Thursday, May 02, 2024

-->

श्रद्धाञ्जली दलीपसिंह मजिठिया
जब गौचरनमा मोहन शमशेर र त्रिभुवन जहाज हेर्न पुगे…

राजाले उत्सुकतापूर्वक विमान नियालिरहँदा पाइलट दलीपले चारसिटे जहाजबारे व्याख्या गरिरहेका थिए। गोरखापत्रका अनुसार गौचरन जानेको गिन्ती थिएन। विमान हेर्न हजारौँ साइकल र मोटरको जमघट थियो।

जब गौचरनमा मोहन शमशेर र त्रिभुवन जहाज हेर्न पुगे…

काठमाडौँमा पहिलोचोटि सफलतापूर्वक हवाईजहाज अवतरण गराउने पाइलट दलीपसिंह मजिठिया १०३ वर्षको उमेरमा आफ्नो घर उत्तराखण्ड (भारत)मा सोमबार साँझ बिते। उनकी श्रीमती जोन स्यान्डर्स सन् २०२१ मा १०० वर्षको उमेरमा बितेकी थिइन्। यी दम्पतीका दुई छोरी किरण र मिरा छन्। बेलायतशासित भारतमा दलीपले भारतीय एयरफोर्सका 'स्क्वाड्रन लिडर' (रोयल एयरफोर्समा फ्लाइट लेफ्टिनेन्ट र विङ कमान्डरबीचको पद)का रूपमा काम गरे। 

सन् १९२० जुलाई २७ मा भारतको सिम्लामा जन्मेका दलीपसिंहले काका सुरजीत सिंह मजिठियाको बाटो रोजे। सुरजीतले पनि एयरफोर्समै काम गरेका थिए। मजिठिया द्वितीय विश्वयुद्धताका इन्डियन एयरफोर्सको भोलन्टर रिजर्भमा भर्ती भएका थिए। मजिठियाहरू समृद्ध परिवारका थिए। यिनका बुवा कृपालसिंह मजिठिया बेलायती शासनताका पञ्जाबमा चिनिएका व्यक्ति थिए। हजुरबा सुन्दरसिंह मजिठिया सिख धर्मसँग जोडिएका महत्त्वपूर्ण संस्थाहरूसँग सम्बन्धित थिए। पाइलटका रूपमा दलीपसिंहको यात्राको शुरूआत ‘कराँची फ्लाइङ क्लब’बाट भयो, जहाँ उनले ‘जिप्सी मथ एयरक्राफ्ट’मा उडानका आधारभूत क्षमता विकास गरे।

१९४० अगस्टमा वाल्टन, लाहोरको प्रारम्भिक प्रशिक्षण विद्यालय (आईटीए)मा चौथो पाइलट कोर्स पढे। पढाइको तीन महिनापछि उनलाई त्यहाँ उत्कृष्ट पाइलटको ट्रफी प्रदान गरियो। अझै उन्नत तालिमका लागि उनलाई हरियाणास्थित अम्बालाको नम्बर १ फ्लाइङ ट्रेनिङ स्कुल पठाइयो। 

१९४३ मार्चमा उनी फ्लाइङ अफिसरका रूपमा नम्बर ६ स्क्वाड्रनमा भर्ना भए, जसको कमान्ड चर्चित 'बाबा' मेहर सिंहले गरेका थिए। सन् १९४४ जनवरीमा नम्बर ३ स्क्वाड्रनका फ्लाइट कमान्डरका रूपमा यिनको पोस्टिङ भयो। यही समय यिनले ‘हरिकेन’ नामक युद्धक विमान उडाए। सोही समय यिनले एयर मार्सल अस्गर खानका साथ काम गरे, जो पछि गएर पाकिस्तानी एयर फोर्सको प्रमुख भए। अर्को पोस्टिङमा यिनी नम्बर ४ स्क्वाड्रनको उडान कमान्डर भए। 

यसबीच उनी लामो समय बिरामी परे। त्यसपछि उनले एयर हेडक्वार्टरमा र पछि अस्ट्रेलियामा संयुक्त चिफ अफ स्टाफका लागि आईएएफ (इन्डियन एयर फोर्स)को सम्पर्क अधिकारीका रूपमा काम गरे। यही समय उनले आफ्नी भावी श्रीमती जोन स्यान्डर्स मजिथिया भेटे, जो दोस्रो विश्वयुद्धको समय उमन्स रोयल अस्ट्रेलियन नेभी सर्भिसमा कोड ब्रेकरका रूपमा कार्यरत थिइन्। भारतीय वायुसेना बेलायतशासित भारतमा बेलायतको ‘शाही वायु सेना’को सहायक वायुसेनाको रूपमा स्थापित अंग थियो। उतिखेर अस्ट्रेलिया पनि बेलायती शासनअन्तर्गत थियो। 

१९४७ मार्च १८ मा भारतीय वायुसेनाबाट मजिठियाले अवकाश लिए र उत्तर प्रदेशको शारदानगरमा परिवारसँगै रहेर व्यवसाय सम्हाले। रिटायर्डपछिकै समय उनले काठमाडौँमा पहिलो पटक विमान अवतरण गराएर 'नेपाली'लाई विमान दर्शन गराएका थिए। गौचरन नै आजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। यो नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल पनि हो।

नेपाली उडानका केही किस्सा
नेपालको आकाशमा पहिलोचोटि सन् १९३३ अप्रिलमा विमान उड्यो, सगरमाथा हिमालमाथि। त्यो नै नेपाली आकाशमा छिरेको पहिलो विमान हुनुपर्छ। नेपाली आकाशमा उड्ने सो विमानको नाम ‘वेस्टल्यान्ड’ थियो। डग्लस हेमिल्टनले सो विमान उडाएका थिए। बिहारको पूर्णियाबाट उडान भरेर नेपाल छिरेको सो जहाज हिमालमाथि उडान गरेर बिहार नै फर्केको थियो। 

सो विमान उडानका लागि बेलायती नागरिक लुसी लेडी ह्युस्टनले आर्थिक सहयोग गरेकी थिइन्। सोही कारण त्यस आरोहणको नाम 'ह्युस्टन आरोहण दल' भनियो। फासीवादी सोचकी ह्युस्टन खुंखार राष्ट्रवादी थिइन्। सगरमाथामाथि हवाईजहाज उडाएपछि बेलायती शासन भारतमा झनै सुदृढ हुने कुरामा उनी विश्वास राख्थिन्। बेलायतबाट भारत स्वतन्त्र हुने कुराको विरोधमा थिइन्। 

सन् १९४२ मा केही बेलायती र अमेरिकी विमान बिहारबाट पूर्वपश्चिम उडान भर्दा नेपाली सिमानाभित्र प्रवेश गरेका थिए, त्यसको तत्कालीन राणाशासकले विरोध जनाएका थिए। सन् १९४४ मा पनि भारतीय हवाई अड्डाबाट बाटो बिराएर कुनै हवाईजहाज नेपाल छिरेको गोरखापत्रले लेखेको थियो।‍ सन् १९४५ मा चितवनको झुवानीमा विमान अवतरण भएको विश्वासिलो प्रसंग पनि भेटिन्छ।  

उसो त, सन् १९४७ मा एक जनाले मात्रै उडाएर 'ग्लाइडर' एयरक्राफ्ट काठमाडौँको पुरानो गल्फकोर्समा उतारेको प्रसंग पनि कतैकतै पढ्न पाइन्छ, तर प्रमाणको अभावमा त्यसलाई मान्न सकिने अवस्था छैन। तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको आग्रहमा भारतीय राजदूतको सहजीकरणमा १९४९ अप्रिल २३ (२००६ वैशाख ११) मा एउटा मात्र इन्जिन भएको 'बिचक्राफ्ट-बोनान्जा' विमान नेपाल उत्रेको थियो। आफ्ना पाइलट भतिजकै उडानमा नेपालका लागि भारतीय राजदूत सरदार सुरजीत सिंह नेपाल आएका थिए। सुरजीतका कारण पहिलो पटक काठमाडौँको आकाशमा चारसिटे विमान लिएर दलीपसिंह उत्रने संयोग परेको थियो।

काठमाडौँको गौचरस्थित घाँसे मैदानमा बिहान १० बजे चारसिटे उत्रेको थियो। काठमाडौँमा उत्रिने पहिलो विमान त्यसैलाई मानिन्छ। बिचक्राफ्ट त्यस समय नेपाल उत्रेको थियो, जतिखेर गौचरलाई हवाईअड्डाका रूपमा विकास गरिँदै थियो। काठमाडौँमा उत्रिने पहिलो जेट एयरक्राफ्टचाहिँ लुफ्थान्साको बोइङ ७०७ थियो, सन् १९६७ मा सो विमान विमानस्थलमा उत्रेको थियो।

(राजा त्रिभुवनले विमान उत्सुकतापूर्वक नियालिरहँदा सँगै रहेर विमानबारे बुझाइरहेका पाइलट दलीपसिंह मजिठिया। तस्वीर सौजन्य: स्पटलाइटकमनेपालडटकम)
 


पत्रकार सन्तोष खडेरीका अनुसार गौचरस्थित हवाईअड्डामा विमान अवतरण गर्नेबारे उतिखेर गोरखापत्रले अग्रिम सूचना छापेको थियो। सन् १९४९ अप्रिल १८ मा छापिएको समाचारमा उल्लेख थियो, ‘सोमबार बिहानको मौसम अनुकूल भएमा करिब १० बजेतिर हिन्दुस्थानबाट हवाईजहाज आई नयाँ बनेको गौचर हवाईअड्डामा उत्रिने कुरो छ।’ तर गोरखापत्रले सूचनामा दिएको समयमा विमान उत्रिएन। 

अप्रिल २३ मा भारत बिहारको मुजफ्फरपुरबाट उडेको चारसिटे बिचक्राफ्ट-बोनान्जा विमान काठमाडौँको गौचर हवाईअड्डामा ओर्लियो। विमान चालक दलीपसिंहका अनुसार उनले विमान उतार्दै गर्दा काठमाडौँको आकाशमा बाक्लो बादल थियो। केहीबेर काठमाडौँको आकाशमा चक्कर लगाएपछि मात्र विमान अवतरण भएको थियो। दोस्रो प्रयासमा विमान जमिनमा उतारिएको थियो। 

गोरखापत्रका अनुसार मैदानमा उत्रेदेखि बेलुकासम्म सो विमान हेर्न गौचरन जानेको गिन्ती थिएन। विमान हेर्न हजारौँ साइकल र मोटरको  जमघट थियो। सोही साँझ विमान हेर्न राजा त्रिभुवन, प्रधानमन्त्री मोहन शमशेर, कमान्डर इनचिफ केशर शमशेरलगायत अन्य जनरल पुगेका थिए। बेलायती राजदूत फाल्कनरसमेत त्यहाँ उपस्थित थिए। 

राजाले उत्सुकतापूर्वक विमान नियालिरहँदा चालक दलीपले उनलाई जहाजबारे व्याख्या गरिरहेका थिए। २००६ वैशाख १२ गतेको गोरखापत्रमा उल्लेख छ, 'जहाज उडाउँदा जहाजमा मजिठियाका साथमा मेजर जनरल ध्रुव शमशेर उपस्थित थिए। राजा र प्रधानमन्त्री दुवै जना त्यहाँबाट फर्किएपछि उचित बन्दोबस्तका साथ सो जहाजलाई रातभर त्यहीँ राखिएको थियो। भोलिपल्ट बिहान ११ः४५ तिर सो जहाज काठमाडौँबाट मुजफ्फरपुरतर्फ फर्काइएको थियो।'

काठमाडौँमा पहिलो विमान अवतरण भएको खबरलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेस, रोयटर्सलगायतले नेपालीले पहिलो पटक विमान देखेको आशयसाथ खबर छापे। नेपालमा 'चीलगाडी'को पहिलो उडान नेपाली सभ्यता-विज्ञानको इतिहासमा ठूलो योगदान रह्यो। काठमाडौँको आकाशमा पहिलो पटक विमान उडाउने दलीपसिंहप्रति श्रद्धाञ्जली। 

(विभिन्न एजेन्सीको सहयोगमा।)


सम्बन्धित सामग्री