Sunday, April 28, 2024

-->

सुन तस्करीको ‘जालो तोड्ने’ प्रयत्न चल्दैगर्दा किन धमाधम बरामद हुनथाल्यो सुन?

चार दिनबीचमा अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौँका तीन ठाउँबाट बरामद २५ किलो तस्करीको सुनले तस्करहरू सक्रिय बनेको देखाउँछ। प्रहरी भन्छ– यसमा नेपाली भरियालाई प्रयोग गरेका भारतीय व्यापारी छन्।

सुन तस्करीको ‘जालो तोड्ने’ प्रयत्न चल्दैगर्दा किन धमाधम बरामद हुनथाल्यो सुन

काठमाडौँ– बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई व्यक्ति पक्राउ परेसँगै केही समययता सेलाएको सुन तस्करीको विषय फेरि चर्चामा आएको छ। यो चर्चाको कारण के हो भने त्यसलगत्तै, शुक्रबार बिहान काठमाडौँकै नागढुंगाबाट थप दुई किलो सुनसहित तीन व्यक्ति पक्राउ परे। मंगलबार मात्र प्रहरीले काठमाडौँको न्युरोडबाट करिब ८ किलो तस्करीको सुनसहित एक व्यापारीलाई पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले बिहीबार राति बरामद गरेको सुन फलाइ दुबईको उडान ‘एफजेड ५७३’ बाट भित्रिएको थियो। त्यो सुन बोकेर आएका थिए, गोरखाका चन्द्र घले। पहिल्यै यस्तो सूचना पाएको विमानस्थल प्रहरी र भन्सारको टोली बिहीबार बिहानैदेखि निगरानीमा खटिएको थियो।

बिहीबार राति काठमाडौँ ओर्लिएका घले दुई–दुई किलोका सुनका सात वटा बिस्कुटसहित पक्राउ परे। विमानस्थल प्रहरी प्रमुख, डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार मध्यराति करिब १२ बजे विमानस्थलमा उत्रिएका घलेले शरीरमै ‘प्लेट’ बनाएर राखेर सुन ल्याएका थिए। 

“भन्सारमा सुन आउँदै छ भन्ने सूचना पाएपछि हामी र भन्सार कार्यालय प्रमुखसहितको टोली गएर पक्राउ गरेका हौँ,” चन्दले उकालोसँग भने, “प्रारम्भिक अनुसन्धानले उनी सुन बोक्ने जिम्मेवारीमा रहेको देखिन्छ। सुनको मालिक मीन घले हुन् भन्ने सूचना पाएपछि राति नै मीनलाई पनि हामीले धुम्बाराहीबाट पक्राउ गरेका छौँ।”

विमानस्थल भन्सार कार्यालयले पक्राउ परेका व्यक्तिले सुन कसरी ल्याएका थिए भन्ने भिडियो नै सार्वजनिक गरेको छ। भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर, थप सुन जुत्ताभित्र समेत लुकाएर ल्याएको देखिन्छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले उकालोसँग भने, “सुन आउँदै छ भन्ने सूचना पाएपछि निगरानी गरिरहेका थियौँ। शुरूमा १० किलो सुन आउन लागेको सूचना थियो। त्यही सूचना पछ्याउँदा १४ किलो सुन बरामद गर्न सफल भयौँ।” 

यसको केही घण्टापछि प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई किलो तस्करीको सुनसहित तीन जनालाई काठमाडौँको नागढुंगाबाट पक्राउ गरेको छ। रसुवाबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको स्कर्पियो जिपमा सुन फेला फेला परेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए। पक्राउ पर्नेमा रसुवा, गोसाईंकुण्डका ग्यालछिङ तामाङ, सोही ठाउँका बिरु तामाङ र सुनिल भुजेल छन्। 

मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले न्युरोडबाट करिब ८ किलो सुनसहित एक व्यापारीलाई पक्राउ गरेको थियो। हुण्डी कारोबारमा समेत संलग्न रहेका उनीविरुद्ध प्रहरीले सोही कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ। ती व्यापारीले चोरी–तस्करीको सुन खरिद गरेर बिक्री वितरण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

चर्चित सुनकाण्डपछिको ‘सन्नाटा’ तोडिएपछि 
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सीमा राखेर बाहिरिँदै गरेको, हङकङबाट ल्याइएको करिब ६१ किलो सुन बरामद भएपछि पछिल्लो समयको ठूलो सुन तस्करी बाहिर आएको थियो। भन्सार जाँच पास भएर बाहिरिइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौँको सिनामंगल क्षेत्रबाट ६१ किलो सुन बरामद गरेको थियो। त्यसअघि, २०७९ पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ल्याएको अवस्थामा ९ किलो सुन बरामद भएको थियो, तर पछि त्यो सुन विमानस्थल भन्सारबाटै ‘गायब’ पारिएको थियो।

यी दुई घटनाको अनुसन्धानका क्रममा सत्ता गठबन्धनका केही नेताको पनि नाम जोडिएपछि यसले ठूलै चर्चा बटुल्यो। कतिसम्म भने, सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद्मा अवरोध गर्‍यो। पछि राजनीतिक तहमा ‘एक महिनामा उच्चस्तरीय समिति बनाउने’ सहमति भएपछि एमालेले संसद् अवरोध फिर्ता लियो।

त्यही सहमतिअनुसार नेपालमा यसअघि भएका सुन तस्करीका घटनाहरूको छानबिनका लागि भन्दै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बताएको छ। समितिले सुन तस्करी प्रकरणमा पक्राउ परेपछि पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ। भेप प्रकरणमा प्रहरीले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई समेत पक्राउ गरेको थियो जो अहिले पुर्पक्षका लागि कारागारमा छन्। 

त्यसयता सुन तस्करीका घटना सुनिन छाडेका थिए। सुन तस्करीको ‘जालो खोतल्न’ बनाइएको उच्चस्तरीय समितिले काम गरिरहेकै बेला फेरि शृंखलाबद्ध रूपमा तस्करीको सुन बरामद हुन थाल्नु संयोग मात्र हो त? “प्रहरीको सक्रियताका कारण पछिल्लो समय सुन बरामद भइरहेको छ, अहिले नै तस्करी बढ्यो भन्ने होइन। नेपालमा दैनिक रूपमा नै तस्करीको सुन भित्रिइरहेको छ,” प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, “सुन आउने क्रम निरन्तर चलिरहेको छ। त्यसको जालो माथिसम्म छ। हामीले सूचना पाएर निगरानी गरेकाले मात्र केही परिणाममा बरामद गर्न सकेका हौँ।”

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी अहिले नेपालमा भइरहेको सुन तस्करी रोकिने अवस्था नरहेको बताउँछन्। “नेपाल र भारतमा दैनिक सुनको माग जति छ, त्यसअनुसार आपूर्ति नहुँदा तस्करीकै बाटोबाट सुन भित्रिने गरेको छ। यो क्रम पूर्ण रूपमा रोकिने अवस्था नै छैन,” उनी भन्छन्, “यसमा सरकारले नियन्त्रण गर्न सक्छ। तर रोक्नै सक्ने अवस्था मैले देखेको छैन।”

अहिले बरामद भइरहेको सुन राज्य–संयन्त्रहरूको सक्रियताको परिणाम मात्र भएको उनको निचोड छ। बजारमा सुनको माग र आपूर्तिबीच जुन असन्तुलन छ, त्यहीकारण सुन तस्करी भइरहेको र तस्करी रोकिइहाल्ने सम्भावना पनि नरहेको उल्लेख गर्दै उनले भने, “नेपालमा सुन उडेर, गुडेर र हिँडेर आइरहेको छ। गुडेर रसुवाबाट, उडेर दुबई–हङकङबाट र हिँडेर सिन्धुपाल्चोकबाट सुन भित्रिइरहेको छ। यो खोलामा माछा बगेजस्तै छ।” 

बिहीबार राति विमानस्थलबाट बरामद भएको सुन ल्याउने व्यक्ति सजिलै सुन बोकेर आएका थिए। १४ किलो सुन आफैँले बोकेर (शरीरमा लुकाएर) ल्याउनुले सुरक्षा व्यवस्थालाई चुनौती दिएरै त्यसलाई बाहिर लैजान सकिन्छ भन्ने दुस्साहस देखिएको विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृत बताउँछन्।

“शरीरमा राखेरै त्यत्रो सुन ल्याउने हिम्मत गर्नुले यसमा केही न केही सेटिङ छ भन्ने प्रस्टै देखिन्छ। तिमी सुरक्षित छौ, ढुक्कले ल्याऊ भन्ने सन्देश हुनसक्छ। नत्र यसरी ल्याउन कसरी सम्भव भयो?” ती अधिकृतले भने। 

बरामद सुनसँगै पक्राउ परेका व्यक्ति सुन बोक्ने भरियाका रूपमा मात्र प्रयोग भएको प्रहरीको आकलन छ। उनको ‘ट्राभल हिस्ट्री’ पनि त्यस्तै देखिन्छ। पटक–पटक दुबई आवतजावत गरेका देखिने उनी पछिल्लोपल्ट सोमबार (मंसिर १८ गते) मात्र दुबई गएका थिए।

उनी विमानस्थलमा ओर्लनसाथ पक्राउ नपरेको भए सुन नै बरामद नहुने स्थिति रहेको प्रमुख भन्सार प्रशासक पाण्डेले बताए। “आगमन कक्षको डस्टबिनमा सुन बोकेको ज्याकेट फाल्ने, पछि फोहोर उठाउने व्यक्तिबाट त्यो सुन लिने योजना रहेछ। पहिल्यै हामीले पक्राउ गरेकाले त्यो योजना सफल भएन,” भन्सारका अर्का एक अधिकृतले भने, “यसअघि पनि उनले यसैगरी सुन ल्याएर विमानस्थलबाट बाहिर पुर्‍याएको देखिएको छ।” 

विमानस्थल प्रहरी प्रमुख, डीआईजी चन्दले विमानस्थलबाट विभिन्न मितिमा तस्करी भएका सुन प्रकरणको अनुसन्धानले सुन व्यापारी भारतीय, भरियाचाहिँ नेपाली हुने गरेको देखिएको बताउँछन्। विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद भएको १४ किलो सुन तस्करीबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ। समितिलाई पाँच दिनको कार्यादेश दिइएको छ।


सम्बन्धित सामग्री