Saturday, April 27, 2024

-->

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका छन्।

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ प्रधानमन्त्री

काठमाडौँ– प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको मत पाउने आशा राखेको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन्।

पहिलो पटक ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमबार शतप्रतिशत पुग्ने आशा व्यक्त गरे। "पहिला विश्वासको मत लिँदा ९९.२५ थियो भोलि सय नै हुन्छ भन्ने आशा छ," उनले भने।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजे समय तोकेका छन्। 

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्। शनिबार बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिने निर्णय गरेको थियो।

एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए। नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।


सम्बन्धित सामग्री