Friday, May 03, 2024

-->

खेतमा विकसित पोखरा शहरले खाइदियो ४० वर्षअघि ५७ करोड लगानी भएको सेती नहर

पोखराको उर्वर जमिन घरैघरले भरिएपछि चार दशकअघि नै आधा अर्बभन्दा बढी लगानीमा बनेको सेती नहर मरेतुल्य भएको छ। खेती हराएसँगै शहरको बाटो बग्ने नहर सेतीमै फर्केर अस्ताउँछ।

खेतमा विकसित पोखरा शहरले खाइदियो ४० वर्षअघि ५७ करोड लगानी भएको सेती नहर
कुनैबेला सेती नहरको सिँचाइले अन्नभण्डार बनाएको पोखरा उपत्यकाको मैदानी भागमा ढपक्कै ढाक्नेगरी फैलिँदो शहरी बस्ती। तस्वीर: श्याम/उकालो

पोखरा– तीव्र शहरीकरण भइरहेको नगर हो पोखरा। कामदारहरू दिनहुँ घरको जग खनिरहेका देखिन्छन्। निर्माण सम्पन्न भएर ठडिइरहेका भवनहरूले खाली जमिनका टुक्राहरू टम्म भरिँदै गएका छन्।  

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कास्की जिल्लाको कुल ६ लाख जनसंख्यामध्ये ५ लाखभन्दा बढी त पोखरामै बस्छन्। गाउँ छाडेर पोखरा बसाइँ सर्नेको संख्या द्रूत गतिमा बढिरहेको छ। बाहिरी जिल्लाबाट रोजगारी र पढाइका लागि पोखरा आउनेको आकर्षण त छँदैछ। शहरीकरणमा पोखराले जुन ‘स्पीड’ समातेको छ, त्यसकै कारण प्रयोगविहीन भएको सेती नहरमा बग्ने पानीले यो शहरको चार दशकयताको कथा लेखिरहेको छ। 

पोखरा शहर र सेती नहरको ऐतिहासिक नाता
पहिले लहलह धान झुल्ने पोखराको फाँटमा लाहुरेहरूले कमाएर ल्याएको सम्पत्ति लगानी गरे। नयाँ-नयाँ आवास र व्यावसायिक प्रयोजनका घरहरू बन्दै र थपिँदै गए। धान फल्ने खेत धमाधम घडेरीमा बदलिँदा शहर घना बन्दै गयो। जमिनको मूल्य पनि आकासियो। त्यही मेसोले फेवाताल किनारको विशाल फाँटले आधुनिकता समात्यो र पोखरा महानगरका रूपमा आफूलाई बदल्ने अवस्थामा आइपुग्यो।  

पोखरा अहिले जत्तिको शहर हुनुअघि कृषिका लागि उर्वर उपत्यका थियो। कृषिको सम्भावना देखेर विदेशी दातृ संस्थाले सेती नदीको पानीबाट सिँचाइ योजना बनाइदिए। त्यसले पोखरालाई अनाज उत्पादनमा फड्को मार्न मद्दत गरेपछि पहिलेको सुक्खाग्रस्त जमिनबाट पोखरेलीले मनग्गे उत्पादन पनि लिए। तर, कुनैबेला पोखरेलीलाई पाल्ने सिँचाइ नहर शहरीकरण तीव्र भएसँगै प्रयोगविहीन बन्न पुग्यो। खेतीयोग्य जमिन घरैघरले भरिएपछि पहिले करोडौँ लगानीमा बनेको नहरको पानी अहिले कौडीको भाउमा बगेर खेर गइरहेको छ। 

सिँगो पोखरालाई सिँचाइ गर्ने गरी चीन सरकारले २०३८ सालमा ‘सेती सिँचाइ योजना’ बनाइदियो जसको तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए। हालको पोखरा महानगरपालिका–१६ मा पर्ने जौबारीमा बाँध बाँधेर सिंगै उपत्यका सिञ्चित हुने गरी योजना पूरा गरिएको थियो। निर्माण सम्पन्न भएर उद्घाटन गरिएको चार वर्षपछि २०४२ सालबाट मात्रै नहर सञ्चालनमा आयो। त्यतिबेला नै करिब ५० करोड लगानीमा बनेको सेती सिँचाइ योजनाले वर्षातमा १ हजार ३० हेक्टर क्षेत्रफल जमिनमा नियमित सिँचाइ गर्न पुग्छ। पानीको बहाब कम हुने भएकाले हिउँदमा चाहिँ ३ सय २० हेक्टर जमिनमा मात्र सिँचाइ गर्ने यस आयोजनाको क्षमता थियो। 

चार दशक पुरानो कथा अहिले लगभग पूरै बदलिएको छ। खेतीयोग्य जमिन मेटिँदै गएसँगै सेतीबाट ‘लिफ्टिङ’ गरेर सिँचाइका लागि ल्याइएको पानी घना बस्तीको बीचबाट बगेर फेरि सेतीमै मिसिन पुग्छ। 

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ सेती सिँचाइ योजना पोखरेलीलाई कृषि कर्म गर्न वरदानै बनेको मान्छन्। सेतीको पानीमा चुन मिसिएकाले शुरू शुरूमा त किसानले दुःख पाए। त्यो बेला अहिले जस्तो ट्र्याक्टरको प्रयोग आइसकेको थिएन। त्यसमाथि किसानले ट्र्याक्टर प्रयोग गर्न सक्ने आर्थिक क्षमता पनि थिएन। जोत्न गोरुले तान्ने हलो नै प्रयोग हुन्थ्यो। 

सिँचाइ गर्ने खेत मासिए पनि अटाईनअटाई पानी बगिरहेको चार दशक पुरानो सेती नहर। तस्वीर: श्याम/उकालो

“सिँचाइको पानीले बगाएर ल्याएको चुन मिसिएर माटो कसिलो हुन्थ्यो। जोत्ने बेला हलो अड्किने, फाली भाँचिनेसम्मका घटना घटे। त्यसपछि मुहानमै चुन थिग्र्याएर पानी मात्र खेतमा पठाउने प्रविधि आयो,” ४० को दशकमा पोखराका उपप्रधानपञ्च रहेका श्रेष्ठ सम्झिन्छन्, “त्यसपछि खेतीपातीको काम सजिलो भयो, अनाज उत्पादन बढ्यो र पर्स्याङ लगायतका क्षेत्रमा तरकारी खेती मौलायो।” 

पोखराको कृषि प्रणालीमा फेरबदल ल्याउने सेती सिँचाइ योजनासँगै पोखरेलीको जीवनशैली पनि बदलियो। उनीहरूलाई खेतीपातीको उब्जनीभन्दा जग्गा ‘प्लटिङ’ र बेचबिखनको आम्दानी आकर्षक लाग्न थाल्यो। 

“दीर्घकालीन योजनाविना त्यसरी जग्गाको किनबेच गर्नु कुप्रथा थियो जसले पोखराको भविष्यलाई नकारात्मक दिशातिर मोडिदियो,” उनी भन्छन्, “हेर्दाहेर्दै सेतीको पानी सिँचाइका लागि हो भन्ने ठाउँ पनि बाँकी रहेन। ऊबेलाको कुँडहर फाँट घरले भरिँदै जाँदा पछिल्लो समय त अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्यो। यसबीचमा यति घरहरू बने कि सिँचाइको योजना परिकल्पना गर्दा यहाँ यस्तो घना शहर बस्ला भनेर सोचिएको पनि थिएन होला।”

बस्ती विकासले सेतीको पानी सेतीमै मिसाउनुपर्ने बाध्यता पोखरेलीमाथि आइलाग्यो। नहरमा बगेको पानीबाट सिँचाइ गर्नुको सट्टा त्यसको एउटा निकास विजयपुर खोलामा र अर्को फेवातालमा लगेर मिसाइयो। खेतीका लागि वरदान बनेको सेती नहर पछि त शहरी विकासको व्यवधान हुन पुग्यो। शहरी जनजीवन उत्कर्षतिर लम्किँदा सेती नहरमा अटाईनअटाई बग्ने पानी कैयौँ पोखरेलीहरूका लागि जिन्दगानी अन्त्य गर्ने थलोमा समेत बदलियो। 

“पछि गएर नहरले भकाभक मान्छे निल्न थाल्यो। गहिरो नहरमा आत्महत्या गरे पनि भयो, हत्या गरेर बगाए पनि भयो। ज्यान बचाउन नहरको डिलमा जाली नलगाई नहुने स्थिति आयो,” कवि श्रेष्ठ शहरले बदलेको नहरको भूमिका सुनाउँछन्, “अब त यो पानी पोखरावासीलाई उपयोगी भन्दा पनि बोझिलो हुने अवस्थामा पुगेको छ।”  

खेतीका लागि प्रयोगमा नआएको पानीको वैकल्पिक सदुपयोगतर्फ सरोकारवाला निकाय र आम जनताको ध्यानै नगएको उनी बताउँछन्। “ठाउँ–ठाउँमा पोखरी बनाएर मनोरञ्जनस्थल बनाउन सकिने सम्भावना छ,” श्रेष्ठ भन्छन्, “सेती नदी आफैले बनाएको सुरुङभित्र हराउँदै जाँदा पोखरेलीका लागि सतहमा बग्ने पानीको महत्व बढ्दो छ। तर, सेती नहरको खेर गइरहेको पानी व्यवस्थापन गर्ने सोच र योजना न महानगरसित छ न आम नगरवासीमा नै।” 

यतिबेला सेती नहरको उपयोगिता वरपरका कतिपय घरको फोहोरमैला बगाउने ढलमा सीमित छ। खेत मासिएर शहर बन्दैमा नहरले यसरी अलपत्र हुनुपर्दैन भन्ने उदाहरण यसको निर्माण गरिदिने छिमेकी राष्ट्र चीनमै प्रशस्त छन्। पोखराका समाजअध्येता विश्व सिग्देल चीनमा २ हजार वर्षअघि त्यहाँका राजाले बनाएका कैयौँ नहर आजसम्म पनि जीवितै राखिएको आफ्नै आँखाले देखेको बताउँछन्। 

फेवा तालको किनारमा विकसित पोखरा शहरको भव्यता। तस्वीर:उकालो

“त्यहाँ उहिलेका उर्वर फाँट कालान्तरमा ठूला शहर भए। अब खेतीपाती गर्ने जमिनको टुक्रा पनि बाँकी छैन। तर, चीन सरकारले प्राचीन नहरलाई नदीको जस्तै कञ्चन सफा पानी बगाएर जस्ताको तस्तै राखेको छ। यसको अर्थ नहरको उपयोग सिँचाइमा मात्र सीमित नहुने रहेछ। किनभने यो त इतिहास र सम्पदा पनि हो। पर्यावरणीय सन्तुलनमा खर्बौ खर्च गर्दा पनि नहुने काम शहरमा जीवित एउटै नहरले गर्दोरहेछ।” 

खेत मासिएर बस्ती विकसित हुने गतिलाई रोक्न नसकिए पनि ऐतिहासिक नहरलाई चीनमा जसरी नै स्वच्छ र कञ्चन पानीका साथ अतिक्रमण हुनबाट जोगाएर राख्नुपर्ने उनी बताउँछन्। पोखराको हरियाली र पर्यावरण बचाउन ठूलो धनराशि खर्चंदा पनि सम्भव नहुने काम संरक्षित सेती नहरले पूरा गरिदिने उनको विश्वास छ। 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका इन्जिनियर सागर भट्टराई उर्वर फाँटमा बस्ती बढ्दै जाँदा खेतीयोग्य जमिन घट्दै गएको बताउँछन्। यही कारण सेती सिँचाइ नहरको पानी प्रयोग नभएर खेर जाने अवस्थामा आइपुगेको उनी स्विकार्छन्। “जौबारीमा हाम्रो पक्की बाँध छ। त्यहाँबाट शुरू हुने मूल नहरबाट ३५ किलोमिटर दूरीसम्म सिँचाइका लागि पानी प्रवाह हुन्छ जसले विगतमा १ हजार ३० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सेवा पुर्‍याएको इतिहास छ,” भट्टराई भन्छन्। 

सिँचाइ गर्नुपर्ने जग्गा मेटिँदै जाँदा प्रयोजन खुम्चिएको भए पनि नहरको रेखदेख र सरसफाइ भने नियमित भइरहेको छ। दैनिक नौ जना कर्मचारी नहरको सरसफाइ र सञ्चालनमा खटिएका छन्। सिँचाइ गर्ने जमिन नभएकै कारण नहर बन्द गर्ने अवस्था चाहिँ छैन। किनभने सेती सिँचाइ योजनाबाट १.५ मेगावाट बिजुली उत्पादन भइरहेको छ। त्यसबाहेक टास्क हाइड्रो नामक निजी कम्पनीले पनि सेती सिँचाइ योजनाको पानीबाट १ मेगावाट बिजुली उत्पादन गरिरहेको छ।

पोखराका सिँचाइ योजनामध्ये विजयपुर र बेगनास सिँचाइका लागि सेती सिँचाइको तुलनामा अलि बढी प्रयोगमा छन्। सेतीसँगै फेवा र हेम्जा सिँचाइ योजना भने प्रयोगविहीन बन्दै गएका छन्। 

राजा वीरेन्द्रले शिलान्यास गरेको सेती सिँचाइ योजनाको अभिलेख पनि मेटिनै लागेको छ। तत्कालीन पश्चिमाञ्चल सिँचाइ विकास डिभिजिन–२ का इन्जिनियर अशोक गुरुङका अनुसार सेती नहरबारे अहिले भएका तथ्य पनि विभिन्न शिलालेख हेरेर जम्मा पारिएको थियो। “शिलालेखहरूमा खोज्दा सेती सिँचाइ योजनाका लागि ५०/५५ करोड अनुमानित लगानी भएको थाहा भयो। शुरूमा ५० करोड र पछि डिसिल्टिङ मेसिन राख्नेबेला थप सात करोड खर्च भएको अभिलेख पाइन्छ,” उनी भन्छन्। 

कृषिविज्ञ डाक्टर अनिल सुदीका अनुसार पोखरामा हाल १ सय ९० वर्गकिलोमिटर जमिन खेतीयोग्य छ। विगत १५ वर्षयता १६ प्रतिशत खेतीयोग्य जमिन घटेको उनले बताए।

दायाँवायाँको हराभराबीच बगिरहेको सेती नहर। तस्वीर: श्याम/उकालो

पोखराको सामाजिक इतिहासबारे जानकार आनन्दराज मुल्मीका अनुसार यो शहरको पानी अन्तको भन्दा चिसो भएको कारण पोखरामा फलेको धानको चामल मिठो हुन्छ भन्ने मान्यता आमउपभोक्तामा पहिलेदेखि नै थियो। काहुँखोला, विजयपुर, फिर्केखोला र हर्पनखोला चिसो पानी बग्ने खोला हुन्। 

“पोखराको धान निकै गुणस्तरीय हुन्थ्यो। हामी शुरूदेखि नै मार्सी चामल भन्थ्यौँ। त्यो जुम्ली मार्सीभन्दा फरक छ,” मुल्मी भन्छन्, “चिसो पानीमा फल्ने त्यही मसिनो धानको नाम पछि आएर ‘जेठो बुढो’ भयो। अरू विकासे धान पनि आए। रैथाने बाली हराएर बिस्तारै मिसमास हुँदै गयो।” 

छिमकी राष्ट्र चीनले काठमाडौँ–पोखरा राजमार्ग बनाइदिएपछिको सफलतासँगै पोखरामा उसले सेती नदीबाट बिजुली निकाल्ने योजना शुरू गरेको मुल्मी सम्झन्छन्। २०३८ सालमा जौबारीमा बाँध बनाएर सुरुङभित्र बगेको सेतीको पानी चिनियाँहरूले सतहमा निकाल्दा पोखरेलीहरू अचम्मित भएका थिए। 

कन्या क्याम्पस पछाडि बिजुली निकालेर खेर गएको पानीले नै सेती सिँचाइ योजनाको नहरको रूप लियो जसको मूल हाँगो नारायणथानबाट पर्स्याङसम्म पुर्‍याइयो र त्यहाँबाट बैदाम तालमा मिसाइयो। त्यसबेलाको कच्चा निर्णयले सेतीको पानीमा बगेर आएको चुनको लेदोले पुरिएर तालको धेरै क्षेत्रफल खुम्चिएकोमा मुल्मीको मन अझै खिन्न छ। त्यसपछि सेती नहरको पानी कुँडहर हुँदै मझेरीपाटन पुग्यो। 

‘कमेरो पानी’ले किसानलाई खुशीसँगै हैरानी
सेती नहर बनेलगत्तै यसले किसानलाई सुविधासँगै हैरानी कटायो। चुन मिसिएको पानीले जहाँ जहाँ सिँचाइ गर्‍यो त्यहाँको माटो जमेर ढिक्का परेपछि फोर्नै गाह्रो हुन्थ्यो। त्यो कमेरो माटोले गर्दा धानमा किरा लाग्ने अर्को समस्या पनि देखियो जसले उत्पादनमा ह्रास ल्यायो। त्यसबेला कतिपय किसानले ‘सेतीको पानीले सिँचाइ नगरौँ’ भन्न थाले। त्यो कमेरो माटो कम हुन्छ कि भनेर कुँडहर फाँटमा काहुँखोलाको पानी ल्याएर मिसाइयो। तर, समस्या यथावत् नै रह्यो। 

मालेपाटन क्षेत्रमा भने त्यसबेला उल्लेख्य मात्रामा तरकारी खेती हुन थालेको मुल्मी स्मरण गर्छन्। धान खेतीबाट भन्दा बढी आम्दानी पाएपछि त्यहाँका किसानहरू तरकारी खेतीतर्फ तानिए जसले पोखरामा तरकारी उत्पादनको शुरूआत भयो। तर, धान खेतीलाई चुनौती बनेको सेतीको कमेरो छुट्याउन उतिबेलै ७ करोड लगानी थपेर सिँचाइको मुहानमा माटो छान्ने ‘डिसिल्टिङ’ मेसिन हालियो। त्यसपछि बल्ल किसानहरूले राहत पाए।

धान खेतीमा केही असर देखिए पनि सेती सिँचाइले पोखरेलीको आर्थिक जीवनमा कायापलट ल्याएको समाजअध्येता विश्व सिग्देल बताउँछन्। पहिले एक छाक भात खानेहरू सेतीको पानी आइसकेपछि दुई छाक खान सक्ने भएको उनी सुनाउँछन्।

“एक छाक भात र अर्को छाकमा रोटी खाएर निर्वाह गरिरहेको हाम्रै परिवारमा सेती सिँचाइपछि दुवै छाकमा भात पाक्न थाल्यो। धानकै आम्दानीले घरखर्च सजिलोसँग चलाउन र लत्ताकपडा पनि फेर्न सक्ने भयौँ। पोखरेली परिवारमा नदेखिने गरी भएको क्रान्ति थियो त्यो,” उनी भन्छन्। 

सिग्देलका अनुसार पहिले काहुँ डाँडाबाट हिउँदमा पोखरा उपत्यका हेर्दा सेतीको पश्चितिर हराभर देखिन्थ्यो भने पूर्वतिरको आधा पोखरा मरूभूमिजस्तै बञ्जर थियो। नहर आइसकेपछि पश्चिम पोखरा भन्दा बढी पूर्वी पोखरा हरियालीपूर्ण देखिन थाल्यो। सेतीको पानी कृषिको निम्ति उपयोगी छैन भनिए पनि यथार्थ त्यस्तो नभएको सिग्देल बताउँछन्। आफ्नै खेतमा पहिले ३० मुरी फल्ने जेठोबुढो धान सिँचाइपछि ठ्याक्कै दोब्बर ६० मुरी उत्पादन हुन थालेको उनको अनुभव छ। 

“जनताको आर्थिक जीवनमा परिवर्तन आएसँगै पोखराको सुन्दरतामा अर्को क्रान्ति देखियो। त्यसबेलाका प्रशासकहरू अञ्चलाधीश र सीडीओले कडा निगरानीका साथ रेखदेख गरेको जग्गामा लोकतन्त्र आइसकेपछि कानून मिच्नेहरूको रजगज चल्यो,” उनी भन्छन्, “पञ्चायतकालमा बलियो कमान्ड थियो। तर, अहिले त कृषिक्षेत्र मासेर घडेरीका लागि जग्गा प्लटिङ गर्नेहरू नै नेता र मन्त्री हुन थाले। यसले गर्दा समृद्ध कृषिक्षेत्र नष्ट भयो, जुन हाम्रो दुर्भाग्य हो।”

अरू साना सिँचाइ पनि संकटमा
सेती सिँचाइले नछुने क्षेत्र पोखरा शहरदेखि उत्तरतर्फको हेम्जा फाँट हो। त्यहाँ हेम्जा खोलाबाट परम्परागत प्रणालीबाटै सिँचाइ गरिन्छ। तर, त्यहाँको खेतीयोग्य जमिन पनि अहिले शहरीकरणको चपेटामा छ। पोखरा–१९ को पुरनचौर, घार्मी भोटेखोला र सार्दीको पानी कुलोमा ल्याएर त्यहाँ सिँचाइ भइरहेको छ। पोखरा–५ पर्स्याङ र मालेपाटनको फाँटमा फिर्के खोलाबाट सिँचाइ हुन्थ्यो।

खोलाको पानीले सिँचाइ गर्ने ठूलो फाँटमध्ये काहुँ खोला पनि हो। बाँझापाटन, कुँडहर फाँट, तल्लो मझेरीपाटन र छिनेडाँडासम्म काहुँको पानीले सिँचाइ हुन्थ्यो। फूलबारी र त्यसको तल्लो इलाकामा कमलपोखरीको पानीबाट अहिले पनि खेतीपाती भइरहेको छ। यता, बिरौटा र छोरेपाटन भेगमा फेवा सिँचाइ योजनाले खेत सुक्खा हुन दिएको छैन।

पोखरामा सबभन्दा पहिलो नहर भने विजयपुरमा बनेको थियो। भारत सरकारको सहयोगमा २०१८ सालतिर यसको निर्माण शुरू भएको समाजअध्येता मुल्मीको अनुमान छ। त्यो परियोजनाले कुँडहर फाँट र लेखनाथको अर्घौँ हुँदै शिशुवासम्म सिँचाइ पुर्‍यायो। विजयपुर सिँचाइ योजना सफल भएपछि भारतले सुनौली–पोखरा राजमार्ग आयोजना शुरू गरेको उनी सम्झिन्छन्। 

फेवातालमा नयाँ बाँध बनेपछि बाँस र काठले छेकेर पानी लगिएको परम्परागत सिँचाइ मुहान विस्थापित भयो। त्यसबाट बिजुली पनि निकाल्ने र सम्पूर्ण बिरौटा फाँटलाई सिँचाइ गर्ने भनेर त्यो योजना शुरू भएको थियो। जानकारहरूका अनुसार त्यसबेला सिँचाइको कुनै दीर्घकालीन योजना नै थिएन। 

कसरी शुरू भयो ‘प्लटिङ’ व्यवसाय? 
सरकारले जग्गामा अत्यधिक कर लगाएपछि कृषकहरू खेती गर्न नसक्ने अवस्थामा पुगेको अध्येता सिग्देलको दाबी छ। “नेपालबाहेक संसारका कुनै पनि देशमा यस्तो अभ्यास छैन जहाँ बस्ने घर र खेती गर्ने जमिनमा पनि सरकारले कर लगाउँछ,” उनी भन्छन्, “आम्दानीमा कर लाग्नु स्वाभाविकै हो। जमिनलाई उद्योग र घरलाई उत्पादनतिर जोडेमा मात्र कर लिनुपर्थ्यो। तर, यहाँ त जमिन खोस्रेर खाने गरिब किसानलाई होस् वा तीनकोठे घर बनाएर दुःखजिलोसँग निर्वाह चलाउने सामान्य परिवारलाई, सरकारले अनिवार्य कर लगाउँछ। कर तिर्नकै लागि वर्षैपिच्छे जमिन बेच्नुपर्ने अवस्थामा हामी पुगिसक्यौँ।” 

नेपाल सरकारले जनता मारेर आफू पालिन जेमा पनि कर लगाएको र कृषिमा कर अत्यधिक भएकै कारण सामान्य नागरिक अरू विकल्पतिर धकेलिनुपरेको सिग्देलको विश्लेषण छ।

बहिरबाट बसाइँसराइ गरेर आउनेहरू तीव्र मात्रामा बढिरहेको शहर हो पोखरा। पाल्पा र गुल्मीबाट आएकाहरूले यहाँको बिरौटा क्षेत्र भरिएको छ। पर्वत, बागलुङ, म्याग्दीबाट आउनेहरूले पर्स्याङ, टुँडिखेलका बस्ती टनाटन छन्। चाउथे, कुँडहर र बाँझापाटन लमजुङ र गोरखाबाट आएका परिवारको रुचाएको ठाउँमा पर्छ। सिकलेस र ताङतिङबाट आएकाहरूले बाँझापाटन क्षेत्रमा बस्ती बढाएका छन्। घान्द्रुकबाट आउनेको बगरक्षेत्रमा बाक्लो बस्ती छ। 

पोखरामा नगर विकास योजनाको थालनी 
नगर विकास समितिले पहिलो पटक २०३१ सालमा पोखरा शहरी विकास योजना बनाएको थियो। १० वर्षका लागि बनेको उक्त योजनापछि अहिलेसम्म अर्को योजना बनेको छैन। तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको कार्यकालमा बनेको शहरी विकास योजनाले नै अहिलेको पोखराको स्वरूप कोरेको हो।

अध्येता मुल्मीका अनुसार त्यसबेला फेवा, बैदाम लगायतका ताल वरपरको क्षेत्र आवासका लागि प्रयोग नगर्ने गरी जमिनको वर्गीकरण गरिएको थियो। पछि त्यसलाई मिचेर बस्ती बसाल्दै जाँदा तालहरू अतिक्रमणमा परेर मासिने अवस्थातर्फ उन्मुख छन्। त्योबेला समथर उपत्यकाको कृषियोग्य जमिनलाई बचाएर डाँडापाखामा घर बनाउने सोचअनुसार योजना बनेको थियो। ठाउँठाउँमा विशेष बालीनालीको उत्पादनक्षेत्र तोकिएको थियो। 

“हामीकहाँ योजनाबद्ध काम नहुने भएकाले खेतीयोग्य जमिनमा पनि घरहरू बन्दै गए। पोखरालाई कस्तो शहर बनाउनुपर्छ भन्नेमा हाम्रो दूरगामी सोच नै थिएन,” मुल्मी भन्छन्, “२०३१ सालमा पोखरामा शहरी विकासको योजना बनाउँदा आवासीय, व्यापारिक र कृषि क्षेत्र भनेर ठाउँअनुसारको नक्सा डिजाइन गरियो। त्यसको महत्वपूर्ण उपलब्धि भनेको नयाँ सडकको निर्माण होे। त्यसबाहेक केही पनि भएन।” 

नेपाल सरकारसँग ठूला योजना सञ्चालन गर्ने पैसा नहुँदा त्यसयता जसले जुन जुन योजना चलाउँछु भन्यो त्यसमा सहमति जनाउनुपरेको उनी सुनाउँछन्।


सम्बन्धित सामग्री