Tuesday, May 28, 2024

-->

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा गोपालको छ।

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

घोराही– दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल २०७३ सालअगाडि उनी शिक्षण पेसामा आबद्ध थिए। गाउँमै निजी विद्यालयमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागेका छन्। 

उनले ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ स्थापना गरेका छन्। “शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिएँ,” उनले भने, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ। अब त यसैमा अभ्यस्त भइसकेँ।” 

शुरूआती दिनमा चार लिटरबाट दूध बेच्थे। हाल १२० लिटर बिक्री गरिरहेका छन्। त्योमध्ये अधिकांश दूध डेरीमा बिक्री गर्छन्। बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाँजोपाँजो मिलाउन उनलाई भ्याइनभ्याई छ। परिवारको सहयोग र आफ्नो मिहिनेतले ४० हजारबाट थालेको व्यवसायमा अहिले ६० लाख रुपैयाँ लगानी पुगेको छ। 

“अहिले मासिक एक लाख रुपैयाँको कारोबार गरिरहेको छु भने वार्षिक करिब सात लाखसम्म बचत हुने गरेको छ,” खनालले भने। गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेका छन्। यसले आम्दानीको केही रकम जोगाउन सकिएको उनको भनाइ छ। स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ । 

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्छन्। किसानका लागि सहुलियतका कार्यक्रम ल्याउन सके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ। 

त्यसो गर्न नसके पनि भएका नीति नियमको कार्यान्वयन र किसानमैत्री ऐन कानून बनाउनसके उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए। “मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणले विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्द गरेर बिदेसिन थालेका छन्। यसलाई रोक्न जरुरी छ,” उनले भने। 

डेरीलाई प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा संलग्न हुन नपाउनुमा छ।  “हामीले नाफाघाटा, दुःख कष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ। यसले हामीलाई निराश बनाएको छ,” खनालले गुनासो गरे। खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन्।


सम्बन्धित सामग्री