Saturday, April 27, 2024

-->

तनहुँ उपनिर्वाचनले दिएका सात राजनीतिक सन्देश

तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ जसले लोकतन्त्र र राजनीतिलाई लामो समय प्रभावित गर्ने छ। के हुन् त, स्वर्णिमको विजयोन्मुख नतिजाका सन्देश?

तनहुँ उपनिर्वाचनले दिएका सात राजनीतिक सन्देश
तस्वीर : डा. स्वर्णिम वाग्लेको फेसबुक।

परम्परागत रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र ठानिएको तनहुँको राजनीतिमा विगत केही वर्षयता धरातलीय परिवर्तन भइरहेको छ। आइतबार भएको उपनिर्वाचनमा अर्थविद् र नयाँ पुस्ताको उदाउँदो नेताका रूपमा नाम कमाएका डा‍‍‌. स्वर्णिम वाग्ले तनहुँबाट विजयोन्मुख छन्। राजनीतिक मञ्चमा स्वर्णिमको उदय हुँदै गर्दा पर्दापछाडि धेरै नाटकीय घटनाहरू भएका छन्। 

एकातिर, यी घटनाहरूका कारण नेपाली कांग्रेसको नेतृत्वले ठूलै झट्का बेहोर्नुपर्ने प्रष्ट छ भने, अर्कोतिर तनहुँलाई मात्र नभएर नेपालको राष्ट्रिय राजनीतिलाई नै केही महत्त्वपूर्ण सन्देश दिँदै छ।

अर्थात्, तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ। यी परिवर्तनहरूले नेपालको लोकतन्त्र र राजनीतिलाई लामो समयसम्म प्रभावित गर्नेछन्। के हुन् त स्वर्णिमको विजयोन्मुख नतिजाले दिएका सात वटा प्रमुख सन्देश?

१. नेपाली जनताहरू देशको आर्थिक दुरावस्थाप्रति झनझन चिन्तित हुँदै गएका छन् र यस्तो अवस्थामा आर्थिक सुधारको अजेन्डाबिना कुनै पनि राजनीतिक दल राष्ट्रिय राजनीतिमा हाबी हुन सक्दैनन्।

विश्वभर गरिएका धेरै अध्ययनको एउटा निष्कर्ष के छ भने, मतदाताहरूको मनोविज्ञानमा एउटा प्रमुख कारक आर्थिक अवस्था हो। देशलाई आर्थिक विकास दिन सक्यो भने तानाशाहहरू पनि निर्धक्क शासन गर्न सक्छन्। तर, यदि आर्थिक स्थिति राम्रो भएन भने मतदाताहरूमा असन्तुष्टि बढ्छ र उनीहरू विकल्प खोज्न थाल्छन्। मतदाताहरूले विकल्प खोज्दा प्रायजसो आर्थिक विकास र स्थायित्व दिन सक्ने खालका मानिसहरूलाई छनोट गर्छन्। तनहुँको निर्वाचनले पनि यही देखाएको छ। डा. वाग्लेको आर्थिक विज्ञताले उनलाई ठूला, तर भ्रष्ट भनेर चिनिएका दलहरूको बलियो विकल्पमा रूपमा उभ्याएको छ।

२. नेपाली जनतालाई भ्रष्टाचार र बेथितिबारे तथ्यगत वा प्रमाणिक जानकारी छैन।  तैपनि यो विषय जनतामाझ ‘ओपन सिक्रेट’का रूपमा रहेको छ। अझ महत्त्वपूर्ण, यो बुझाइले नेपालको राजनीतिलाई ठूलै प्रभाव पार्नेछ।

नेपाली जनताहरूलाई विरक्त बनाएको एउटा विषय भ्रष्टाचार हो। नेपालमा भ्रष्टाचारको जालो बाक्लो र विस्तृत छ। उदाहरणका लागि नेताहरू कुनै पनि आर्थिक लाभ हुने पदमा नियुक्ति गर्दा ‘प्रिपेड घुस’ लिन्छन् वा आफू नजिकका व्यापारीलाई लाभ पुर्‍याउन नीतिगत भ्रष्टाचार गर्छन् भन्ने कुरा आम जानकारीको विषय हो। कमिसनतन्त्रबारे त नेपाली जनतामाझ अझ नकारात्मक बुझाइ छ।

नेपाली जनतालाई वा पत्रकारहरूलाई भ्रष्टाचारका घटना वा भ्रष्टाचारको अभ्यासबारे थाहा छ, तर उनीहरू साधारणतया यी घटना वा प्रवृत्तिबारे प्रमाण जुटाउन सक्दैनन्। अर्कोतिर भ्रष्टाचारबारे राज्यका लोकतान्त्रिक संस्थाहरूलाई राम्रो जानकारी छ र उनीहरूसँग प्रमाण पनि छ, तर त्यसलाई आधार बनाएर कुनै पनि ‘हाई प्रोफाइल’ नेता, कर्मचारी वा बिचौलियालाई कारबाही गर्न सक्दैनन्। अर्थात् नेपालका विधिको शासन स्थापित गराउने संस्थाहरू नै दोहनतन्त्रका सञ्चालकसामु निरीह छन्।

यसका बाबजुद नेपालमा भ्रष्टाचार व्याप्त छ र यो भ्रष्टाचारको सञ्जालको पालनपोषण गर्ने ठूला दलका ठूला नेताहरू हुन् भन्ने बुझाइ ओपन सिक्रेटको रूपमा रहेको छ। अर्थात् मतादाताहरूमाझ हाम्रा नेताहरू र सत्ता संरचना नै महाभ्रष्ट छ भन्ने बुझाइ तथ्यकै रूपमा स्थापित भएको छ। यो बुझाइले तनहुँको निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको छ। स्वर्णिम वाग्लेलाई दिएको मत एउटा शक्तिशाली सन्देश हो: नेपाली जनता ठूला दल र ठूला नेताहरूको भ्रष्ट आचरणबाट मुक्ति चाहन्छन्।

३. नेपाली कांग्रेसको गढमा नेपाली कांग्रेसकै युवा पुस्ताले नवआगन्तुकका रूपमा नयाँ पार्टीबाट जित्नुले नेपाली कांग्रेसमा पक्कै पनि एक प्रकारको खैलाबैला सिर्जना गर्नेछ। स्वर्णिमले प्राप्त गरेको मतले नेपाली कांग्रेसमा पुरानो राजनीतिको असम्भाव्यता मात्र देखाउँदैन नयाँ पुस्ताले उठाउनु पर्ने दुईतर्फी बोझबारे पनि बोल्छ।

पार्टी कार्यकर्ताले एकातिर आफूलाई परिवर्तित समाजमा सान्दर्भिक राख्नुपर्ने चुनौती छ भने अर्कोतिर पुराना पुस्ताको नेताले विगारेको ब्रान्ड वा छविको भारी पनि बोक्नुपर्ने अवस्थामा छ। नयाँ पुस्ताका नेताहरूले न त्यो भारी बिसाउन सक्छन् न आफूलाई नयाँ नै बनाउन सक्छन्।

नेपाली कांग्रेसका पुराना नेताहरूले पार्टीलाई भ्रष्ट, असान्दर्भिक र आर्थिक स्वार्थ र गुटले कब्जा जमाएको प्रवाहहीन संस्था बनाएका छन्। यस्तो खालको ब्रान्डले मतदातालाई आकर्षण गर्न छोडेको केही समय भइसकेको छ। तैपनि कहिले गठबन्धन त कहिले विदेशी भूराजनीतिको आडमा नेपाली कांग्रेसले आफूलाई सान्दर्भिक राख्न खोज्दै आएको छ। 

तर तनहुँको चुनावले देखाएको छ, ठूला पार्टीका नयाँ पुस्ताले पुरानो पुस्ताले सिर्जना गरेको भ्रष्टाचार र बेथितिको भार बोक्न सक्दैनन्। 

४. पुरानो राजनीतिको आड भरोसा भनेको परजीवीकरण हुँदै गएका कार्यकर्ताको जमात र पार्टी समर्थकका पहिचान बनाएका परम्परागत मतदाताहरू हुन्। तर अबका नयाँ पुस्ता परजीवी कार्यकर्ता बन्न चाहँदैनन्। मतदाताहरू पनि कुनै पार्टीसँगको स्थायी आबद्धताबाट मुक्त हुन चाहन्छन्। यसलाई पार्टी कार्यकर्ता र मतदाताको प्रतियुग्मीकरणको रूपमा बुझ्न सकिन्छ।

पहिला पहिला एउटा समय थियो जब मतदाताहरूको समाज र विश्वलाई हेर्ने दृष्टिकोण नै पार्टीको ‘आइडियोलोजी’ले निर्माण गर्ने गर्दथ्यो। यसैकारण कुनै पनि पार्टीका समर्थकको पहिचान पार्टीसँग जोडिएको हुन्थ्यो। तर अब त्यो अवस्था रहेन। मतदाताहरू आफ्नो विचार निर्माण स्वतन्त्र रूपले गर्न सक्छन्। यसैकारण उनीहरूको कुनै दलप्रति स्थायी नाता नहुन सक्छ र आवश्यकताअनुसार कुनै पनि दल वा उम्मेदवारलाई मत दिन सक्छन्।

पार्टीको दृष्टिकोणबाट हेर्दा यसलाई ‘क्रसभोटिङ’को रूपमा व्याख्या गर्न सकिएला। तर मतदाताको दृष्टिकोणबाट हेर्दा यो उनीहरूको स्वतन्त्र रोजाइको विषय हो। 

५. क्रसभोटिङकै कुरा गर्ने हो भने पनि आमनिर्वाचन र उपनिर्वाचनमा पार्टीगत प्रतिस्पर्धाको प्रकृति केही फरक हुने रहेछ। आमनिर्वाचनमा पार्टीहरूबीचको प्रतिस्पर्धा अलि धेरै हुनाले पार्टीका समर्थकहरूमा क्रसभोटिङ केही कम हुने गर्छ। तर तनहुँको उपनिर्वाचनमा ठूला पार्टीका मतदाताहरू, प्रायजसो पहिला एमालेलाई मत दिएका मतदाताहरूले पनि यसपालि स्वर्णिम वाग्लेलाई मत दिएको सुनियो र तथ्यांकमा पनि त्यही देखियो।

उदाहरणका लागि २०७४ को प्रत्यक्षमा एमालेले माओवादीसँग मिलेर तनहुँमा झन्डै ५४ प्रतिशत मत ल्याएको थियो। एमालेको समानुपातिक मत २०७९ को निर्वाचनमा जम्मा २६ प्रतिशत मात्र थियो। यसपालिको उपनिर्वाचनमा चार बजेसम्म एमालेको मत १७ प्रतिशतभन्दा कम थियो। यसको अर्थ हो एमालेका समर्थकहरूमध्ये ९ प्रतिशत मतदाता अर्थात् एक तिहाइले क्रसभोटिङ गरे र घण्टीलाई मत हाले।

यसैगरी, २०७९ को समानुपातिकमा नेपाली कांग्रेसको मत झन्डै ३२ प्रतिशत थियो भने माओवादीको मत लगभग ११ प्रतिशत थियो। यी दुई मिलाउँदा यसपालिको उपनिर्वाचनमा नेपाली कांग्रेसले ४३ प्रतिशत मत ल्याउनुपर्ने थियो तर कांग्रेसको मत लगभग २९ प्रतिशत मात्रै आइरहेको छ। यसको अर्थ हो अघिल्लो पटकका नेपाली कांग्रेस र माओवादीका समर्थक १४ प्रतिशत वा एक तिहाइले या त भोट हाल्न गएनन् या त घण्टीलाई मत हाले।

यसको सरासर अर्थ हो अघिल्लो पटक नेपाली कांग्रेस, माओवादी र एमालेलाई भोट हाल्ने एक तिहाइले यसपटक कि त भोट हालेका छैनन् कि त स्वर्णिमलाई मत दिएका छन्।

रास्वपाको तथ्यांक हेर्दा पनि के देखिन्छ भने अघिल्लो पटकको निर्वाचनमा घण्टीले लगभग २० प्रतिशत मत पाएको थियो भने यसपटक चार बजेसम्मको मतगणनाअनुसार ५१ प्रतिशत मत पाएको छ।

६. तनहुँको निर्वाचनमा राजनीतिको नयाँ मोडेल र पुराना दलको चटके रणनीतिबीच टकराब देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको व्यक्तिगत ब्रान्ड र नयाँ पुस्ताको परिवर्तनको चाहलाई समेटेर विशिष्ट खालको राजनीतिक ब्रान्ड बनाएको छ। अर्थात् रास्वपा आफैँमा एउटा ब्रान्ड बनेको छ, जसले कार्यकर्ता र विस्तारित संगठनबिना पुराना ठूला दलहरूसँग प्रतिस्पर्धा गर्न सफल भएको छ। परम्परागत दलहरूका लागि विस्तारित विचार, संगठन र कार्यकर्ताहरूको सञ्जाल चाहिन्छ। तर आगामी दिनमा नेपालमा विचार, संगठन वा कार्यकर्ता नभएको तर विशिष्ट ब्रान्ड भएको कुनै राजनीतिक मञ्चले पनि राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने देखाउँछ।

अर्कोतिर पुराना दलहरूबाट जनता विकर्षसित हुँदै गएका छन्। यस्तो अवस्थामा आफूलाई सान्दर्भिक राख्नका लागि कहिले गठबन्धन बनाउने (नयाँ बोतलमा पुरानो रक्सी हाल्ने), कहिले भूराजनीतिक शक्तिहरूसँग मिल्ने त कहिले जनताहरूलाई सामाजिक सुरक्षा वा लघुवित्त वा रोजगारका नाममा नभएको पैसा बाँड्ने रणनीति अख्तियार गर्ने गर्छन्। शायद अब यी रणनीतिहरू प्रभावहीन हुँदै जानेछन्। 

७. रास्वपा विकल्पको रूपमा स्थापित हुँदैछ, तर दलको भविष्य रविको नैतिक र राजनीतिक धरातलमा उभिने कि आफ्नै धरातलमा भन्ने प्रश्न महत्त्वपूर्ण हुनेछ।

यसपालिको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गुमाएको एउटा सिट फेरि हासिल गरेको मात्र हैन, तनहुँमा समेत एउटा सिट थप्न सफल भएको छ। अहिलेसम्मको राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व रवि लामिछानेको व्यक्तिगत ब्रान्डमा भर पर्दै आएको छ। तर शायद यसपालिको उपनिर्वाचनपछि रास्वपाले आफूलाई देशको एक वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गरेको छ। यसले गर्दा आगामी निर्वाचनमा रास्वपा एउटा प्रमुख दाबेदार बन्न सक्ने अवस्था सिर्जना भएको छ।

तर, यति भन्दाभन्दै पनि नेपालको राजनीति अनिश्चित छ। त्यसैले रास्वपाका लागि एउटा प्रमुख चुनौती भनेको यो पार्टीले रविको प्रभावबाट मुक्त आफ्नै पहिचान बनाउन सक्छ कि सक्दैन भन्ने हो। यदि, रास्वपाले आफ्नै एउटा राजनीतिक ब्रान्ड बनाउन सफल भयो भने यसको दिगोपन केही सहज हुनेछ। हैन भने यो पार्टी जहिले पनि रविको नैतिक र राजनीतिक धरातलमा भर पर्नेछ र रविमाथि आउने चुनौती तथा दबाबहरू समग्र पार्टीका लागि चुनौती र दबाब बन्ने छन्।


सम्बन्धित सामग्री