Friday, April 26, 2024

-->

उपनिर्वाचन भएका ३ क्षेत्र, कहाँ कसको प्रतिस्पर्धा

चितवन–२ को परिदृश्य मंसिर ४ भन्दा खासै फरक नदेखिए पनि तनहुँ–१ र बारा–२ मा भने उपनिर्वाचनको प्रतिस्पर्धा र रौनक नै फेरिएको छ।

उपनिर्वाचन भएका ३ क्षेत्र कहाँ कसको प्रतिस्पर्धा

काठमाडौँ– अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद गुम्यो। सर्वोच्च अदालतको फैसलाबाट सांसद पद गुमाएका लामिछानेले एकसाथ उपप्रधानमन्त्री र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पद पनि गुमाए।

पुनः नागरिकता प्राप्तिसँगै पार्टी अध्यक्षमा उनको पुनरागमन भयो। र, प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको चितवन–२ मा उपनिर्वाचन घोषणा गरियो। उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयअनुसार आइतबार चितवन–२ मा मतदान सम्पन्न भएको छ।

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ बाट रास्वपाका लामिछाने निर्वाचित हुँदा नेपाली कांग्रेस र नेकपा एमाले पनि प्रतिस्पर्धामा थिए, तर मतान्तर भने धेरै थियो। कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेल लामिछानेका प्रतिद्वन्द्वी थिए। लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८३ र पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरेका थिए।

बुधबार सम्पन्न निर्वाचनमा २४ जना उम्मेदवार चुनावी मैदानमा छ। तर, मुख्य प्रतिस्पर्धा भने रास्वपा, कांग्रेस र एमालेकै हुने देखिन्छ। रास्वपाबाट लामिछाने नै उम्मेदवार छन् भने कांग्रेस र एमालेबाट यसपटक जितनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन्। श्रेष्ठलाई सत्तारुढ गठबन्धनको साथ छ। तर, लामिछानेप्रति देखिएको ‘क्रेज’का कारण उनले नै जित्ने आकलन धेरैले गरेका छन्।

आइतबार मतदान भइरहँदा भने चितवन–२ का दुइटा मतदान केन्द्रमा तनावको अवस्था सिर्जना पनि भयो। लामिछाने मतदान केन्द्र पुग्दा रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि कांग्रेस र एमालेका प्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको भन्दै विरोध गरेका थिए। त्यसपछि रोकिएको मतदान सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्विकार्दै क्षमायाचना गरेपछि पुनः शुरू भएको थियो।

तनहुँ–१ र बारा–२
आइतबार चितवन–२ बाहेक तनहुँ–१ र बारा–२ मा पनि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको छ।

तनहुँ र बारामा उपनिर्वाचन हुनुको कारण भने चितवनभन्दा फरक छ। तनहुँ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त हुन पुगेका पदमा उपनिर्वाचन भएको हो।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य पौडेल गएको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेका थिए। नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९८१ मत प्राप्त गर्दा कांग्रेसबाट बागी बनेका गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए।

बुधबार सम्पन्न निर्वाचनमा यहाँ ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन् भने रास्वपाले कांग्रेसमा आबद्ध रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ। एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्।

यसपालि तनहुँ–१ मा कांग्रेसका भट्टराई र रास्वपाका वाग्लेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ। निर्वाचनअघिका ‘ओपिनियन पोल’ र दलहरूले आन्तरिक रूपमा गराएका सर्वेक्षणले पनि त्यही तस्वीर देखाएका छन्।

 त्यस्तै, रामसहाय यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य रिक्त रहेको बारा–२ मा पनि आइतबार नै निर्वाचन भएको छ।

बारा–२ बाट गत निर्वाचनमा जसपाका यादव १३ हजार ८२२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा ३५४ मतान्तरले पराजित भएका थिए। कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए।

उपनिर्वाचनबाट जसपाबाट अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन्। मंसिर ४ को निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित उपेन्द्रलाई बारा–२ मा पनि जनमतले नै कडा चुनौती दिएको छ।

प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि संसद् छिर्न बारा–२ बाट निर्वाचित रामसहायलाई उपराष्ट्रपति बनाएको आरोप उपेन्द्रमाथि शुरूदेखि लागेको थियो। त्यही आरोप लगाउँदै चन्द्रकान्त (सीके) राउतले बारा–२ मा सम्पूर्ण शक्ति केन्द्रित गरेका थिए। त्यसक्रममा उनले गत निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका माओवादीका शिवचन्द्र कुशवाहालाई जनमतमा मात्र भित्र्याएनन्, उनैलाई उम्मेदवार बनाए।

आइतबार सम्पन्न उपनिर्वाचनमा बारा–२ मा ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मंसिर ४ को निर्वाचनमा जसपाबाट बागी उम्मेदवार बनेका रामकिशोरप्रसाद यादव र कांग्रेसबाट बागी उम्मेदवार रहेका रवीन्द्रप्रसाद यादवले एक्लाएक्लै १० हजारभन्दा धेरै मत ल्याएका थिए। रामकिशोर पुनः जसपामै फर्किएका छन्। कांग्रेसमा सक्रिय रवीन्द्रप्रसादले पनि उपेन्द्रलाई नै सघाएका छन्।

यहाँबाट एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल उम्मेदवार छन्। तर, मुख्य प्रतिस्पर्धा जसपाका उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुसवाहाबीच नै देखिएको छ। उपेन्द्रलाई मधेश राजनीतिको ‘जातीय फ्याक्टर’सँगै सत्ता गठबन्धनको पूर्ण साथ छ। जनमतका कुशवाहालाई मधेश राजनीतिमा आफूलाई नयाँ शक्ति स्थापित गर्न प्रयत्नरत सीके राउतको ‘क्रेज’को लाभ छ। मौन अवधि शुरू हुनुअघि बारा–२ का सबै पालिकामा पुग्दा धेरैजसो मतदाताको रुझान पनि यस्तै देखिन्थ्यो। ग्रामीण मतदातामा कुशवाहा र शहरी मतदातामा उपेन्द्रप्रतिको रुझान ज्यादा थियो।


सम्बन्धित सामग्री