Thursday, May 02, 2024

-->

कुवेत जान लिएको ऋण विचौलियाले खाइदिए, अहिले हिरासतबाटै धम्की दिन्छन्– ‘पैसा तिर्दिनँ’

वैदेशिक रोजगारीमा कुवेत जानका लागि वीरगन्जका अफरोज मियाँ र तुफान अलिले २ लाख ५० हजारका दरले बुझाएको रकम त फिर्ता पाएका छैनन् नै, पैसा उठाउन तीन महिनादेखि काठमाडौँ बस्दा अर्को १ लाख पनि सकिएको छ।

कुवेत जान लिएको ऋण विचौलियाले खाइदिए अहिले हिरासतबाटै धम्की दिन्छन्– ‘पैसा तिर्दिनँ’
इन्सेटमा अनवर राइन र गणेश कुमार तथा अफरोज मियाँ र तुफान अलि।

काठमाडौँ- वैशाख २२ गते, दिउँसो ३ बजे। वीरगन्जका अफरोज मियाँ र तुफान अलि कुवेत जाने तयारीका साथ गौशालास्थित मनसुर म्यानपावरको कार्यालय पुगे। कुवेतका लागि राति ११ बजेको उडान भएको म्यानपावरले जानकारी दिएको थियो।

उनीहरूले त्यो दिन म्यानपावरमै तीन लाख रुपैयाँ बुझाए। कुवेत जान प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले पाँच लाख लाग्ने बताइएको थियो। दुई जनाको गरी ‍दुई लाख भने वीरगन्जबाट १५ दिनअगाडि नै गणेश कुमारको खातामा हालिदिएका थिए। गणेश कुमार उक्त म्यानपावर सञ्चालक अनवर राइनका साथी हुन्।

म्यानपावरको कार्यालय पुगेर करिब चार घन्टा उनीहरूले त्यहीँ बिताए। साँझ ७ बजेतिर म्यानपावर सञ्चालक अनवर आफैँ आएर त्यस दिनको ‘फ्लाइट क्यान्सिल’ भएको र अर्को दिन उडान हुने बताए। यस्तो खबरले उनीहरू छाँगाबाट खसेजस्तै भए। दुवै जनाले तत्कालै प्रतिवाद गरे। तर अनवरले ‘तिमिहरू भोलि १० बजे आऊ, आजको टिकट क्यान्सिल भयो’ भनेपछि निराश हुँदै फर्किए।

अफरोज र तुफानलाई आशंका लाग्न थालेको थियो। तर अनवरले भनेको मान्नुबाहेक विकल्प थिएन। लगेज त्यहीँ छोडेर उनीहरू गौशालास्थित ‘सर्लाही होटेल’ फर्किए। आफूहरू त्यस रात निदाउन नसकेको अफरोज बताउँछन्।

भोलिपल्ट, वैशाख २३ गते अनवरले भनेको समयभन्दा एक घण्टाअघि नै म्यानपावर कार्यालय पुगे। तर अनवर आफैँ भने तोकेको समयभन्दा एक घण्टापछि आए। उनले त्यो दिन राती ९ बजे फ्लाइट भएको बताए। 

दिउँसो १ बजे अनवरले सम्झौतापत्रमा हस्ताक्षर गराउन चाबहिलस्थित इन्डेक्स म्यानपावरमा लगेपछि मात्र उनीहरूले थाहा पाए कि, उनी म्यानपावर सञ्चालक नभएर विचौलिया रहेछन्। अक्षरसम्म चिन्ने अफरोज र तुफानको मनमा चिसो पस्यो। तुफानले कक्षा ६ र अफरोजले ४ सम्म मात्र पढेका छन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने बेला इन्डेक्स म्यानपावरका कर्मचारीले तुफानलाई सोधे, "तपाईंलाई थाहा छ यसमा के-के लेखिएको छ?"

जवाफमा तुफानले आफूहरुलाई पढ्न नआए पनि ‘फूड प्याकिङ’को काममा जान लागेको र तलब १४० कुवेती दिनार भएको बताए। तर सम्झौतापत्रमा जम्मा ८० कुवेती दिनार लेखिएको थियो। काम पनि ‘फूड प्याकिङ’को नभएर कृषिसम्बन्धी थियो। यस्तो सुन्नेबित्तिकै तुफान र अफरोजले हस्ताक्षर गर्न मानेनन् र अनवरलाई पैसा फिर्ता गर्न भने।

तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

“फ्लाइट एक दिन ढिला भएकोमा त्यति चित्त नदुखे पनि काम र तलबबारे थाहा पाउँदा हामीलाई नरमाइलो लाग्यो। हामीले त्यतिखेरै पैसा फिर्ता दिन भन्यौँ। तर अनवरले अफिसमा गएर कुरा गरौँला भन्यो,” तुफान भन्छन्, “हामी पुन: अनवरको अफिस आयौँ। उसले न तलब बढाएको सम्झौतापत्र दियो, न पैसा फिर्ता गरिदियो।”

करिब पाँच घण्टा अनवरले त्यही तलबमा कुवेत जान फकाइरहे। उनीहरू मानेनन्। राति ८ बजे १२ जना जति अपरिचित मान्छे आए र उनीहरूमाथि धक्कामुक्का गरे। धम्की दिए। तर दुवै जनाले त्यति तलबमा विदेश नजाने अडान लिइरहे। राति १२ बजेपछि उनीहरूलाई कार्यालयबाट बाहिर निकालियो।

भोलिपल्ट अफरोज र तुफान फेरि अनवरको कार्यालय पुगे। कार्यालय बन्द थियो। त्यहीँबाट अनवरलाई धेरैपटक फोन गरे, तर उठेन। बरू दुई जनाकै नम्बर ‘ब्लक्ड’ भयो।

उनीहरूले तिरेको पाँच लाखमध्ये दुई लाख रुपैयाँको मात्र प्रमाण थियो। बाँकी तीन लाखको प्रमाण नहुँदा प्रहरीमा उजुरी गर्न जान सकेनन्। “हामीले शुरूमा चेक काटिदिने भनेका थियौँ, तर उसले चेक झन्झटिलो हुने र आफूसँग समय नभएको बतायो,” अफरोज भन्छन्, “हामीले पनि अब जाने दिन के किचकिच गर्नु भनेर बैंकबाट नगद नै ल्याएर दियौँ। जाने दिन त नठगिएला भन्ने लागेको थियो। अनवरले बेलाबेला हामीलाई टिकट पनि देखाउँथ्यो।”

तीन महिनादेखि काठमाडौँमा
अफरोज र तुफान तीन महिनादेखि काठमाडौँमै छन्। एकपटक अफरोजको बुबा बिरामी भएका कारण तीन दिनका लागि घर गएका थिए। त्यसयता पैसा फिर्ता लिने प्रयासमा काठमाडौँमै बसेका छन्। 

आफूहरू ठगिएको थाहा पाएको करिब १५ दिनपछि अनवरविरुद्ध उजूरी गर्न वैदेशिक रोजगार विभाग पुगेका थिए। त्यही उजुरीको आधारमा अनवर पक्राउ पनि परेका थिए। तर आफूले एक पैसा नलिएको बयान दिए। पछि आईएमईबाट दुई लाख बुझेको रसिदको आधारमा आफूले पैसा फिर्ता गरिदिने वाचा गरे।

अर्को तीन लाख लिएको अनवरले स्वीकार गरेको भिडियो पनि अफरोज र तुफानले विभागमा पेश गरेका थिए। तर विभागले कागजै चाहिने भन्दै त्यसलाई प्रमाण मानेन।

यो पनि: म्यानपावरबाट ठगिएका सुन्दरको कथा: ऋण तिर्न विदेश गए, उल्टै थपियो

होटेलमा बसेको र खाएको अतिरिक्त ३० हजार भने दिने सहमति भयो। त्यही सहमतिको आधारमा प्रहरीले अनवरलाई रिहा गरिदियो। तर बाँकी तीन लाखको प्रमाण नभएको भन्दै विभागले केही गर्न नसक्ने जानकारी दियो। अफरोज र तुफान पूरै पैसा नपाउनुभन्दा केही पैसा पाएर चित्त बुझाउन तयार भए।

त्यसको दुई दिनपछि अनवरले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई लाखको चेक दिए। अफरोजको नामको चेकमा जेठ १६ गतेको मिति थियो। तर बैंकमा चेक साट्न जाँदा त्यो खातामा पैसा नै थिएन। लगत्तै अफरोजले अनवरलाई सम्पर्क गरे, उनले दुई दिनपछि बैंक जान भने।

दुई दिनपछि जाँदा पनि पैसा साटिएन। यसरी अनवरले तीनपटक झुक्याएपछि उनीसँग अर्को एक महिना सम्पर्क हुन सकेन। उनीहरू फेरि वैदेशिक रोजगार विभाग पुगे। अनवर पुन: पक्राउ परे। अहिले उनलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

हिरासतमा अनवरले अफरोज र तुफानलाई भनेका थिए, “अब त मरिगए पैसा फिर्ता दिन्नँ। बरू अदालतमा २० हजार धरौटी बुझाउँछु र इन्डिया गएर बस्छु, कहिले नफर्किने गरी।”

महराजगन्ज प्रहरी वृत्तका डीएसपी अंगुर जीसीका अनुसार अनवरलाई बैंकिङ कसुरमा हिरासतमा लिइएको हो। “हामीले ल्याएको यहाँ दुई साता जति भयो। पीडितले पैसा फिर्ता पायो भने मिलापत्र हुन्छ, नभए अदालतमा पेश गर्छौँ,” डीएसपी जीसीले भने, “यदि, भागेर गयो भने अदालतबाट फैसला आएपछि फेरि समात्छौँ।”

वैशाखमै काठमाडौँ आएका अफरोज र तुफानले बस्न र खानकै लागि १ लाखभन्दा बढी खर्च गरिसकेका छन्। पहिला गौशालाको सर्लाही होटलमा बस्थे, पछि सस्तोमा बस्न त्यहीँको कृपा होटल सरे। तर अहिले पैसा सकिएपछि बालाजुस्थित एमडी तवीरको कोठामा बसिरहेका छन्। तवीर अफरोज र तुफानको मावलीतिरका आफन्त पर्छन्। उनी १७ वर्षदेखि काठमाडौँम ज्याकेट बनाउने काम गर्छन्। 

विदेश जान लिएको ऋण एजेन्टको खल्तीमा
विदेश जानुअघि अफरोज र तुफान गाउँमै कपडा सिलाउने काम गर्थे। तर घरखर्च पनि नपुग्ने भएपछि दुवैले विदेशिने योजना बनाए। छिमेकी सुरेन्द्रप्रसाद चौहानले उनीहरूलाई अनवरबारे सुनाए र उनकै जोडबलमा अनवर र तुफानबीच सम्पर्क भयो।

राम्रो कमाइ हुने ठाउँमा पठाइदिन आग्रह गरेपछि अनवरले कुवेतको सपना देखाए। त्यतिखेर उनीहरूलाई १४० कुवेती दिनार अर्थात् ६० हजार रुपैयाँ तलब हुने बताइयो। तर कुवेत उड्न उनीहरूसँग पैसा थिएन। अनवरले शुरूमा प्रतिव्यक्ति २ लाख ८० हजार लाग्ने बताएका थिए। उनीहरूले त्यति तिर्न नसक्ने भनेपछि अनवर २ लाख ५० हजारसम्ममा पठाउन तयार भए। 

यो पनि: मर्कामा परेका सेवाग्राहीहरू भन्छन्- वैदेशिक रोजगार विभागले सेवा दिन सकेन

तुफानसँग एकै रुपैयाँ थिएन। उनले पछि तीन गुणाले तिर्ने गरी गाउँकै तीन जनासँग ५० हजारका दरले डेढ लाख र अर्का एक जनासँग एक लाख लिए। अफरोजले भने १४ प्रतिशत ब्याजदरमा गाउँकै सहकारीबाट साढे दुई लाख ऋण लिए।

दुवै जनाले गएको फागुनमै ऋण लिएका थिए। तर त्यो ऋण अनवरले दमपच मात्र बनाएनन्, डुबेको पैसा उठाउने ध्याउन्नमा अर्को एक लाख पनि सकिएको छ। अनवरको कार्यालयमा छाडेको लगेज पनि फिर्ता पाएका छैनन्।

“साहुमहाजनको ऋण अब कहाँबाट तिर्नु? मेरो चार जना छोराछोरी छन्। उनीहरूलाई के गरी पढाउनु? यतिका दिन पैसा पाउने आशमै काठमाडौँ बसेँ, तर फिर्ता पाउने छाँटकाँट देखिँदैन,” तुफान भन्छन्, “अब त बस्ने ठाउँ पनि छैन। कानून पनि हाम्रो देशको कस्तो रहेछ? म जस्तो त कति ठगिएका छन्। के ठग्नेहरू यतिकै बाहिर बस्न मिल्छ? उनीहरूलाई कानून लाग्दैन?”

अफरोज यही चिन्तामा आफू मानसिक बिमार भएको बताउँछन्। “हामीले तिरेकोमध्ये त्यो तीन लाख फिर्ता नआउने बुझिसकेका छौँ। वैदेशिक रोजगार विभागले प्रमाण लिएर आउन भनेपछि भिडियो लिएर गयौँ, त्यसमा अनवरले साफसाफ स्वीकारेको छ तीन लाख लिएको,” अफरोज भन्छन्, “तर हाम्रो कस्तो खालको कानून हो बुझ्नै सकेको छैन। लिखित नै चाहिने रे। प्रमाण भएको दुई लाख फिर्ता पाए पनि हामीलाई थोरै राहत हुन्थ्यो।”


सम्बन्धित सामग्री