Thursday, May 02, 2024

-->

जन्मान्तरका लागि स्तनपान: कसो गर्दा गर्भ रहँदैन?

केही शर्त पूरा हुँदा मात्र स्तनपान गराउँदाको अवस्थामा भएको शारीरिक सम्पर्कमा ९८ प्रतिशत गर्भ रहने सम्भावना रहँदैन।

जन्मान्तरका लागि स्तनपान कसो गर्दा गर्भ रहँदैन

आजभन्दा करिब २८ वर्षअघि सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय (दिपायल)का तर्फबाट प्रजनन स्वास्थ्य सेवाको स्थलगत निरीक्षण गर्न मलगायत एउटा टोली बाजुरा जिल्ला गएका थियौँ। निरीक्षणको उद्देश्य प्रजनन सेवा उपभोग गर्ने र गराउने क्रममा महिलाले भोगिरहेका समस्याबारे जानकारी हासिल गर्नु थियो। निरीक्षणपश्चात् जिल्ला स्वास्थ्य कार्यालयकै सम्बन्धित टिमसँग छलफल गर्‍यौँ र स्थानीयस्तरमै समस्या समाधानका लागि जिल्ला स्वास्थ्य प्रमुख मातहत कार्यान्वयन गर्ने गरी उपलब्ध स्रोतसाधन समेतको ६ महिनाको कार्ययोजनाको प्रतिबद्धता प्राप्त गरी फर्कियौँ।  

उक्त निरीक्षणमा मभन्दा धेरै अनुभवी र कार्यक्रमसम्बन्धी जानकार क्षेत्रीयस्तरका ५–६ जना सरकारी तथा गैरसरकारी विशेषज्ञ हुनुहुन्थ्यो। यसले मलाई दोहोरो फाइदा भयो, जाँदा बाटोभर उहाँहरूका जनस्वास्थ्यसम्बन्धी अनुभव सुन्न पाएँ। प्रजनन स्वास्थ्य सेवालाई बाजुरा जिल्लाभरका महिलाको पहुँचमा पुर्‍याउनुको चुनौतीबारे बुझ्न पाएँ। हाम्रो यात्रा सिलगढीबाट साँफेसम्म गाडीमै भयो। साँफेबाट १२ घण्टा लामो पैदल यात्रा गरेर हामी राति एउटा गाउँमा बास बस्यौँ र भोलिपल्ट बिहानै बाजुरा जिल्लाको सदरमुकाम मार्तडी पुग्यौँ।

निरीक्षणका क्रममा मैले एउटा दम्पती भेटेँ। श्रीमतीको उमेर करिब ३० र श्रीमानको ३५ वर्ष। श्रीमान् भारतबाट फर्केको तीन महिना जति भएको रहेछ। उनी बर्सेनि दशैँ मान्न घर आउने र चाडपछि फर्कने गर्दा रहेछन्। श्रीमतीको काखमा दूध खाने दुई वर्षकी बालिका थिइन्। ती दम्पतीको क्रमशः ८ वर्ष, ६ वर्ष र ४ वर्षका छोरी रहेछन्। दम्पतीको कुरो सुनेपछि यिनले छोरा कुरेको अनुमान गर्दै मैले सोधेँ, 'छोरा पाउने रहर हो?' महिलाले भनिन्, 'मलाई त चार छोरी हुँदा नै पुगिसकेको थियो, तर के गर्नु दूध खुवाउँदा–खुवाउँदै गर्भ रहेको थाहा नै नपाउने, महिनावारी पनि देखा परेन। त्यसै कारण होला, तल्लो पेटमा गोला चल्छ, खान रुचि छैन र वाकवाकी लागिरहन्छ।' 

उनको कुरा सुनेपछि महिलालाई भोलिपल्ट बाजुरा अस्पताल बोलाएँ र जाँचपश्चात् उनको पेटमा आठ हप्ताको गर्भ रहेको यकिन भयो। मेरो कुरा सुनेपछि महिलाले श्रीमानसँग सल्लाह गर्छु भनिन्। एक छिनपछि मैले उनको श्रीमानलाई नै भेट्दा उनले भने, 'अब यो अन्तिम हो हेरूँ, भगवानले यो पटक कसो छोरा नदेलान्?' यो दम्पतीको स्थितिबारे मैले हाम्रो टिमसँग तत्काल छलफल गरेँ र जिल्ला स्वास्थ्य प्रमुखसँग भेटेर थप सल्लाह गर्ने निधो गर्‍यौँ। 

भोलिपल्ट बिहानै हामीले परिवार नियोजन अधिकृत, जनस्वास्थ्य  नर्स, तथ्यांक अधिकृतसहित जिल्ला स्वास्थ्य प्रमुखलाई भेटेर ती दम्पतीबारे अवगत गराउने प्रक्रियामा हामीले बुझ्यौँ कि स्थानीयमाझ स्तनपानले गर्भ रहँदैन भन्ने गहिरो विश्वास रहेको तर कस्तो अवस्थामा स्तनपान गर्दा गर्भ रहँदैन भन्नेबारे चाहिँ जानकारीको कमी रहेछ। 

यति कुरा बुझेपछि हामीले क्षेत्रीयस्तरका कार्यालयतर्फ तीन वटा कार्यक्रम थप्यौँ; स्तनपानबारे दम्पतीमाझ सही ज्ञान प्रदान गराउने, परिवार नियोजन 'क्याम्प' रहेको बेला अरू अस्थायी साधनबारे परामर्श प्रदान गरी आवश्यकता अनुसारको साधन उपलब्ध गराउने र क्याम्पमा आउने महिलालाई प्रजननसम्बन्धी केही समस्या हुँदा सामान्य रोगको त्यति बेलै उपचार गर्ने र जटिल समस्याको लागि उपयुक्त संस्थामा पठाउने। 

प्रजनन स्वास्थ्य सेवाको स्वीकार्यतामा निरन्तर सुधार गर्नुपर्छ भन्ने विश्वासले कार्यक्रमको यो नौलो अभ्यासलाई अँगाल्यो र यसलाई मैले त्यस भ्रमणको ठूलो उपलब्धिको रूपमा लिएँ। 

सरकारी सेवाबाट निवृत्त भइसकेको म हालसालै, २८ वर्षपछि झन्डै–झन्डै त्यस्तै खालको भ्रमणमा दोलखा जिल्ला जाने मौका पाएँ। तीन दिनको छोटो 'फिल्ड प्रोग्राम' भएकोले बिहानै सात बजेदेखि बेलुकासम्म फिल्डमा नै समय बितायौँ। ग्रामीण समुदायमा प्रजनन स्वास्थ्यलगायत मातृ तथा शिशु स्वास्थ्यका लागि सेवाको पहुँच कस्तो छ र के कस्ता सुधारको आवश्यकता छ भन्ने जान्नु भ्रमणको उद्देश्य थियो। यसै क्रममा हामी सामुदायिक स्वास्थ्य कार्यकर्तासँगै घरदैलो कार्यक्रममा सामेल भयौँ र एक परिवारलाई भेट्यौँ। सो परिवारमा श्रीमान्, श्रीमती र दूध चुस्दै रहेको उनीहरूकी दुई वर्षे बालकलाई भेट्यौँ। 

मैले शुरूमा सामुदायिक  स्वास्थ्य कार्यकर्ताले आमा र बच्चाको स्वास्थ्य जाँचपड्ताल गरेको हेरेँ। मलाई के कुरामा खुसी लाग्यो भने मेरो अपेक्षाभन्दा बढी नै ध्यानपूर्वक उनले आमा र बच्चाको स्वास्थ्यबारे जाँच गरी उपयुक्त सल्लाह प्रदान गरिन्। उनको मुख्य प्राथमिकता बच्चा नै थियो। त्यसो हुनाले उनले बच्चाको तौल लिएर स्तनपान, थप पोसिलो खाने कुरा, पौष्टिक जाउलो बनाउने र सरसफाइ गर्नेबारे परामर्श गरिन र खोपको सल्लाह दिइन्। स्तनपान गरिरहेको आमालाई हरियो साग, गेडागुडी र अन्डालगायतका पोसिलो खानेकुरा खान सल्लाह दिइन्। 

तर परिवार नियोजनबारे मलाई खुल्दुली भइहरेकोले मैले परिवारको महिलालाई सोधिहालेँ, 'तपाईंले परिवार नियोजनको कुनै साधन प्रयोग गर्नु भएको छ?' प्रश्न सुनेपछि संकोचले महिलाको अनुहार रातो भयो। केहीबेरपछि अप्ठ्यारो मान्दै भनिन्, 'दूध चुसाउन्जेलसम्म र महिनावारी नहुन्जेलसम्म गर्भमा बच्चा आउँदैन भनेर सोचेको थिएँ, तर पनि बच्चा दुई वर्षको पुग्न थाल्यो र सामुदायिक स्वास्थ्य कार्यकर्ता दिदीसँग सल्लाह गर्दा उनले कुनै अस्थायी साधन प्रयोग गर्दा बेस होला भनी सल्लाह लिइन्। स्वास्थ्य चौकी गएर तीन महिने सुई लगाएँ। ढुक्क भई घर फर्कें। एक महिनापछि मलाई एक्कासि वाकवाकी लाग्यो। पेटमा बच्चा आएको शंकाले मैले तिनै दिदीलाई फोन गर्दा उनले स्वास्थ्य संस्थामा तुरुन्तै जँचाउन सल्लाह दिनुभयो। जाँचबाट मेरो तीन महिना गर्भ नाघेको कुरामा यकिन भयो।' 

आफ्नो कथा सुनाइसकेपछि उनले मलाई सोधिन्, 'तीन महिने सुई लगाउँदा पनि गर्भ बस्दो रहेछ त?' यो प्रश्नले मलाई २८ वर्षअघि बाजुराको मार्तडीमा भेटेका श्रीमान् र श्रीमतीसँगको कुरा सम्झेँ। 

दुवै 'केस'मा दुई कुराको समानता छ। दुवैले दुई वर्षको बच्चा दूध चुसाए र महिनावारी नभएको बेला गर्भ बस्दैन भन्ने ठाने। जबकि उनीहरूलाई कस्तो अवस्थामा स्तनपान गराउँदा गर्भ रहन्छ या रहँदैन भन्ने थाहा थिएन। अध्ययनले प्रमाणित गरे अनुसार निम्न तीनै कुरा पूरा भएको अवस्थामा मात्रै स्तनपान गराउँदा ९८ प्रतिशत गर्भ रहने सम्भावना रहँदैन: 

१. बच्चा ६ महिना वा सोभन्दा सानो छ। 
२. बच्चाले दूधमात्रै चुसेको छ (दूधबाहेक पानीलगायत केही पनि थप खाने कुरा खाएको छैन)।
३. महिलाको महिनावारी भएको छैन।

लामो समय प्रजनन स्वास्थ्यमै बिताएका आधारमा मैले के पाएँ भने प्रायजसो महिलालाई तेस्रो कुराको राम्रो ज्ञान छ, तर एक र दुई कुरामा प्रष्टता छैन। बच्चा ६ महिना वा सोभन्दा सानो भएको अवस्थामा मात्र, जतिखेर बच्चाले माग्यो, उतिखेर दूध पिलाउँदा, दूधबाहेक केही पनि थप कुरा (पानी समेत) दिएको छैन भने, दिन र रातमा दूध चुसाउने समयमा लामो अन्तराल नहुँदाको अवस्थामा पति पत्नीबीच यौन सम्पर्क हुँदा गर्भ रहँदैन। तर यी माथिको तीन 'कन्डिसन'मध्ये एउटा पनि पुगेको छैन भने गर्भमा बच्चा रहने सम्भावना बढ्दै जान्छ।

महिलाहरूले स्तनपान विधिलाई नै परिवार नियोजनको अस्थायी उपायका रूपमा प्रयोग गर्ने हो भने आफ्नो अवस्थाको विचार गरी लेखमा भनिएका 'कन्डिसन' पूरा गर्नुपर्ने हुन्छ। नभए परिवार नियोजनको अन्य अस्थायी साधनबारे स्वास्थ्य कार्यकर्तासँग बुझेर आफूलाई सहज र चित्तबुझ्दो साधन प्रयोग गर्नुपर्छ।

स्वास्थ्य कार्यकर्ताहरूले पनि समयमै स्तनपानबारे पूर्ण जानकारी र व्यक्तिको आवश्यकता र सहजताअनुसारको परिवार नियोजनको स्थायी या अस्थायी साधनबारे उचित परामर्श गरी साधन उपलब्ध गराउने र साधन प्रयोग गरिरहेका महिलाहरूको फलोअप गर्न जरुरी छ।


सरकारी सेवाबाट अवकाशप्राप्त जनस्वास्थ्य विशेषज्ञ बस्नेत एक गैरसरकारी संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी अनुसन्धानरत छिन्।


सम्बन्धित सामग्री