Thursday, April 25, 2024

-->

उपनिर्वाचन परिणाम
जनतामाथि अपमानको जवाफ

चाहेर पनि जनता अब कांग्रेस, एमाले र माओवादीको किल्ला बन्न जाने छैनन्। समय अघि बढ्यो। जनता अघि बढे। आँधीलाई रोक्न हत्केलाहरू काफी हुने छैनन्। अहिले त घण्टी बज्यो, बाजा बज्न बाँकी छ।

जनतामाथि अपमानको जवाफ

देशभरका मानिसको आँखा तीन ठाउँमा रोकिए। आँखा रोकिने स्टेसन बने तनहुँ, चितवन र बारा। चुम्बकले फलाम तानेजस्तो मानिसहरूको ध्यान यो उपचुनावले किन तान्यो? किन टक्क रोकियो मानिसको धड्कन?

यस समयको सबैभन्दा गहिरो सवाल यही हो। यही सवाल रूपी वृक्षको हाँगाबिँगाले बोकेको छ यो समयको अर्थ। आजका मानिसहरूका आँखामा सलबलाइरहेको उमंग र सपना। आशाको एक नयाँ दृश्य। यही दृश्यले कसैको आँखै बिझाएका छन्, कसैका लागि भने आँखामा राखिरहूँजस्तो बनेको छ। एकै दृश्यले सबैका लागि एउटै अर्थ संसारमा कहाँ बोकेको छ र? 

लोकतन्त्र दिवसकै दिन लोकले लोकतन्त्रका स्वघोषित 'ठेकेदारहरू'को हैसियत देखाइदिएको छ। महागठबन्धन गरी आलोपालो सत्ताको थाल थापेर बसेकाहरू उपनिर्वाचनको परिणाम आउँदै गर्दा जिल खाएर बसेका छन्।  

अब ठूला दलहरूलाई सुधारको कामना गर्दै नागरिकहरू अन्तहीन पर्खाइमा बस्ने छैनन्। आफ्नो आकांक्षाको अति अवमूल्यन सहेका नागरिक आजित भइसके। पछि फर्कने मुडमा छैनन्। 'सानो उपचुनाव'को भूकम्प ठूलो छ।

विगतमा जस्तो परम्परागत दलहरूलाई सुध्रनको लागि गरिएको अपिलको आवाज अहिले सुन्नै मुस्किल छ। आपसमा अँगालो हालेर ठूला दलहरूले नागरिकलाई बेवास्ता गरे। पत्रकार भैरव रिसालले भनेजस्तै  'नेताले जनताको कुरै नसुनेर हेपे। मानिसले बोल्न त पाए, तर बोल्नुको अर्थ हराउँदै गयो।' 

नागरिकको मन मरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बाटो बिरायो भने नागरिक अर्को विकल्प तयार गरी अघि बढ्नेछन्। कसैलाई सुधारको गुहार मागी अब फर्कने छैनन्। नागरिकको अपमानले सीमा नाघेको छ। चाहेर पनि जनता अब कांग्रेस, एमाले र माओवादीको किल्ला बन्न जाने छैनन्। समय अघि बढ्यो। जनता अघि बढे। आँधीलाई रोक्न हत्केलाहरू काफी हुने छैनन्। अहिले त घण्टी बज्यो, बाजा बज्न बाँकी छ। 

रास्वपा प्रमुख रवि लामिछानेले आफ्नो कर्मको बलमा सफलता र लोकप्रियता आर्जेका हुन्। त्यसकै आडमा रास्वपा बनेको हो। लोकप्रियताको बलमा उदाउनु र लोकरिझ्याइँको बलमा उभिनु फरक कुरा हो। नेपालका कथित बौद्धिकहरूले यो कुरा बुझ्न जरुरी छ। 'यो मानिस डेमागग हो। यो मानिस ट्रम्प शैलीमा उदायो' भन्दै रहनु कुण्ठा वमनको एक तरिका मात्र हो।

रविको प्रयासले देशले बलियो राष्ट्रिय पार्टी पाएको छ। नागरिकको उत्साहमा सञ्चार ल्याएको छ। पार्टी टिमसहित संसद्‍मा उपस्थित छ। सांसदहरूको प्रस्तुतिमा शुभ संकेत देखिएको छ। यी सबै कुरामा रवि लामिछानेलाई निर्धक्क जस दिनु जरुरी छ। सँगै खबरदारी पनि आवश्यक छ। तर, त्यसका नाममा मानिसले गरेको सबै असल प्रयत्नलाई बेवास्ता गर्नु बलमिच्याइँ हो। नाकाबन्दीदेखि द्वन्द्व पीडितसम्मका सबै सवालमा बतासको दिशा पक्डेर बोल्नु हो लोकरिझ्याइँ। बोल्नै पर्ने कुरामा बौद्धिक मौनता साँचेर बस्नु हो लोकिरिझ्याइँ। 

आफ्नो कामको बलमा आर्जेको लोकको माया लोकप्रियता हो। बौद्धिक विश्लेषणको नाममा गरिने हेपाइको पनि अब अन्त्य हुनुपर्छ। 

नागरिक आकाक्षां रास्वपालाई दिएको मतबाट प्रकट भएको छ। मानिसहरूले दिन खोजेको परिवर्तनको संकेतलाई पटकपटक बेवास्ता गरियो। मुख्य दलहरूको अपमान जारी थियो। मिडियाकर्मी र विश्लेषकहरूले नै 'मास हिस्टेरिया' भन्दै जनमतमाथि अपमान बर्साए। 

तर 'मै हुँ' भन्ने दलहरूले त्यसको परिणाम भोग्न सुरु गरिसकेका छन्। जनताको चनाखो चेतनालाई हेप्दै जाने हो भने यो बाढीले अरू धेरैलाई किनारामा हुत्याइदिनेछ। सत्तरीको दशकमा 'मिडिया डार्लिङ' बनेका बौद्धिकहरूको बौद्धिकतामा पनि उपचुनावको भूकम्पीय धक्का निश्चित छ। असीको दशकले राजनीतिक बेइमानीको मात्र होइन, बौद्धिक बेइमानीको पनि हिसाब चुक्ता गर्नेछ। 

उपचुनावमा महागठबन्धनधारीले आचारसंहिताको सिधा उल्लंघन गर्‍यो। बहालवाला प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्रीहरूको जुलुस भोट माग्न हिँडे। सरकारी स्रोतको दुरुपयोग भयो। 'गठबन्धनका उम्मेदवारलाई सांसद बनाए मन्त्री बनाइदिने' खुलेआम प्रलोभन देखाइए। 

नागरिकले कुन हदको परिवर्तन चाहन्छन् भन्ने हेक्का नगरेर उल्टै प्रलोभनको अपमान फिँजाइयो। यस्तो निर्लज्ज तमासाको कतै विश्लेषण देखिन्न। जवाफदेहिताको सारा भार रास्वपाको थाप्लोमा हालिएको छ। चित्तै नबुझ्ने यो चाला नागरिकको नजरबाट लुकेन। अनि घन्टीमा स्वस्तिक चिन्ह छाप लगाएर मुखभरिको जवाफ फर्काइदिए। कहिलेकाहीँ सन्नाटाको आवाज झनै चर्को हुन्छ। यसपटक त्यस्तै भयो। 

गठबन्धनले गरेको नागरिक बेवास्ता चर्को थियो। सडकमा मिटरव्याज पीडित र द्वन्दपीडितहरूको आर्तनाद थियो। पीडितहरूको आवाजमा दलका युवा नेताहरूको स्वर सुनिनै गाह्रो पर्‍यो। 

कांग्रेसका युवा नेताहरू प्रचण्डको तारिफमा मग्न सुनिन्थे। गठबन्धनको जालझेलमा मतको मेल मिलाउँदै हिँडे दलहरू। यसलाई धक्का दिन ठूला दलका युवा नेता असफल सिद्ध भए। उनीहरू नागरिकको आवाज होइन, गठबन्धनका मतियारको आवाज बोकेर नागरिककहाँ गए। एजेन्डा होइन, पुरानै शैलीको गाली र व्यंग्यमा रमाए। यसको ठीकविपरीत रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले र रवि लामिछाने मतदातासँगको सिधा सम्बन्धमा केन्द्रित रहे। आफ्ना कुरा भने। ठूला आश्वासन दिएनन्। मिडियाले लगातार 'सेट' गरिरहेको हल्का 'न्यारेटिभ'लाई वास्ता गरेनन्। 

यही कुरा नागरिकको लागि निर्णायक  बनिदियो। चाहे हरि पुकारून्, चाहे राम, गठबन्धन नामको ठगी धन्दालाई नागरिकले सिधै अस्वीकार गरिदिए। 

इतिहासको गाथा नागरिकले इतिहासकै पाना पढेर गाउनेछन्। मानिसलाई राजनीति आफ्नो दैलोमा उभिएको हेर्न मन छ। दलहरूको वक्तृत्वकला प्रतियोगितामा नागरिकको रुचि सकिएको छ। दिनदिनैको जीवनमा उभिन नसक्ने राजनीतिको औचित्य कसरी समाप्त गर्नुपर्छ, नेपाली जनताले राम्रोसँग देखाइदिए। 

चितवनवासीको भावनामा रास्वपाले खेल्यो भनेर आरोप लगाइएको छ। भावनात्मक हुनुमा के दोष छ? भावनाको कुरा किन नगर्ने? भावनात्मक भएर अर्काको दु:खमा सकेको भिडेर नै रवि नागरिकको मनमा बसेका हुन्। ठूला मिडियामा खटिएका पत्रकार भाइबन्धुको सहारामा उनको परिचय बनेको होइन। उनी कुनै अनावश्यक मुद्दा उचालेर लोकरिझ्याइँको बलमा उदाएका होइनन्। मानिसको दु:खमा सामेल भएर लोकप्रियताको बलमा उदाएका हुन्।

कथित मूलधारले मानोस् नमानोस्, रविले अनगिन्ती मानिसको उद्धार गरे। उद्धार भएर फर्केका मानिसहरू आफैँ चुनाव प्रचारमा होमिए। सन्तानको उद्धार गरिएका आमाहरू भोट माग्दै हिँडे। आमाहरूको आशीर्वाद र युवाहरूको स्नेहको संयुक्त परिणाम बन्यो उपनिर्वाचन। पसिना बगाउन परदेश पुगेका रविले आफूजस्तै मानिसहरूको बेथा बुझे। परदेशमा न्यास्रिएर पसिनाको पोको पैसा बनाएर पठाउनेहरूको उनी खास प्रिय बने।

नागरिक र नेताको सम्बन्धलाई समानान्तर हैसियतमा उभ्याउने कुरामा रविको प्रयत्न सिक्नलायक छ। रास्वपा राम्रो, उसको टिम पनि राम्रो, रवि निकम्मा? कति सजिलै भन्छन् विश्लेषकहरू। पूर्वाग्रहको साँघुरो नजर होइन, समग्रताको विशाल चित्रमा हेर्दा दृश्य अर्कै देखिन्छ। लोकरिझ्याइँ के हो? लोकप्रियता के हो? यी दुई शब्दको अर्थबीचको भिन्नता नेपाली 'इन्टेलिजेन्सिया'ले बुझ्दैन या त नबुझे जस्तो गर्छ। 

देशको निर्णायक शक्ति भएर उदाएको रास्वपाको परीक्षणको दिन अब शुरू हुन्छ। परीक्षणमा नागरिक खरो उत्रने छन्। शंकाको लाभको समय-सीमा विश्लेषकलाई भन्दा नागरिकलाई धेरै थाहा छ। 'आकांक्षा कम गर' भनेर कुनै 'मिडिया डार्लिङ' विश्लेषकले उपदेश दिनै पर्दैन। नागरिकको चेतना आफ्नोभन्दा कम छ ठानिरहनु पनि एउटा मिठो भ्रम हो। उदाउन नपाउँदै अनेकौँ हन्डरको सामना गरेका पार्टी प्रमुखलाई चोटले धेरै कुरा सिकाइसकेको हुनुपर्छ। रास्वपाको सैद्धान्तिक आधारको बारेमा उठिरहेका प्रश्नहरूको सामना उनले पक्कै गर्नेछन्।  

रविले पार्टीको सैद्धान्तिक आधार बलियो बनाउन समग्र टिमको साथ र सीप प्रयोग गर्ने नै छन्। राजनीतिक पार्टीको पूर्णकद देखिन उसका निर्दिष्ट सिद्धान्तहरूको स्वरूप प्रस्ट देखिन जरुरी छ। लोकप्रियता, सैद्धान्तिक प्रष्टता र इमानदार 'डेलिभरी', यति कुराले रास्वपाको भविष्यको बाटो बनाउँछ। उनको पार्टी भविष्यमा कस्तो बाटो कोर्दै जाला, त्यो हेर्दै जाने कुरा भयो। अहिलेको सत्य यो हो, रास्वपाले नेपाली जगतलाई भूकम्पीय तरंग दियो। 

उपचुनावले शान्त जनक्रान्तिको झल्को दिएको छ। कसैको ज्यान नलिइकन सम्पन्न शान्त र संयम क्रान्ति। देखिएका दृश्यहरूले महाभारत युद्धको झल्को सतहमा ल्याइदियो। कौरवका हजारौँ सेनासँग अर्जुन एक्लै भिडेका थिए। महागठबन्धनसँग रास्वपा एक्लै भिड्यो। 

अहिलेको शान्त विद्रोहमा हिंसा छैन, डर त्रास छैन। मानिसहरू खुसीले नाचेका छन्। नेता उभिएर हात जोड्दै भन्छन् 'नारा नलगाइदिनुस्। प्रतिपक्षी साथीहरूको मन दुख्छ। मलाई अप्ठेरो हुन्छ।'

यो अपिलले विराट राजनीतिक संस्कार देखाएको छ। मानिसहरूमा प्रतिसोध  होइन, उत्साह छ। यो शान्त विद्रोहलाई २०६४ सालसँग तुलना गर्नेले कम्तीमा दुईपटक सोच्नुपर्ने हुन्छ। ज्यान लिएर गरेको राजनीति र ज्यान बचाएर गरेको राजनीतिबीचको भिन्नताबारे निर्धक्क भन्न छाती चौडा चाहिन्छ। 'बुलेट' होइन, 'ब्यालेट रिभोलुसन'को बलमा उदाएको छ रास्वपा। देशको निर्णायक राजनीतिक शक्ति बनेको छ। जनमतको यो वजन बोक्ने काँध रास्वपाले बलियो पारोस्। 

जनता सार्वभौम हुन्, कसैको विरासत होइनन्। एक भोट भन्नु विचार हो। मान्यता र आदर्श हो। 'गठबन्धीय' चटकले नागरिकको मनमा बिझाएको अपमानको यथेष्ट चिरफार गर्ने जमर्को कुनै विश्लेषकले गरेनन्। समाजको नाडी छाम्ने र उसको चेतना नाप्ने हैसियत नेपाली मिडियाको पनि देखिएन। 

विद्रोह गर्न चिच्याउनु पर्दैन। मौन विद्रोहको आवाज जब परिणाम बनेर आउँछ, संसारमा बजिरहेका सबै ध्वनिहरू शान्त हुन्छन्। यो सन्नाटाको आवाज मिडिया, बौद्धिक जगत र मूलधारे दलहरूले सँगै सुनुन्। 

राजनीतिसँगै संचारजगत् नागरिकको चेतनाको स्तर मापन गर्न राम्ररी चुकेको देखिए। मूलधारका दलहरूकै 'दाइ'हरूसँग लय मिलाउँदै गरेको मिडियाको नागरिकसँगको दूरी निकै फराकिलो भैसकेको देखियो। मिडियाले नागरिकको चेतना पत्याएन, नागरिकले उल्टै उसलाई पत्याइदिएनन्। हिसाबकिताब बराबर। राज्यसत्ता र विचारका सत्ताका मुखियाहरूको जमिनदारी सँगै भत्किएको छ।

नागरिकको सामूहिक चेतलाई मास हिस्टेरिया भन्ने कि समाजको तन्तु परख गर्न सक्ने आफ्नो हैसियत बढाउने? मिडिया जगतले रोज्न पाइयो। परम्परागत मिडियाले आफ्नो चेत सुधारे उसैलाई फाइदा हो। होइन भने संसार विकल्परहित छैन। मूलधारका मिडिया, दलहरू र बौद्धिकहरूको लागि घण्टी बजिसकेको छ। बाजा बज्न बाँकी छ।

लोकतन्त्र दिवसकै दिन लोकले लोकतन्त्रका स्वघोषित ठेकेदारहरूको हैसियत देखाइदिएको छ।


सम्बन्धित सामग्री