Friday, May 03, 2024

-->

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ  प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पीडितहरूसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताएका हुन्।

१६ वर्षअघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो। सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित संघर्ष समितिका रूपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए।

“गौर हत्याकाण्ड पीडित संघर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ। संघर्ष समितिका मागका सम्बन्धमा वार्ता/संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री दाहालबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता/संवादमा आउन हार्दिक अनुरोध छ,” उक्त पत्रमा उल्लेख छ।

सोही पत्रका आधारमा शनिबार प्रधानमन्त्री दाहाल र सो घटनाका पीडितबीच प्रधानमन्त्री निवासमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।


सम्बन्धित सामग्री