Thursday, May 02, 2024

-->

अस्वाभाविक हिमपहिरोले जोखिममा पथप्रदर्शक, हिमाल छाडेर विदेश पलायन

अस्वाभाविक रूपमा हुने हिमपात र हिमपहिरोमा परी पथप्रदर्शकहरूको ज्यान गइरहेको छ। पछिल्लो १० वर्षमा हिमपहिरोसहितका दुर्घटनामा परेर १७७ आरोहीको हिमालमै मृत्यु भएको छ। त्यसमध्ये ६८ जना पथप्रदर्शक हुन्।

अस्वाभाविक हिमपहिरोले जोखिममा पथप्रदर्शक हिमाल छाडेर विदेश पलायन
मनास्लु आरोहणका क्रममा गत असोजमा मृत्यु भएका दावा छिरिङ शेर्पा र अनुप राई (दायाँ)।

काठमाडौँ– “यहाँ निरन्तर हिमपात भइरहेको छ, आरोहण क्यान्सिल गरेर आधार शिविर फर्कंदै छु, चार घण्टापछि आधार शिविरमा पुगेर फोन गर्नेछु,” मनास्लु आरोहण दलको पथप्रदर्शक भएर गएका दावा छिरिङ शेर्पाले असोज १७ गते काठमाडौँमा रहेकी आफ्नी श्रीमती पेम्बालाई फोनमा भनेका थिए।

श्रीमानको अर्को फोनको प्रतिक्षामा थिइन् पेम्बा। तर उनले श्रीमानको आवाज फेरि सुन्न पाइनन्, बरू हिमपहिरोमा परेको खबर आयो। श्रीमतीसँग चार घण्टापछि फोन गर्ने बाचा गरेका दावा गन्तव्यमा पुग्नुभन्दा २०० मिटरअघि हिमपहिरोमा परे। उनको मृत्यु भयो।

दावा त्यसको २० दिनअघि १० जना विदेशीसहित आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणमा गएका थिए। उनी ‘टिम लिडर’ थिए। “तीन दिनदेखि मौसम बिग्रिएको थियो। श्रीमानसँग बेलाबेला फोनमा कुरा हुन्थ्यो, मौसम खराब छ भन्नुहुन्थ्यो,” उनी भन्छिन्, “मनमा डर थियो, मेरो जीवनमा नहुनुपर्ने घटना भयो।”  

दावाले २०७८ जेठ १८ मा सगरमाथा आरोहण गरेका थिए। उनी सेभेन समिट ट्रेकर्ससँग आबद्ध थिए। सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उनी हिमाल आरोहणका पाका पथप्रदर्शक थिए। 

श्रीमानको मृत्युपछि कक्षा ८ मा अध्ययनरत छोराको पालनपोषण र शिक्षाको जिम्मा पेम्बाको काँधमा आएको छ। “कसरी जीवन चलाउने? मेरो कुनै आयस्रोत छैन,” उनी भन्छिन्। 

गएको असोज १० गते अर्का पथप्रदर्शक अनुप राईको पनि मनास्लुमै हिमपहिरोमा परेर मृत्यु भएको थियो। उनका १२ वर्षका छोरा र ३ वर्षकी छोरी छन्। श्रीमती ललिताका अनुसार अनुपकै आम्दानीबाट परिवार चलेको थियो। “हामीसँग बैंक ब्यालेन्स छैन। अब कसरी परिवार धान्ने?” ललिता भन्छिन्। 

फाइल तस्वीर।

पर्यटन विभागका अनुसार यस वर्ष हिमपहिरोमा परेर चार शेर्पा पथप्रदर्शकसहित सात जनाको मृत्यु भएको छ। पछिल्लो १० वर्षमा हिमपहिरोसहितका दुर्घटनामा परेर १७७ आरोहीको हिमालमै मृत्यु भएको छ। त्यसमध्ये ६८ जना शेर्पा पथप्रदर्शक छन्। विभागको यो तथ्याङकले प्रत्येक वर्ष औषत सात जना पथप्रदर्शकको हिमाल आरोहणका क्रममा मृत्यु हुने देखाउँछ। 

२०७१ वैशाख ५ गते नेपालको आरोहण इतिहासमा सबैभन्दा दुखद् दिन थियो। सगरमाथाको दोस्रो शिविरमा हिमपहिरोमा परेर १६ जनाको मृत्यु भएको थियो। त्यसमध्येका एक थिए, छिरिङ वाङचुक शेर्पा। 

उनकी श्रीमती निमा डोल्माका अनुसार छिरिङले सानै उमेरदेखि भरिया र पथप्रदर्शकको काम गर्न थालेका थिए। घटना हुँदा उनी शिविरको भान्सामा काम गर्दै थिए। “अरू कामभन्दा किचनको काममा सजिलो हुन्छ भनेर मैले नै श्रीमानलाई किचन बोईमा जान भनेको थिएँ,” उनी भन्छिन्।

सधैँ जोखिम
हिमाल आरोहण साहसिक काम हो। हिमाल आरोहीलाई चुचुरोसम्म पुर्याउने काम शेर्पा पथप्रदर्शकहरूले गर्छन्। त्यसैले उनीहरू नियमित रूपमा आरोहणमा जान्छन्।

शेर्पाहरू हिमाली क्षेत्रमा बस्ने भएकाले यो काममा उनीहरूलाई नै सक्षम मानिन्छ। उनीहरू त्यहाँको हावापानी, वातावरण र भौगोलिक अवस्थासँग अभ्यस्त हुन्छन्। नेपाल पर्वतारोहण संघका अनुसार पर्वतारोहण क्षेत्रमा १० हजारभन्दा बढी शेर्पाहरू पथप्रदर्शक तथा सहयोगीका रूपमा कार्यरत छन्। संघका अध्यक्ष निमा नोरू शेर्पाका अनुसार शेर्पा पथप्रदर्शकहरूका लागि हिमपहिरोजस्ता जलवायुजन्य प्रकोप मुख्य चुनौती भएका छन्।

नेपालको हिमाली क्षेत्रमा कति हिमपहिरो गएका छन् र हिमपहिरोको अवस्था के छ भन्ने यकिन विवरण छैन। सुदीप ठकुरी र राजु चौहानको अनुसन्धानमूलक एक लेखअनुसार सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र सन् १९२० देखि २०२० सम्म ६० वटा हिमपहिरो रेकर्ड गरिएको थियो। ती हिमपहिरोमा ३६० जनाले ज्यान गुमाएका छन्। 

आरोहणकै सिजनमा हुने अस्वाभाविक वर्षा तथा हिमपातको क्रम बढेको छ। जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट डा. इन्दिरा कंडेलका अनुसार नेपालबाट मनसुन बाहिरिने समय सामान्यतया २३ सेप्टेम्बर हो। तर पछिल्लो २० वर्षलाई हेर्ने हो भने अक्टोबरको दोस्रो हप्तासम्म मनसुन क्रियाशील रहने गरेको उनको भनाइ छ। 

पर्यटन विभागका  अनुसार वर्षमा दुई सिजन मार्च–जुन तथा सेप्टेम्बर–नोभेम्बरलाई आरोहणको सिजन मानिन्छ। दोस्रोपटक सेप्टेम्बर तेस्रो हप्तादेखि नेपालमा हिमाल आरोहण शुरू हुन्छ। तर सेप्टेम्बर अन्तिम तथा अक्टोबरको पहिलो हप्ता भारी वर्षा र हिमपात हुने गरेको छ।

“सामान्यतया हिमाल आरोहण १५ सेप्टेम्बरबाट शुरू हुन्छ। तर पछिल्लो  केही वर्षलाई हेर्ने हो भने मौसमले सधैँ हामीलाई चुनौती दिइरहेको छ,” मिङमा भन्छन्। 

पेशा छाड्दै शेर्पा पथप्रदर्शक 
हिमाल आरोहणको अनुमति दिएवापत नेपालले वर्षमा झण्डै ८० करोड रुपैयाँ आम्दानी गर्छ। तर हिमाल आरोहणमा काम गर्ने पथप्रदर्शकहरू भने सुरक्षाका कारण पेशाबाटै पलायन हुन थालेका छन्। तीमध्येका एक हुन् ३६ वर्षीय जेनिन शेर्पा।

१५ वर्षदेखि पथप्रदर्शक रहेका उनी छिट्टै कामदार भिसामा जापान जाने तयारीमा छन्। “यदि, हिमालमा कामको सिलसिलामा मेरो मृत्यु भयो भने परिवारले केही नपाउने भयो। पेशा र जीवनको सुरक्षा नदेखेर देश छोड्ने योजनामा पुगेँ,” उनी भन्छन्, “आर्थिक अवस्था मजबुत भएपछि फर्किएर फेरि पनि यो काम त गर्न सकिहाल्छु नि।”

फाइल तस्वीर।

सेभेन समिटका अध्यक्ष मिङमा पेशागत सुरक्षा नहुने हो भने भविष्यमा हिमाल आरोहणका लागि पथप्रदर्शकहरूको अभाव हुने बताउँछन्। उनका अनुसार पछिल्लो पाँच वर्षमा करिब ४०० शेर्पाहरूले देश छोडेका छन्। 

“हिमाल आरोहणका क्रममा पथप्रदर्शकको मृत्यु भयो भने परिवारले इन्सोरेन्सको रकमबाहेक पाउने केही होइन। राज्यले उनीहरूको पेशागत सुरक्षाका लागि केही गरेको छैन,” उनी भन्छन्, “त्यही कारण पनि शेर्पा पथप्रदर्शकहरूलाई टिकाउन मुस्किल छ।”

रोयल्टीबाट प्राप्त हुने रकममध्ये ८ देखि १० प्रतिशत छुट्याएर शेर्पा पथप्रदर्शकको लागि राहत कोष बनाउनुपर्ने र मृतक पथप्रदर्शकको परिवारलाई भरणपोषण गर्ने व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी शेर्पा पथप्रदर्शकको न्यूनतम् १ करोड रुपैयाँ बराबरको बीमा गर्नुपर्ने बताउँछन्। “पहिलो त जीवन रक्षाका उपाय नै गर्नुपर्छ। दोस्रो, पथप्रदर्शकका लागि एक करोडको बीमा भयो भने कामका क्रममा मृत्यु भए पनि परिवारलाई राहात हुन्छ,” रेग्मी भन्छन्। 

अहिले शेर्पा पथप्रदर्शकको १५ लाख रुपैयाँ बराबरको बीमा हुन्छ। तर यो रकमले मृत्युपछिको संस्कार गर्न पनि नपुग्ने मृतक दावाकी श्रीमती पेम्बा बताउँछिन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुरेश अधिकारी पनि शेर्पा पथप्रदर्शकहरूको बीमा रकम कम भएको बताउँछन्। उक्त रकम अपुग भएको विषय मन्त्रालयसम्म आएको र अहिले नीति परिवर्तनको तयारी भइरहेको उनले जानकारी दिए।

जसले श्रीमानको पेशा पछ्याइन् 
२०७१ वैशाखको हिमपहिरोमा परेर मृत्यु भएका छिरिङ वाङचुककी श्रीमती निमा डोल्मा शेर्पा दुई वर्षसम्म त घरबाट बाहिर निस्किनन्। “श्रीमानको मृत्युपछि म डिप्रेसनमा गएँ। केही गर्न सकिनँ,” उनी भन्छिन्, “एक दिन मृत्यु भएका शेर्पा पथप्रदर्शकहरूको श्रीमतीका लागि कार्यक्रम राखिएको रहेछ। त्यहाँ गएपछि धेरैजना मजस्ता पीडित देखेँ। अनि म एक्लै होइन रहेँछु भन्ने लाग्यो र काम गर्ने हिम्मत गरेँ।”

निमा डोल्मा शेर्पा

श्रीमान् गुमाएको तीन वर्षपछि उनले पनि त्यही पेशा गर्ने निर्णय गरिन्। “आरोहणको ३५ दिने तालिम लिएपछि हिमालको यात्रा शुरू गरेँ,” उनी भन्छिन्। 

निमाले सगरमाथासहित ६ हजार मिटरमाथिका तीनवटा हिमाल आरोहण गरिसकिन्। अर्की एकल महिलाका साथमा उनले २०१९ मे २३ मा सगरमाथा आरोहण गरेकी थिइन्। “श्रीमानले कति दुःखको काम गरेका रहेछन् भनेर पनि मलाई यही पेशामा आउन मन लाग्यो,” उनी भन्छिन्। 

अहिले उनी पथप्रदर्शक भएकी छन्। पथप्रदर्शक गर्ने क्रममा श्रीमान गुमाएका महिलालाई घरबाहिर आएर काममा लाग्न उनको आग्रह छ। “घरभित्र बस्दा डिप्रेसन हुन्छ। म घरबाहिर आएर सानोतिनो कामका लागि आग्रह गर्छु,” उनी भन्छिन्।


सम्बन्धित सामग्री