Friday, May 03, 2024

-->

समाजवादी मोर्चा गठन गरी कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कम्युनिस्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएका छन्।

समाजवादी मोर्चा गठन गरी कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ  प्रधानमन्त्री
तस्वीर : सीएम प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन्।

केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जीवित गराउनका लागि अपिल गर्ने उनले योजना सुनाए।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले कम्युनिस्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने तर्क गरे।

“केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ। र, त्यहीबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ। र, त्यो मोर्चाले नेकपातिर फर्कनका लागि सबैसबैलाई अपिल गर्नेछ” उनले भने, “किनकि, त्यो नेकपा नेताहरूको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम लाखौँ कार्यकर्ताहरूले अनुमोदन गरेको एकता हो।”

प्रधानमन्त्री दाहालले नेताहरूको सनकका कारण यसअघि भएको एकता टिक्न नसकेको उल्लेख गर्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने बताए। उनले नेकपालाई पुनर्स्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री दाहालले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यताभन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने कोशिश भइरहेको दोहोर्‍याउँदै त्यसलाई रोक्न पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने अवस्था रहेको जिकिर गरे।

“हजारौँको बलिदान र दशकौँको संघर्षबाट नेपाली जनताले उपलब्धिहरूमाथि प्रहार गर्ने जो दुस्साहस भएको छ, त्यसको प्रतिकार गर्ने पनि वामपन्थी, कम्युनिस्ट देशभक्त शक्तिहरूले नै गर्नु पर्नेछ,” उनले भने।


सम्बन्धित सामग्री