Friday, April 19, 2024

-->

जति ठानिन्छ त्यति खराब होइन अवसरवाद

जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिम समेत बदल्छन्।

जति ठानिन्छ त्यति खराब होइन अवसरवाद

‘भद्र सर्कल’मा यतिखेर अवसरवाद शब्द बढो चर्चित छ। खास कुनै दलका एक युवा नेताले अर्को पार्टी प्रवेश गरेर टिकट लिएपछि उनलाई उनकै पूर्ववर्ती सहकर्मीले अवसरवादीको बिल्ला भिराए।

नेपाली समाजमा अवसरवादी शब्दको आशय आम रूपमा नकारात्मक बुझिने गरे पनि अलि घोत्लिएर सोच्ने हो भने अवसरवादी हुनु आफैँमा गलत होइन। यो स्वाभाविक मानवीय कृत्य हो। युगौँदेखि प्रकृति आफैँले देखाएको बाटो हो। डार्बिन बाजेको चर्चित कथन ‘सर्भाइभल अफ द फिटेस्ट’ (जो सक्षम छ, त्यही बाँच्छ) ले पनि त्यसतर्फ संकेत गरेको छ।  

नेपाल नदीनाला र पहाडी चट्टानको समेत देश। डाँडाको चट्टान आफू अडिएको जमिन कमजोर हुनेबित्तिकै तल गुल्टिहाल्छ। पानी आफ्नै बाटो खोज्दै र बाटो बनाउँदै तलतल सागरसम्म पुग्छ। माथिबाट गुल्टिएर बाटो रोकेर बसेको चट्टानलाई समेत छल्दै नदीनाला आफ्नो लक्ष्यतिर लम्कन्छ। 

जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिमसमेत बदल्छन्।

हामी मान्छे सभ्यताको शुरूआतदेखि नै निरन्तर अवसरको खोजीमा छौँ। यदि, कोही अवसरको खोजीमा लाग्दैनथे भने अमेरिका आजको अमेरिका हुँदैन थियो, चीन समृद्ध चीन हुँदैनथ्यो। यस सिमानाभित्रका लडाकाहरू अवसरका खोजीमा हुँदैनथे भने नेपाल सायद अहिले पनि बाइसे र चौबिसे राज्यमै सीमित हुन्थ्यो कि? 

अन्वेषण र आविष्कार मानिसको गुण हो। अवसरको खोज अन्वेषण र आविष्कारको जननी हो। अवसरको खोजलाई अवसरवाद नै भन्दा केही बिग्रन्न। तिनै अन्वेषण र आविष्कारको जगमा मानव सभ्यता विकसित भएर यहाँ आइपुगेको हो। 

बाल्यकालकै कुरा गरौँ न, हाम्रा बाबु–आमा, अन्य अभिभावक अथवा स्कुले शिक्षकले उपदेश दिँदै भन्ने गर्थे, ‘राम्रो बन्नु, राम्रो गर्नु, अवसर नगुमाउनु। अवसर आउँछ, पर्खँदैन’ आदिइत्यादि। 

सामाजिक परिभाषाअनुसार नैतिकता या सिद्धान्तबाट च्युतसमेत भई परिस्थितिबाट फाइदा उठाउने तुच्छ व्यक्ति अवसरवादी हो। आफू स्वयंको प्रतिष्ठा र लाभका लागि मात्रै कसैले सोच्छ भने त्यस्तो आत्मकेन्द्रित अवसरवाद गलत हो। भद्र सर्कलले गरेको चर्चाचाहिँ राजनीतिक अवसरवादको हो। 

राजनीतिमा अवसरवाद
राजनीति मूल रूपमा समाज र आमजनताको हितमा गरिने सेवामूलक कर्म हो। भलै, राजनीतिमा टेकेर आर्थिकलगायत अनेकौँ लाभ र शक्ति आर्जन गर्ने अभ्यास संसारभर व्याप्त छ। त्यसमध्ये थोरै आदर्शवादी जमात पनि छन्, जो सदाचार, सुशासन र नैतिकतालाई राजनीतिमा स्थापित गर्न चाहन्छन्। तर सत्तामा नपुगी शासन गर्न नमिल्ने भएकाले यहाँ केही 'छक्कापंजा' चल्छ नै।  

राजनीति साह्रै प्रदूषित भयो भन्दै हरेक पार्टी केही आदर्शवान् युवाहरू पार्टीका पोखरीको सफाइमा लागेका छन्। त्यसबीचमा ‘पोखरीको मूल नै खराब रहेछ’, नयाँ पोखरीतिर लाग्छु भन्ने युवाहरू देखिएका छन्। के ती युवा ‘चरम अवसरवादी’ हुन्?  

आमजनताको हितको लक्ष्य राखेर अवसर खोज्ने कुरा व्यक्तिगत अवसरवाद होइन, किनकि यो कुनै एउटा टाउकाको कुरो होइन। व्यवस्था परिवर्तनका लागि लडेका हाम्रा अग्रजकै उदाहरण हेर्ने हो भने उनीहरू आफ्नो राजनीतिक भविष्य जोगाउने क्रममा पर्याप्त अवसरवादी देखिएका छन्। त्यसो हुँदाहुँदै पनि नेपाल बदल्न तिनले योगदान गरेका छन्। इतिहासमा तिनको योगदान भुल्न मिल्दैन। त्यही जगमा हामी उभिएका छौँ। 

पञ्चायतविरुद्ध भूमिगत लडेका नेताहरू अवसर पाउँदा पञ्चायत छिरेर मन्त्रीसमेत भए। पछि बहुदलीयकालमा आफ्नो पार्टीबाट मन्त्री नपाउँदा पार्टी बदले। निर्वाचनमा जित्ने अवसर देख्दा हिजो टाउकोको मोल तोक्ने र तोकिएकाहरूबीच नै चुनावअगावै साँठगाँठ मिल्यो। निर्वाचनपछि प्रधानमन्त्रीको अवसर कसलाई र कहिले भन्नेबारे कुरा मिलेन, अचानक प्रधानमन्त्री पदको अवसर छोप्नकै लागि अर्कोसँग गठबन्धन भयो। 

आजका 'दिग्गज'हरूले राजनीतिमा अवसरवादको घिनलाग्दो खेल थालनी गरेका हुन्। उनीहरू एकातिर युवाको विदेश पलायन रोक्नुपर्छ र गएकालाई फर्काउनुपर्छ भन्छन्, तर फर्केकामध्ये कोही राजनीतिमै आउन खोज्दा तिनलाई ‘अवसरवादी भिलियन’को तक्मा बोकाउन अग्रसर हुन्छन्। 

बीचमा आइपुगेर यो पनि प्रस्ट पार्न चाहन्छु कि कुनै जाज्वल्य र स्वर्णिम नेताका प्रतिरक्षामा यो लेख लेखिएको होइन। स्वतन्त्र र निष्पक्ष मिडियासँग आबद्ध भएकोले कुनै एक उम्मेदवारको पक्षमा लेख्ने कुरा नैतिकतापूर्ण हुन्न। 

यो त म र मजस्ता अवसरकै खोजीमा घुमिरहेका नेपालीहरूको व्यक्तिगत परिस्थितिको प्रतिरक्षा मात्र हो। राजनीतिक साँढेहरूको बीचको लडाइँमा म सर्वसाधारण बाच्छालाई मिचिन जाने कुनै रहर पनि छैन।

मेरा पिता राम्रो अवसरकै कारण ७० को दशकमा संयुक्त राष्ट्रसंघको जागिरका क्रममा बिदेसिनु भयो। मैले सोही कारण विदेशमा बसेर पढ्ने अवसर पाए। अवसरकै खोजीमा अनेक ठाउँ चहारेर फेरि पनि ‘अवसर’ खोज्दै नेपाल आएँ। त्यसो हुँदा म पनि एक अवसरवादी हुँ। 

मजस्ता अनेकन् नेपालीहरू आजका दिनमा विदेशबाट फर्केर नेपालमा व्यवसाय गरेर अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेका छन्। कोही आफूले विदेशमा पढेको विषय यहाँका कलेज र युनिभर्सिटीमा पढाइराखेका छन्। यी उदाहरणहरू अवसरवादभन्दा बढी आत्मसन्तुष्टि र आत्मगौरवका विषय होलान्, किनकि आर्थिक लाभ, अवसर र व्यवसाय सञ्चालनका दृष्टिबाट नेपालभन्दा धेरैका लागि त विदेश नै अवसरयुक्त होला। 

भोलिका दिनमा खाडी, कोरिया, जापान, मलेसियाबाट रेमिटेन्स पठाएर आफ्नो परिवार र देशको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेका नेपालीहरू नेपाल फर्कनेछन्। थोरै नै सही, अहिले पनि फर्किरहेका होलान्। कतिपयले राजनीतिमै हाल हाल्लान्। त्यस्तो अवस्थामा हामीले भोलिका दिनमा 'ए भगौडाहरू हो, तिमीहरू त असरवादी हौ, यता नआऊ। देश नफर्क' भन्ने? राजनीति गर्न त मिल्दै मिल्दैन भन्ने? 

विदेशिनेहरू कुन खालका अवसरवादी?
केही पहिले स्थानीय स्कुलमा पढाउने सुदूरपश्चिमका एक युवा दक्षिण कोरियातर्फ जान लाग्दै गर्दाको भावुक भिडियो कतै देख्न पाएको थिएँ। गौशालाको विमानस्थलको प्रस्थान कक्षमा भक्कानिँदै गरेका उनी जन्मँदै गरेको आफ्नो बच्चाको लागि यहाँको जागिरले धान्न नसक्ने अवस्था भएका कारण विवश भएर देश छाड्न लागेको बताउँदै थिए। साँच्चै, ती युवा चाहिँ कुन स्तरका अवसरवादी?  

केही गर्न चाहँदा चाहँदै पनि अवसर नपाएर भारत, कोरिया,  खाडी र मलेसियालगायतका अन्य मुलुक जान बाध्य भएका ती युवाजस्तै नेपालीहरू कुन कोटीका अवसरवादी?

नेपालमै केही गर्छु भन्ने संकल्प गरेका तर यहाँको कमाइले परिवार र बाल बच्चाको पालन र पोषण सम्भव नहुने देखेपछि सङ्कल्प तोड्दै र दुखी हुँदै बिदेसिने युवा हामी प्रशस्त भेट्छौँ। विमानस्थलको बहिर्गमन ढोका नजिक अथवा दक्षिणी सिमानातर्फ हुइँकने बसहरूमा हामी दैनिक सयौँ अवसरवादी भेट्छौँ। पासपोर्ट कार्यालयको ढोकामा बसे उसै गरी अवसरवादी भेटिन्छन्। शिक्षा मन्त्रालयको ढोका बाहिर बसे धेरै 'कलिला अवसरवादी' भेटिन्छन्। 

अतः अवसरवादी को हुन् र को होइनन् भन्नेबारे मेरो अलग ठहर छ। कोही पनि व्यक्ति आफ्नो इच्छा, आकांक्षा, सक्षमता, विश्वास, समर्पण र त्याग सबै थोक छाडेर केबल माथिकाको टिको या आशीर्वाद कुरेर बस्छ भने त्यो अवसरवादी हो। आफ्ना मूल्य, मान्यता र नैतिकतासँग निर्मम सम्झौता गरेर चुपचाप जो बस्छ, त्यो चरम अवसरवादी हो। 

राजनीति होस् वा अन्य क्षेत्र, सक्षम पात्रले जहिल्यै समय र आफ्नो सीमा बुझेको हुन्छ। त्यस्ता व्यक्तिले आफ्नो ऊर्जाको समेत 'एक्स्पिरेसन डेट' देख्छ र जहिल्यै काम गर्ने चटारोमा हुन्छ। एकतिरबाट शिखरमा पुग्न नमिल्ने भएपछि अर्कोतर्फबाट बाटो खन्छ। कामप्रतिको हुटहुटीले यिनीहरू 'अवसरवादी' बन्छन्। यस्ता अवसरवादीहरू राष्ट्र र समाजका लागि कामका हुन्छन्। 

त्यसरी हेर्दा त अवसरवादी हुनु कर्मठ र कर्मशील हुनु पनि हुँदो रहेछ नि!


सम्बन्धित सामग्री