Thursday, May 02, 2024

-->

केही राम्रा सहकारी सफल भए कसरी?

सहकारीको उद्देश्य र मर्मअनुरूप चलेका विशेषगरी कृषि सहकारीहरूले किसानलाई उद्यमी–व्यवसायी बनाउनेदेखि उनीहरूको जीवनस्तर उकास्नमा योगदान गर्दै संस्थागत दीगोपनमा पनि फड्को मारिरहेका छन्।

केही राम्रा सहकारी सफल भए कसरी

काठमाडौँ– दाङको लमही–२, हर्दवाकी गंगा घर्तीले ११ वर्षअघि घरनजिकैको सहकारी संस्थामा सदस्य बन्दा दुई वटा बाख्रा उपहार पाएकी थिइन्। त्यसैबाट बढ्दै गएर अहिले उनको खोरमा ६० वटा बाख्रा पुगेका छन्। यसबीचमा कैयौँ खसीबोका बेचेर उनले घरखर्च मात्र जुटाइनन्, भविष्यका लागि सहकारीमा बचत पनि जम्मा गर्दै गइन्। 

तीन वटा गाई पालेर छोराछोरीको पढाइ र घरखर्च टार्दै आएकी ३४ वर्षीया गंगा सहकारीबाट पाएका बाख्रा आफ्नो जीवनमा वरदान झैँ भएको बताउँछिन्। उनले पाँच कक्षाभन्दा माथि प्ढन पाइनन्। सानै उमेरमा विवाह भयो। श्रीमानको पनि जागिर थिएन। बिहान–बेलुका छाक टार्नै मुस्किल हुने गरेकोमा अहिले जीवनको स्वरूप नै बदलिएको अनुभव उनी गर्दैछिन्। 

२०६९ सालमा लमही–९, रिहारस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थामा सदस्य बनेकी गंगाले त्यहाँ शुरूमा मासिक १० रुपैयाँका दरले बचत जम्मा गर्दै गइन्। अहिले महिनाको १ हजार जम्मा गर्ने उनको कुल बचत ६० हजार रुपैयाँ पुगिसकेको छ। 

पहिले र अहिलेको आफ्नो पारिवारिक स्थितिबीच तुलना गर्दै उनी भन्छिन्, “पहिले साँझबिहानको गुजारा चलाउन पनि गाह्रो हुन्थ्यो। गाउँघरमा चल्न २/४ पैसा सापटी माग्दा कसैले पनि पत्याउँदैनथे। बाख्रापालन गर्न पनि दुःख त धेरै भयो। जे भए पनि अहिले आफ्नो खाँचो टार्न कसैसँग हात थाप्नु पर्दैन। मनमा लागेका कुरा समूहका दिदीबहिनीसँग राख्न र आफ्नो कारोबार आफै गर्न सक्ने भएको छु।” 

बाख्रापालनबाट वार्षिक २ देखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी सुनाउँछिन्। त्यति मात्र होइन, सहकारी र त्यसमार्फत विभिन्न समूहमा जोडिएपछि घरपरिवार र समाजले हेर्ने दृष्टिकोण नै बदलिएकोे गंगााको अनुभव छ। “सहकारीमा लागेपछि खाँचो टरेको मात्र होइन, इज्जत पनि बढेको छ। सहकारी र यसको समूहमा नबसेको भए यहाँसम्म पुगिँदैनथ्यो होला। 

ग‌ंगा घर्तीको बाख्रापालन। 

त्यस सहकारीमा आवद्ध भएपछि गंगा जस्तै धेरैको जीवन सहज भएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल र ग्रामिण महिला उत्थान केन्द्रकोे सहयोगमा २०६८ सालमा २५ जनाको एउटा समूह गठन भयो। त्यही समूह नै २०६९ सालमा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको नामले दर्ता भएको थियो। संस्थामा हाल १ हजार ३३५ सदस्य पुगेको अध्यक्ष देवीमाया थापाले बताइन्।  

शुरूआती ६ महिनासम्म सदस्यहरूले सहकारीमा मासिक २० रुपैयाँसम्म बचत गरेको उनी सुनाउँछिन्। त्यसरी गरेको बचत समूहकै सदस्यहरूबीच लगानी गर्न थालियो। “शुरूमा बालबच्चाको स्कुलको फी तिर्ने, कापीकलम किन्ने र अरू घरखर्च चलाउने काममा पनि सदस्यहरूले समूहबाट ऋण लैजान्थे,” थापा भन्छिन्, “अहिले व्यवसाय गरेर आम्दानी लिन सहकारीले एक सदस्यलाई दुई लाख रुपैयाँसम्म लगानी गरेको छ। त्यसरी लिएको ऋणबाट अधिकांश सदस्यले व्यावसायिक रूपमै बाख्रापालन गरेका छन्।” 

यो सहकारीले पशुपालनसहित कृषि क्षेत्रमा मात्र ३ करोड रुपैयाँ लगानी गरिसकेको छ। संथाकी अध्यक्ष थापाले पुराना दिन सम्झिँदै भनिन्, “११ वर्षअघि ६ महिनासम्म १० देखि २० रुपैयाँसम्म बचत गर्‍यौँ। आम्दानी बढ्दै गएपछि मासिक अनिवार्य बचत ५०, १०० गर्दै ५०० मा पुर्‍यायौँ। अहिले मासिक २५ सयसम्म बचत गर्ने दिदीबहिनी पनि हुनुहुन्छ।” 

सहकारीको उद्देश्य र मर्म नछोडी चलेका यस्ता कृषि सहकारीले किसानलाई उद्यमी व्यवसायी बनाउदेखि उनीहरूको जीवनस्तर नै उकास्नेसम्मका योगदान पुर्‍याएका छन्। 

कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको साधारणसभामा संस्थाकी अध्यक्ष देवीमाया थापा। 

सेनाको जागिर र वैदेशिक रोजगारी छाडेर सहकारीमा
वैदेशिक रोजगारीबाट १३ वर्षअघि नेपाल फर्किएका चितवन, माडीका जगतराज पोखरेलले शुरूमा कुखुरापालन व्यवसायमा हात हाले। आफूले कमाएको केही पैसामा ऋण खोजेर थपेको रकमले व्यवसाय गरे पनि त्यसबाट उनलाई खासै राम्रो भएन।

२०५४ सालतिर सेनामा भर्ती भएका पोखरेल, द्वन्द्वकालमा २०६१ सालतिर खाईपाई आएको जागिर छोडेर विदेशतिर हानिएका थिए। पाँच वर्ष कतारमा पसिना बगाएका उनलाई स्वास्थ्यले साथ दिएन। नेपाल आएपछि पनि उनले सोचेजस्तो उद्यम केही भएन। 

नजिकैको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर शुरूमा उनले तीन वटा गाई किने। दैनिक ८/१० लिटर दूध बेचेको आम्दानी नै पोखरेल परिवारको जीविकोपार्जनको स्रोत बन्दै गयो। सहकारीबाट ७ लाख ऋण लिएर अहिले उनले गाई र भैँसी गरी १८ वटा पशु पालेका छन्। यसबाटै आम्दानी गरेर दुई छोराछोरीलाई निजी स्कुलमा पढाउनेदेखि घर खर्च सबै धानेर सोही सहकारीमा मासिक बचत पनि गर्ने गरेको ४३ वर्षीय पोखरेल सुनाउँछन्। 

“सहकारीबाट ऋण लिएर पशुपालन व्यवसाय गरेपछि बालबच्चाको पढाइ र घरखर्च सबै यसैबाट चलाएको छु,” पोखरेल भन्छन्, “मासिक १२/१५ हजार बचत पनि भइरहेको छ।” घर नजिकैको सहकारीबाट ऋण लिएर लगानी गर्न पाउँदा धेरै सहज भएको उनी बताउँछन्। 

“गाउँकै सहकारीबाट लोन लिन पाएर धेरै सजिलो भएको छ। बैंकिङ प्रोसेस कस्तो हुन्छ हामीलाई थाहा पनि छैन,” उनी भन्छन्, “सहकारीका अध्यक्षले सबै सदस्यहरूलाई हामी लगानी गर्छौं, तपाईंहरू काम गर्नुस् भन्नुहुन्छ।  हामीलाई काम गर्न हौसला दिइरहनु भएको छ।” 

सहकारीका सदस्य जगतराज पोखरेल आफ्नो भैँसी फार्ममा ।

चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने माडी नगरपालिका–२, वरुवामा रहेको उक्त सहकारीले पोखरेल मात्र नभई उनीजस्ता धेरै परिवारलाई कृषि व्यवसायमा ऋण लगानी गरेर जीविकोपार्जनको बाटो देखाइदिएको छ। ६ हजार १ सय २५ जना शेयर सदस्य रहेको यो सहकारीले सदस्यहरूबीच ३३ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको छ। 

३८ करोड कुल पुँजी रहेको सहकारीले पशुपालन व्यवसायमा धेरै लगानी गरेको संस्थाका अध्यक्ष चुणामणि न्यौपाने बताउँछन्। “पशुपालन, माछापालन, कुखुरापालन लगायतका क्षेत्रमा बढी लगानी गरेका छौँ। मल, बीउबिजन उपलब्ध गराएर किसानलाई सहयोग पनि गरेका छौँ” न्यौपानेले भने। 

बिनाधितो अन्धाधुन्ध ऋण लगानी गरेका सहकारीमा पछिल्लो समय समस्या देखिएको आफूले सुनेको बताउँदै उनले भने, “सस्तो लोकप्रियताको नाममा ५० लाख रुपैयाँसम्म ऋण पनि धितो नराखी दिने सहकारीका अध्यक्ष र सञ्चालकहरूको कारण थुप्रै बचत तथा ऋण सहकारी संस्थाहरू संकटमा परेका छन्। सहकारीको मर्म त्यो हुँदै होइन।”

किसानका लागि दूध डेरीदेखि पशुआहार फ्याक्ट्रीसम्म सहकारीकै  
राम्रो सहकारीको आड लागेर झन्डै दुई दशकको दौरानमा बचत सदस्यदेखि सहकारी अध्यक्षसम्म भएका छन् वुटवल–१६, रुपन्देहीका गौपाल पौडेल। सहकारीबाट उनको जीवनले मात्र फड्को मारेको छैन, अन्य कैयौँ सदस्यले पनि जीविकोपार्जनको टेको पाएका छन्। बुटवल–१५ स्यामलारस्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रहेका ५८ वर्षीय पौडेल सहकारीका अध्यक्ष भन्दा पनि अगुवा कृषकका रूपमा ज्यादा परिचित छन्।

बुटवलमा अगुवा कृषकका रूपमा परिचित सहकारीका अध्यक्ष पौडेल।

रोजगारीका सिलसिलामा १२ वर्ष भारत बसेपछि २०५८ सालमा स्वदेश फर्किएका पौडेलले शुरूमा गाईपालन गरे। धान, गहुँको बीउ उत्पादन गर्ने सीप पनि उनीमा थियो। सदस्य रहेको सहकारीबाट ऋण लिएर गाईपालन र बाख्रापालनलाई व्यावसायिक रूपमै अघि बढाएका पौडेल धेरैका लागि उदाहरणीय मानिन्छन्। हाल उनका १५० बाख्रा र २० वटा गाई/भैँसी छन्। पौडेलका ठूला छोरा अध्ययनको सिलसिलामा अमेरिकामा छन् भने कान्छो छोरा बैंकका जागिरे छन्।

२०५८ सालमा सहकारीको स्थापनासँगै सदस्य बनेका उनी सञ्चालक र उपाध्यक्ष हुँदै चार वर्षदेखि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन्। यसबीचमा उनी आफ्नो निजी व्यवसाय विस्तारमा मात्र सीमित रहेनन्, टोलछिमेकका धेरैलाई  कृषि पेशामा आउन प्रोत्साहन गरे र उनीहरूका लागि सहकारीमा सहज वातावरण सिर्जना गरिदिए। समुदायमा आधारित भएर उदाहरणीय काम गरेको यो सहकारी संस्थामा २ हजार ६०० सदस्य छन्।

कृषिका विभिन्न क्षेत्रमा ७० करोड ऋण लगानी गरेको सहकारीले वार्षिक १ अर्बको कारोबार गर्छ। उक्त सहकारीले आफ्नै शेयर सदस्यहरूबाट मात्र बचत उठाउँछ। संस्थाले दुग्ध संकलन केन्द्र (डेरी) र पशुहरूका लागि साइलेज (मकैको हरियो बोट सुकाएर बनाइएको पशु आहार) फ्याक्ट्री पनि सञ्चालन गरेको छ।

डेरीमा शेयर सदस्यका साथै सहकारीभन्दा बाहिरका किसानले पालेका गाईभैँसीको दूध पनि संकलन हुन्छ। ९ वर्षअघि डेढ सय लिटर दूधबाट शुरू गरेको डेरीमा हाल दैनिक ४ हजार लिटरसम्म दूध संलकन हुने सहकारीका अध्यक्ष पौडेल बताउँछन्। कोभिड महामारीभन्दा अगाडिसम्म दैनिक ६ हजार लिटरसम्म पनि दूध संकलन भएको थियो। 

सहकारीको डेरी। 

पौडेलले आफ्नो अनुभवको सदुपयोग गर्दै पशु आहारको लागि सहकारीका तर्फबाट साइलेज फ्याक्ट्रीसमेत खोलेका हुन्। “हरियो मकै डाँठैसित काटेर त्यसलाई पेलेर गुन्द्रक जस्तै गरी तयार पारिने पशु आहार नै साइलेज हो,” उनी भन्छन्, “हरियो घाँस र दाना आपूर्तिको लागि प्याकेजिङ गरेर राख्छौँ। यो आहार उत्पादन भएपछि दुई वर्षसम्म पशुलाई खुवाउन सकिन्छ।”

पशुपालनको शुरूआती चरणमा उनी यस्तो किसिमको आहार विदेशबाट आयात गरेर गाईवस्तुलाई खुवाउँथे। दाना, चोकरभन्दा कम मूल्य पर्ने भएपछि सहकारीले आफैँ उत्पादन शुरू गरेको पौडेल बताउँछन्। 

“दाना किलोकै ५०/५५ रुपैयाँ पर्छ, साइलेज १३ रुपैयाँ किलोका दरले बिक्री गर्छौं। किसानलाई मकै लगाउन भन्छौँ र बोट किन्छौँ, सहकारी सदस्यबाहेकको पनि खरिद गरिदिन्छौँ। यसबाट किसान र सहकारी दुवैलाई फाइदा भएको छ,” पौडेलले  भने।

मकैको ढोँड किसानबाट प्रतिकिलो साढे चार रुपैयाँमा खेतबाट खरिद गरेर फ्याक्ट्रीसम्म ढुवानी पनि सहकारीले नै गर्छ। त्यसपछि उद्योगमा प्रशोधन गरेर प्याकेजिङसहित बिक्रीका लागि तयार हुन्छ।

साना किसान कृषि सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरूमध्ये ५० भन्दा बढीका गाईफार्म छन्। एक किसानले ३० वटासम्म गाई पालेका छन्। दूधको आम्दानीबाट सहकारीका शेयर सदस्यहरूले मासिक बचत जम्मा गर्छन्। दूध संकलन केन्द्र र साइलेज फ्याक्ट्री सञ्चालन गरेका कारण यो साना किसान सहकारीले आफ्ना शेयर सदस्य मात्र नभई वरपरका अन्य धेरै संख्याका किसानलाई पनि लाभ दिएको छ। 

सहकारीको आफ्नै प्याक्ट्रीबाट उत्पादित पशुआहार 'साइलेज' प्याकेजिङपछि तयारी अवस्थामा।

समुदायमा आधारित यस्ता सहकारीहरू आफ्ना सदस्यमा समर्पित हुँदा कुनै समस्या नदेखिने संस्थाका अध्यक्ष पौडेल बताउँछन्। “काठमाडौँमा दर्ता भएर बुटवलमा आएर शाखा खोल्ने सहकारीहरू डुबेका छन्।  स्थानीयस्तरमा आफ्नै छिमेकी दाजुभाइ, दिदीबहिनी एउटै समूहमा मिलेर बनेका संस्थाहरू हाम्रो जस्तै उदाहरणीय बनेका छन्,” उनले भने।

चिया कारखाना चलाइरहेको सहकारी
किसानलाई सेवा दिएर मुलुककै नमूना कृषि सहकारीमा पर्न सफल अर्को सहकारी हो, झापा जिल्लाको भद्रपुर नगरपालिका–२ मा रहेको साना किसान कृषि सहकारी संस्था। सहकारीको मर्मअनुसार समुदायको आवश्यकता पूरा गर्न २०५१ सालमा यो सहकारी स्थापना भएको थियो। यस संस्थाका सदस्य र सरकारी अनुदानको साझा लगानीमा खुलेको चिया प्रशोधन कारखाना जिल्लाकै पहिलो मानिन्छ। 

२६४ जना सदस्यबाट आधा लगानी जुटाई बाँकी ५० प्रतिशत सरकारको अनुदान थपेर खुलेको उक्त सहकारीले हालसम्म १० करोड भन्दा बढीको चिया बिक्री गरिसकेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिए। ६ करोडको लगानीमा २०७१ सालमा स्थापना भएको यो कारखाना १ बिघा २ कठ्ठा क्षेत्रफलका फैलिएको छ। कारखानामा प्रशोधन हुने गरी  किसानहरूले  ३१२ बिघा जग्गामा चिया लगाएका छन्। संस्थाले पनि १२ बिघा क्षेत्रमा चियाखेती गरेको छ। 

कारखानाबाट उत्पादित चिया आन्तरिक बजारमा ६० प्रतिशत खपत हुन्छ भने बाँकी ४० प्रतिशत भारत निर्यात हुन्छ। 

किसानले उत्पादन गरेको हरियो चियापत्तीलाई निजी क्षेत्रका उद्योगले उचित मूल्य नदिएपछि साना चिया किसानहरूले आफैँ उद्योग स्थापना गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कोइराला बताउँछन्।

चियाबाहेक पशुधन सुरक्षण कार्यक्रम, किसानलाई मलबीउ वितरण, पशुपालन, धानखेती लगायतका विभिन्न क्षेत्रमा काम गरेर आफ्ना शेयर सदस्य मात्र नभई वरपरका धेरै किसानलाई यो सहकारीले लाभ पुर्‍याएको छ। २ हजार ३८६ जना सदस्य रहेको सहकारीले आफ्ना सदस्यहरूमाझ ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।  

धेरै भूमिहीन र साना किसानहरूको जीवनस्तर उकास्नमा सहकारीले खेलेको भूमिकाबारे अध्यक्ष कोइराला भन्छन्, “२०२७ सालदेखि २०४१ सालसम्म यो ठाउँ सुकुम्बासीको बसोबास क्षेत्र थियो। अहिले संस्थाकै कारण सबैको आर्थिक हैसियत मजबुत भएको छ। हरेक परिवारले सहकारीको मद्दत लिएर कृषिबाटै उन्नतिप्रगति गरेका छन्। अब यो ठाउँलाई सुकुम्बासी क्षेत्र हो भनेर कसैले पत्याउँदैनन् ।” 

आफूहरू नाफाभन्दा पनि सदस्यकेन्द्रित भएकाले नै मुलुककै उत्कृष्ट सहकारीहरूको सूचीमा अटाएको उनी ठान्छन्। “समुदायमा आधारित सहकारीका हरेक निर्णयमा सदस्यको सहभागिता हुन्छ, सदस्यको लागि सदस्यद्वारा नै नियन्त्रित हुन्छ, सबै कारोबार पारदर्शी हुन्छ। उत्पादन भएका चिजलाई पनि बिक्री वितरण गर्न सहज हुन्छ,” कोइरालाले भने।

कृषि सहकारी संस्थाहरू आफ्ना सदस्यहरूको आवश्यकता पूरा गर्ने उद्देश्यले समुदायमा आधारित भई खुल्ने र सबैले मिलेर सहकार्य गर्ने मान्यतामा चलेकाले अपवादबाहेक यिनीहरू संकटमा परेको नदेखिएको सहकारीका विभागका एक अधिकारी बताउँछन्। 

साना किसानका हातमा एक खर्बभन्दा बढी लगानी

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष पाठक

देशभरका यस्ता सहकारीहरू ‘नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड’ मा संगठित पनि भएका छन् जसले मार्गदर्शन र समन्वयको काम गरिरहेको छ। संघ मातहतमा १ हजार १ सय सहकारी संस्था जोडिएको र ती सहकारीका सदस्यहरूको कुल पुँजी ६७ अर्ब रहेको संघका अध्यक्ष खेम पाठकले जनकारी दिए।

उनका अनुसार सरकारी अनुदानसहित साना किसानका हातहातमा पुगेर १ खर्ब भन्दा बढी लगानी भएको छ। हालसम्म दार्चुला बाहेक ७६ जिल्लाका ५ सय ५२ स्थानीय तहमा नेपाल कृषि केन्द्रीय सहकारी संघ जोडिएको उनले बताए । 

सदस्यहरूमा सहकारी आफ्नो हो भन्ने भावना विकास गराएपछि मात्र कुनै पनि संस्था दीगो र दीर्घकालीन रूपमा चल्न सक्ने अध्यक्ष पाठक बताउँछन्। “संस्थाले के गरिरहेको छ सदस्यले थाहा पाउनु पर्‍यो। संस्थाले पनि आफ्नो अवस्थाबारे सदस्यहरूलाई जानकारी गराउने र हरेक कारोबार पारदर्शी ढंगले सञ्चालन गर्ने गरेमा कहिल्यै समस्या पर्दैन र संस्था पनि बिग्रिँदैन,” पाठकले भने।

निश्चित व्यक्तिले आफ्नो स्वार्थअनुसार चलाएका सहकारीहरूमा मात्र समस्या देखिएको उनी ठान्छन्। “केही संस्था सञ्चालक र कर्मचारीहरूले ठेक्कापट्टा सरह जिम्मा लिएर चलाएका छन्। त्यस्ता सहकारी समस्यामा पर्छन्। किनभने तिनले सदस्यलाई उत्तरदायी नै बनाएका छैनन्,” उनी भन्छन्, “हामीसँग आवद्ध प्रत्येक संस्थाको व्यावसायिक योजना हुन्छ। त्यहीअनुसार अगाडि बढेमा कुनै दिन पनि संस्था बिग्रिने वा संकटमा पर्ने कुरै हुँदैन।”


सम्बन्धित सामग्री