Tuesday, May 21, 2024

-->

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण, २ जना पक्राउ

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण २ जना पक्राउ

काठमाडौँ– प्रहरीले अपहरण गरी बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा–३ घर भई हाल काठमाडौँको सिनामंगल बस्ने २५ वर्षीय अजिम अलि र मलंगवा– ७ घर भई सिनामंगल नै बस्ने २५ वर्षीय एमडी सनी अलाही रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान ‍सिनामंगलबाट पक्राउ गरेको हो।

सप्तरीको राजविराजका सितेन्द्र यादवले आफू अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भनी श्रीमतीलाई जानकारी गराएका थिए। त्यसपछि प्राप्त उजुरीका आधारमा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार यादव सोमबार कतारबाट काठमाडौँ फर्किएका थिए। यादव फर्किँदा कतारमा बस्ने मनसुर अलि नामका व्यक्तिले आफ्ना भतिज अजिमलाई दिनु भनी २५ ग्राम सुन पठाएका थिए। यादव काठमाडौँ ओर्लिएपछि अजिमलाई सम्पर्क गरेको तर अर्कै मान्छे आई सुन लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

सुन नपाएपछि अजिमले यादवलाई सिनामंगलस्थित कोठामा लगेर बन्धक बनाइ कुटपिट गरेको र पीडितको श्रीमतीसँग माग गरिएको रकम दिए मात्र छोडिदिने भन्दै धम्की दिएको प्रहरीको भनाइ छ। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री