनऋषिले आवेदन दिए पनि उनी छानिएनन्। मनऋषिलाई जसरी पनि मिडियामा छिर्नु थियो। ठूला मान्छे चिनेका थिएनन्, उनी हकरै बनेर भए पनि पस्न चाहन्थे। पहिलो प्रयासमा असफल भए। त्यसपछि पनि उनले पत्रिकामै काम खोजे। तत्कालीन हिन्दु, घटनाचक्रराष्ट्रवाणी लगायतका साप्ताहिकमा हकरको जिम्मा पाए। विभिन्न ठाउँमा पत्रिका पुर्‍याउने उनको दैनिकी बन्यो। 

समय न हो, महिना, वर्ष बितेको पत्तै नहुने। पत्रकारिताको लक्ष्य पछ्याइरहेका मनऋषिले आफू काम गर्ने पत्रिकाका सम्पादकसँग डर र संकोच मानीमानी एक दिन भने, “मलाई पत्रिका बेच्न मात्र होइन, यसमा लेख्न पनि रुचि छ।” त्यो आँट खेर गएन। उनको हुटहुटीको कदर भयो। शुरूमा तत्कालीन राष्ट्रवाणी साप्ताहिकका सम्पादक हरि लम्सालबाट लेख्ने अनुमति पाए। 

सपनाको बाटोबाट काँडा पन्छिएको त्यो क्षण मनऋषिले बिर्सेका छैनन्, “म मजदुरीमा रमाउने मान्छे। मजदुरी गर्न कुनै हिचकिचाहट थिएन। लेख्न पाएपछि त पत्रकार बन्ने सपनाको बाटो खुल्यो भन्ने लाग्यो। मलाई याद छ ‘सुदूरपश्चिम र मध्यपश्चिम जोड्ने चिसापानीको पुल’ भनेर मेरो पहिलो बाइलाइनमा समाचार आएको।”

तस्वीरः कृष्पा/उकालो

केही समय अखबार लेख्ने र बेच्ने दुवै काम गरेका मनऋषिले अलि पछि लेख्ने मात्र कामलाई मूलबाटो बनाए। २०५४ सालदेखि जनादेश साप्ताहिकमा काम गर्न थाले। त्यति बेलासम्म आफ्नो क्षमतालाई यसरी तिखारिसकेका थिए कि पत्रिकाका सम्पादकहरूबाट उनको सोधीखोजी हुन्थ्यो। पाटन क्याम्पस छोडेर रत्नराज्य (आरआर) क्याम्पसबाट पत्रकारितामा आईएसमेत सकिसकेका थिए। 

श्रम जहाँ गरे पनि मनऋषि वामपन्थी स्कुलिङ (मार्क्सवादी दर्शन) र विचारबाट टाढा थिएनन्। हकरका रूपमा काम गरेर पत्रकारितामा प्रवेश गरेका उनी त्यसबेलाको विद्रोही नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वसमर्थक पत्रकारितामा लागे। १५ वर्षको उमेरमै हँसिया–हथौडा अंकीत झण्डामुनि बस्न थालेका उनले १७ वर्षको उमेरदेखि माओवादीको सशस्त्र द्वन्द्व पक्षधर पत्रकारिता शुरू गरे।  

२०५५ सालतिर पुग्दा दिशाबोध दैनिक पत्रिकाको सम्पादकीय नेतृत्वमा पुगे। हिंसात्मक विद्रोहसापेक्ष लेखनबाट मुक्त नभएका मनऋषिलाई तत्कालीन सरकार पक्षले काठमाडौँ बस्ने वातावरण दिएन। सशस्त्र द्वन्द्वस्थलमै गएर रिपोर्टिङ गर्ने र समाचार तयार गर्ने काम गर्न थाले। उनको काम थियो– मिडियामा सत्तापक्षको समर्थनमा आएका कुरालाई माओवादी अनुकूलको बनाउने, माओवादी नेताहरूका विचार–विमर्श संकलन तथा प्रकाशन गर्ने र ‘भुइँतह’सम्म त्यसलाई पुर्‍याउने। 

२०६० सालमा रोल्पाको फुङ्तीबाङमा भएको केन्द्रीय समितिको बैठकपछि खाना खाँदै माओवादी नेताहरू बायाँबाट पोष्टबहादुर बोगटी, प्रचण्ड र बाबुराम भट्टराई। तस्वीरः मनऋषि धिताल। 

त्यसबेला प्रत्यक्ष युद्धमा रहेर काम गरेका मनऋषि अरू पत्रकारका लागि समाचारको स्रोत नै बनेका थिए। भूमिगत नेताहरू प्रचण्ड–बाबुरामको नजिक पनि थिए। माओवादीले गर्ने विभिन्न कार्यक्रमबारे अन्य पत्रकारलाई जानकारी दिन्थे। उनी ती दिन सम्झिन्छन्, “२०५७ साल पुस ५ गतेको कुरा हो, रुकुममा पहिलो पटक माओवादीले जनसरकार घोषणा गर्दै थियो। काठमाडौँबाट रिपोर्टिङका लागि सुधीर शर्मा (भर्खरै कान्तिपुर दैनिकको प्रधानसम्पादकबाट राजीनामा दिएका), राजाराम गौतम लगायतका पत्रकारलाई लिएर रुकुमको बाँफीकोट पुगेँ। सुधीरजी त्यतिबेला हिमाल खबरपत्रिकामा हुनुहुन्थ्यो।”

२०५८ सालसम्म पुग्दा उनले पत्रकारितामा स्नातक सकिसकेका थिए। जरादेखि नै माओवादी द्वन्द्वमा लागे पनि मनऋषिलाई मन पराउने लोकतन्त्रवादीहरूको संख्या पनि उल्लेख्य थियो। युद्धलाई नजिकबाट बुझेकाले बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूसमेत उनको प्रतिक्रिया लिन्थे। त्यही कारण माओवादीका शीर्ष नेताहरू आन्तरिक कुराहरू मिडियामा नभन्न चिठीमार्फत निर्देशन दिइरहन्थे। 

उनलाई राज्यपक्षले ११ महिनासम्म बन्दी बनाएर राख्यो। २०५८ सालमा पुतलीसडकस्थित जनादेश साप्ताहिकको कार्यालयबाट उनीसहित नौ जना माओवादी समर्थित पत्रकारलाई प्रहरीले पक्राउ गरेको थियो। मनऋषि भन्छन्, “जीवन र मृत्युको दोसाँधमा पुगेर बाँचेको त्यस बेलाका अनुभव र डायरीहरू कुनै बेला प्रकाशित होलान्।” 

थुनामा रहँदा पनि राज्यपक्षबाट मनऋषिको ज्यान जोखिममा नभएको होइन। उनकै सम्पादक कृष्णसेन इच्छुक प्रहरी हिरासतमै मारिइसकेका थिए। ती दिन सम्झन्छन्, “सम्पादक मारिएसँगै हाम्रो पनि बाँच्ने आशा मर्‍यो।” तर, पछि उनी रिहा भए। जीवन र मृत्युका यस्ता पहाड त मनऋषिले कति चढे, चढे। केही स्मृतिमा छन् त केही डायरीमा कोरेरै राखेका छन् उनले। 

उकालोलाई आफ्ना युद्धकालीन डायरी र संकलित चिठीहरूबारे बताउने क्रममा मनऋषि र ‘गुफा प्रेसका चिठी’ पुस्तकका अर्का सम्पादक राजकुमार कुँवर (दायाँ) तस्वीरः कृष्पा/उकालो।

२०६० सालको घटना हो, मनऋषि रिपोर्टिङको सिलसिलामा मुगुतिर जाँदै थिए। कालीकोट पुग्दा झोला बोकेर उभिएका १२/१३ वर्षका दुई बालक बाटोमा भेटिए। ती को होलान् भन्ने खुल्दुली लागेर उनीहरूका झोला खोतल्दा एउटाको झोलामा माओवादीका, अर्कोमा राज्यपक्षका चिठीपत्र थिए। दुवै बालकले आफ्नै शैलीमा एकअर्काको परिचय गराए। पहिलोले भने, ‘यो माओवादीको हुलाकी हो।’ दोस्रोले चिनाए, ‘यो ज्ञानेन्द्र (तत्कालीन राजा) को हुलाकी हो।’

त्यो दृश्य मनऋषिको मस्तिष्कमा ताजै छ। भन्छन्, “उनीहरूको लक्ष्य एउटै थियो, हुलाकमा चिठी पुर्‍याउने। तर, विद्रोही र सरकार पक्ष त्यहाँ पनि देखियो।”

यस्ता थुप्रै युद्धकालीन अनुभवका स्मृतिहरू मनऋषिले टिपोट गरेका छन्। 

शान्ति सम्झौतापछि माओवादीको मुखपत्र मानिएको जनादेशको १० वर्षसम्म सम्पादकीय नेतृत्व गरेका मनऋषिले सशस्त्र द्वन्द्वसँग सम्बन्धित दर्जनौँ कृतिको सम्पादन गरेका छन्। सातवटा पुस्तक लेखेका छन्। भर्खरै मात्र मनऋषि र राजकुमार कुँवरद्वारा सम्पादित पुस्तक ‘गुफा प्रेसका चिठी’ प्रकाशन भएको छ। मूलतः सशस्त्र द्वन्द्वका बेला चिठीद्वारा कसरी सञ्चार हुन्थ्यो, ती चिठीहरू कस्ता थिए भन्ने प्रश्नको जवाफ यस पुस्तकले दिन्छ।

यसअघि ‘क्रान्तिकारी पत्रकारिता’, ‘देवकोटाप्रति शब्दपुष्प’, ‘युद्ध र पत्रकारिता’, ‘द फाइनल डेज् अफ द पिपुल्स् वार’ जस्ता पुस्तक र पत्रकारिताका विशेषांकहरू लेखेका मनऋषिलाई लाग्छ– ‘माओवादी क्रान्ति’ले बाटो बिरायो, नेताहरू स्वार्थ र अवसरमा लिप्त भए, कतिपय त विदेश पलायनसमेत भए। 

२०६० चैत्र ७ गते म्याग्दीको बेनी आक्रमणमा जानुअघि रुकुमको लुकुम स्कुल मैदानमा दायाँबाट क्रमशः ‘जनादेश’की संवाददाता जानुका धमला, मनऋषि धिताल, चेतन कुँवर, अजय शर्मा र चुनबहादुर बुढा मगर। यीमध्ये मगर युद्धमै मारिए।

६ वर्ष अस्ट्रेलिया बसेर नेपाल आएका मनऋषिले हामीलाई ‘गुफा प्रेस’बारे मात्र नभई माओवादीको सशस्त्र द्वन्द्व, पत्रकारिता र जीवनबारे धेरै कुरा बताए। आखिर गुफाभित्रका चिठीहरू कसरी जन्मिए र संरक्षित भए? जोगाउन के कस्ता चुनौती थिए? यसको आदानप्रदान कसरी हुन्थ्यो? दशकौँसम्म ‘लाल सलाम’ भनेर मुठी बटारेर कलम चलाउँदै आउँदा जीवन धान्न मुस्किल भएपछि समुद्र तर्नुपर्ने बाध्यता कसरी आइलाग्यो? माओवादीको सशस्त्र विद्रोहले कसरी रूप फेर्‍यो? यी खुल्दुलीका जवाफ मनऋषिकै शब्दमा: 


ती गुफा, यी चिठी
जनयुद्धताका सञ्चार र प्रचारको काम चिठी र डायरीमार्फत हुन्थे। त्यस्ता सामग्री जोगाएर राख्नु आफैँमा चुनौतीपूर्ण काम हो। हामीले भेटेसम्मका चिठी र डायरीहरू संकलन गरिरहेका थियौँ। तर, आफ्नो बाध्यता र परिस्थितिले मलाई प्रवासमा जानुपर्ने स्थिति आइपर्‍यो। मसँग भएका चिठी र डायरीहरूको सुरक्षा गर्ने जिम्मा राजकुमारजी (राजकुमार कुँवर)लाई दिएर म देशबाट बाहिरिएँ। अस्ट्रेलियाको प्रवासमा ६ वर्ष बिताएर नेपाल फर्किएपछि केही गर्नुपर्छ भन्ने लाग्यो। अनि त्यस बेलाका ती चिठीहरूको सम्पादन र प्रकाशनतिर लाग्यौँ। राज्य पक्ष र तत्कालीन विद्रोही माओवादी पक्षबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौतापछि पनि पुराना चिठीहरू बाकसमा थन्किएको १७/१८ वर्ष भइसकेको थियो। 

‘गुफा प्रेसका चिठी’ पुस्तक र यसका संकलक एवं सम्पादक मनऋषि। तस्वीरः कृष्पा/उकालो।

जेठ १३ गते जनादेश साप्ताहिकका सम्पादक कृष्णसेनको स्मृति दिवस पनि थियो। त्यतिबेला नै सार्वजनिक गर्ने गरी प्रकाशनमा ल्याउनुपर्छ भन्ने सोचेर त्यसै गरियो। यसले युद्धकालीन मनोविज्ञान र त्यति बेलाको सञ्चार पद्धतिबारे बताउँछ। अहिले माओवादी आन्दोलनमा नयाँ मान्छेहरू पनि आएका छन्, पत्रकारिताका विभिन्न संगठन छन्। यस सन्दर्भमा नयाँ पुस्तालाई जानकारी दिनका लागि पनि पुराना सामग्री उपयोगी हुन्छ जस्तो लागेपछि चिठीहरू प्रकाशन गरेका हौँ। पत्रकारिताको अनुसन्धानका लागि पनि यस्तो काम गर्नु जरुरी थियो। 

२०५२ देखि २०६२ साल बीचको दशकमा नेपालमा दुई खालको पत्रकारिता भइरहेको थियो। एउटा जनादेशको स्कुलिङमा चलेको मिसन पत्रकारिता र अर्को मूलधार भनिएको पत्रकारिता। त्यस्तो बेला हामीले गरेको मिसन पत्रकारितासँगै संकलित चिठीहरू हामीसँग सुरक्षित थिए। तिनै चिठीहरू सम्पादन गरेर किताबका रूपमा छापेका हौँ। यसको नाम जुराउने बेला धेरै विकल्पहरूका बीच अंग्रेजी नाम दिमागमा आयो– ‘लेटर्स फ्रम द केभ’। त्यसको नेपाली अनुवाद गरेर नाम राखियो। त्यसमा पनि क्रान्तिकारी जोडौँ भन्ने केही साथीहरूको सल्लाह थियो, तर हामीलाई क्रान्तिभन्दा पनि पत्रकारितासँग जोड्न मन लाग्यो। किनभने यो किताब मिडियासम्बन्धी पनि थियो। पछि सबै साथीहरू यसमा सहमत हुनुभयो। 

२०६० चैत २ गते रुकुमको लुकुम स्कुल मैदानमा माओवादी तडाकुका तत्कालीन ‘ब्रिगेड कमान्डर’ प्रेमबहादुर  रोका ‘जीत’सँगको अन्तर्वार्तामा मनऋषि। यो तस्वीर खिचिएको झण्डै एक वर्षपछि २०६१ फागुन १७ गते जीतसहितका ३७ जना लडाकु बर्दियाको गणेशपुर भीडन्तमा मारिएका थिए।

संरक्षण र चुनौती सँगसँगै
२०६३ सालपछि हामी शहर आयौँ। हाम्रा आवश्यकता र प्राथमिकताहरू फरक–फरक भए। त्यसबीचका जोखिमपूर्ण अवस्थाबाट जोगाएर जतनसाथ राखेका चिठीपत्रको ऐतिहासिक महत्त्व थियो। अर्को कुरा, मैले स्वदेश र विदेशका विभिन्न ठाउँ घुम्ने बेला भियतनाम युद्धदेखि विश्वयुद्धसम्मका राजनीतिक घटनाक्रम र तिनका दस्ताबेजहरू प्रकाशन भएको देखेको थिएँ। युद्धकालका त्यस्ता सामग्रीको पचासौँ वर्षपछाडि पनि उत्तिकै महत्त्व हुन्छ। यसका लागि पनि मैले चिठीहरू संकलन र संरक्षण गरेको थिएँ। आफ्नै झोलाभित्र ताल्चा लगाएर बचाएका चिठी हुन् यी। 

युद्धमा हामीले खास प्रविधि र पद्धतिबारे सोचेका थिएनौँ। अहिले सबै कुरा प्रविधिमा छ। अलि समयपछि कागजका चिठीहरू कुहिएर जान सक्छन्, किराले खान सक्छन्। त्यही सोचेर नै हामीले चिठी संकलित किताब बनायौँ। प्रकाशनका लागि विभिन्न प्रकाशन संस्थाहरूले चासो देखाएका थिए। तर, हाम्रो श्रमको मूल्य हालेपछि मात्र यसले मूल्य पाउँछ भन्न लाग्यो, अनि आफैँले प्रकाशन गर्‍यौँ। पुस्तकमा २०५९ सालयताका चिठीहरू छन्। हामीसँग २०५२ सालदेखिकै सामग्रीहरू प्रशस्त छन्। ती पनि बिस्तारै प्रकाशमा ल्याउने योजना छ। 

 म्याग्दीको सदरमुकाम बेनी आक्रमणको तयारीमा रहेका माओवादी लडाकुहरूसँगै २०६० चैत ६ गते माग्दीको तातोपानीमा उभिएका मनऋषि।

यसरी हुन्थ्यो चिठीपत्र आदानप्रदान
आधुनिक समाजमा पनि हुलाकको महत्त्व घटेको छैन। विश्वका विकसित देशहरूमा पनि यसको प्रचलन छ। फोन, इमेल या अरू प्रविधिबाट भन्दा पनि बढी विश्वसनीयताका साथ चिठी पुग्छ, पोस्ट–बक्समा। दुनियाँ आधुनिकतामा प्रवेश गरे पनि यसको महत्त्व मेटिएको छैन। नेपालको जनयुद्धकालमा पनि आफ्नै वैकल्पिक हुलाकहरू थिए। माओवादीसम्बद्ध त्यस्ता हुलाकी संरचनालाई बुझाउन ‘सञ्चार’ शब्द चल्तीमा थियो। वैकल्पिक हुलाकहरूका निश्चित केन्द्रहरू हुन्थे। ती स्टेसनमा काम गर्ने एक/दुई जना हुलाकी खटिन्थे। आएका चिठीपत्रहरू जसले हेर्नुपर्ने हो उसको नाम पनि हुन्थ्यो। 

द्वन्द्वकालमा प्रायः सरकारी गतिविधि र संरचना माओवादीको निशानामा परेका भए पनि जनताको सरोकारको विषय भएर होला, हुलाक सेवाका गतिविधिमाथि नियन्त्रण गरिएन र सामान पनि जफत भएन। फेरि युद्धलाई असर गर्ने हुलाक नभई प्रहरी पोस्टहरू थिए। माओवादी युद्धको स्कुलिङ पनि त्यस्तै थियो। त्यसकारण त्योबेला हाम्रो आफ्नै हुलाकमार्फत सबै खालका चिठीहरू हामीसम्म आइपुग्थे। हामीले अनेक चुनौती मोल्दै सुरक्षित राखेका ती दस्ताबेज केही प्रकाशित भइसके, केही बाँकी छन्।  

युद्ध, पत्रकारिता र पलायन
संविधान जारी हुनुभन्दा पहिले मलाई माओवादी जनयुद्ध एक खालको बिसौनीमा छ भन्ने लाग्थ्यो। पहिलो र दोस्रो युद्धविरामको समयमा त यसै पनि कुनै किसिमले युद्धविराम भंग हुन्छ,  हामी रहन्छौँ या रहँदैनौँ, तर युद्धचाहिँ अगाडि बढ्छ भन्ने नै लाग्थ्यो। शान्ति सम्झौतापछि पनि कुनै दिन नेपालको सैनिक मुख्यालयमा ‘लालसेना’ले झण्डा गाड्छ, शान्तिपूर्ण राजनीति त्यसैको तयारी हो भन्ने बुझाइ म मात्र नभई मेरो स्तरका धेरै साथीहरूको थियो। यही सोचाइका कारण २०६३ देखि २०७३ सालसम्मको एक दशकसम्म मेरो ध्यान निजी जीवनतिर कहिल्यै गएन। 

२०५८ मंसिर ११ गते युद्धविराम भंग भएसँगै फिरफ्तारीमा परेका मनऋषि (दायाँबाट दोस्रा) २०५९ सालमा भद्र बन्दीगृह केन्द्रीय कारागार काठमाडौँमा। फोटोमा बायाँबाट क्रमशः धीरेन्द्र बस्नेत (झापा), बाबुराम कार्की (पर्वत) र  हेम श्रेष्ठ (दोलखा) लाई तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गनले बेपत्ता बनायो।

२०५२ देखि २०६२ सम्मको चरण त त्यस्तो थियो नै, तर २०७२ सम्म पनि सबै कुरा पार्टीले गर्छ, क्रान्ति जारी छ भन्ने मेरो बुझाइ रह्यो। जब संविधान बन्यो तब माओवादी आफैँले औँठा छाप लगाएको संविधानलाई च्यातेर अर्को बनाउँदैन भन्ने चेत खुल्यो। क्रान्तिको रूप परिर्वतन भयो भन्ने त्यतिबेला मात्र बुझेँ। जुन रूपमा क्रान्ति जान्छ भन्ने मलगायत मेरो स्तरका साथीहरूको सोच थियो, त्यस्तो भएन। तथापि, पहिलो युद्धविराम भंग भएपछि र दोस्रो युद्ध विरामभन्दा अघि घमासान युद्ध भएको थियो। राज्यपक्षलाई निष्क्रिय बनाउन जनमुक्ति सेनाको बलसँगै विद्रोहीहरूको हैसियत पनि बढेकै थियो। 

शान्ति प्रक्रियामा आएपछि पनि पहिलेजसरी नै कुनै पनि दिन युद्ध विराम भंग हुन्छ भन्ने लागि नै रह्यो। हाम्राअगाडि शीर्ष नेताहरूले भन्ने गरेको पनि त्यही थियो। नेताहरूले भित्र–भित्र क्रान्ति भनेपछि आम कार्यकर्ताले युद्धविराम भंग हुने संकेतका रूपमा बुझ्थे। मलाई पनि लाग्थ्यो, युद्ध त फेरि हुन्छ हुन्छ। तर, धेरै पछि मात्र थाहा भयो कि नेतृत्वले हामीलाई झूटो सपना देखाएर अल्झाइरहेको रहेछ। 

जवाफबाट पन्छियो नेतृत्व
जीवन युद्धमै बित्न लागिसकेको रहेछ। फर्केर हेर्दा उपलब्धि केही छैन। पार्टीभित्र मतहरू पनि भिन्न–भिन्न भइसकेका थिए। म बाबुराम भट्टराईसँग नजिकजस्तै थिएँ। उहाँले एक्कासि नयाँ पार्टी खोल्ने कुरा गर्दा मैले तीनवटा प्रश्न राखेँ– पहिलो, हामी मार्क्सवादी हो कि होइन? तपाईंले बनाउने नयाँ शक्ति मार्क्सवादी शैलीबाट जान्छ कि जाँदैन? दोस्रो, माओवादी जनयुद्धमा भएका कमीकमजोरीहरू स्विकारेर जनतासँग माफी माग्ने कि नमाग्ने? तेस्रो, बाथरुम र बेडरुमबाहेक नेताहरूको जीवनका बाँकी सबै कुरा पारदर्शी हुनुपर्छ, यो सम्भव छ कि छैन? उहाँबाट मैले सन्तोषजनक जवाफ पाइनँ।

आफ्नो विगत बताउँदा गम्भीर मुद्रामा मनऋषि। तस्वीरः कृष्पा/उकालो

राज्यपक्षबाट मात्र होइन, हामी विद्रोही पक्षबाट पनि जनयुद्धमा थुप्रै कमीकमजोरी भएका थिए। त्यसका लागि जनतासँग माफी माग्नुपर्थ्यो। नयाँ संविधान निर्माणसँगै क्रान्तिको बाटो छाडेपछि माफीसभा गर्नुपर्छ भन्ने मेरो बुझाइ थियो। सत्यनिरूपण लगायतका कुराहरू कानूनी रूपमा एकातिर छन्, तर मान्छेको मन टाल्ने कुराहरू तत्काल हुनुपर्ने थियो। 

त्यसको कारण के थियो भने सबै जनता राज्यपक्ष र विद्रोही पक्षमा संगठित भएका थिएनन्, लाखौँ जनता दुईतिरको बीचमा पनि थिए। तिनलाई आफूतिर ल्याउनका लागि क्रान्तिले रूप बदल्यो भनेर माफी माग्नुपर्थ्यो। तर, माओवादी नेतृत्व त्यसबाट पन्छियो। पारदर्शिताको कुरा पनि नेतृत्वले स्विकारेन। त्यसपछि वैचारिक तहबाट जनतालाई बाँकी क्रान्तिको कुरा भन्न अप्ठ्यारो थियो। त्यति नगरेपछि नयाँ आन्दोलन र नयाँ खालको राजनीतिक शक्ति जन्मिँदैन भन्ने निष्कर्षमा म पुगेँ। 

आफैँलाई प्रश्न 
जुम्लाबाट दिन बिराएर फोन गर्ने आफन्त, शुभचिन्तक भन्थे, “यत्रो वर्ष आन्दोलनमा लागिस्, काठमाडौँमै छस्, तैले व्यवस्थापन राम्रै गरिस् होला नि!” तर उनीहरूलाई थाहा थिएन, पार्टीकै कामबाहेक मैले आफ्ना लागि केही गरेको थिइनँ। घरपरिवारको भनाइ थियो, “तँभन्दा पछि युद्धमा लागेकाले टिनको छाना राखेर घर बनाइसके, धन सम्पत्ति जोडिसके, तँ के गर्दैछस्?” त्यसबेला म गाउँ गएको भए, क्रान्तिको उपलब्धिस्वरूप संविधान भन्ने किताबी खोस्टो मात्र लिएर जान सक्थेँ। त्योसँगै एक भारी निराशा पनि मसँगै गाउँ जान्थ्यो। 

 फुङ्तीबाङ बैठकपछि २०६० सालमा रोल्पाको थवाङमा माओवादी नेताहरू राम कार्की (सबैभन्दा बायाँ) र मणि थापा (बीच) का साथ मनऋषि। थापा हाल नेकपा एमालेको र कार्की माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्।  

वैचारिक अडानमा दायाँबायाँ हुने कुरै थिएन, तर व्यावहारिक रूपमा म घाइते भइसकेको थिएँ। अर्को कुरा, काठमाडौँको रिङरोडभित्र मैले विद्रोह गरेर नयाँ पार्टी बनाउन सक्ने अवस्था पनि थिएन। जति कठिन हुँदा पनि चन्दाको धन्दा आदि इत्यादिबाट दैनिकी चलाउने मानसिकता ममा कहिल्यै आएन। 

‘जनादेश’लाई लत्याएर खल्ती–खल्तीमा पत्रिका
शान्ति सम्झौतापछि पार्टीले मलाई जनादेश पत्रिकाको सम्पादकको जिम्मेवारी दिएको थियो। तर, पत्रिकाको बिक्री वितरण घट्दै गयो। पार्टीभित्रको गुट/उपगुट नै त्यसको कारण थियो। पछिल्लो समय त हरेकजसो नेताहरू खल्तीमा एउटा एउटा पत्रिका बोकेर हिँड्थे। पार्टीभित्र पहिला चन्दा आतंक थियो, पछि विज्ञापन आतंक बढ्यो। म जनादेशको आधिकारिक व्यक्ति, विज्ञापनको कुरा गर्न जाँदा व्यवसायीले विज्ञापन आतंकका थरीथरी पीडा सुनाउँथे। 

उनीहरू १५/२० वटा पत्रिका देखाएर ‘तपाईंकै पार्टीका यति धेरै छन्, कतिलाई विज्ञापन दिऊँ’ भन्थे। त्यतिबेला २५/३० जना नेताका खल्तीमा एक–एक पत्रिका भइसकेका रहेछन्। जनादेशलाई पार्टीको आधिकारिक र मार्क्सवादी विचारको पत्रिका भन्ने तर निरन्तर असहयोग गर्ने नेताहरूको व्यवहार देखियो। त्यसपछि जनादेशलाई अगाडि बढाउन मुस्किल भयो। मेरो नेतृत्वमा १८/१९ जनाको टिम थियो। ती साथीहरूलाई दुई महिनासम्म तलब खुवाउन सकिएन। 

 २०६१ सालतिर बायाँबाट क्रमशः मनऋषि, शहरी गुरिल्ला कमान्डर जितेन्द्र र कास्कीका विजय ढकाल (विश्वास)। मनऋषि बाहेकका दुवै जना युद्धमा मारिए।

जिन्दगीमा कुनै सहकारीमा औँठा छाप लगाएर पैसा लिनुपरेको थिएन। त्यसबेला पहिलो पटक एउटा सहकारीमा गएर ऋण निकालेँ। त्यही पैसा साथीहरूलाई बाँडेर घर पठाएँ। पार्टीले जुन तरिकाले पहिला पत्रिका चलाउँथ्यो त्यो संस्कृति हराएर नेताको गोजीगोजीमा पत्रिका दर्ता भएपछि त्यस्तो अवस्था आउँदो रहेछ। 

हामी आत्मनिर्भर थिएनौँ। भलै वैचारिक धार फरक भएका अरू मिडियाले पनि जिम्मेवारी दिएर बोलाइरहेका थिए। तर, वैचारिक धार नै बदलेर जागिरे बन्न जाने सोच पनि थिएन। त्यसमाथि, मसँग १८ जना साथीहरू थिए। म जाने मिडियामा उनीहरू सबै अटाउने ठाउँ थिएन। चाकडीभन्दा टाढा रहेर श्रम गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। मेरा कतिपय शुभचिन्तकहरूले ‘धेरै आदर्श राम्रो होइन, आदर्शभन्दा माथि उठ’ भनेर सुझाव दिन्थे। उनीहरूको आशय नेताहरूको झोले हुनुपर्ने थियो अथवा आदर्शवादीको नाटक गर्नुपर्ने थियो। म अठोट लिन्थेँ– माथि उठ्न आदर्शलाई कुल्चिनुपर्ने? जेसुकै होस्, कुल्चिन सक्दिनँ। 

नेता र आदर्श: नदीका दुई किनार 
२०७२ सालको भूकम्पले थाहा दियो, हामीसँगै जंगलबाट फर्किएका साथीहरूले घर–गाडी जोडिसकेका रहेछन्। हामी भने भाडामै बसिरहेका थियौँ। वैशाख १२ को भूकम्पमा साहुको घर (डेरा) हल्लिँदा हामी सडकमा आयौँ। धेरै साथीहरूको आफ्नै घर हल्लिएछ, जो नौ वर्षअघि २०६३ मा जंगलबाट हामीसँगै शहर फर्किएका थिए। काठमाडौँमा उनीहरूको बिल्डिङ कसरी उभियो? मेरा लागि अर्को भूकम्प ल्याउने त्यस्ता खबर खोतल्नतिर लागिएन। तर साथीहरूले पछि चिया गफमा ‘धन्न गाडी कुच्चिएन, धन्न मेरो घर ढलेन’ भनेर स्टोरी सुनाएपछि विनासोधखोज खुलासा भयो।

हामी जंगल र जेलको जीवनसँगै बिताएर आएका थियौँ। शहर पस्नेबित्तिकै महँगा घर–गाडी जोड्ने हैसियत थियो कि थिएन, एक अर्कालाई राम्रैसँग थाहा थियो। त्यति भएपछि अरू कुन रहस्य जान्न सोधीखोजी गर्नु र! क्रान्तिले रूप फेरेको मलाई थाहा थियो, तर क्रान्तिकारीले रूपरङ बदलेको त्यसबेला मात्र थाहा भयो। मलाई चाहिँ आफ्नो स्वाभिमान र मार्क्सवादी दर्शनको रूप फेराएर शहरको नवमार्क्सवादी बन्नु थिएन, जुन मार्गमा धेरै माओवादी साथीहरू लामबद्ध भइसकेका रहेछन्।  

रूप बदल्नुभन्दा विदेशिनु बेस
क्रान्तिमा लाग्नु मजदुरको जस्तै जिम्मेवारी हो। म पनि आफ्नै मजदुरीमा टिक्छु भन्ने लागेको थियो। पछि त मैले मजदुर र आफूलाई छुट्ट्याएर व्याख्यासमेत गर्ने गरेको थिएँ। मजदुरहरूले ठूलाठूला आयोजनाहरू निर्माण गर्छन्, हाइड्रो होस् या राजमार्ग। आफ्नो मजदुरीबाट बनेका सबै पूर्वाधारहरू मजदुरले साथमै राख्छन् र? आफूमाथि यस्ता प्रश्न गरेर झन्डै ३० वर्षसम्म टेकेको वैचारिक धरातललाई आफैँले धमिल्याउन चाहिनँ। अन्ततः सोचेँ, मजदुरले बनाएको क्रान्तिको गाडी अब जोसुकैले चलाऊन्। 

स्वाभिमानलाई दाउमा राखेर राजनीति गर्ने र गाउँ गएर सोझाहरूलाई झुक्याउने पक्षमा म भइनँ। मनमनै प्रश्न गरे– यो मेरो गल्ती थियो त? अनि विकल्प सोचेँ– मेरो मजदुरी र परिश्रमको सम्मान कहाँ होला? धेरै देशहरूबारे अध्ययन अनुसन्धान पनि गरिरहेको थिएँ। त्यही क्रममा यहीँ बसेर रूप बदल्नुभन्दा बिदेसिनु बेस ठानेँ। दुई–चार वर्ष यी घुम्तीका मोडहरू पार गर्छु भन्ने लाग्यो। त्यहाँ नेपालीले जसरी काम गरेका छन्, त्यसरी नै गर्छु भन्ने अठोट लिएर अस्ट्रेलियातिर हानिएँ।

२०६१ सालमा कास्की र पर्वत दुवैतिर माओवादीको ‘जनससरकार’ घोषणा हुँदै गर्दा भावी पुस्ता गणतान्त्रिक हुने अनुमान गर्दै मनऋषिले खिचेको फोटो। त्यसबेला यी दुई पुस्ता घरमा थिए, बीचको अर्थात् युवा पुस्ता युद्धमा थियो। 

हुन त यहाँ बसेर म केही गर्न सक्दिनँ भन्ने अवस्था पनि थिएन। मेरा लागि थुप्रै विकल्पहरू थिए। जनादेशको सम्पादक जो छँदै थिएँ। पार्टी नेतृत्व सत्ता र शक्ति वरिपरि नै घुमिरहेको हुन्थ्यो। राजनीतिक नियुक्तिहरू पनि पाउँथेँ। वैचारिक रूपमा केही अनमेल भने हुन्थ्यो होला। तर, मेरा लागि त्यसो गर्नु स्वाभिमानको विषय थिएन। नैतिकता पतनतिर लागिएन। 

धेरैले भन्न सक्छन्, विदेश गएर स्वाभिमान गुम्छ। तर होइन, म त स्वाभिमान बचाउनका निम्ति गएको हुँ। हजारौँ युवा बिदेसिएको बेला त्यही संख्यामा एक जना मनऋषि मात्र थपिएको हो। मैले आन्दोलनको प्रक्रिया पूरा गरेँ। जेल र जंगलको जीवन पार गरेँ। त्यही यात्रामा प्रवासमा गएर पनि मजदुरी पनि भ्याएको हुँ। मेरै स्तरका यहाँ बसेर मन्त्री हुनेहरूदेखि राजनीतिक नियुक्ति खानेहरूले आफ्नो स्वाभिमान गुमाएर बसेका हुन्।  

एटीएम बन्ने/बनाउने काम गरिनँ
पार्टीभित्र पारर्शिता भन्ने थिएन। चन्दा माग्ने, धम्काउने र थर्काउने, कुनै व्यापारीसँग हात मिलाएपछि उपहार पाउने चलन बढ्दै गएको थियो। कोही मान्छे नेतृत्वसँग आस्थापूर्वक आएको हुन्छ, कोही स्वार्थले। व्यापारी होस् या भुइँतहको मान्छे नेतृत्वलाई ‘एटीएम’ बनाएको मलाई मन परेन। मैले नेतृत्वलाई एटीएम बनाउन चाहिनँ। यिनै कुरा हुन्, जसले मलाई विदेश जान वाध्य बनायो। 

६ वर्ष बाहिर बसेर भावी मार्गका पाँच बुँदा बोकेर फेरि घर फर्किएको छु। पहिलो, म मार्क्सवादको विद्यार्थी हुँ, त्यो दर्शनको सेवा गरिरहन्छु। दोस्रो, पत्रकारिताले मलाई देश–दुनियाँ चिनायो। पेशा चिनायो, श्रम चिनायो। सेवा गर्ने माध्यम चिनायो जसको सेवामा निरन्तर लागिराख्छु। तेस्रो, मातृभूमिप्रतिको कर्तव्य बिर्सन्नँ। मेरा लागि राष्ट्रियता विदेश हुँदा ‘नेपाल’ भएजस्तै काठमाडौँमा रहँदा ‘जुम्ला’ भएको छ। अस्ट्रेलियामा छँदा सिंगो नेपाल मातृभूमि थियो। अहिले म काठमाडौँमा छु, मन कर्णालीतिर छ। जहाँ मेरी आमाको मृत्यु भयो त्यो ठाउँमा दिमाग पुग्दो रहेछ। 

चौथो, हामीले कामका लागि बिदेशिएका नेपालीहरूका कथा सुन्यौँ, लेख्यौँ र बोल्यौँ। म आफैँ विदेशमा बसेर आएँ। त्यहाँ रहेका नेपालीहरूको चरम पीडाको रूप कस्तो छ त्यो पनि देखेर आएँ। फरक यत्ति हो, वर्षौं युद्ध लडियो, मृत्युले मलाई छानेन। प्रवासबाट फर्किंदा बाकसमा आउनु परेन। तर, बाकसमा आउनेहरू धेरैको पीडा मैले बोकेर ल्याएको छु। उनीहरूप्रतिको प्रतिबद्धता र जिम्मेवारी मेरो चौथो काम हो। 

पाँचौँ, नितान्त व्यक्तिगत छ। आन्दोलनमा हिँडेँ। सामाजिक काममा लागेँ। राजनीति र लेखनमा समय बिताएँ। तर, परिवार, आफन्त र साथीभाइप्रतिको दायित्वबाट पन्छिइरहेको थिएँ। अब त्यस्तो गल्ती नगर्ने सोच बनाएको छु, जुन मेरो जीवनमा अघिल्लो २८ वर्षदेखि टुटेको थियो। 

युद्धमा पत्रकारिता पनि आमनेसामने
पत्रकारिताका आफ्नै मूल्यमान्यता छन्। हामीले पढ्दै आएको, विश्वविद्यालयमा अध्ययन अनुसन्धान हुँदै आएको कुरा के हो भने, पत्रकारिता व्यावसायिक र तटस्थ हुनुपर्छ। त्यस्तो पत्रकारिता कुनबेला सम्भव छ भने, जतिबेला समाज सामान्य अवस्थामा हुन्छ। तर, युद्ध अति नै अप्रिय अवस्था हो। तापनि कुनै निश्चित मान्छेको चाहना र इच्छाले हुने कुरा होइन यो। 

इतिहासका विभिन्न कालखण्डमा कुनै व्यक्तिको एक्लो चाहनाले युद्ध भएका थिएनन्। तर पनि, गहिरिएर अध्ययन गर्दा सिंगो मानव इतिहास नै युद्धको इतिहास भएको पाइन्छ। अहिले धेरै ठाउँमा रक्तपात नहोला, तर कुनै न कुनै खालका शीत युद्धहरू जारी छन्। ठाउँ–ठाउँमा प्रत्यक्ष युद्ध पनि चलेका छन्। यस्तो अवस्थामा पत्रकारिता कुनै पनि हालतमा तटस्थ हुँदैन भन्ने मेरो अनुभूति छ। 

मनऋषिका विभिन्न पुस्तकहरू।

पत्रकारिताले पनि परिस्थितिअनुसार आफ्नो पक्षधरता लिँदो रहेछ। बीचमा उभिएका जनतालाई छाडेर बाँकी समाजलाई युद्धले दुई भागमा बाँड्ने रहेछ। देशभित्रको सशस्त्र द्वन्द्वमा मुख्यतः सरकार र विद्रोही दुई पक्ष हुन्छन्। त्योबेला पत्रकारिता पेसा राज्यको चौथो अंगका रूपमा रहनै सक्दैन। किनकि, त्यतिबेलाको समाज समान्य अवस्थामा रहन सकेकै हुँदैन। त्यसकारण आन्तरिक युद्धको बेला पत्रकारिता पेशा होइन, युद्धकै अभिन्न अंग बनेर आउँदो रहेछ– या सरकारको, या त विद्रोहीको। 

प्रचारको साधन भनेको मनोविज्ञानलाई प्रभाव पार्ने महत्त्वपूर्ण औजार रहेछ। त्यसमाथि पनि विचार निर्माण गर्ने, जनतालाई सूचित र शिक्षित गर्ने पत्रकारिताले नै हो। हामीले द्वन्द्वकालमा नेपाली समाज युद्धको घमासान प्रक्रियामा गुज्रिरहेको देख्यौँ। शहरमा बसेर व्यावसायिक पत्रकारिता गरिरहेका हामीलाई युद्धको अभिन्न अंग हुनुपर्ने बाध्यता आइलाग्यो। 

पहिला हामी विद्रोही माओवादीका नैतिक समर्थक मात्र थियौँ। पछि गएर राज्यपक्षले हामीजस्तालाई पनि खुला रहन दिने अवस्था देखिएन। किनकि, हाम्रै सम्पादकसहित दर्जनौँको हत्या भइसकेको थियो। धेरै साथीहरू गिरफ्तारीमा परेका थिए। जसको राज्यपक्षले हत्या गर्‍यो, उहाँहरूले कहिल्यै बन्दुक बोक्नुभएको थिएन। बारुद कहिल्यै छुनुभएको थिएन। मैले पनि हतियार कहिल्यै बोकिनँ। केवल नैतिक समर्थन थियो। माओवादीले उठाएका मुद्दाहरू सही छन् भनिरहेका थियौँ, बस्। 

हाम्रा सम्पादक कृष्ण सेनले मारिनुपर्ने कसुर केही गर्नुभएको थिएन। उहाँको हत्यापछि युद्धविराम नै भंग हुने अवस्थामा पुगिसकेको थियो। त्यसपछि हामीले कि मारिनुपर्ने, कि त जेल जानुपर्ने स्थिति आयो। जेल गएर पनि बाँचिन्छ भन्ने आशा थिएन। बन्दीगृहभित्रै गोली हानेर मार्न पनि तत्कालीन सरकार तयार थियो। एउटा विकल्प मात्र हाम्रा लागि खुला रह्यो– जनतासँग प्रत्यक्ष जोडिएर सुरक्षित हुने। 

२०५७ पुस ३ गते विद्रोही माओवादीको पहिलो ‘जिल्ला जनसरकार’ घोषणा कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सुधीर शर्मा (दायाँ)सँगै मनऋषि।

हामीले आफ्नो लागि उपलब्ध त्यही एक्लो विकल्प अँगालेका हौँ। शहरमा गरिरहेको काम छाडेर गाउँ गएपछि युद्धका दैनिक क्रियाकलापहरू जे जस्ता थिए, तिनलाई नै प्रकाशमा ल्यायौँ। जहाँ जहाँ लडाइँ भइरहेका थिए, त्यहीँ गएर रिपोर्टिङ गर्‍यौँ। राज्य र विद्रोही पक्षबीच युद्ध चल्दाचल्दै हामीले गरेका रिपोर्टिङबारे मैले ‘क्रान्तिकारी पत्रकारिता’ भन्ने किताबमा लेखेको छु। 

पत्रकारिता गर्दा जुन विषयमा लेखिन्छ त्यसबारे प्रष्ट ज्ञान भने हुनुपर्छ। युद्ध पत्रकारिताको मात्र कुरा होइन, कृषि पत्रकारिता गर्नेहरूमा पनि कृषिसम्बन्धी आधारभूत ज्ञान हुनुपर्छ। वातावरण पत्रकारिता गर्नेले वातावरणबारे जान्नुपर्छ। पेसाका आधारभूत नियम पनि पालना गर्नुपर्छ। व्यावसायिकतालाई त झन् बिर्सने कुरै भएन। 

जो जसले जहाँबाट गरे पनि जनयुद्धकालको पत्रकारिता तटस्थ बिन्दुमा उभिएको थिएन। कि विद्रोहीसापेक्ष थियो, कि सरकारसमर्थक। जस्तो कि, कतिपय मिडियाले सोझै माओवादीलाई ‘आतंककारी’ विशेषण लगाउँथेँ। बिस्तारै साथीहरूको भाषा सुध्रियो र ‘सरकारद्वारा आतंककारी घोषित विद्रोही माओवादी’ भनेर लेख्न थाले। संकटकाल र त्यसपछि पनि सैन्य मुख्यालयको एकतर्फी वक्तव्यलाई नै मूलधार मानिएका मिडियाहरूले हुबहु कभर स्टोरी बनाउँथे। हामी त यसै पनि माओवादीको अभिन्न भएर युद्धको बिगुल फुकिरहेकै थियौँ। यसरी द्वन्द्वकालको पत्रकारितामा पनि सरकार र विद्रोही आमनेसामने थिए।  


सम्बन्धित सामग्री