Tuesday, April 30, 2024

-->

फुटबल खेलाडीलाई लिगको धपेडी, एन्फाको प्राथमिकतामा छैन राष्ट्रिय टोली

'ए' डिभिजन लिगको व्यस्त तालिकामा खेलाडीलाई आराम छैन। राष्ट्रिय टोलीका सम्भावित खेलाडी घाइते भइरहेका छन्। लिग सकिएको दुई हप्तापछि शुरू हुने साफमा खेलाडीले ९० मिनेट खेल्न नसक्ने प्रशिक्षकको चिन्ता छ।

फुटबल खेलाडीलाई लिगको धपेडी एन्फाको प्राथमिकतामा छैन राष्ट्रिय टोली

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई वैशाख २० गते पत्र पठाएर राष्ट्रिय टोलीका लागि खेलाडी उपलब्ध गराइदिन आग्रह गरेका थिए। ‘साफ च्याम्पियनसिप’को तयारीका लागि उनले खेलाडी उपलब्ध गराइदिन आग्रह गरेका थिए। तर न एन्फाले कुनै चासो दियो, न त क्लबहरूले नै खेलाडी 'रिलिज' गरे।

राष्ट्रिय फुटबल टोलीमा मुख्य प्रशिक्षक एनिसको एउटै रणनीति छ, आक्रामक फुटबल खेल्ने। यसका लागि मैदानमा ९० मिनेट टिक्न सक्ने खेलाडी हुनुपर्ने उनी बताउँछन्। 

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफअगाडि उनी यस्तै खेलाडीको खोजीमा छन्। “अहिले क्लबहरूले खेलाडीलाई ध्यान दिइरहेका छैनन्। लिगको व्यस्त तालिकामा खेलाडीलाई आराम छैन। यसकारण ९० मिनेट टिक्नसक्ने खेलाडी पाउन गाह्रो भइरहेको छ,” गएको चैत १७ गते प्रधानमन्त्री थ्री नेसन्स् कप जितेपछि एनिसले भनेका थिए।

मुख्य प्रशिक्षकको यो असन्तुष्टिलाई एन्फाले सुनेन। लिगका खेलहरू हरेक दिन भइरहेका छन्। एउटा क्लबले हरेक हप्ता दुई खेल खेल्नुपर्छ। यस्तो अवस्थामा खेलाडीलाई आराम नपुग्ने प्रशिक्षक एनिसको चिन्ता छ।

आगामी जुन २१ देखि जुलाई ३ सम्म (असार ६–१८) भारतको बैंग्लुरुमा १३औँ संस्करणको साफ आयोजना हुँदैछ। माल्दिभ्समा आयोजना भएको सन् २०२१ को साफको फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपाल उपाधि विमुख भएको थियो। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो।
यसपटक आयोजक तथा साबिक विजेता भारतसहित नेपाल, भुटान, माल्दिभ्स, पाकिस्तान र बंगलादेशसँगै कुवेत र लेबनान पनि सहभागी हुनेछन्। एनिसको लक्ष्य यसपटक उपाधि जित्ने नै छ।

तर, ‘ए’ डिभिजन लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक किशोर श्रेष्ठ राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गर्नेमा शंका गर्छन्। उनी भन्छन्, “लिगका कारण प्राय: खेलाडी घाइते छन्। विमल घर्ती मगर पनि अनुपस्थित हुन सक्छन्। यस्तो अवस्थामा बलियो टोली बनाउन मुस्किल छ।”

विमलले खुट्टामा चोट बोकेका छन्। सन् २०१३ मा नेपालमै भएको साफमा पाकिस्तानविरुद्ध गोल गर्दै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता खोलेका थिए। त्यसयता उनी टोलीका मुख्य फरवार्ड हुन्। ३९ क्याप खेलिसकेका उनले ९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। 

किशोर भन्छन्, “खुट्टाको चोटको कारण विमलले 'ए' डिभिजन लिगका बाँकी खेल खेल्ने छैनन्। गत हप्ता एपीएफविरुद्ध खेल्ने क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो। उनलाई आरामको खाँचो छ।”

राष्ट्रिय टोलीबाट खेल्दै आएका 'सेन्टर ब्याक' देवेन्द्र तामाङ पनि फिट छैनन्। उनी पनि राष्ट्रिय टोलीमा उपलब्ध हुने निश्चित नभएको किशोर बताउँछन्।

चोटको समस्या मच्छिन्द्रमा मात्रै नभई अन्य क्लबमा पनि उस्तै छ। दुई वर्षअघि बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलमार्फत् डेब्यू गरेका मिडफिल्डर एरिक विष्टसँगै आर्मीका 'फुल ब्याक' विकास खवास, एपीएफका फरवार्ड मणिकुमार लामालगायत खेलाडी पनि घाइते छन्।

लगातार खेल हुँदा लिगको दबाब थाम्न नसकी कतिपय खेलाडी प्रशिक्षणमै आउन छाडिसकेको खुमलटार र यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ बताउँछन्। "क्लबसँग बेन्चमा पनि थोरै खेलाडी छन्, क्लबले खेलाडीमाथिको दबाब बुझ्दैन। खेलाडीको मानसिकता निकै खस्किएको छ,” गुरुङ भन्छन्।

बन्द प्रशिक्षणका लागि एन्फासँग 'छैन समय'
'ए' डिभिजन लिग जेठ २७ गतेसम्म चल्नेछ। लिग अवधिभरि खेलाडीलाई घाइते हुनबाट जोगाएर मैदान उतार्नुपर्ने चुनौती क्लबहरूलाई छ। खेलाडी घाइते भइरहँदा लिगको व्यस्त तालिकाले राष्ट्रिय टोली प्रभावित हुने प्रशिक्षक गुरुङ बताउँछन्।

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्र पनि लिगका कारण खेलाडीलाई धपेडी हुँदा कारण राष्ट्रिय टोलीको प्रदर्शन पहिलाको भन्दा खस्किन सक्ने आकलन गर्छन्। यस्तो अवस्था आउनुमा क्लब नै मुख्य दोषी रहेको तर्क गर्छन्। 

“हामीसँग लिगका लागि कम समय थियो। यस्तोमा सिंगल राउन्ड रोबिनको आधारमा प्रतियोगिता गरेको भए अहिलेजस्तो स्थिति आइपर्ने थिएन होला। तर, हामीले सचेत गराउँदा गराउँदै क्लबहरूले डबल राउन्ड रोबिनको लिग नै चाहिन्छ भनेर अड्डी कसे। त्यसैले धेरै खेलाडीले सामान्यदेखि गम्भीर चोट बोकेका छन्,” उनी भन्छन्।

साफ नजिकिँदै गर्दा एन्फाले भने यसतर्फ ध्यान दिन भ्याएको छैन। एन्फा कसरी लिग सक्काउने भन्ने धाउन्नमा छ। एन्फा प्रवक्ता सुरेश शाह खेलाडीमा परेको असरबारे जानकारी रहे पनि लिगलाई बिचैमा रोकेर साफको तयारी गर्न सक्ने अवस्थामा आफूहरू नरहेको बताउँछन्।

“हामीले कहिले कुन प्रतियोगिता गराउने भनेर पहिला नै सेड्युल फिक्स गरिसकेका छौँ। राष्ट्रिय टोलीले खेल्ने प्रतियोगिताको पनि डेट सार्ने कुरा आउँदैन,” उनी भन्छन्, “कुनै क्लबबाट एक जना पर्लान्, कुनैबाट दुई जना। सबै लैजाने त होइन नि।” 

भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकको नेतृत्वमा रहेको राष्ट्रिय टोलीले सोमबारदेखि साफकै तयारीको लागि भुवनेश्वरमा बन्द प्रशिक्षण गरिरहेको छ। २५ दिनको बन्द प्रशिक्षणपछि भारतीय टोलीले कलिंगा स्टेडियम भुवनेश्वरमा ९ जुनदेखि लेबनान, भानुआटु र मंगोलियासँग ‘इन्टरकन्टिनेन्टल कप’ खेल्दैछ। यो प्रतियोगिता साफलाई लक्षित गरेर आयोजना गरिएको हो।

यता, बंगलादेशका मुख्य प्रशिक्षक जेभियर काब्रेराले पनि साफका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ। फिफाको कारबाही फुकुवा भएर पाकिस्तान पनि साफमा सहभागी हुने पक्का भएपछि आन्तरिक तयारीमा जुटिसकेको छ। तर, एन्फा जेठ २७ गते लिग सकिएपछि ३२ गते हुने फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न मनिला जाने तर्खरमा छ। त्यसको एक हप्तापछि साफ शुरू हुन्छ।

खेलाडी लिगमा व्यस्त भइरहेकाले बन्द प्रशिक्षणको आवश्यकता नरहेको प्रवक्ता शाह दाबी गर्छन्। “मनिला जानुभन्दा केही दिन अगाडि मात्र लिग सकिन्छ। यस्तो अवस्थामा खेलाडीलाई बन्द प्रशिक्षणको आवश्यक पर्छ जस्तो लाग्दैन,” शाह भन्छन्, “उनीहरूले क्लबबाट खेलिरहेका नै हुन्छन्। त्यसैले लिग सकिएपछि छनोट गरेर हामी खेलाडीलाई मनिलामा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलाउछौँ।”

माल्दिभ्समा भएको गत संस्करणको साफका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीलाई बलियो तयारी गराएका थिए। कतारमा दुई साता लामो प्रशिक्षणसमेत गराइएको थियो। कतारमा रहँदा नेपाली टोलीले वरीयतामा आफूभन्दा माथिको ओमानसँग खेलेको थियो। स्थानीय क्लबहरूसँग पनि खेल खेलाइएको थियो। त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको थियो।

यसपटक एनिसले तेस्रोपटक बुधवार साफ लक्षित रणनीतिक प्रशिक्षण गराएका छन्। यसअघि प्रशिक्षक एनिसले वैशाख १ गते पहिलो र वैशाख १८ मा दोस्रोपटक रणनीतिक प्रशिक्षण सञ्चालन गरेका थिए।

'खेलाडीलाई नतिजा दिन मुस्किल छ'
मेघराज केसी आफैँ नेपाली राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक हुन्। सन् २०१२ मा ग्राहम रोबर्टसले राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दा केसी उनको सहायक थिए। त्यसयता, यू–१४, यू–१७ र यू–१९ हुँदै यू–२० नेपाली टिम पनि उनले सम्हाले। बहराइनमा भएको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिप खेल्ने यू–२० टिम सम्हाल्दा उनको टोलीले ठूला मात्रै होइन, साना टोलीसँग पनि निराशाजनक प्रदर्शन गरेको थियो। त्यसमध्ये भुटानविरुद्धको २–० गोल अन्तरको हार अनपेक्षित थियो।

केसी दक्षिण एसियामा नेपाली टोलीको भन्दा अन्य टोलीको स्थितिमा व्यापक सुधार भएको बताउँछन्। गएको चैतमा काठमाडौँमै आयोजना भएको प्रधानमन्त्री थ्रि नेसन्स् कपमा नेपाली सिनियर टोली भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

साफमा यसपटक फिफा वरीयतामा माथि रहेका लेबनान र कुवेत पनि साफमा सहभागी हुँदैछन्। तर, लिग सक्ने चटारोले गर्दा लगातार खेलिरहेका खेलाडीले शतप्रतिशत प्रदर्शन गर्ने अवस्था नरहेको केसी बताउँछन्।

“यो लिग खेलाडीको लागि होइन, देखाउन मात्रै गरिएको हो। लिगको कारण कतिपय खेलाडीले मानसिक तनावमा छन्। यस्तो स्थितिमा गएर राष्ट्रिय टोलीबाट खेलाडीले कसरी खेल्न सक्छन्?” थ्री स्टारका मुख्य प्रशिक्षकसमेत रहेका केसी भन्छन्।

थ्री स्टारबाट यसपटक अनुभवी 'डिफेन्सिभ मिडफिल्डर' विक्रम लामा, मिडफिल्डर लाकेन लिम्बु र दीपेश गुरुङ राष्ट्रिय टोलीमा स्थान बनाउन लायक खेलाडी हुन्। विक्रम राष्ट्रिय टोलीमा परे साफपछि र नपरे यही सिजनको लिगपश्चात् सक्रिय फुटबलबाट सन्यास लिने तयारीमा छन्। यता, लाकेन र दीपेशले यू–२० राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। रणनीतिक प्रशिक्षणमा परिरहेका उनीहरूले राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना छ। 

यी खेलाडीले पनि सामान्य चोट बेहोरिरहेका छन्। लिगका खेलहरू बाँकी रहेकाले पछि के हुन्छ अहिले नै आकलन गर्न सक्ने स्थिति नरहेको केसी बताउँछन्। 

“उनीहरूलाई त्यस्तो चोटपटक अहिलेसम्म लागेको छैन। तर, लिगको कारण पेलाइ धेरै छ,” उनी भन्छन्, “उकालो चढेर तातेको गाडीको इन्जिनले भर्खरै स्टार्ड गरेको गाडीको जस्तो पर्फरमेन्स दिन सक्छ त? अहिले लिगमा खेलाडीको हालत त्यस्तै छ।”


सम्बन्धित सामग्री