Friday, May 03, 2024

-->

व्यवसायी नै भन्छन्– कालोबजारीको सुन प्रयोग गर्नु बाध्यता हो

सुनचाँदी व्यवसायीहरूका अनुसार अहिले अधिकांश व्यापारीहरू कालोबजारीकै सुन किनेर व्यवसाय चलाउन बाध्य छन्। पछिल्लो ११ महिना सुनको वैधानिक आयात एक तिहाईले घटेको भन्सार विभागको तथ्यांकले यसको पुष्टि गर्छ।

व्यवसायी नै भन्छन्– कालोबजारीको सुन प्रयोग गर्नु बाध्यता हो

काठमाडौँ– पहेँलो धातु सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भयो। यसअघि जेठ १९ गते छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आकासिनुमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र सरकारले बजेटमार्फत भन्सारदरमा गरेको वृद्धि मुख्य कारण हो। महासंघका अध्यक्ष माणिकरत्न शाक्य मूल्यवृद्धिसँगै सुनको मागमा पनि निकै कमी आएको बताउँछन्। अहिले सुनचाँदी व्यवसायको लागि ‘अफ सिजन’ पनि मानिन्छ। 

अन्तर्राष्ट्रिय बजारमा भने प्रचलित लगानीका प्रमुख क्षेत्रहरूमध्ये अमेरिकी डलर र पेट्रोलियम पदार्थभन्दा सुन सुरक्षित मानिएकाले यसको माग बढ्दो छ जसका कारण मूल्यवृद्धि भइरहेको छ। अमेरिकामा दुई ठूला बैंकहरू धराशायी भएपछि पनि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

बिहीबार दिउँसोको कारोबारअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स (३१.१० ग्राम) १ हजार ९६१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ।

यता आन्तरिकतर्फ सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महशुलदर बिजक मूल्यको १० प्रतिशतबाट १५ प्रतिशतसम्म पुर्‍याएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५०० रुपैयाँ रहेकोमा हाल १४ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।  

व्यवसायीका अनुसार भन्सारदर बढ्दा मूल्य मात्र बढेको छैन, तस्करीको सुनको प्रयोग पनि बढ्दै गएको छ।

सुनचाँदीको कारोबार गर्ने काठमाडौँका एक ठूला व्यवसायीले उकालोसँग बताएअनुसार, अहिले अधिकांश सुनचाँदी व्यवसायीहरूले कालोबजारीकै सुन किनेर व्यवसाय चलाइरहेका छन्। “भन्सारका कारण त्यसै त मूल्य बढेको छ, त्यसमाथि सुनचाँदी व्यवसायी महासंघले राखेको भाउभन्दा बैंकबाट खरिद गर्दा अझै महँगो पर्छ। बजारमा सस्तो पाइराखिएको छ, त्यहाँ किन किन्ने?” ती व्यवसायी प्रश्न गर्छन्।

आफ्नो नाम गोप्य राखिदिन आग्रह गर्ने ललितपुरका अर्का व्यवसायी पनि माग बढी हुँदा ‘ब्ल्याक मार्केट’बाट नै सुन खरिद गर्ने गरेको बताउँछन्। 

नेपालमा वैधानिक रुपमा सुन आयात वाणिज्य बैंकहरुले गर्छन्। उनीहरुले आयात गरेर व्यवसायीलाई वितरण गर्ने सुनको कोटाअनुसार सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा एउटा पसलले हप्ताको अधिकतम ५० ग्राम (करिब ४ तोला) मात्र सुन खरिद गर्न पाउँछन्। विवाहको सिजनमा झुम्मिने ग्राहकको माग यो परिमाणले धान्न नसक्ने हुँदा कालोबजारीकै सुन किन्नुपर्ने बाध्यता रहेको ती व्यवसायी बताउँछन्।

“सिजनमा साताको १० तोलासम्म माग आउँछ। हामीले बढीमा ५० ग्राम मात्र किन्न पाउँछौँ, नपुगेको सुन रिफाइनरीहरूबाट किन्ने गरेका छौँ,” ती व्यवसायी भन्छन्, “त्यसरी किन्दा कहिलेकाहीँ १/२ हजार पनि सस्तो पर्छ, अभावको बेला महँगो पनि पर्ने गर्छ।” 

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्य पनि व्यवसायीबाट यस्ता गुनासा आइरहेकाले तस्करीको सुन प्रयोग भएको हुनसक्ने स्वीकार्छन्। “महासंघका तर्फबाट हामीले अवैध तरिकाले खरिद गर्दा भोलिका दिनमा व्यवसायमाथि नै नराम्रो असर पर्न सक्छ। त्यसकारण त्यसो नगर्न सम्झाइरहेका हुन्छौँ,” उनले भने।

आयात घट्यो, मूल्य बढ्यो
असार मसान्तमा सकिएको आर्थिक वर्ष २०७९/८० को ११ महिना (साउन–जेठ) सम्म ३ हजार ४९३ किलोग्राम हाराहारीमा सुन आयात भएको भन्सार विभागको तथ्यांक छ। आयातित परिमाण त्यसभन्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ६८४ किलोग्राम कम हो। आर्थिक वर्ष २०७८/७९ मा ५ हजार १७७ किलोग्राम सुन आयात भएको विभागको तथ्यांक छ। 

पछिल्लो ११ महिनामा आयातित परिमाण ३२.५३ प्रतिशतले घटे पनि सुनको मूल्य भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा सुनको आयातबाट ४० अर्ब २८ करोड ९१ लाख रुपैयाँ बाहिरिएकोमा बितेको आर्थिक वर्षमा ४४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँको आयात भएको छ।

दैनिक कोटाको सुन पनि खरिद भएन‍
सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा विवाहको समयमा दैनिक २० किलोसम्म सुनको खपत हुन्छ। अहिले सुनको माग र खपत कम हुँदा दैनिक कोटाको १० केजी सुन पनि खरिद नभएको महासंघका महासचिव वज्राचार्य बताउँछन्। 

“अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा महासंघले राख्ने मूल्यभन्दा नेपालका बैंकहरूले राख्ने सुनको खरिददर प्रतितोला २०० देखि ३०० सम्म बढी हुन्छ। भाउ नमिल्दा बजारबाट उठाउन सकेको छैन। जरुरी हुनेहरू कसैकसैले उठाइराखेका छन् नत्र उठाएको अवस्था छैन,” उनले भने। साउन महिनाभर ‘अफ सिजन’ भएकाले पनि माग कम हुँदा खरिद गर्नु नपरेको उनी बताउँछन्।

नेपालमा सुन आयात गरेर वितरण गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ। बैंकहरूले हाल दैनिक १० केजीका दरले सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गर्छन्। विदेशी मुद्रामा चाप परेको भन्दै नेपाल राष्ट्र बैंकले २०७८ फागुनमा वाणिज्य बैंकहरूका लागि सुनको दैनिक खरिदमा १० किलोको कोटा तोकेको थियो। त्यसअघि इजाजतप्राप्त वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्थे।  

राष्ट्र बैंकले तोकेको कोटाले विवाह लगायतका सिजनमा अपुग हुने भन्दै कोटा बढाउन व्यवसायीले पटक-पटक माग गर्दै आएका छन्। अहिले भने बैंकहरूले ल्याउने कोटाको सुन पनि खरिद नभएर मौज्दात छ। बैंकर्स संघका सदस्य एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ दुई महिनादेखि सुनको माग ठप्प जस्तै भएको बताउँछन्। 

अहिले बैंकहरूसँग सुन मौज्दातमा रहेको तर नयाँ माग नभएको उनको भनाइ छ। “करिब दुई महिना जति भयो व्यवसायीबाट माग नै आएको छैन। अब असोजतिर मात्र माग हुन्छ होला,” उनले भने। 

अन्तर्राष्ट्रिय बजार मूल्यकै आधारमा आफूहरूले खरिद गर्ने र बिक्री गर्दा थोरै मात्र फरक पर्न सक्ने खालिङको भनाइ छ। “आयात र बीमाशुल्कमा बैंकको न्यूनतम लागत जोडेको हुन्छ,” उनले भने, “त्यो बैंकहरूपिच्छे फरक हुन्छ तर एकदम नोमिनल मात्र हुन्छ।”


सम्बन्धित सामग्री