Monday, April 29, 2024

-->

पत्रकार सम्मेलनमा ओली
सुन तस्करीमा सरकारको कुनै तह संलग्न भएको आशंका, उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने अडानमा यथावत्

ओलीले पत्रकार सम्मेलनमा जुनसुकै तहको भए पनि सरकारको संलग्नताबिना १०० किलो सुन तस्करी प्रकरण सम्भव नै नभएको दाबी गरे। सरकारले लिएको अडानबाट त्यो प्रष्ट हुने उनले बताए।

सुन तस्करीमा सरकारको कुनै तह संलग्न भएको आशंका उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने अडानमा यथावत्

काठमाडौँ– गत साउन १० गतेदेखि संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध हुँदै आएको छ। साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछि संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएको छ। 

एमालेको मागमा सत्तापक्ष तयार नहुँदा कानून निर्माण गर्ने थलो सत्तापक्ष र प्रतिपक्ष बीचको जुहारीमा पिल्सिएको छ। संसदका विषयगत समितिहरूले सभापति पाउन सकेका छैनन्, एक दर्जनभन्दा बढी विधेयक संसदमा अलपत्र छन्। यतिबेलै निरन्तर भइरहेको वर्षाको कारण देशैभरको जनजीवन बाढी पहिरोले अस्तव्यस्त बनाएको छ। तथापि संसदको अवरोध खुल्ने संकेत छैन। 

प्रतिपक्षी दलकै कारण संसद अवरुद्ध भइरहेको आरोप सत्तापक्षले लगाइरहेका बेला आइतबार एमालेले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्यो। पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली सरकारप्रति निकै आक्रामक देखिए। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ‘भ्रष्ट, नालायक र अयोग्य’ भनी टिप्पणी गरे। सुन तस्करी प्रकरणदेखि सरकारको चर्को आलोचना गर्न भ्याएका ओलीले पत्रकार सम्मेलनमा व्यक्त गरेका मुख्य प्रसंग यस्ता थिएः

सुन प्रकरणमा जुनसुकै तहको भए पनि सरकारको संलग्नता 
ओलीले पत्रकार सम्मेलनमा जुनसुकै तहको भए पनि सरकारको संलग्नताबिना १०० किलो सुन तस्करी प्रकरण सम्भव नै नभएको दाबी गरे। 

“एयरपोर्टबाट सियो र बटन नदेखीकन आउने जाने गर्न सक्छ। पेटी, चुरा, बेल्ट समेत खोलिन्छ। डिटेक्टर लगाइन्छ। शरीर जाँच हुन्छ। त्यस्तो गर्दा कुनै चिज बाहिर जान सक्छ र? ब्रेकशुमा सुन देखिएन रे। जाँच गर्ने निकायले देख्दैन। मेशिनले थाहा पाउँदैन। के हो भन्ने थाहा नपाउने उपकरण किन राखेको?” उनले भने, “सरकारको संलग्नताबिना भन्सार छली र चोरी गर्नेले मात्र गरेका हुन त? जुनसुकै तहको होस्, सरकारको संलग्नताबिना यो सम्भव छैन।” 

उच्चस्तरीय छानबिन हुनुपर्छ भनेर आफूहरूले माग राख्दा सरकारले जसरी अडान लिएको छ त्यसबाटै सरकारी संलग्नता प्रष्ट हुनेसमेत ओलीले बताए। “गठबन्धनकै सांसदलाई बोलेबापत समाउने र थुन्ने हिसाबले अडान लिनुको पछाडि के कारण छ? ३३ पटक बिनाअवरोध आएको सुन अहिले समातिएपछि एकपटक समात्यौँ भनेर अन्यत्र ध्यान मोड्न खोजिएको छ,” उनले भने। 

१०० किलो सुन तस्करी प्रकरणलाई ‘महातस्करी काण्ड’ भन्दै उच्चस्तरीय छानबिन समिति नबनेसम्म आफूहरू अडानबाट पछि नहट्ने अडान ओलीले राखे। उनले थपे, “सिगेरेटमा सुन, खुट्टाले हान्ने ब्रेकशुमा सुन, मोटरमा सुन, जुत्ता ल्याउँदा सुनै आउँछ, अर्को चिज ल्याउँदा सुन आउँछ। हामीले संसदमा यही कुरा राख्छौँ भनेर सत्तापक्षले होहल्ला गर्‍यो।” 

प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्मले राजीनामा दिनुपर्ने
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अयोग्य, नालायक, भ्रष्ट सरकारको नेतृत्व गर्नुभन्दा राजीनामा गर्नुपर्ने भन्दै आक्रोश व्यत्तः गरे। “गृह र अर्थमन्त्रीले राजीनामा नगरेर कसरी बस्न सक्नुभएको हो? जिम्मेवारी बिल्कुलै बहन नगर्दा पनि मन्त्री भएर झन्डा हल्लाएर हिँड्न गृहमन्त्रीलाई अप्ठ्यारो लाग्नुपर्ने हो,” उनले भने, “गृहमन्त्री खासमा राजीनामा बाहेक अरू कुरा भन्न संसद्को रोष्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो। जवाफदेहिता भएन।” 

क्विन्टलका क्विन्टल सुन एउटा कम्पनीले ल्याएको भन्दै ती कम्पनीका मानिसलाई कसले नागरिकता दियो भन्ने प्रश्न उनले गरे। त्यसको प्रतिवेदन गायब पारिएको भन्दै ओलीले आक्रोश पोखे। तार काट्ने, क्यामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी मर्काउने, कस्तो सरकार हो यो भन्दै विमानस्थलको सुरक्षा संवेदनशीलतामाथि पनि उनले प्रश्न उठाए। सरकारले सुन प्रकरणमा देखाएको बदमासीको उच्चस्तरीय छानबिन समितिमार्फत् नै न्यायिक छानबिन हुनुपर्ने अडान ओलीले पटक–पटक दोहोर्‍याए।  

छानबिनको माग राख्दा सांसदलाई पक्राउ गरियो
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरेको थियो। म्याद थपका लागि अदालतले अनुमति नदिएपछि सांसद शर्मा रिहा भए। एमालेले शर्माको गिरफ्तारीलाई लिएर पनि टिप्पणी गरेको थियो। पत्रकार सम्मेलनमा पनि ओलीले सुन तस्करी प्रकरणको छानबिनको माग राख्दा पक्राउ गरिएको भन्दै शर्माप्रति सहानुभूति दर्शाए। 

“सुनिल शर्माले छानबिन हुनुपर्छ भनेर कुरा उठाए। मन्त्रीको राजीनामा माग गरे। तर एउटा कार्यकर्ताबाट उजुरी हाल्न लगाएर आजको भोलि नै समातेर एउटा जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनुपर्दैन?” उनले भने, “२५ वर्ष अघिको कुरा होला। सरकार बने होलान्, त्यतिखेर किन हेरिएन? कहाँको छानबिनले उनी दोषी प्रमाणित भए? यसरी पक्राउ गर्ने हो भने त कोही बाँकी रहँदैन। यो बोल्न नदिने र तर्साउने काम हो।” 

सबै नेतालाई पनि छानबिन गर्ने भन्ने हल्ला चलाइएको भन्दै उनले यस विषयमा पार्टी गम्भीर रहेको बताए। उनले सांसद शर्मामाथि छानबिन नै नगर भनेर आफ्नो पार्टीले नभनेको बताउँदै जे पनि गर्न चाहिँ सरकारले नपाउने चेतावनी दिए। “उहाँको छानबिन प्रक्रिया भइरहेका बेला नगर भनेको त होइन नि। छानबिन गर। अदालतले तुरुन्तै छोड्नु भन्यो त। छानबिनमा ठहर्छ कि ठहर्दैन? एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हाल्न लगाएर देश छोडेर भाग्ला झै गरेर हतारमा गिरफ्तार गर्नुपर्छ र?”

३३ किलो सुन प्रकरण टुंगोमा पुर्‍याएको दाबी
१०० किलो सुन प्रकरणको उच्चस्तरीय छानबिन आयोग बनाएर अनुसन्धान गर्नुपर्ने माग राख्दै आएको नेकपा (एमाले) ले ६ वर्षअघि विमानस्थलबाट बाहिरिएपछि सिनामंगल क्षेत्रबाट गायब भएको ३३ किलो सुन प्रकरण टुंगोमा पुर्‍याएको दाबी गरेको छ। ओलीले उक्त प्रकरणको गहन अनुसन्धान गरेर दोषीलाई कारबाही गरिएको जिकिर गरे। 

यद्यपि उक्त सुन प्रकरणको छानबिनका लागि ओली नेतृत्वको सरकारले बनाएको समिति कार्यावधि नसकिँदै विघटन भएको थियो। त्यसका कारण समितिले पूरा अनुसन्धान नै गर्न पाएको थिएन। तर ओलीले भने, “हामीले छानबिन समिति बनायौँ, सुन त भेटिएन। अरू कुरा पनि भेटिएन, तर संलग्नमाथि कारबाही गरियो। अहिले पनि संलग्नहरू जेलमा छन्। सुन बाहिर पठाइसकेको थियो। कतै गायब पारिएको थियो। त्यो पत्ता लगाउन सकिएन। हामीले छानबिन गरेपछि कानूनको दायरामा ल्यायौँ। त्यसमा सरकारलाई चित्त बुझेको छैन भने थप छानबिन गरोस्। त्यतिबेला हामीले दोषीलाई कठघरामा उभ्याउने गरी छानबिन गरेको हो।” 

पूर्व राष्ट्रपति पार्टीमा सक्रिय हुने कुरा गरेर समस्या ल्याउन खोजिएको टिप्पणी 
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किन लागेको चर्चा अहिले चलिरहेको छ। यसबीचमा एमालेका नेताहरूले भेटेर उनलाई पार्टी राजनीतिमा आउन सुझाव दिइरहेको विषय पनि सार्वजनिक भइरहेका छन्। यही बीचमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोशिस भएको टिप्पणी गरेका छन्। 

“पूर्वराष्ट्रपति विद्या भण्डारी हाम्रो पार्टीका सबै नेताको नजिकको मित्र हो। पार्टीको आदरणीय व्यक्तित्व नै हो नि। हामीमध्ये कसैले भेट्नु नौलो कुरो होइन,” उनले भने, “विष्णु पौडेलले मात्र होइन, मैले पनि कुरा गरेको छु। अरूले पनि कुरा गर्नुभएको छ। यस्तो कुरा गरेको विषयलाई फरक हिसाबले हेर्नुभएन।” 

भण्डारीलाई पार्टी राजनीतिमा ल्याउन एमालेका नेताहरूको सक्रियता बढेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले यस्तो जवाफ दिएका हुन्। पूर्व राष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न उनले आग्रह गरे। “यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ,” उनले भने।


सम्बन्धित सामग्री