Thursday, May 02, 2024

-->

सामाजिक सञ्जालमार्फत डिजिटल कारोबारमा ठगीः एउटाको खाता, अर्कैको पहुँच

कोभिड महामारीपछि डिजिटल कारोबार विस्तारसँगै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी ओटीपी मागेर ठगी गर्ने घटना बढेका छन्। चिठ्ठा परेको, आइफोनजस्ता महँगो सामग्री सस्तोमा दिने मेसेज पठाएरसमेत ठगी भइरहेको छ।

सामाजिक सञ्जालमार्फत डिजिटल कारोबारमा ठगीः एउटाको खाता अर्कैको पहुँच

काठमाडौँ– धनगढीका २१ वर्षीय सोनुप ढकाल (नाम परिवर्तन)ले एक महिनाअघि ‘टेरिम ग्याजेट’ नामक फेसबुक पेजमा डेढ लाख रुपैयाँमै आइफोनको नयाँ मोडल ‘फोर्टिन प्रो म्याक्स’ किन्न सकिने विज्ञापन देखे। त्यतिबेलाको बजार मूल्य २ लाख रुपैयाँभन्दा बढी रहेको मोबाइल सस्तोमा, त्यो पनि किस्ताबन्दीमै पाइने भएपछि ढकाल लोभिए।

उनले उक्त फेसबुक पेजमा ‘मेसेज’ गरे। मेसेजमा मोबाइल अमेरिकाबाट सिधै नेपाल पठाइने हुँदा सस्तो पर्ने र ७/७ हजार रुपैयाँका दरले किस्ताबन्दीमा तिरे हुने जवाफ पाए।

सोनुप अझै ढुक्क हुन सकेनन्। उनले अध्ययनको सिलसिलामा काठमाडौँ बस्ने दाजुलाई सोधे। दाजुले यस्ता पेजहरू ‘फेक’ हुने गरेको र फस्न सक्ने जोखिम रहेको बताए। तर, सस्तोमा आइफोन पाउने लोभमा फसेका उनी रोकिएनन्।

सोनुपले मेसेजमा भनेअनुसार नै पहिलो किस्ता ७ हजार रुपैयाँ बैंक खातामा हालिदिए। उनले पटकपटक गरेर एक महिनामा ८० हजार रुपैयाँ बुझाए। त्यसपछि उक्त पेज चलाउने फेसबुक प्रयोगकर्ताले आफूले सामान पठाइसकेको, तर भन्सारलगायत विभिन्न कारणले ढिलो भएको हुनसक्ने बताए। सामान आउँदै नआएपछि मात्र सोनुपलाई आफू ठगिएको आशंका भयो। 

उनले शुरूमा धनगढीस्थित जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिए। तर, इन्टरनेट प्रयोग गरेर गरिएको ठगीको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँले हेर्ने बताइयो। सोनुपले जानकारी दिएपछि उनका दाजुले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिए।

सोनुपले मेसेन्जरमा भनिए बमोजिम सन्दीपा श्रेष्ठ (नाम परिवर्तन) को ग्लोबल आइएमई बैंकको खातामा पैसा जम्मा गरेका थिए। सोनुपका दाजुसँग आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँमा भेटिएकी २० वर्षीया सन्दीपाले आफूलाई फसाएर आफ्नो नामको खाता प्रयोग गरेको बताइरहेकी थिइन्।

सोनुप पक्षको फोनपछि मात्र उनले आफूलाई झुक्याएर आफ्नो नामको बैंक खाता प्रयोग भएको थाहा पाएकी हुन्। त्यसपछि उनी पनि जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेकी थिइन्।

सन्दीपालाई एक महिनाअघि ‘युलिभा विलोभल’ नामक फेसबुक अकाउन्टबाट साथी बन्ने प्रस्ताव आएको थियो। उनले शुरूमा मेसेन्सजर र पछि ह्वाट्स एपमार्फत कुराकानी गर्न थालिन्। ठगी गर्ने व्यक्तिले आफू अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्ने व्यवसायी रहेको र पहिले युक्रन बस्ने भए पनि युद्धपछि मलेसियाबाट व्यवसाय गरिरहेको सन्दीपालाई बताएका थिए।

कुराकानी बढ्दै ती फेसबुक प्रयोगकर्ताले सन्दीपालाई व्यापारमा सहभागी गराउने र त्यसबाट आएको नाफाको ५ प्रतिशत दिने प्रस्ताव गरे। यसका लागि बैंक खाता नम्बर पठाइदिन उनलाई आग्रह गरे। उनले ग्लोबल आईएमई बैंकमा खाता खोलेर नम्बर दिइन् र ओटीपी पासवर्ड पनि पठाइन्।

सन्दीपाको खाताबाट सोनुपको ८० हजारसँगै कुल २ लाख १ हजार रुपैयाँ झिकेको देखिएको छ। अर्थात्, उक्त गिरोहले अन्य व्यक्तिबाट ठगेको रकम पनि सोही खाताबाट कारोबार भएको थियो।

यसरी इन्टेरनेटमार्फत ठगिएको उजुरी लिएर १६ देखि २५ वर्ष उमेर समूहका किशारकिशोरी र युवा आउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसर प्रमुख एसएसपी दानबहादुर कार्की पछिल्लो समय इन्टरनेटबाट हुने वित्तीय ठगीका उजुरी बढ्न थालेको बताउँछन्। कोभिड माहामारीपछि डिजिटल कारोबार गर्नेको संख्या बढेसँगै अनलाइनमार्फत हुने वित्तीय अपराध पनि बढेको उनको भनाइ छ।

“कोभिडका समयमा मास्क लगाएकै फोटोमा पनि बैंक खाता खोलियो, यसले अनधिकृत व्यक्तिको खाता बनाएर कारोबार गर्न सहयोग पुर्‍यायो,” कार्की भन्छन्, “अरूको नाम, नागरिकता, फोटो प्रयोग गरेर बैंक खाता खोलेर कारोबार गर्दा मुद्दा डकुमेन्टवालालाई लाग्छ। त्यसकारण यसरी ठग्ने प्रवृत्ति बढेको छ।” 

यसरी ठगिने अधिकांश शिक्षित युवा भएको एसएसपी कार्की बताउँछन्। शिक्षित युवाले नै इन्टरनेट प्रयोग हुने उपकरण र प्रविधि चलाउन जान्ने हुँदा उनीहरू नै ठगिने गरेका छन्। 

चालु आर्थिक वर्षमा जिल्ला प्रहरी परिसरमा ठगीका उजुरी संख्या र रकम पछिल्लो दुई वर्षको भन्दा बढी छ। २०७९ साउनदेखि गएको असार १० गतेसम्म अनलाइन मार्फत ८ करोड ५२ लाख रुपैयाँ ठगी भएको दाबीसहित ५४१ उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा ५ करोड १० लाख रुपैयाँ ठगी भएको भन्दै ४६८ उजुरी परेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १२ लाख १८ हजार ठगी भएको दाबीसहित ४९ वटा उजुरी परेका थिए। प्रायः क्रिप्टोकरेन्सी, ह्याकिङ, सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, अनलाइन सपिङ, डिजिटल वालेटलगायत माध्यमबाट ठगी भएको उजुरी पर्ने गरेका छन्।

यसरी ठग्ने प्रमुख व्यक्ति प्रायः भारतमा बसेर नेपालीहरूलाई अनलाइन बिजनेशमा जागिर दिने बहाना बनाएर सम्पर्क स्थापित गर्छन्। खुला सिमानाका कारण प्रहरीको फन्दामा पर्ने सम्भावना निकै कम हुने कारण रौतहट, कैलाली, धनगढी, विराटनगरलगायत स्थानबाट ठगीको रकम कारोबार हुने गरेको छ।

ठगीका अनेक तरिका
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमो, ह्वाट्स एपलगायत प्रयोग गरेर ठगी गर्ने गिरोहले शुरूमा केबीसी (कौन बनेका करोडपति) तथा चिठ्ठा परेको प्रलोभन देखाउँछन्। भिडियो कल वा मेसेजमार्फत फोटो, नागरिकता, फोन नम्बर र बैंक खाता पठाउन लगाएर उनीहरूकै नामबाट चिठ्ठा परेको फोटोसहितको नक्कली डकुमेन्ट बनाई विश्वासमा लिन्छन्। यसरी चिठ्ठा परेको रकममा कर लाग्ने भन्दै पैसा पठाउन लगाउँछन्।

सामाजिक सञ्जालमा साथी बनाउने र प्रेमको बहानामा नजिकिएर ठग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ। त्यस्तै, सामाजिक सञ्जालमा साथी बनाएपछि महँगो मूल्यका घडी, नेक्लेस, क्यामेरा, कपडा र यूएस डलरको समेत फोटो पठाएर लोभ्याउने गर्छन्। केही समयपछि भन्सारको कर्मचारी बनेर भारतीय नम्बरबाट फोन गर्ने र भन्सारमा आएको सामान पाउन कर तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिका नाममा बैंक खाता, ईसेवा, खल्तीलगायत वालेटमा पैसा पठाउन लगाएर ठगी हुने गरेको छ।

यस्तै, फेसबुक पेजमा क्यामेरा, आइफोन मोबाइललगायत महँगो सामानहरू सस्तो मूल्यमा ‘होम डेलिभरी’को सुविधा दिने विज्ञापन गरिन्छ। तर, सामानको मूल्यभन्दा बढी रकम राखेर असुल गरिन्छ। 

अनलाइनमा गुगल प्ले स्टोरमा फ्री एप्सबाट पब्जी, फ्री फाइटर जस्ता खेल खेल्नको लागि युसी (अननोन क्यास)लगायत टपअप किनबेच गर्ने बहानामा प्रयोगकर्ताको फेसबुक आईडी ह्याक गरिन्छ। त्यसपछि फेसबुक प्रयोगकर्ता भएर उनीहरूकै साथीसँग अनेक बहानामा पैसा मागेर वा बैंक खाताको ओटीपी मागेर ठगी हुने गरेको छ।

यस्तै, नयाँ खाता खोल्न लगाई उसकै नामबाट जारी भएको सिम कार्ड र डकुमेन्ट राखेर सोही नम्बरको नयाँ सिम कार्ड निकालिन्छ र इन्टरनेट बैंकिङ सेवा ‘एक्टिभेट’ गरेर फसाउने गरेको घटना पनि बढ्दो छ।

वैदेशिक रोजगारीमा रहेका कतिपय व्यक्तिले विदेशमा रहेका हुन्डी कारोबारीमार्फत परिवारलाई रकम पठाउने गर्छन्। ती कारोबारीको संलग्नता ठगी गर्ने समूहसँग हुने र सम्बन्धित परिवारका व्यक्तिको खातामा ठगीको रकम जम्मा हुने गरेको पनि प्रहरीले फेला पारेको छ। विभिन्न बहानामा ठगी गरेको रकम क्रिप्टो कारोबार गर्ने व्यक्ति तथा समूहलाई भुक्तानी गरेको समेत पाइएको प्रहरीले जनाएको छ।

ठगी गर्ने व्यक्ति सामाजिक सञ्जालबाट पहिला कुनै मोबाइल प्रयोगकर्तासँग नजिक हुन्छन्। उनीहरूकै मोबाइल नम्बरमा ओटीपी पठाइ ‘तपाईंको खातामा रकम जम्मा भयो/भएन चेक गर्नका लागि ओटीपी कोड दिनुहोस्’ भनी झुक्याएर कोड लिन्छन्। पीडितको खाताको रकम ईसेवा, खल्तीलगायत वालेट र बैंक खातामा ‘ट्रान्सफर’ गरी ठगी गर्ने गरेका छन्।

यस्तै, शुरूमा केही रकम पीडितकै खातामा जम्मा गरेर उनीहरूलाई ह्वाट्स एपमार्फत कल गरिन्छ। थप पैसा हाल्न पीडितसँगै ओटीपी मागेर उनीहरूको इन्टरनेट बैंकिङ सेवा ‘एक्टिभेट’ गरी ठगी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

डिजिटल बैंकिङले जोखिम पनि बढायोः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागको हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनमा डिजिटल बैकिङ प्रयोगकर्ताको संख्या बढेसँगै जोखिम पनि उत्तिकै देखिएको उल्लेख छ। ‘बैंक सुपरभिजन रिर्पोट २०२१/२२’मा भनिएको छ, “मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या बढेसँगै टेक्नोलोजी जोखिम पनि बढ्दै गएको छ। वित्तीय साक्षरता कम भएका व्यक्तिहरूमा यसले अझै बढी जोखिम बढाएको छ।”

राष्ट्र बैंकका अनुसार कोभिड माहामारीपछि वित्तीय सेवा प्रदायकहरूले डिजिटल बैकिङ सेवा विस्तार गरेका छन्। डिजिटल वित्तीय कारोबारको प्रवर्द्धनले अनौपचारिक अर्थतन्त्रको वृद्धिदर रोकेर आर्थिक संकटबाट बचाउन टेवा पुर्‍याउने भए पनि प्रविधिको जोखिम बढाएको प्रतिवेदनमा उल्लेख छ। 

अनलाइन माध्यमबाट ठगी बढेपछि सचेतनालगायत रोकथामका गतिविधि गर्दै आएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सर्वसाधरणको गुनासा टिपाउन ‘गुनासो पोर्टल’को व्यवस्था पनि गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गरेर सचेतना अपनाउनसमेत आग्रह गरेको छ। 

राष्ट्र बैंकले गएको जेठ ३२ गते जारी गरेको सूचनामा अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरूलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपीजस्ता विवरण माग्ने गरेको पाइएकाले सजगता अपनाउन आग्रह गरिएको छ।

यस्ता व्यक्तिले ग्राहकको मोबाइल बैकिङ/इन्टरनेट, कनेक्ट आईपीएस, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको ‘रिसेट’ गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याउँछन्। त्यसपछि विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरूमा रकमान्तर गर्ने प्रवृति बढेको पाइएको विभागको विज्ञप्तिमा उल्लेख छ। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई यस्ता अवाञ्छित गतिविधिहरू सुक्ष्म रूपमा निगरानी गर्न पनि बैंकले भनेको छ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार पछिल्लो समय ठगीका घटना बढ्नुमा प्रयोगकर्ताकै लापरवाही बढी छ। “अनलाइनमार्फत हुने ठगीमा प्रयोगकर्ताको बेवास्ता र अनलाइन सिस्टम ह्याक लगायत कारण देखिन्छ,” पौडेल भन्छन्, “राष्ट्र बैंकले विभिन्न सूचना प्रसारण गरेर सचेतना फैलाउने काम गरिरहेको छ।”

अनलाइनमार्फत हुने कारोबार बढे पनि यसलाई सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यान नपुगेको आरोप पनि लाग्ने गरेको छ। भुक्तानी प्रणाली विभागका प्रमुख पौडेल अनलाइन ठगीको प्रकृतिअनुसार समाधानको उपाय खोजिनुपर्ने बताउँछन्।

“विद्युतीय प्रयोगकर्तामा सचेतना कम भयो भने उनीहरूलाई सचेत बनाउनुपर्‍यो, बैंक तथा वित्तीय संस्था, वालेट कम्पनीको कमजोरी हो भने प्रणाली बलियो बनाउनुपर्छ,” पौडेल भन्छन, “यसरी घटनाको प्रकृति र स्वरूपअनुसार सम्बन्धित पक्ष हेर्नुपर्छ, कुनै प्रणालीलाई दोष दिनु उचित होइन।”


सम्बन्धित सामग्री