Sunday, April 28, 2024

-->

काठमाडौँबाट दिल्ली उडेको विमान कान्दहार पुग्दा

२४ डिसेम्बर १९९९। बेलुकी ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ। तर काठमाडौँबाट शुरू यात्रा आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।

काठमाडौँबाट दिल्ली उडेको विमान कान्दहार पुग्दा 
तस्वीर: एजेन्सीहरू।

काठमाडौँ– दृश्य विचित्रको छ। भारतका विदेशमन्त्री जसवन्त सिंह तथा भारतले दुस्मन ठानेका तीनजना एउटै विमानमा यात्रारत छन्। दिल्लीबाट कान्दहारका लागि उडेको विमानमा विदेशमन्त्री सिंह, सुरक्षाकर्मी, डाक्टर, विमान मर्मतकर्ताका साथै भारतका लागि खुंखार आतंककारी मौलान मसूद अजहर, मुस्ताक अहमद जरगर र अहमद ओमार सईद पनि छन्।

“कुन मिसनमा जाँदैछु भन्नेमा म रनभुल्लमा थिएँ,” सिंह आफ्नो संस्मरण ‘अ कल टू अनर’ मा लेख्छन्, “आफैँमाथि प्रश्न उब्जिएको थियो, यो मिसनलाई के भन्ने? उद्धार वा तुष्टीकरणको अभ्यास, सम्झौताका लागि उडान वा भविष्यका लागि उडान?”

‘न्यू इयर इभ’ मा विमान अफगानिस्ताको कान्दहार विमानस्थलमा अवतरण गर्छ। सिंहले आफ्नो पुस्तकमा भनेका छन्, “कान्दहारको विमानस्थल कामचलाउ र युद्धका भग्नावशेषले भरिएको थियो। यसले अधिकतम चार वटासम्म विमान सम्हाल्न सक्थ्यो। हाम्रो विमानलाई एयरपोर्टको अन्तिम छेउमा जान र धेरै अगाडि नबढ्न भनियो।”

विदेश मन्त्रीसँगै पुगेका तीन 'आतंककारी' अजहर, जरगर र सईद विमानबाट ओर्लिन्छन्। उनीहरूकै लागि ‘स्टान्डबाई’  गाडीमा चढ्छन्, विमान अपहरणकारी पाँचजना पनि विमानबाट ओर्लेर त्यही गाडीमा चढ्छन्। गाडी अन्जानस्थलतिर लाग्छ। विदेशमन्त्री सिंह अपहरित विमानमा रहेका १४८ यात्रुसहित दिल्ली रवाना हुन्छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि हजारौँको भीड लागेको छ। केहीबेरपछि शुरू हुने सन् २००० र कान्दहारबाट विशेष विमानमा फर्किएकाको एकसाथजस्तो भव्य स्वागत हुन्छ।

काठमाडौँबाट शुरू भएको घटना आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।

२४ डिसेम्बर १९९९। बेलुकीको ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ, विमानमा ‘क्रु मेम्बर’सहित १८० यात्रु छन्। 

विमानले काठमाडौँको भूमि छाडेको आधा घण्टा बितेको छ, विमान–परिचारिकाहरूले यात्रुलाई खाना ‘सर्भ’ गर्छन्। अलिबेरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानका यात्रु भकाभक खाना खान थाल्छन्। अकस्मात् पाँच जना पुरुष उभिन्छन् र विमान हाइज्याक गरिएको घोषणा गर्छन्। “यात्रु खाना खाँदै गर्दा मास्क लगाएका पाँचजना अकस्मात् बसेको ठाउँबाट उभिन्छन् र हतार–हतार खाना खोस्न थाल्छन्। र, घोषणा गर्छन्– यो प्लेन हाइज्याक गरिएको छ,” भारतीय  युट्युबर ध्रुव राठी विमान अपहरणबारे बनाएको भिडियोमा सुनाउँछन्। 

विमानको वातावरण बिथोलिन्छ। उनीहरूले आफूसँग ग्रिनेड रहेको सुनाउँछन्। आदेश तामेलमा अटेर गरे ग्रिनेडले उडाइदिने धम्की दिन्छन्। त्रसित यात्रुको हंसले ठाउँ छाड्छ। ३७ वर्षिय क्याप्टेन देवीशरणको नेतृत्वमा को–पाइलट राजिन्द्र कुमार र फ्लाइट इन्जिनियर अनिल कुमार जागिया ककपिटमा छन्। अपहरणकारी हतार–हतार पाइलटतिर अघि बढ्छन्। शरणको कन्चटमा पेस्तोल तेर्साउँदै आदेश दिन्छन्– ‘फ्लाइ वेस्ट’, अर्थात् पश्चिमतिर उडाऊ।

यात्रुले विमान अपहरणमा परेको थाहा पाइसकेकै थिए, क्याप्टेन शरणले माइकबाट थप स्पष्ट पार्छन्, “महिला तथा सज्जनवृन्द! म तपाईँहरूको क्याप्टेन बोल्दैछु। हाम्रो प्लेन हाइज्याक गरिएको छ। कृपया, सबै जनाले धैर्य धारण गर्नुहोला र अपहरणकर्ताले अह्राए बमोजिम गर्नुहोला। धन्यवाद!”

त्यसपछि जहाज दिल्लीबाट पश्चिमतिर उड्न थाल्छ।

सबै यात्रुलाई आँखामा पट्टी लगाउन आदेश गरिन्छ। उनीहरूलाई खासखुस गर्न निषेध गरिएको छ। हलचल गर्दाधरी गाली गरिन्छ। अधिकांश टाउको निहुर्‍याएर ईश्वर, अल्लाह इशामसिह आदिसँग मनमनै प्रार्थना गरिरहेका छन्। स्वजन सम्झिइरहेका छन्। विमान कतातिर उड्दैछ, सबैजसो बेखबर छन्।

क्याप्टेन शरणले विमानमा काठमाडौँ–दिल्ली उडानका लागि पुग्नेगरी मात्र इन्धन रहेको जानकारी अपहरणकारीलाई गराइसकेका छन्। खासमा विमान कहाँ लैजाने भन्नेमा अपहरणकारी नै अन्योलमा छन्। 

दिल्लीबाट पश्चिममा पर्छ, पाकिस्तान। विमान उतै सोझिन्छ। अपहरणकारी विमानलाई दिल्लीबाट झन्डै ४१० किलोमिटर पर लाहोर विमानस्थलमा अवतरण गराउन चाहन्छन्। तर पाकिस्तानी एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले अवतरणको अनुमति मरिकाट्टे दिँदैन। लाहोरमा अवतरण गर्न नदिए यात्रु मार्न शुरू गर्ने चेतावनी अपहरणकारीले दिए पनि एटीसी टसको मस हुँदैन।

अर्कोतिर, क्याप्टेन शरण अपहरणकारीलाई सम्झाउँछन्, “हामीसँग थप उडान भर्न पर्याप्त तेल छैन है।”

अन्ततः पाकिस्तानको सीमा क्षेत्रनेर पर्ने भारतको अमृतसर विमानस्थलमा अवतरण गराउन अपहरणकारी तयार हुन्छन्। अमृतसरमा विमान अवतरण गर्दा अँध्यारो भइसकेको छ। तेल भरेर त्यहाँबाट उडिहाल्ने अपहरणकारीहरूको योजना छ। बेतोडसँग विमान भएतिर आउँदै गरेको तेल ट्याकंर घ्याच्च रोकिएपछि अपहरणकारी भारतीय सुरक्षाकर्मीको सम्भावित अपरेसनको आशंकाले डराउँछन्, तत्काल विमानलाई उडाउन आदेश गर्छन्। खासमा भारतको सुरक्षा निकाय विमानलाई सकेसम्म बढी समय अमृतसरमा अल्झाएर कमान्डो अपरेसन गर्न सकिन्छ कि भन्ने योजनामा थियो। तर ट्यांकर तीव्र गतिमा विमानतिर सोझिएपछि चालकलाई बिस्तारै जानु भन्ने आदेश दिइएकाले ट्यांकर घ्याच्च रोकिएको थियो। विमान उडेसँगै भारतीय सुरक्षा घेराबाट उम्किन्छ।  

विमान पुनः लाहोरतिर उड्छ। पाकिस्तानी एटीसी कुनै हालतमा अवतरण गर्न नदिने मुडमा छन्। इन्धनको कारण विमान लाहोरमा अवतरण नगरी उपायै छैन। जबर्जस्ती अवतरण गरिने सम्भावना देखेपछि लाहोर विमानस्थलको सबै बत्ती निभाइन्छ। अब विमानस्थल निस्पट्ट अँध्यारो छ। “जब लाहोर एटीसीले ल्यान्ड गर्न नदिने बतायो, मैले पनि विमान दुर्घटना गरिदिन्छु भनेर धम्क्याएँ,” क्याप्टेन शरण भन्छन्, “विश्वास गर्नुस्, मेरो योजनाले काम गर्‍यो, उनीहरू तत्काल सम्पर्कमा आए र अवतरणको अनुमति दिए।”

इन्धन रित्तिएर लाहोरको आकाशमै विमान दुर्घटना हुने डरले विमान अवतरणको अनुमति दिइएको थियो। 

लाहोरमा तेल भरेर विमानले पुनः उडान भर्छ, दुबईतिर। त्यही क्रममा एकजना अपहरणकारीले यात्रु रुपिन कत्यालको घाँटीमा छुरा घोप्दिन्छन्। झन्डै तीन घण्टाको उडानको क्रममा रगत नथामिँदा उनको मृत्यु हुन्छ। १५ दिनअघि मात्र विवाहित २५ वर्षीय रुपिन हनिमुनका लागि काठमाडौँ आएका थिए। पटकपटक मास्क खोलेको कारण उनीमाथि छुरा हानिएको भनिन्छ। 

त्यहाँ अपहरणकारीले वृद्धवृद्धा, बिरामी र बालबालिका गरी २७ जना यात्रु रिहा गर्छन्। रूपिनको शव पनि त्यहीँ ओरालिन्छ। दुबईबाट उडान भरेको विमान अफगानिस्तानको कान्दहारमा अवतरण गरिन्छ। त्यहीँबाट अपहरणकारीले भारत सरकारसँग वार्ता शुरू गर्छन्। तिनले इस्लामिक आतंककारीको अभियोगमा भारतका विभिन्न जेलमा रहेका १०३ जनालाई रिहा गरिनुका साथै २०० मिलियन डलर दिनपर्ने शर्त राख्छन्। कुराकानी अघि बढ्दै जाँदा तिनले रिहा गरिनुपर्नेको संख्या ३६ मा झार्छन्। अन्ततः अजहर, जरगर र सईदको रिहाइबापत विमान र यात्रु मुक्त गर्ने सहमति ३० डिसेम्बरमा हुन्छ।

अपहरित विमानमा रहेकाहरूले बताएअनुसार कान्दहारमा अवतरण गरेपछि पुरुष र महिला–बालबालिकालाई छुट्टाछुट्टै राखिएको थियो। पाँचैजना अपहरणकारी छद्म नामको प्रयोग गरी संवाद गर्थे। नाइकेको नाम चिफ थियो, अरूको नाम बर्गर, डाक्टर, शंकर र भोला थियो। अपहरणकारीहरू बालबालिका र महिलाप्रति दयालु नै देखिन्थे। बर्गरले गीत,  चुट्किला सुनाएर यात्रुको मन बहलाउन खोज्थे। मिठामिठा गफ गर्थे।

अपहरित विमान २६ डिसेम्बरको बिहान ८ बजे कन्दहार विमानस्थलमा अवतरण गरेको थियो। त्यतिबेला अफगानिस्तान तालिबानको शासन थियो, तालिबान सरकारलाई भारतले मान्यता नै दिएको थिएन। “ककपिटको झ्यालबाट बाहिर हेर्दा छ–साढे छ फिट अग्ला तालीबानी बन्दुक तानेर तैनाथ देखिए,” काठमाडौँमा एउटा सेमिनारमा भाग लिई फर्किरहेकी डा. अनिता जोशी युट्युबको एउटा अन्तर्वार्तामा सम्झिन्छिन्, “मलाई त्यहाँबाट जीवित फर्किन्छु भन्ने रत्तीभर आस थिएन।”   

भारत सरकार आफैँले आतंकाकारी घोषित गरेकाहरूसँग सम्झौता गर्नेमा शुरूमा सहमत थिएन। प्रधानमन्त्री अटलविहारी वाजपेयी, गृहमन्त्री लालकृष्ण आडवाणी सम्झौताको विपक्षमा सुनिन्थे। सन् १९८९ को डिसेम्बरमा भारतीय जनता पार्टीसमेतको समर्थनमा बनेको विश्वनाथ प्रताप सिंह सरकारमा गृहमन्त्री मुफ्ती मोहम्मद सईदकी छोरी रुबैया सईद कश्मीरमा अपहरणमा पर्दा सरकारले अपहरणकारीको मागबमोजिम आतंककारीको अभियोगमा जेलमा रहेका पाँच जना रिहा गरेकोमा चर्को आलोचना भएको थियो। यात्रुहरूको सुरक्षाको दबाब बढ्दै गयो। खासगरी रुपिनको हत्या, उनको शव भारत ल्याइएपछि सरकारमाथि ह्वात्तै दबाब बढ्यो। अपहरित विमानमा रहेका यात्रुका स्वजन मात्रै होइन अरूले पनि सकुशल रिहाइको माग गर्न थाले। अन्ततः सरकार तीन जनाको रिहाइको लागि राजी भएको थियो। भारत सरकारले फिरौती रकम दिएको हो कि होइन भन्नेचाहिँ विवादित नै छ। भाजपाका विरोधीहरू तत्कालीन सरकारले नगदसमेत दिई आतंकारीसँग सम्झौता गरेको आरोप लगाउने गर्छन्। जसको पुष्टि भएको छैन।  

विमानमा रहेका नेपाली यात्रु सञ्जय धितालले हिमाल खबरपत्रिकासँग भनेका छन्, “३१ डिसेम्बरको बिहान सबैजनाको अनुहार उज्यालो थियो, अब छुट्ने भइयो भनेर सबै खुशी थिए।” डा. अनिता जोशीका अनुसार विमानबाट बाहिरिँदा विमानस्थल छेउछाउ १०/१२ हजार रमिते भेला भएका थिए। महिलाहरूलाई शिर ढाकेरमात्र ओर्लिन भनिएको थियो, नत्र रमितेहरूले आक्रमण गर्नसक्छन् भन्दै। 

आईसी–८१४ विमानका पाँच अपहरणकारीमध्ये अहिले इब्राहिम अख्तर र शाहिद अख्तर सईद मात्र जिबित रहेको आतंकवादी–विरोधी विज्ञहरूको भनाइ छ। अन्य तीन जना– जमाली भनिने मिस्त्री जहुर इब्राहिम, सन्नी अहमद र शकिरको मृत्यु भइसकेको बताइन्छ। जहुर इब्राहिमको हत्या गत साल मात्र भएको थियो, २०२२ मार्च १ का दिन पाकिस्तानको कराँचीमा अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए। जमाली तिनै हुन् जसले रूपिन कत्याललाई छुरा घोपेका थिए। 

भारतले कन्दाहार पुर्‍याई छाडेका मसूद अजहरले पाकिस्तानमा जैश–ए–मोहम्मद नामको संगठन शुरू गरे। अपहरणमा संलग्न इब्राहिम अजहर उनकै सहोदर भाइ हुन्। जैश–ए–मोहम्मदले एक वर्षपछि भारतको संसद्‌मा आक्रमण गरायो। अजहर सन् २००८ को मुम्बई विस्फोटको पनि आरोपी हुन्। यात्रुको रिहाइबापत भारतले बुझाएको अहमद ओमार सईदले अमेरिकी पत्रकार डेनियल पर्ललाई अपहरण गरी टाउको काटेर हत्या गरेका थिए। अमेरिकी दबाबमा पाकिस्तान सरकारले उनलाई पक्राउ गरी मुद्दा चलायो जो अहिले आजीवन कैद सजाय भुक्तान गरिरहेका छन्। मुस्ताक अहमद जरगार हाल पाकिस्तानमै बसोबास गर्ने भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।


सम्बन्धित सामग्री