Saturday, April 27, 2024

-->

सभामुख भन्छन्– सदनको अवरोध हटाउन सत्ता र प्रतिपक्षबीच समझदारी जुटाउने कोशिशमा छु

सभामुख घिमिरेले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न आफूले सत्तापक्ष र प्रतिपक्षबीच मध्यस्थता गरिरहेको बताएका छन्।

सभामुख भन्छन्– सदनको अवरोध हटाउन सत्ता र प्रतिपक्षबीच समझदारी जुटाउने कोशिशमा छु

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद्मा देखिएको अवरोध हटाउन सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी जुटाउने कोशिश गरेको बताउँदै छलफलका माध्यमबाट समस्या समाधान गरेर अघि बढ्ने सकिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलबाट संसद् अवरोध भइरहेको बेला उनले संसद्मा विषय उठिसको विषयलाई वार्तामार्फत समाधान गरेर अघि बढ्न उचित हुने बताएका हुन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुखको भूमिका कसैको पक्ष वा विपक्षमा नरहने बताउँदै उनले संसद्मा कोलाहल हुन दिनुभन्दा दुवै पक्षबीच वार्ताका माध्यमबाट समझदारी जुटाउन आफूले मध्यस्थता गरिरहेको जिकिर गरे।

“इस्यु उठेपछि टुंग्याउने कुनै विधि, बाटो, तरिका वा समाधान गर्ने या इस्युलाई थाँती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाऊँ भन्ने ठाउँमा ल्याउन उहाँहरूका बीचमा समझदारी हुनुपर्छ,” उनले भने, “समझदारी गर्न नेता, पार्टीहरूका बीचमा कुरा गराउन विषयमा पहिलो कुरा, राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ। दोस्रो कुरा, मैले सहजीकरण, मध्यस्थताको रूपबाट उहाँहरूलाई बसौँ, बस्नुस्, छलफल गरौँ, गर्नुस्, भनेर निरन्तर २० गतेपछि सदन चल्न नसकेपछि त्यो कोशिशमा छु।”

उनले प्रधानमन्त्री दाहाललाई सम्पर्क गरी प्रतिपक्ष दलहरूसँग वार्ताको पहल गरी समस्या समाधान गर्दै संसद् सुचारु गर्न आग्रह गरेको बताए। साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरूलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो छ? भनेर प्रश्न गरेको पनि उनले सुनाए।

जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले आफूले उठाएका विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताएको जानकारी दिए। उनले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने आफूले विश्वासमा लिएको बताए। 

सभामुखको भूमिका संसद्मा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा संसद्लाई झगडा गर्ने स्थान बन्न नदिने उनको भनाइ थियो। “विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ। त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोशिश गरिरहेको छु,” उनले भने।

केही दिनअघि प्रधानमन्त्री दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरूसँग धाएको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका छन्।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्नै नसक्ने बताउँदै संसद् अवरोध गर्दा संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ। यता, सत्ता गठबन्धन भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेर बसेको छ।


सम्बन्धित सामग्री