Tuesday, May 21, 2024

-->

प्रमाण नष्ट गर्ने आशंकामा आकस्मिक समातिएका थिए खाँण

'म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्' भन्दै प्रतिवाद गर्न खोजेका खाँणलाई प्रहरीले 'जरूरी पक्राउ पुर्जी' थमाएर पक्राउ गरेको थियो।

प्रमाण नष्ट गर्ने आशंकामा आकस्मिक समातिएका थिए खाँण

काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने आशंकामा उनलाई आकस्मिक रूपमा समातिएको प्रहरीले जनाएको छ।

केही दिनदेखि उनका गतिविधिको सूक्ष्म निगरानी गरिरहेकोमा तत्काल पक्राउ नगरिए भाग्न सक्ने अवस्थासमेत देखेर आकस्मिक रूपमा पक्राउ गरिएको सम्बद्ध प्रहरीस्रोतले बताएको छ। प्रहीले अदालतको पक्राउ पुर्जी नपर्खी आफैँले सोझै जारी गर्न पाउने 'जरूरी पक्राउ पुर्जी' को आधारमा खाँणलाई बुधबार बिहान काठमाडौँको मनमैजुस्थित उनकै निवासबाट पक्राउ गरेको हो। 

प्रहरीलाई त्यस्तो अधिकार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा (६) तथा अदालत व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५ को दफा ४ ले दिएको छ। 

कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नभएमा भाग्ने, उम्कने वा निजले प्रमाण, दसी वा सबुद नष्ट गर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारी, प्रहरी कार्यालय वा कसुरको अनुसन्धान गर्न प्रचलित कानून बमोजिम अधिकारप्राप्त कार्यालयको प्रमुखले जरूरी पक्राउ पुर्जी जारी गरी त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ गरेर स्वीकृतिका लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था उक्त ऐन र निर्देशिकामा छ। 

खाँणलाई पक्राउ गर्न अनपेक्षित रूपमा प्रहरी टोली पुगेपछि शुरूमा उनले प्रहरीसित जान आनाकानी गरेका थिए। उनले 'म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्' भन्दै प्रतिवाद गर्न खोजेका थिए। लगत्तै प्रहरीले 'जरूरी पक्राउ पुर्जी' थमाएर उनलाई पक्राउ गरेको थियो। 

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा राखिएका खाँणसँग अहिले प्रहरीका अनुसन्धान अधिकृतले सोधपुछ गरिरहेका छन्। उनको स्वास्थ्य जाँच गराई त्यसपछि अदालत लगेर हिरासतमा राख्न अनुमति माग्ने प्रहरीको तयारी छ। खाँणसँगै समातिएका उनका स्वकीय सचिव नरेन्द्र केसीसँग सोधपुछ चलिरहेको र उनलाई पनि सँगै अदालत पेश गरिने प्रहरीले बतायो। 

सयौँ नेपाली नागरिकलाई जालसाजीपूर्वक भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सपना देखाएर उनीहरूबाट रकम असुल्ने काममा संगठित गिरोह लागेको थियो। यस प्रकरणमा यसअघि पक्राउ परेका आरोपीहरूले तत्कालीन गृहमन्त्री खाँणलाई समेत पैसा बुझाएको बयान दिएपछि उनी पनि अनुसन्धानको दायरामा आएका थिए। ती बयानसँग मिल्दो तथ्यगत प्रमाण फेला पर्नासाथ पक्राउ गर्ने मनस्थितिमा प्रहरी थियो। 

यस प्रकरणमा खाँणसमेत हालसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि समातिएका १० जनामा सानु भण्डारी, केशव दुलाल, टंक गुरूङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरी छन्। 

उनीहरू सबैलाई हिरासतमा राखेर संगठित अपराधको मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले अबको दुई साताभित्र अनुसन्धान सकेर प्रतिवेदन सहित सरकारी वकिलको कार्यालय समक्ष पेश गर्नु पर्नेछ।

गत चैत १२ गते नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न तीन प्रमुख योजनाकार पक्राउ परेपछि यो प्रकरणको अनुसन्धानमा गृह मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहेका सचिवदेखि राजनीतिक व्यक्ति पनि मुछिएका हुन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै २०७६ जेठ ३० मा तत्कालीन सरकारले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले अध्ययनपछि कात्तिक १ गते तत्कालीन गृहसचिव (हाल अख्तियारका प्रमुख आयुक्त) प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको थियो।

कार्यदलले गृहमा बुझाएको प्रतिवेदन र सदस्यसँग रहेको प्रतिलिपिमा केही बुँदाहरू फरक पाइएको छ। प्रतिवेदनलाई तोडमरोड गरेर नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै लाखौँ रकम ठगिएपछि प्रहरीले अहिले संगठित अपराधको मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ। प्रहरीले कार्यदलका संयोजक पन्थी र सदस्य गणेश केसीसँग पनि बयान लिएको थियो। 

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) को कार्यालय र झापा दमकको बेल्डागीस्थित शरणार्थी समन्वय इकाई (आरसीयू)ले छुट भनी प्रमाणीकरण गरेका ४२९ जनालाई पनि अनुसन्धान गरेर मात्रै निर्णय गरियोस् भनेर आफूहरूले प्रतिवेदनमा सुझाव दिएको बयान केसीले प्रहरीसमक्ष दिएका थिए।

“४२९ जनाबाहेक थप एक जनालाई पनि परिचयपत्र दिन आवश्यक छैन भनेर हामीले प्रतिवेदनमा लेखेका थियौँ। अहिले भनिएको प्रतिवेदनमा हामीले लेखेको त्यो पाना नै गायब छ,” केसीले यसअघि उकालोसँग भनेका थिए, “हाम्रो प्रतिवेदनमा अरू कसैको नाम थप्न सक्ने कुनै ठाउँ नै दिएको छैन।”

कार्यदलका संयोजक पन्थी र सदस्य केसी दुवैले आफूहरू यो प्रकरणमा कतै नजोडिएको बयान प्रहरीलाई दिएका छन्। पक्राउ परेका अन्य केहीले बयानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणदेखि उनकी पत्नी मञ्जु खाँण पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालगायतको नाम मुछेको प्रहरी स्रोतले बताएको छ।


सम्बन्धित सामग्री