Tuesday, May 21, 2024

-->

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

काठमाडौँ– ललितपुरको गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ का शंकर पहरीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

गोदावरी नगरपालिका–४ का वडा अध्यक्ष सानु भाइ नगरकोटीका अनुसार आगो निभाउन पुगेका दुई व्यक्ति गम्भीर घाइते भएका थिए। उनीहरूको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको थियो। उपचारका क्रममा शंकरको मृत्यु भएको उनको भनाइ छ। अर्का घाइते रमेश पहरीको उपचार जारी रहेको उनले बताए। उनको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

मंगलबार बिहान गोदावारी–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएपछि उनीहरूलाई स्थानीय स्वास्थचौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो।

सुरक्षाकर्मीले डढेलो निभाउने क्रममा फसेका १५ जनाको उद्धार गरेको छन्। बडिखेलमा तीनचार दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडा अध्यक्ष नगरकोटीको भनाइ छ। वनमा सल्ला, धुपीजस्ता रूख रहेको र हावाहुरी पनि चलिरहेकाले नियन्त्रणमा समस्या भएको उनले बताए। 

त्यस्तै, सामुदायिक वनमा लागेको डढेलो आनन्दवनमा प्रवेश गरेसँगै उक्त जंगल नजिकैको कृष्ठरोग अस्पताल जोखिममा परेको छ। आगो अस्पतालनजिकै आइपुगेपछि अस्पतालमा उपचाररत बिरामीलाई अन्यत्रै सारिएको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री