Monday, April 29, 2024

-->

देशभित्रै अनागरिक भएर सपना मरेको साक्षी बसिरहेका तिलक

पाइलापाइलाका व्यवधान देख्दा तिलकलाई नागरिकता सासभन्दा पनि महत्त्वपूर्णझैँ लाग्छ। वेदनाले विक्षिप्त उनी बेलाबेला आफैँलाई सोध्छन्, 'म को हुँ? मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्छ?'

देशभित्रै अनागरिक भएर सपना मरेको साक्षी बसिरहेका तिलक
आफ्नो क्याफेमा तिलक साह। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ- गृह मन्त्रालयले गत शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण शुरू गर्न भनेपछि काठमाडौँमा क्याफे चलाएर बसेका तिलक साह (२६) असीम खुशी थिए। उनको उत्साह पनि उस्तै उचाइमा थियो।  

साथीभाइ, घरपरिवार र आफन्त कसैलाई नभनी उनले हतारहतार शनिबार साँझको लागि काठमाडौँबाट जनकपुर जाने बसको टिकट काटे। झोला ठीकठाक पारे। भोलिपल्ट शनिबार नपरेको भए उनी उसै दिन जनकपुरको लागि हिँडिसकेका हुन्थे। तर, त्यो रात काठमाडौँले उनलाई आफैँसँग राख्यो। 

नागरिकता वितरण थालिने खबरले तिलक खुशी मात्रै थिएनन्, वर्षौँदेखि थन्किएको सपना पूरा हुने निश्चित देखेर भावुक पनि उत्तिकै थिए। उनको अँध्यारो भविष्यमा नागरिकताले उज्यालो प्रकाश थप्नेवाला थियो। तिलक त्यो रात अबेरसम्म सुत्न सकेनन् किनभने नौ वर्षको पर्खाइ सकिन जम्मा दुई रात बाँकी थियो।

“म खुशी थिएँ। नौ वर्षदेखि नागरिकताका लागि योग्य हुँदाहुँदै पनि अनागरिक भएर बाँचिरहेको थिएँ,” तिलक भन्छन्, “अनागरिकबाट नेपाली नागरिक हुने अन्तिम पर्खाइको क्षण म यति ‘एक्साइटेड’ थिएँ कि नागरिकता बनाएर के गर्ने, के नगर्ने दिमागमा केही आइरहेको थिएन। एकछिन त ओछ्यानमै सपना पो देखिरहेको छु कि जस्तो भयो।”   

शनिबार साँझ काठमाडौँबाट बस चढेका उनी आइतबार बिहान ६ बजे जनकपुर पुगे। जिल्ला प्रशासन कार्यालय खुल्न अझै चार घण्टा बाँकी थियो। बसबाट ओर्लेर सरासर घर गए। फ्रेस भए अनि सिफारिस बनाउन वडाअध्यक्षलाई फोन गरे। तर, अध्यक्षले प्रशासनबाट अहिले कुनै सिफारिस नगर्न अनुरोध आएको बताए। फेरि पनि नागरिकता पाउनमा कुनै तगारो आउने हो कि भन्ने चिन्ताले उनको मनमा एकैपटक दर्जनौँ प्रश्नहरू उब्जाए। 

बिहानको नौ बज्नासाथ उनले जिल्ला प्रशासन कार्यालय धनुषामा फोन गरे। कार्यालय खुलिसकेको रहेछ। तर फोन उठाउने कर्मचारीले जवाफ दिए, "आजै त कुनै हालतमा नागरिकता बन्दैन, भोलि चाहिँ के हुन्छ थाहा छैन।" नागरिकता जारी गर्ने कार्यालयबाट आधिकारिक जानकारी पाइसकेपछि तिलकको आशा लगभग निराशामा बदलियो। त्यो दिन साथीभाइसँग भेटघाटमा बिताउने र भोलिपल्ट मात्र प्रशासन कार्यालय जाने निर्णय गरे। 

दिउँसो चार बजेतिर नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। त्यो खबरले आहत भएका तिलक घरपरिवारको जोडबलमा त्यो रात जनकपुरमै बिताएर भोलिपल्ट काठमाडौँ फर्किए। 

‘भाइ यारी’ ले देखाएको त्यो सपना
तिलक काठमाडौँको नरेफाँटमा ‘भाइ यारी जङक्सन’ भन्ने क्याफे चलाउँछन्। उनले क्याफे खोलेको पाँच महिना भयो। नागरिकता नभएकै कारण सपनाका अन्य ढोकाहरु बन्द देखेपछि क्याफे खोल्ने निर्णयमा पुगेका उनले त्यही व्यवसाय थाल्दा पनि कम्ती हन्डर खेपेका थिएनन्। किनभने क्याफे खोल्न पनि त नागरिकता नै चाहिन्थ्यो जुन उनीसँग थिएन। 

पैसाको जोहो, ‘क्याफे कन्सेप्ट’ र साथीभाइको साथ पाएपछि उनले अफ्ना 'करिबी दोस्त'कै नागरिकताको साहारामा क्याफे दर्ता गराए। राम्रो आम्दानी दिइरहेको क्याफे उनका लागि जीविकोपार्जनको व्यवसाय र अनागरिक हुँदाको पीडा भुल्ने आश्रय दुवै हो। 

नागरिकता नबन्दा संक्रमणकालीन व्यवसायसँगै आफ्नो दु:ख भुल्ने बिसौनी बनेको क्याफे 'भाइ यारी'मा चिया पकाएर 'सर्भ' गर्दै तिलक। तस्वीर: कृष्पा/उकालो

तिलक भन्छन्, “क्याफे खोल्नुअघि मसँग न बाँच्ने आधार थियो, न कारण।” स्नातक सकेर कामको खोजीमा लाग्दा जहाँ पनि उनीसँग नागरिकता मागिन्थ्यो। पढाइ थाल्नु अघिदेखि सकिइसक्दासम्म हरदिन र हरक्षण आफूलाई देशविहीन महसुस गर्थे उनी। 

अस्ट्रेलिया गएर पढ्ने सपना देखिरहेका तिलक काठमाडौँमै रोकिए। होटल म्यानेजमेन्टमा स्नातक गरेका तिलकसँग होटल र बारमा काम गरेको अनुभव थियो। स्नातक गर्दाताका नै उनी काठमाडौँको दरबार मार्गमा रहेको ‘लिक्वीड लाउन्ज एन्ड बार’मा काम गर्थे। 

“त्यतिखेर म नाइट ड्युटी गर्थें। साँझ पाँच बजेदेखि राति दुई बजेसम्म काम गर्थें र तीन घण्टा सुतेर कलेज पढ्न जान्थेँ,” तिलक सुनाउँछन्, “पढाइसँगै वेटर भएर काम गर्दा आफ्नो खर्च चलेको थियो। तर पढाइ सकिएपछि त्यो काम गर्न मन लागेन। अन्यत्र गएर म काम खोज्ने, रोजगारदाताले नागरिकता। यो क्रम चलिरह्यो। नागरिकताविना मलाई आफ्नो पढाइको महत्व नै फिका महसुस हुन थाल्यो।”

पढाइ सकिएपछिको एक वर्ष उनले गोकर्ण रिसोर्टमा ‘इन्टर्नसिप’ गरेका थिए। त्यसअघि नै दुई ठाँउमा काम गरिसकेका उनलाई फेरि पनि त्यहाँ इन्टर्नमै चित्त बुझाउनुपरेको थियो। “यहाँ अनुभवले काम गर्दैन, सोर्सफोर्स र पावर चाहिन्छ। कम पढेका मान्छेहरू सिनियर हुन्छन्। पढेलेखेकाहरू उनीहरूको अन्डरमा बसेर काम गर्नुपर्छ,” तिलक सुनाउँछन्, “ब्याचलर सकेर मैले दुईवटा पाँचतारे होटलहरू सोल्टी र र्‍याडिसनमा काम गरिसकेको थिएँ। तर, अनुभव र योग्यताको कदर नभएको देखेपछि गोकर्णमा इन्टर्न गरिरहन मन लागेन। विदेश जाने पासपोर्ट बनाउन पनि नागरिकता नै चाहिन्थ्यो।”

तिलक ६ महिनासम्म केही काम नगरी काठमाडौँमै बसिरहे। उनलाई नागरिकता पाउने आस थियो। “म नागरिकताकै पर्खाइमा थिएँ। लाग्थ्यो, केही दिनमै मजस्ता देशभित्रै अनागरिक भएर बस्न वाध्य व्यक्तिका लागि नागरिकता वितरण शुरू हुन्छ र नागरिकतासँगै पासपोर्ट बनाएर थप पढाइका लागि विदेश गइहाल्छु। तर महिनौँ बित्दा पनि नागरिकता पाउने छाँटकाट नदेखेपछि म आत्तिन थालेँ।”

तिलककी सानीमाको छोरा रोहित अस्ट्रेलियामाम बस्छन्। त्यहाँको सिड्नीमा उनले चेन रेस्टुरेन्ट डोमिनोजको स्टल चलाएका छन्। तिलकको बारेमा थाहा पाएपछि रोहितले उनलाई फोन गरेर हौसला थप्दै आफैँ 'केही गर्न' सल्लाह दिए। रोहितले होटल वा क्याफे चलाउने भए आर्थिक सहयोग गर्ने वचन पनि दिए। त्यो आश्वासनपछि साथीहरूको मद्दत लिएर उनले काठमाडौँको बालकुमारी स्थित नरेफाँटमा क्याफे खोले। 

भ्याईनभ्याईसँग चलिरहेको क्याफे तिलकका लागि व्यवसाय भन्दा बढी पर्खाइको बिसौनी हो जहाँ उनी दुई जना सहयोगीलाई लिएर सबै काम सम्हाल्दै कुरिरहेका छन्- नागरिकता। कहिले नागरिकता बन्ला र स्नातकोत्तर पढ्न विदेशका राम्रा विश्वविद्यालयमा पुगौँला भन्ने आशामा दिन कटाइरहेका छन् उनी।  

क्याफेमा आएका पाहुनाको सेवा गरिरहेका तिलक। तस्वीर: कृष्पा/उकालो

“भाइ यारीले मलाई धेरै कुरा दिएको छ। म यसलाई ठूलो बनाउने योजना बनाइरहेको छु। मेरो सपना अब यहीँबाट पूरा गर्छु,” आफ्नो योजनाबारे तिलक भन्छन्, “नागरिकता पाएपछि बाहिर गएर ट्राभल्स एन्ड टुरिजम पढ्छु नेपाल फर्केर यही सेक्टरमा केही योगदान गर्छु।”

सपनाको अवसान
एसएलसी जनकपुरकै हिमाली स्कुलबाट दिएका तिलकले ‘साइन्स’ पढेर इन्जिनियर बन्ने लक्ष्य लिएका थिए। ‘प्लस टू’ पढ्न नागरिकता चाहिँदैन। जनकपुरकै धनुषा साइन्स क्याम्पसबाट १२ कक्षाको पढाइ सकेपछि आईटी इन्जिनियरिङ अध्ययनका लागि विदेश जाने उनको योजना नागरिकताकै अभावमा अवरुद्ध हुन पुग्यो। थुप्रै आफन्तहरू विदेशमा छन्। पढाइ सँगसँगै परिवारको आर्थिक समस्या हल गर्न विदेश जाने चाहना नागरिकता नभएर अहिलेसम्म पूरा नभएको उनी सुनाउँछन्। 

ब्याचलर्स पढ्न काठमाडौँ आएका तिलक पुलचोक इन्जिनियरिङ क्याम्पस पाटनमा भर्ना हुन चाहन्थे। तर, त्यहाँ ‘इन्ट्रान्स’ दिने बेला नै नागरिकता मागियो जुन उनीसँग थिएन। "नागरिकताको महत्व कति रहेछ भन्ने कुरा मैले त्यहीबेला महसुस गरेँ। म पूरै होपलेस भएको थिएँ," उनले भने। 

सँगै इन्ट्रान्सको तयारी गरिरहेका साथीहरू उनलाई बारम्बार प्रश्न गर्थे- तयारी कस्तो गर्दैछौ? के पढिरहेका छौ? उनी सुनाउँछन्, “मलाई आफ्नो समस्या कसैसँग सेयर गर्न पनि मन थिएन। किनभने मेरो पीडा तराईका साथीहरूलाई थाहा थियो तर यताका साथीहरूलाई नागरिकताको समस्याबारे पत्तै थिएन। त्यसैले मेरो नागरिकता छैन भनौँ भने उनीहरूले उल्टै मलाई शंकाको नजरले हेर्लान् भन्ने डरले त्यो पीडा आफैँभित्र दबाएर राखेँ। बरु घरै फर्किन्छु भन्ने सोचेँ।”

पढ्ने रहर हुँदाहुँदै पनि कुनै विकल्प नदेखेका तिलक करिब चार महिनाको काठमाडौँ बसाइपछि जनकपुर फर्किए। घरमा बस्दा ‘डिप्रेस्ड’ हुन थालिसकेका थिए। उता गएको दुई महिनापछि तिलकले शुभचिन्तकका सल्लाहहरू पाउन थाले। “घरमा खाली बसेको देखेपछि कसैले कुनै सानोतिनो तालिम लिँदै गर वा कम्प्युटर सिकेर कम्युनिकेसन पसल थाप भन्न थाले, कोही मोबाइल रिपेयरिङको इलम सिक्न सुझाउँथे। कोही कपडा पसल खोल्न सल्लाह दिन्थे। तर म त्यस्ता काममा अल्झिएर आफ्नो सपनामाथि अन्याय गर्न चाहँदैनथेँ,” तिलक भन्छन्।

इच्छा अनुसारका पढाइको कुनै बाटो नदेखेपछि तिलक जनकपुरमै कक्षा ८ र ९ का विद्यार्थीलाई ट्युसन पढाउन थाले। स्कुलमा र घरघरै गएर पनि ट्युसन पढाउन थालेपछि उनको आम्दानी बढ्दै गयो। ६ महिना ट्युसन पढाएपछि तिलकलाई जसरी पनि आफूले स्नातक गर्नुपर्छ भन्ने लाग्यो। 

नभन्दै उनको एकजना साथीले ललितपुस्थित खुमलटार हाइटमा रहेको ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट’ (एआईटीएम) कलेजको बारेमा उनलाई सुनाए। तिलक पनि कलेजबारे बुझ्न काठमाडौँ आए। यो कलेज स्विजरल्याण्डको एक विश्वविद्यालयअन्तर्गतको कलेज हो। तिलकलाई ढिलोचाँडो आफूले नागरिकता पाउने आशा थियो। त्यही कारण उनी भर्ना हुन केही समय कुर्न पनि चाहन्थे। तर, घर्किँदो उमेरले उनलाई पर्खनुको साटो जुन कलेजमा भए पनि भर्ना हुनैपर्ने दबाब पारिरहेको थियो। 

स्नातक पढ्न पाउने खबरले भित्रैबाट खुशी तिलक दुखी पनि थिए। दुखी किनभने उनी जुन विषयमा स्नातक गर्न लागेका थिए त्यो उनको लागि पूर्णरूपले नयाँ थियो। उनले त्यसअघि बीएचएम (होटल म्यानेजमेन्टमा स्नातक) कोर्सको नाम समेत सुनेका थिएनन्। तर, उनीसँग अर्को विकल्प नै थिएन। 

"२०७२ सालदेखि नै वकिलहरूले बाबु, केही समय पर्ख, नागरिकताको विषय संसदमा टेबुल भइसकेको छ। अब चाँडै समाधान हुन्छ भन्थे,” तिलक सुनाउँछन्, “तर, अरू विकल्प नभेटेपछि रहरलाई छाडेर वाध्यतालाई अंगालेँ। बीचमै नागरिकता बन्यो भने यो पढाइ छाडेर आफ्नो लक्ष्यतिर लाग्ने गरी बीएचएमको इन्ट्रान्स दिएँ। नाम निकालेर भर्ना पनि भएँ।" 

आईटी इन्जिनियर बन्ने सपना नागरिकताको अभावमा तुहिएपछि 'भाइ यारी' क्याफे सञ्चालक बनेका तिलक। तस्वीर: कृष्पा/उकालो  

उनी भर्ना भएको एआईटीएम कलेजले पनि नागरिकता नखोजेको होइन। तर, तिलकले आफ्नो नागरिकताको समस्या राखेपछि चाँडै बुझाउने सर्तमा कलेजले भर्ना गरिदिएको थियो।  

साइन्स पढेर आएका कारण उनको लागि बीएचएमको पढाइ गाह्रो भएन। उनी पढाइमा राम्रो गर्दै थिए। चौथो सेमेष्टरमा पुगेपछि उनी युनिभर्सिटी भ्रमणका लागि स्विजरल्यान्ड जाने टोलीमा छनोट भए। तर, त्यो अवसरले फेरि उही पीडा मात्र बल्झायो। नागरिकता अभावले पासपोर्ट बनाउन र स्विजरल्यान्ड जान नपाउँदा हातखुट्टा बाँधिएझैँ भएर यतै रोकिए उनी। 

तिलक भन्छन्, “मलाई त्यो क्षण सम्झँदा आजसम्म पनि उत्तिकै पीडा हुन्छ। आफ्नो योग्यताले पाएको अवसर देशको अयोग्यताले गुमाएँ। मेरो ठाउँमा कलेजले अरू नै विद्यार्थीलाई लग्यो।”

स्नातक सकेको एक वर्ष भइसक्दा पनि तिलकले शैक्षिक योग्यताको प्रमाणपत्र पाउन सकेका छैनन्। किनभने नागरिकता नबुझाई कलेजले प्रमाणपत्र दिँदैन। “विश्वविद्यालयसँग आवद्ध कलेजले प्रमाणपत्र दिइहाल्यो भने पनि त्यसलाई नेपाल सरकारले मान्यता दिने छैन। किनभने त्यसको प्रमाणपत्र देखाएर मैले नेपाली विश्वविद्यालयबाट इक्वीभ्यालेन्ट (समकक्षिता) प्रमाणपत्र लिनुपर्छ जसको लागि नागरिकता नभई हुँदैन,” तिलक भन्छन्। 

पाइलापाइलामा आइपरेका यी सबै व्यवधान देख्दा तिलकलाई आफ्नो लागि सासभन्दा पनि महत्त्वपूर्ण चिज नागरिकता नै रहेछ जस्तो लाग्छ। वेदनाले विक्षिप्त बनेका उनी बेलाबेला अफैलाई प्रश्न गर्छन्, "म को हुँ?  मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्न सक्छ?” 

घरका एक्लो अनागरिक
जनकपुर उपमहानगरपालिका-७, जानकीनगर निवासी तिलकको घरमा उनीबाहेक सबैसँग नागरिकता छ। २०६३ सालअघि चाहिँ उनका बुबासँग पनि नागरिकता थिएन। चुनौतीपूर्ण आर्थिक स्थितिका कारण उनको परिवारको गुजारा अरूकै खेतमा काम गरेर चल्थ्यो। खेतिकिसानी गरेरै घर धानेका उनका हजुरबुबाले आफ्नो समयमा औचित्य नदेखेर नागरिकता लिएनन् र अल्पायुमै बिते। त्यही कारण उनका बुबा पनि २०६३ सम्म अनागरिक नै रहे। 

२०६३ सालमा नागरिकता बनाउन खटिएको टोली उनको टोलमै आइपुग्यो। उनका बुबाले त्यही मौकामा नागरिकता बनाए। तर, त्यो वंशजको नभएर जन्मको आधारमा दिइएको नागरिकता थियो। तिलकका हजुरबुबाले नागरिकता नलिनु त्यसको कारण थियो।

पछि सरकारले जन्मको आधारमा नागरिकता पाएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गर्‍यो। २०७० सालमा १६ वर्ष पुगेका तिलकका दाजु चन्दन साहले त्यसबेला नागरिकता बनाइहाले। उमेर नपुगेका तिलक छुटे। 

आफ्नो मोबाइल फोनको फोटो ग्यालरीमा दाजु चन्दन साहको नागरिकताको प्रतिलिपि नियाल्दै तिलक। तस्वीर: कृष्पा/उकालो

एक वर्षपछि उनी उमेरले योग्य हुँदै थिए। तर, त्यो समय नआउँदै २०७१ सालको शुरूतिरै सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन रोक लगाइसकेको थियो। तिलककी आमाको भने वंशजकै नागरिकता छ। यसरी परिवारमा उनी मात्र अनागरिक रहे।

आस न उत्साह 
२०७२ सालदेखि जतिपटक नागरिकता पाउने समाचार सुन्दा पनि तिलक उत्साहित हुन्थे र नागरिकता पाउने आस गर्थे। तर, सरकारले नागरिकता दिन गरेको तयारीलाई अदालतले कार्यान्वयनमा रोक लगाउँथ्यो तब उनमा निराशा छाउँथ्यो। 

अदालतप्रति असन्तुष्ट तिलक नागरिकता पाउने आशा पलाउनासाथ पटक पटक अदालतले त्यसमा रोक लगाउँदै आएकाले निरन्तर निरास हुनुपरेको बताउँछन्। “संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनविरुद्ध एउटा व्यक्तिले रिट हाल्दैमा अदालतले रोक लगाइदिने, कस्तो देश हो यो?” उनको आहत मनले प्रश्न उठाउँछ। 

आजभोलि तिलकका लागि नागरिकताको महत्व घटेको छ। गत आइतबार (जेठ २० गते) जब उनी जनकपुर गएर नागरिकता पाउन सकेनन् तब उनीभित्र रहेको थोरै आशा पनि बाँकी रहेन। तिलक भन्छन्, “मेरो आशा कैयौँ पटक निराशामा बदलिइसकेको छ। अब नागरिकता पाइए पनि लिने उत्साह पहिले जस्तो छैन। अब नागरिकता बने पनि ठीक नबने पनि ठीक। किनभने समयक्रममा मेरा सपनाहरू दिनदिनै मरिरहेका छन्। आफ्नै देशभित्र अनागरिक बनाइँदा मैले पाइला पाइलामा हारिरहेको छु।” 


सम्बन्धित सामग्री