Wednesday, May 08, 2024

-->

समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा

समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।

समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा
समिटले २०६० मंसिरमा आफ्नो नाममा ल्याएको इन्द्रध्वज विष्टको नाममा रहेको डेढ रोपनी जग्गाको कित्ता देखिने नक्सा, निर्माणाधीन समिट अपार्टमेन्टभित्र पर्ने सोही जग्गाको भाग (दायाँ) र यो जग्गा फिर्ता लिन मुद्दा लडिरहेका ऋगध्वज विष्ट (तल)।

काठमाडौँ– ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टले ओगटेकोमध्ये डेढ रोपनी जग्गा समिट समूहले आफूहरूलाई थाहै नदिई अनेक प्रपञ्च रचेर हडपेको आरोप एक स्थानीय परिवारले लगाएको छ। आफ्नै जग्गा हत्याएर गैरकानूनी तवरबाट बन्दै गरेको अपार्टमेन्टका कारण अहिले बसिरहेको घर पनि भासिएपछि पुस्तौँदेखि त्यहाँ बस्दै आएको उक्त परिवार कानूनी उपचारको खोजीमा छ।

ललितपुर–१ मा पर्ने कित्ता नं. ५८५ को १ रोपनी ८ आना जग्गा समिट समूहकै ‘समिट ट्रेकिङ प्रालि’ले २०५५ कात्तिक १५ गते स्थानीय इन्द्रध्वज विष्टबाट ‘लिज’मा लियो। विष्ट वा उनका परिवारका सदस्यलाई थाहै नदिई २०६० मंसिर २६ मा समिटका सञ्चालकले राजीनामा लिखत नै गराएर ती जग्गा आफ्नो नाममा पास गर्न सफल भए। यसको माध्यम ‘सनसाइन सेभिङ एन्ड लोन को–अपरेटिभ लिमिटेड’ नामको स्थानीय सहकारी संस्था थियो। 

जग्गा हत्याउन ५ वर्ष १ महिनाका बीचमा भएका प्रपञ्च फिल्मी–कथा जस्तै छ। कुपण्डोल हाइट पनि भनिने ललितपुरको बखुण्डोलस्थित साबिक समिट होटल भत्काएर अहिले त्यहाँ लक्जरी अपार्टमेन्ट सहितको नयाँ प्रिमियिम होटल बनाउन लागिएको छ। उक्त निर्माणको क्रममा गत चैत २४ मा सो क्षेत्रको जग्गा र घरहरू भासियो र चिरा पर्‍यो। समिटको सँधियार रहेका स्थानीय ऋगध्वज विष्टको ६ तले भवनको भुइँतला जमिनभित्र भासियो। 

बखुण्डोलका घरहरू भासिएपछि समिटले महानगरबाट नक्सापास र स्वीकृति नै नलिई स्थानीयको अवरोधका बीच बनाउँदै गरेको अपार्टमेन्ट परियोजनाविरुद्ध चौतर्फी आवाज उठ्यो। कानूनी प्रक्रिया र सरकारी मापदण्ड पूरा नगरी बनाउन थालिएको अवैध संरचना नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यापारी विनोद चौधरी नेतृत्वको सीजी ग्रुप, एनई समूह र समिट समूहको लगानीमा बन्न लागेको हो। जमिन भासिएसँगै यसका अनेक पाटाहरू उजागर हुने क्रममा छन्। 

त्यहाँ कुल ९ हजार ३०२ वर्गमिटर क्षेत्रफल जग्गाभित्र २०२ आवास इकाईसहितका दुई वटा बहुतले अपार्टमेन्ट भवन बन्न लागेको छ। ललितपुर महानगरपालिका, शहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध ठहर गरेको उक्त योजनाको निर्माणस्थलभित्रको डेढ रोपनी जग्गा समिटले आफ्नो परिवारबाट षडयन्त्रपूर्वक कब्जमा लिएर उपभोग गरेको स्थानीय ऋगध्वज विष्टले उकालोलाई बताए।

उक्त जग्गा आफ्नो पुस्तैनी सम्पत्ति भए पनि समिटले प्रपञ्च रचेर हत्याएको विष्टले दाबी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. १ को मोठ अभिलेखमा रहेको यो जग्गा फिर्ता लिन कानूनी लडाइँमा रहेको उनले बताए। बुवा इन्द्रध्वजबाट समिट समूहले चलाखीपूर्वक जग्गा लिएको ऋगध्वजको भनाइ छ। उनका बुवाको निधन भइसकेको छ। 

३८ वर्षीय ऋगध्वजले भने, “म सानै छँदाको घटना हो, हामी अमेरिका बस्थ्यौँ, बुवा क्यान्सरपीडित हुनुहुन्थ्यो। हाम्रो असहज परिस्थितिको फाइदा उठाउँदै समिटले कसरी जग्गा हडप्यो भन्ने कथा तपाईंलाई अपत्यारिलो लाग्न सक्छ।”

जग्गा होटललाई लिजमा लगाएको डेढ वर्षपछि २०५६ चैतमा इन्द्रध्वजले ‘सनसाइन सेभिङ एन्ड लोन को–अपरेटिभ’बाट १६ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको पहिलो किस्ता उनले ७ लाख ८० हजार रुपैयाँ पाँचवर्षे भाकासहित २०५६ चैत १५ मा निकाले। त्यसैको दुई दिनपछि एकवर्षे भाकामा लचिलो कर्जा शीर्षकको थप ७ लाख ७० हजार लिए। अहिले समिटले बनाउन लागेको उच्च व्यावसायिक महत्त्वकांक्षा सहितको परियोजनाभित्र रहेको कित्ता नं. ५८५ को डेढ रोपनी जग्गा नै त्यतिबेला उनले सहकारीमा धितो राखेका थिए।

धितोमा लिलाम प्रक्रिया शुरू भएपछि इन्द्रध्वजको जग्गा आफूले लिजमा लिएको र त्यसमा निरन्तर बसिरहन दिन माग गर्दै समिट ट्रेकिङ प्रालिले २०५९ असोज १७ गते सहकारीलाई लेखेको पत्र। 


जग्गा पहिलेदेखि नै समिट होटललाई लिजमा दिएकाले सहकारीलाई दिनुपर्ने कर्जाको किस्ता त्यही जग्गाको लिज आम्दानीबाट तिर्ने ऋणी विष्टको योजना थियो। कर्जाको भुक्तानीबापतको किस्ता तिर्ने जिम्मा लिएर समिटले लिखित कबुल नै गरेपछि उनले सन्देह गर्नुपर्ने ठाउँ देखेनन्। 

तर, समिटलाई दिएको त्यही सुविधा नै पछि विष्ट परिवारका लागि घातक हुन पुग्यो। आफ्नो जग्गा हडप्ने समिटको योजनाअनुसार उक्त जग्गा धितो राखेर सहकारीबाट ऋण निकाल्न लगाइएको भेउ यो परिवारले पछिसम्म पनि पाउन सकेन। ऋगध्वजका अनुसार त्यसबेला सहकारी, लिजमा जग्गा लिने समिट र जग्गाधनी एवं सहकारीको ऋणी रहेका इन्द्रध्वजबीच त्रिपक्षीय सम्झौताको कागज बनाएर विष्टलाई पनि सही गराइएको कागज भेटिएको छ। 

यसरी फिँजाइयो जाल
सहकारीबाट ऋण लिएकै वर्ष श्रीमती अनु, छोरा ऋगध्वज र छोरी ऋचालाई समेत लिएर इन्द्रध्वज अमेरिका गए। यता धितो राखिएको सहितका जग्गा उपभोग गरिरहेको समिटले लिखित कबुलअनुसार सहकारीमा बुझाउनुपर्ने कर्जाको किस्ता तिरिदिएन। षडयन्त्रको थालनी त्यहीँबाट भएको इन्द्रध्वजका छोरा ऋगध्वज बताउँछन्। 

“त्यो नै समिटले गरेको जालझेल थियो, अमेरिकामा बस्ने बुवालाई सहकारीको पैसा तिर्ने व्यवस्था मिलाएर हिँडेको भन्ने पर्‍यो। यता सहकारीको किस्ता भने समिटले तिरेन,” ऋगध्वजले भने, “उसलाई त भाडामा लिएको जग्गा हडप्नु थियो, कर्जाको किस्ता किन तिर्थ्यो?” 

अमेरिका गएको एक वर्षपछि क्यान्सर रोगले ग्रसित बनेका इन्द्रध्वजको उनै निधन भयो। यता सहकारीको ऋणमा सावाँ, ब्याज र हर्जाना सहितको बक्यौता थपिँदै गयो। विष्ट परिवारका अरू सदस्यहरूलाई यसबारे सहकारीले पनि जानकारी गराएन।

ऋण दिने सहकारीले जनाएअनुसार २०५९ भदौ १४ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना निकालेर ऋणीलाई कर्जाको किस्ता बुझाउन ताकेता गरियो। अर्को महिना असोजको २४ गते सहकारीले जग्गा लिलामी प्रक्रिया पनि थाल्यो। उता अमेरिकामा रहेको विष्ट परिवारका सदस्यहरू यसबाट अनभिज्ञ रहे। जग्गा हात पार्ने समिटको योजना सफलता उन्मुख हुँदै गयो। 

ऋण नतिरेको र जग्गा लिलामी प्रक्रिया चलेकोबारे आफूहरूलाई कुनै पनि जानकारी नगराइएको इन्द्रध्वजकी श्रीमती अनुले बताउँदै आएकी छन्। उनका देवर सोमध्वजको परिवार र अन्य आफन्तहरू समिट नजिकै बसोबास गर्थे। उनीहरूलाई पनि सहकारीले कुनै जानकारी दिएन। २०५९ मंसिर १८ गते विष्ट परिवारको उपस्थितिविना नै सहकारीले जग्गाको लिलामी मुचुल्का बनायो। 

समिट ट्रेकिङ प्रालिलाई सहकारीले २०५९ असोज गते पठाएको जवाफी पत्र जसमा चुक्ता हुन बाँकी रहेको कर्जा 'समयमै असुली भएमा हामी दुवै पक्षको अनुकूल हुने' भन्दै सहयोगको अपेक्षा राखिएको छ।


त्यसपछि २०६० असार २४ मा सहकारीको कर्जा समितिले जग्गा लिलामी गर्ने निर्णय गर्‍यो र त्योसँगै सहकारीले पठाएको पत्रलाई आधार मानेर असार ३० गते मालपोत कार्यालय ललितपुरले इन्द्रध्वज विष्टको नामबाट जग्गा दाखिल खारेजीको निर्णय गरी सहकारीको नाममा पुर्जा बनाइदियो। 

आफैले लिजमा लिएको उक्त जग्गा सहकारीबाट होटल समिट प्रालिले खरिद गर्‍यो। जिल्ला मालपोत कार्यालय ललितपुरको अभिलेखअनुसार २०६० मंसिर २६ गते सहकारी कार्यालयबाट खटिएको ‘डोर’मार्फत उक्त जग्गा समिट होटल प्रालिको नाममा रजिस्ट्रेसन पास भएको देखिन्छ। यसरी समिटले लिजमा लिएको बहुमूल्य जग्गा पाँच वर्ष १ महिना ११औँ दिन आफ्नो नाममा जग्गाधनी पुर्जा बनाउन सफल भएको पाइएको छ। 

दुःखद संयोगको फाइदा 
जग्गाधनीलाई ऋण आवश्यक पर्नु, परिवार नै अमेरिका जानु र क्यान्सरपीडित भएर घरमूलीको मृत्यु हुनुजस्ता दुःखद संयोगबाट समिटले फाइदा लिएको विष्ट परिवारको बुझाइ छ। २०६६ सालमा स्वदेश फर्केपछि मात्र सिंगो परिवारले यसबारे थाहा पाएको थियो। त्यतिबेला आफ्नो जग्गा खाली गराउने प्रक्रिया चलेको देखेपछि बुझ्दै जाँदा यथार्थ थाहा पाएको क्षण पैतालामुनिको जमिन भासिएजस्तै महसुस भएको ऋगध्वज बताउँछन्। 

जग्गा समिटको अधीनमा पुगेको सात वर्षपछि २०६७ असार १ गते विष्ट परिवारले जिल्ला मालपोत कार्यालयमा निवेदन दिएर लिखतको नक्कल निकाल्यो। त्यसपछि दर्ता गरेको मुद्दामा ललितपुर जिल्ला अदालतले विष्ट परिवारको दाबी नलाग्ने फैसला सुनायो। एक चरण आफूहरूले हारे पनि उच्च तहका अदालतमा कानूनी लडाई बाँकी नै रहेको पीडितहरू बताउँछन्। उतिबेला कम्तीमा ३ करोड पर्ने जग्गा समिटले ५० लाख रुपैयाँमै किनेको देखिएको छ। यसबाट पनि मिलेमतो प्रस्टिएको पीडित परिवारको भनाइ छ। 

“सहकारीले जग्गा लिलाम गर्दा छरछिमेक साँधसधियारलाई जानकारी गराउँछ,” ऋगध्वजका काकाका छोरा रञ्जनध्वजले भने, “यो जग्गाको सन्दर्भमा त्यस्तो केही पनि भएन, कसैले थाहा नपाउने गरी सहकारीले सुटुक्क आफ्नो नाममा सारेर समिटलाई दियो।” 

त्यसबाहेक ‘लिलामी प्रक्रिया ललितपुरमा नगरी काठमाडौँ–८ मा गरिएको, समिटलाई जग्गा दिलाउन सिफलस्थित बुद्धकुमारी लामाको घरमा इन्द्रध्वज डेरामा बस्दै आएको नक्कली कागज बनाइएको, सहकारीबाट ऋण लिने इन्द्रध्वजका छोरा ऋगध्वज नाबालिग रहेको बेला उनको नाममा फर्जी इमेल बनाएर त्यसमा जानकारी पठाइएको रेकर्ड खडा गरिएको’ जस्ता प्रपञ्च रचिएको विष्ट परिवारको भनाइ छ। 

आफ्नो पुस्तैनी सम्पत्तिबाट अंशबन्डामा आएको जग्गा विभिन्न किसिमले जालझेल गरी समिट होटल प्रालिले हडपेकाले यसविरुद्धको कानूनी लडाइँ नरोकिने ऋगध्वजले बताए। अहिले उक्त जग्गा धितो राखेर समिटले ग्लोबल आईएमई बैंकबाट ऋण लिएको छ। त्यही कारण निर्माणाधीन अपार्टमेन्टको यो कित्ता जग्गा २०७७ मंसिर १४ देखि बैंकको नाममा रोक्का रहेको छ। 


सम्बन्धित सामग्री