Tuesday, April 30, 2024

-->

पोखराबाट हराउँदै छन् मौलिक संस्कृति झल्काउने चौतारो

पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।

पोखराबाट हराउँदै छन् मौलिक संस्कृति झल्काउने चौतारो
लेकसाइडमा साँघुरिएको चौतारो र काटिएको रूख। तस्वीर: श्याम/उकालो

पोखरा– महेन्द्रपुलबाट बगरतर्फ लाग्दा करिब एक किलोमिटरको दूरी नाघेपछि नदीपुर र फूलबारी जाने सडक छुट्टिन्छ। त्यही दोबाटोमा छ पोखरा महानगर–३ को वडा कार्यालय। सलल कालोपत्रे सडक र आसपास घरैघर बन्नुअघि त्यहाँ अग्लो आँपको रूख थियो। रूखमुनि चौतारो बनाइएको थियो। कवि तीर्थ श्रेष्ठका अनुसार चौतारोमा जम्मा भएर स्थानीयहरू शितल ताप्दै आत्मीयता साट्थे।

“हामी केटाकेटी हुँदा त्यो आँपको बोट देखेका थियौँ। कमसेकम डेढ सयदेखि दुई सय वर्ष पुरानो आँपको बोट र चौतारो अहिले मासियो,” श्रेष्ठ सम्झिन्छन्।

पोखराका यस्ता धेरै चौतारा अहिले मासिइसकेका छन्। नदीपुरमा कन्या क्याम्पस भवन अघिल्तिर कदम र पिपलको रूख भएको ठाउँमा चौतारो थियो। त्यो पनि कवि श्रेष्ठको आँखैअघि मासियो। विकासको गति पच्छ्याउँदा सम्पदा बचाउनै मुस्किल भएको र विकल्प अपनाउन सकिने ठाउँमा पनि हेलचेक्य्राइँ गर्दा सयौँ वर्ष पुराना ऐतिहासिक चौतारा मासिएको उनको ठम्याइ छ।

कृषिविज्ञ डा. अनिल सुवेदीले पनि पोखराको टुँडिखेलमा बरपिपलको रूख मासेको देखे। हरिचोकबाट बायाँ लागेपछि राष्ट्रिय माविअगाडि बरपिपलका बडेमानका रूख थिए। “तिनै रूखमुनि राजनीतिक उथलपुथल हुनेगरी कार्यक्रम हुन्थे। विरोध जुलुस पनि त्यहीँ, अनेकौँ हड्ताल पनि त्यहीँ,” उनी भन्छन्, “त्यहाँ अहिले एउटा रूख मात्र बचेको छ। त्यो पनि कुन दिन काटिदिन्छन्।”

पहिला स्थानीयहरू जम्मा भएर शीतल ताप्ने र बाटो हिँड्ने बटुवाले थकाइ मार्ने टुँडिखेलको चौतारो भएको ठाउँमा अहिले ट्याक्सी र माइक्रो यात्रु पर्खिरहका हुन्छन्। टुँडिखेलको चहलपहल बिस्तारै चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रतिर सर्दै आयो। नाराजुलुस उतै लाग्न थाले।

पोखरा महानगर-३ को कार्याल भएको स्थानमा चौतारो मासिए पनि रूख अझै देख्न सकिन्छ।

चिप्लेढुंगामा जम्मा भएर जुलुस गर्ने, राजाको जन्मोत्सव, प्रजातन्त्र दिवसलगायत मुख्य दिवस मनाउने गरिन्थ्यो। अहिले जहाँ चिप्लेढुंगालाई संरक्षण गरिएको छ, त्यहाँ नजिकै मानिसहरू जम्मा हुन्थे। मानव अधिकार चोकमा चौतारो बनिसकेपछि सानाठूला आमसभा त्यही चौतारोमुनि हुन थाल्यो। तर केही समयअघि उक्त चौतारोका रूख पोखरा महानगरले ठुट्टै पारेर मुठारेको छ।

“हाँगाले घरलाई छोएको, तारलाई छोएको कारण जोखिम भयो भनेर अहिले भनेको सुनिन्छ,” कृषिविज्ञ डा. सुवेदी भन्छन्, “१०० वर्षअघिका रूखले पाँच वर्षअघिका तारलाई छोएर खतरा भयो भने त्यो खतरा निम्त्याउने गरी किन तार लगियो?”

अहिले मान्छेले घर बनाउनुअघि नै त्यहाँ रूखले जरा गाडेको सुवेदी बताउँछन्। जोखिम हुन सक्ने र अव्यवस्थित ठाउँ भए घर बनाउनुअघि नै व्यवस्थित गर्नु पर्ने तथा व्यक्तिगत जग्गामा संरचना बनाए पनि ऐतिहासिक महत्त्वका रूखलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

शहरीकरणले चौतारा विनाश
पोखराको शहरीकरणतर्फको पाइला चौतारोबाटै शुरू भएको जानकारहरू बताउँछन्। अहिलेको भैरवटोललाई पहिला लामो चौतारो भनिन्थ्यो। त्यहाँ लामो खालको चौतारो थियो र स्थानीय आवश्यक पर्दा त्यहीँ भेला हुन्थे। वस्तु विनिमय गर्ने थलो पनि त्यहीँ थियो। “गाउँमा हुने उब्जनी ल्याएर बिक्री गर्ने हाटबजारको काम पनि चौतारोले गर्थ्यो। अहिले जहाँ नालामुख छ, त्यहाँ पनि ठूलो चौतारो थियो। पानी आउने नाला थियो,” कवि तीर्थ श्रेष्ठ ६ दशकअघिको अवस्था सुनाउँछन्, “त्यसैले ठाउँको नाम नै नालाको मुख रहन पुग्यो।”

पहिला जनघनत्व कम थियो, घरहरू बाक्लै थिएनन्। पानी पिउने वा थकान मार्ने घर पाइने सम्भावना कम हुन्थ्यो। लामो बाटो हिँडेर आएका बटुवालाई थकान र प्यास दुवै मेट्न चौतारो संस्कृति शुरू भएको हुन सक्ने कवि श्रेष्ठ अनुमान लगाउँछन्।

थकान मेट्ने चौतारोसँगै घैँटोमा राखिदिएको पानीले बटुवाको प्यास त मेटायो नै त्यसले ग्रामीण संस्कृतिलाई थप मजबुत पारेको थियो। यस कारण गाउँगाउँमा चौतारो थपिँदै गए। 

चौतारोले मानव बस्तीको विकासक्रम र समाजको आर्थिकस्तर पनि प्रष्ट्याएको हुन्छ। “कुनै ठाउँमा ठूलो चौतारो छ भने त्यहाँ सम्पन्न मान्छे थिए होला। विपन्न ठाउँमा सानो बने होला,” कवि श्रेष्ठ भन्छन्। 

२०१७–१८ सालताका तत्कालीन पोखरा नगर पञ्चायतमा ९ वडा थिए। त्यस बेला सूचीबद्ध गरिएका साविक चौतारा, पोखरी र मैदान अहिले मिचिएको श्रेष्ठ सुनाउँछन्। चौतारोलाई संस्कृतिका रूपमा विदेशीसामु परिचित गराउन पर्यटन व्यवसायीले ध्यान दिनु उपयुक्त हुने उनको भनाइ छ।

तीव्र शहरीकरणका कारण चौतारो त मासिँदै छन्, भएकाले पनि मौलिकता गुमाउँदै गइरहेका छन्। ढुंगाले छापेर बनाइने चौतारोमा अहिले सिमेन्ट प्रयोग हुन्छ। 

कृषिविज्ञ डा. सुवेदी सामाजिक सेवाभावले बनाइएका चौताराले ऐतिहासिक जानकारी पनि दिने बताउँछन्। गाउँगाउँमा सडक बनाइँदा यस्ता ऐतिहासिक चौतारामा नै डोजर लगाइएको उनको भनाइ छ। केही अपवादबाहेक यस्ता सम्पदा  मासिने क्रम बाक्लिएको उनी सुनाउँछन्। 

“चौतारोको अस्तित्व गुम्दै जानुको एउटा कारण सडक सञ्जाल विस्तार हुँदै जानु र यसको आवश्यकता कम हुनु हो,” उनी भन्छन्, “पहिलो त चौतारोमा वनस्पति हुने हुँदा संरक्षण गर्दै जानुपर्छ। भौतिक निर्माण गर्दा भत्काउनु र हटाउनुको साटो व्यवस्थित गर्नुपर्छ।”

सुकेका, जथाभावी फैलिएका र खतरायुक्त हाँगा काँटछाँट गर्न सकिने उनको सुझाव छ। कुनै चौतारो भएको ठाउँबाट सडक लैजानु परे त्यसलाई बीचमा पारेर दायाँ र बायाँबाट सडक लैजान सकिने उनी बताउँछन्।

“अब त मलाई शंका लाग्छ बाटोको छेउछाउमा त्यस्ता रूख रोपिन्छन् कि रोपिन्नन्? किनभने अब यात्रुहरूलाई छहारीको आवश्यकता परेन। यात्रुलाई माटोको घडामा राखिएको पानी आवश्यकता परेन, मिनरल वाटर आइहाल्यो, कोल्ड ड्रिङ्ग्स आइहाल्यो,” उनी भन्छन्।

घरैघरले जेलिएर शहरमा हावा बहन अबरोध हुने हुँदा रूखहरूको आवश्यकता झनै हुने उनको भनाइ छ। तर शहरमा वनस्पति हुर्काउन प्राविधिक व्यवस्थापन एकदमै महत्वपूर्ण हुने पनि डा. सुवेदी बताउँछन्।

घटाउन सकिन्छ शहरको तापक्रम
ग्रामीण भेगका मानिस बिस्तारै शहरतिर बसाइँ सरिरहेको २०७८ सालको जनगणनाले देखाउँछ। दिनहुँ घना बन्दै गएको शहरमा समस्या पनि थपिएकै छन्। कालोपत्रे सडक, कंक्रिटका बुहतले भवन र जनसंख्याको चापले विश्वभर नै शहरको तापक्रम बढाइरहेको विभिन्न अध्ययनले देखाएका छन्। यसरी बढिरहेको तापक्रम कम गराउन बाटो छेउमा लगाइएका रूखले ‘माइक्रो क्लाइमेट’ कायम राख्ने उर्जाविद् कुशल गुरुङ बताउँछन्।

उनका अनुसार बांलादेशमा कुल उर्जा खपतको झण्डै ५० प्रतिशत चिस्यानमा खर्च भइरहेको छ। २० हजार मेगावाट उर्जा माग भइरहेकोमा १० हजार मेगावाट उर्जा चिस्यानका लागि खर्च हुने उनी बताउँछन्। “पोखरामै पहिला त धेरै घरमा फ्यान नै थिएन। अहिले २०–३० वर्ष भयो होला फ्यान हाल्न थालेको। ४–५ वर्ष यता एसी नै जडान गर्न थाले,” उनी भन्छन्, “पहिला विलासीका रूपमा हेरिन्थ्यो, अहिले रहरभन्दा पनि बाध्यता नै बनिसकेको छ। त्यस्ता सामग्रीको प्रयोगलाई न्यूनीकरण गर्न शहरीकरण र हरियाली सँगसँगै हुनुपर्छ।”

मियाँपाटन।

पोखरा महानगरले घरको नक्सा पास गर्दा एउटा रूख अनिवार्य लगाउनुपर्ने प्रावधान ल्याएको छ। तर त्यसको अनुगमन फितलो रहेको उनले सुनाए। हरितगृह ग्यास उत्सर्जनको समस्यासँग जुधिरहेको विश्वलाई बरपिपलको रूख प्रभावकारी देखिएको उनी सुनाउँछन्। “हरितगृह ग्याउ उत्सर्जन रोक्न हाम्रो जस्तो देशले गर्न सक्ने सबैभन्दा सस्तो उपाय रूख रोप्ने नै हो। शहरीकरण गर्दैगर्दा यसमा धेरै सम्झौता गर्नुहुँदैन,” गुरुङ भन्छन्, “कमसेकम बरपिपललाई केही पनि नगर्ने। अरू ससाना आगन्तुक रूख २०–२२ वर्ष पुराना भए त्यसलाई सट्टाभर्ना गर्ने मापदण्ड पनि छ।”

सय वर्षभन्दा पुराना रूख कुनै पनि हालतमा जोगाइ रहनुपर्ने उनको भनाइ छ। तर हावाहुरी आउँदा निम्तिन सक्ने सम्भावित जोखिम भने कम गर्नुपर्ने उनले सुनाए। वातावरण प्रदूषणसँगै स्वच्छ हावा पनि प्रतिपादन गर्ने भएकाले दिगो विकास साथै जैविक विविधता कायम राख्न बरपिपलको महत्त्वपूर्ण योगदान हुने गुरुङ बताउँछन्। बरपिपलको रूख ठूलो हुने भएकाले धेरै चराचुरुंगीको बासस्थान पनि हुने गरेको छ।

प्राडा जगन्नाथ अधिकारी बरपिपल सेवाभावसँगै धार्मिक आस्थासँग पनि जोडिने बताउँछन्। नेपाली परम्परा र धार्मिक मान्यताअनुसार कसैको स्मृतिमा चौतारो बनाउने चलन छ। “चौतारो संस्कृति विकास हुनुको कारण यो पनि हो। चौतारोले शहरको सुन्दरता मास्ने नभई बढाउने काम गर्छ,” उनी भन्छन्।

शहरमा सार्वजनिक रूपमा जमघट हुने ठाउँ यस्ता चौतारो पनि भएको प्राडा अधिकारी बताउँछन्। नेपाल घुम्न आउनेलाई हाम्रो संस्कृतिको रूपमा चौतारो पनि देखाउन सकिने उनको भनाइ छ। “अहिले शहर जति ठूलो बन्दै गइरहेको छ, यी रूखहरूको महत्व उत्तिकै बडी छ। घरहरूको साथसाथै रूखहरूको महत्त्व पनि उत्तिकै हुँदो रहेछ भन्ने महसुस हुन थालेको छ,” उनी भन्छन्।

नयाँ बजार।

विश्वव्यापी बन्दै गइरहेको जलवायु परिवर्तनको कारण रूखहरू भएनन् भने शहरमा बस्न एकदमै गाह्रो हुन सक्छ। “रूखविरूवा नभएको ठाउँमा बसोबास गर्न स्वस्थकर हुँदैन भनिन्छ। शहरको तापक्रम पनि मेन्टेन गर्न रूखबिरूवा चाहिँदो रहेछ,” अधिकारी भन्छन्, “पहिला घरैघर मात्रै भए हुन्छ भन्ने शहरमा अहिले दायाँबायाँ रूख लगाउने, पब्लिक स्पेसमा रूख लगाउने, सकभर स्थानीय जातकै बिरुवा लगाउने गरिन्छ।” 

१०० वर्ष पुराना रूख नाश गर्दा त्यस्तै रूख बनाउन अर्को ५०–६० वर्ष समय लगानी गर्नुपर्ने कारण पुराना रूखको संरक्षण गर्नु झनै महत्त्वपूर्ण हुने उनी बताउँछन्। 

गण्डकी प्रदेश सरकारले २०७५ सालमा बनाएको ‘बर, पिपल, समी संरक्षण ऐन’मा प्रत्येक पालिकालाई पुराना रूखहरूको लगत संकलन गरेर त्यसलाई संरक्षण गर्ने जिम्मेवारी पनि सुम्पेको छ। तर त्यसको कार्यान्वयनमा भने स्थानीय तह उदासीन छन्। 

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारी पुराना रूखको लगत लिनुपर्ने आवश्यकता महसुस भए पनि अहिले तथ्यांक संकलन नभइसकेको बताउँछन्। “यसबारे हामीले काम थालिसकेका छैनौँ,” उनले भने।

पुराना सम्पदा संरक्षण गर्दै हरित शहर बनाउन महानगर तयार रहेको उनको भनाइ छ। यस आर्थिक वर्षभित्र पोखरा महानगरले दुई लाखभन्दा बढी बिरूवा रोप्ने योजना बनाएको छ। त्यसका लागि तयारी भइरहेको उनले जानकारी दिए।


सम्बन्धित सामग्री