Friday, April 26, 2024

-->

म्यानपावरबाट ठगिएका सुन्दरको कथा: ऋण तिर्न विदेश गए, उल्टै थपियो

म्यानपावरका एजेन्टले सुन्दरलाई ३५ सय रियालसम्म तलब हुने बताएका थिए। तर, डेढ लाख रुपैयाँ बुझाइसकेपछि कुरा फेरे, २ हजार रियाल हुने बताए। साउदी पुगेपछि कम्पनीले ८०० रियाल मात्र दियो।

म्यानपावरबाट ठगिएका सुन्दरको कथा ऋण तिर्न विदेश गए उल्टै थपियो

काठमाडौँ- गएको जेठ ८ गते सोमबार, बिहान १० बज्न १५ मिनेट बाँकी थियो। काठमाडौँको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको मूलढोकामा भिड बढिसकेको थियो।

त्यो भिडले १० बजेपछि मात्र भित्र प्रवेश पायो। तर, कर्मचारी कामका लागि तयार थिएनन्। कुर्सी खाली नै थिए।

कार्यालय परिसरमा सेवाग्राहीका लागि केही कुर्सी राखिएका थिए। लहरै राखिएका ६-७ वटा कुर्सी सबै ओगटिएका थिए। त्यहीमध्ये एउटामा सर्लाहीबाट आएका सुन्दर बस्नेत कालो ब्याग च्यापेर बसिरहेका थिए। उनी विभागका निर्देशक गोपालराज तिमल्सिनालाई कुरिरहेका थिए। 

तिमल्सिना कार्यालयभित्रै भए पनि कार्यकक्षमा पुगिसकेका थिएनन्। अरू १०-१२ जना सेवाग्राही उनैलाई कुरिरहेका थिए। साढे ११ बजेसम्म पनि तिमल्सिना आफ्नो कार्यकक्षमा उपस्थित नभएपछि सोधीखोजी शुरू भयो। करिब १० मिनेटपछि उनी कार्यकक्षमा प्रवेश गरे। सेवाग्राहीले उनीसँग आफ्ना समस्या राख्न थाले। 

कुरा राख्ने पालो सुन्दरको थियो। उनी वैदेशिक रोजगारीमा जाँदा ठगिएका रहेछन्। तर, आफू ठगिएको ठोस प्रमाण नहुँदा निर्देशक तिमल्सिनाले प्रमाण नभएसम्म केही गर्न नसक्ने बताए। 

“म्यानपावरसँग पैसा असुल्न कि त ठोस् प्रमाण लिएर आऊ, कि पैसा माया मार। बिनाप्रमाण हामीले केही गर्न मिल्दैन,” तिम्लसिनाले सुन्दरसँग भने, “तिम्रो कागजातहरू ठीक छ। तिमी ठगिएकै हौ। तिमीले म्यानपावरको एजेन्टसँग उठाउन चाहेको पैसाका लागि तिमीले तिरेको पैसाको प्रमाण चाहियो।”  

सुन्दर तीन दिनअघि पनि विभाग पुगेका थिए। निर्देशक तिमल्सिनाले कागजात लिएर २-३ पछि आउन भनेका थिए। उनी ब्यागमा आफूले संकलन गरेका कागजात बोकेर गएका थिए। तर, निर्देशकको कुरा सुनेपछि निराश भए।

“अस्ति समस्या सुनाउँदा त्यतिखेर 'कागजात लिएर आऊ भाइ, तिम्रो काम हुन्छ' भनेका थिए। आज सारा कागजात लिएर आएपछि 'तिमीसँग प्रमाण छैन, प्रमाण लिएर आऊ' भन्छन्। खै के हो, के हो?” सुन्दर भन्छन्, “कहाँ जाऊँ, कसलाई भनूँ! आफूलाई केही थाहा छैन। देखेको त्यही एउटा म्यानपावर हो, त्यहाँ जाँदा त्यो मान्छे यहाँ छैन भन्छन्। प्रहरीकोमा जाँदा विभागमा पठाउँछन्। यहाँ प्रमाण छैन, मिल्दैन भन्छन्।”  

यसरी ठगिए सुन्दर
आफूलाई पुग्ने कमाइ नेपालमा नभएपछि सुन्दरले विदेश जाने योजना बनाए। सोहीक्रममा सुन्दरको भेट काठमाडौँको अनामनगरस्थित ‘नूर अपरचुनिटिज्’ म्यानपावर कम्पनीका एजेन्ट तिलकबहादुर रानाभाटसँग भयो। उनले सुन्दरलाई साउदी अरबमा 'ड्राइभिङ'मा तीन हजारदेखि ३५ सयसम्म तलब हुने प्रलोभन देखाए। 

रानाभाटको प्रलोभनमा सुन्दर पनि बहकिए। साउदी जान उनले रानाभाटलाई डेढ लाख नगद बुझाएका थिए। उनले रानाभाटको हातमै डेढ लाखको बिटो बुझाएका थिए। तर, पैसा दिएको प्रमाण रानाभाटले दिएनन्। उनले पनि विश्वास गरे। 

शुरूमा तीन हजारदेखि ३५ सय रियालसम्म तलब हुने भनेका रानाभाटले केही दिनमै आफ्नो बोली फेरे। रानाभाटले अब १८ सयदेखि दुई हजार रियाल तलब हुने बताए। त्यति पैसामा पनि सुन्दर विदेश जान तयार थिए। त्यतिखेर उनको मनमा एउटा कुरा मात्र खेलिरहेको थियो, “जसरी पनि केही पैसा बचत गरेर घरमा पठाउनु छ।”

सुन्दर २०७९ पुसमा साउदी पुगे। उनी त्यहाँको नाहिल कम्प्युटर कम्पनीको ट्रक ड्राइभरको रूपमा काम गर्न गएका थिए। तर, कम्पनीले उनको नाममा बनाएको सम्झौतापत्रमा भनेजति तलब थिएन। जम्मा ८५० रियाल मात्र तोकिएको थियो। शुरूमा त उनलाई आफूसँग त्यहाँको चालक अनुमतिपत्र नभएका कारण थोरै पैसा दिएको र बिस्तारै बढाइन्छ भन्ने लागेर चुप भए। त्यसपछि, चालक अनुमतिपत्र बनाउने प्रक्रियाबारे बुझ्न थाले। 

साउदी गएको तीन महिनामै उनले त्यहाँबाट चालक अनुमतिपत्र झिक्न सफल भए। अनुमतिपत्र झिकिसकेपछि उनलाई तलब बढ्छ भन्ने आशा थियो। कम्पनीले दिएको तलबसँग उनी असन्तुष्ट मात्रै थिएनन्, बरू आफू ठगिएको महसुस पनि गरे। कम्पनी म्यानेजरसँग उनले आफूलाई १८ सय तलब पाउने भनेर पठाइएको बताए। तर, म्यानेजरले म्यानपावरसँग त्यस्तो कुनै कुरा नभएको बताए। 

सात महिना बितिसक्दा पनि तलब नबढेपछि उनले नेपाल फर्किने निर्णय गरे। “महिनाको ४०० त खानामै खर्च हुन्थ्यो। केही पैसा व्यक्तिगत खर्च हुन्थ्यो। २०० रियाल बच्थ्यो। त्यति पैसा के घर पठाउनू?,” सुन्दर भन्छन्, “त्योभन्दा बढी कमाइ त मेरो यहीँ थियो नि। त्यत्रो लगानी गरेर पनि पैसा घर पठाउन नसकेपछि विदेशिएको अर्थ भएन।”

त्यसपछि उनी नेपाल आए। यता आएलगत्तै सिधै म्यानपावरको कार्यालय अनामनगर पुगे। कार्यालय त्यहीँ थियो, तर एजेन्ट रानाभाट थिएनन्। कार्यालयले उनी त्यहाँ नभएको बतायो। कहाँ गए भन्ने जानकारी पनि दिइएन।

सुन्दर आफ्नो पैसा फिर्ता पाउने कोशिशमा छन्। उनीसँग येथेष्ट प्रमाण नहुँदा पछुतो मानिरहेका छन्। “मलाई पूरै पैसा पनि चाहिएको छैन। एक लाख फिर्ता पाए हुन्थ्यो। मलाई त अब के गरूँ, नगरूँ भएको छ,” उनी भन्छन्, “केही पैसा त्यताबाट उठे आफैँ केही व्यापार गर्न सकिन्थ्यो। अहिले पैसाको लागि दौडेको दौडै छु। काठमाडौँ महँगो पनि छ, त्यसैले सकेसम्म चाँडै पैसा आइदिए हुन्थ्यो।”

लाखौँ ऋणले पुर्‍यायो अरब
सुन्दर पहिला सर्लाहीकै बर्हथवामा कुखुरा ओसार्ने गर्थे। दिनभरि साहुको पिकअप चलाएर कुखुराहरू मासु पसल पुर्‍याउँथे। उनी मासिक ३० हजार कमाउँथे। 

करिब दुई वर्ष बर्हथवामा कुखुरा ओसार्ने गाडी चलाइसकेपछि केही समय ट्रक चलाए। त्यसपछि अलिक बढी पैसा कमाउने आसमा काठमाडौँ आए। यहाँ क्रेन चलाउन थाले। त्यतिखेर उनको तलब ४० हजार थियो। ६-७ महिना क्रेन चलाइसकेपछि साहुले क्रेनको चालक अनुमतिपत्र बनाउन भने। उनीसँग साना गाडी र ट्रिपर चलाउने अनुमतिपत्र मात्र थियो।

सुन्दरसहित तीन दाजुभाइ छन्। जेठा दाइ यूरोपमा छन्। कान्छो भाइ भर्खरै सेनामा भर्ती भएका छन्। जग्गा किनेपछि परिवारलाई २० लाख ऋण लागेको उनी बताउँछन्। ऋण चुक्ता गर्न दाजुभाइलाई सहयोग गर्न विदेश गएको उनको भनाइ छ। 

“हाम्रो परिवार ऋणमा छ। मेरो यहाँको कमाइले ऋण तिर्न सक्ने अवस्था भएन,” सुन्दर भन्छन्, “त्यसैले विदेश गएर केही पैसा घर पठाउन सकिन्छ कि भनेर डेढ लाख थप ऋण लिएको थिएँ। तर, मेरो पैसा पनि त्यहीँ ऋणमा थपियो।”

भनिएको जति तलब नपाएपछि सुन्दरले साउदीमै अन्य कम्पनीतिर पनि काम खोजेका थिए। तर, चित्तबुझ्दो तलब नआउने भएपछि त्यही कम्पनीमा अतिरिक्त समय काम गरेर पैसा कमाउन पनि खोजेका थिए। अतिरिक्त समयको पनि पैसा पाएनन् र नेपाल फर्किए।

वैदेशिक रोजगार विभागमा उनले जेठ ९ गते पैसा फिर्ता पाउन उजुरी गरेका हुन्। तर, उनलाई न विभागको कर्मचारीउपर विश्वास छ, न राज्यका अन्य निकायप्रति। 

“विभागमा उजुरी दिएको छु। अब त्यो निवेदनको सुनुवाइ कहिले हुन्छ कुनै अत्तोपत्तो छैन। विभागको सरले प्रमाण खोजेर ल्यानुस भन्नुहुन्छ। म प्रमाण खोज्न जाँउ कि जागिर खोज्न, दोधारमा छु,” सुन्दर भन्छन्, “यो देशमा जताततै ठगहरू छन्। घरको पीडा कम हुन्छ भनेर विदेशिएँ, झन् पीडा थपिएको छ।”


सम्बन्धित सामग्री