Friday, May 03, 2024

-->

नयाँ सडकको कथा
रन्जना गल्लीमा तीन तलामाथि दयानाथको चिया पसल

कुनै समय नयाँ सडकमा ठेलामा चिया बेच्ने दयानाथ अहिले रन्जना गल्लीभित्र तीन तलामाथि त्यही काम गर्छन्। दैनिक २० हजार रुपैयाँसम्मको चिया बिक्री गर्ने उनी भन्छन्– मिहिनेत गर्नेलाई स्वदेशमै पैसा छ।

रन्जना गल्लीमा तीन तलामाथि दयानाथको चिया पसल

काठमाडौँ– दूध हालेको वा फिक्का, चिनी हालेको चिया वा कफी। दयानाथ चौलागाईंको एक दिन आगन्तुकका माग पूरा गर्दै बित्छ।

“ओ हो! १४ वर्ष बितिसकेछ, समय बितेको थाहै हुन्न रहिछ,” बितेका दिन सम्झिँदै उनले भने।

उनको चिया पसल न्युरोड पिपल बोटको उत्तरतर्फको रन्जना गल्लीभित्र पस्नेबित्तिकै आउने देब्रेतिरको उप–गल्लीभित्र रहेको सानो चोकमा छ। चोकको दक्षिणतर्फको अग्लो घरको तेस्रो तल्लामा रहेको चिया पसल पुग्न दुई जना ओहोरदोहोर गर्न नमिल्ने भर्‍याङ उक्लनुपर्छ। 

उनको पसलमा ५/६ जनाभन्दा बस्ने ठाउँ छैन। दयानाथ बिहानै ७ बजे मोबाइल फोन, रजिस्टर र ग्यास सिलिन्डर जोडिएको चुल्होसँगै भेटिए।

जति बेला पनि फोन गर्दै रजिस्टरमा केही उतार्दै हतार–हतार ग्लासमा चिया भरेर ओहोरदोहोर गरिरहने उनलाई भेट्नै मुस्किलै पर्छ। कुरा गर्नु त परै जाओस्। 

“फोनबाटै अर्डर आउँछ, सबैको नाम यही रजिस्टरमा छ। आएको अर्डर यहीँ लेख्छु, अनि चिया बनाएर पुर्‍याउन जान्छु,” चिया बोकेर हिँड्ने तरखरमै रहेका चौलागाईं भन्छन्, “मलाई बोल्ने फुर्सदै हुन्न। पसल–पसलमा पुग्नुपर्छ, बेलुका ७ बजेसम्म यतिकै हो।”

तस्वीर– कृष्पा श्रेष्ठ/उकालो

उनका प्रायः सबै ग्राहक रन्जना गल्लीका व्यापारी हुन्। दिनभर व्यापारीले आफूलगायत ग्राहकहरूका लागि चियाको अर्डर गरिरहेका हुन्छन्, उनीहरूकै मागअनुसार चिया बनाएर पसल–पसलमा पुगिरहन्छन्।

दिनभर चिया ओसारेर थाकेका उनी साँझ ७ बजेपछि कुन–कुन पसलमा कति कप चिया पुग्यो त्यसको सबै हिसाब गरेर पैसा उठाउन जान्छन्। “चिया व्यापार सबै नगद नै हुन्छ, चियाको पैसा पनि के उधारो राख्ने भनेर राख्दैनन्,” दयाराम भन्छन्, “त्यस्तै ७०० देखि हजार कप चिया बनाउँछु होला, सधैँ एकैनास त हुँदैन।

प्रतिकप २० रुपैयाँका दरले चिया बेचे पनि उनले दिनभरमा करिब २० हजार जतिको व्यापार गर्छन्। त्यसमा पनि चियाको स्वादअनुसार बेग्लाबेग्लै मूल्य छ। उनले उस्तो हिसाब भने राखेका छैनन्। “सामान्यतया: १५ हजार जतिको व्यापार होला,” उनी भन्छन्, “खट्न सक्नुपर्छ राम्रो फाइदा छ, चियाको आम्दानीबाट सन्तुष्ट छु।”

उमेरले ४० वर्ष नपुगेका दयानाथले चिया पसल चलाएको १४ वर्ष भयो। लगातार चिया नै पकाउने काम गर्दा उनलाई कहिल्यै काम परिवर्तन गरौँ भन्ने सोच आएन। उनलाई देखेर कतिपय युवाहरू प्रभावित हुन्छन्।

तस्वीर–उकालो

उनको बलियो सहयोगी उनकी पत्नी हुन्। उनी चिया बनाउँछिन्, दयानाथ बोकेर ग्राहकका पसल–पसलमा पुग्छन्। 

उनका तीन सन्तान छन्। जेठा छोरा अहिले १२ कक्षमा पढ्दै छन्। दुई छोरीहरू ९ र ६ कक्षामा पढ्छन्। चिया बेचेर नै दयानाथले आफ्नो पाँच जनाको परिवार पालिरहेका छन्।

संघर्षका दिनहरू
“आफूले गरेको कामलाई निरन्तरता दिँदै लैजान सक्यो भने एक दिन सफलता आफैँ मिल्छ,” उनी भन्छन्, “आजकल युवाहरू विदेश–विदेश भन्छन्, पैसा त यहीँ छ मिहिनेत गर्नेलाई।”

आफ्नो कर्ममा विश्वास गर्ने दयानाथ कर्मकै कारण आफूलाई सफल भएको ठान्छन्। उच्च शिक्षा हासिल गरेका दयानाथलाई विदेश जाने सोच कहिले आएन। सानैदेखि अरूको काम गर्ने रुचि नभएका उनलाई आफैँ केही गर्छु भन्ने सोच थियो।

२०६१ सालमा काठमाडौँ पसेका उनको यो शहरमा आफ्नो भन्ने कोही थिएनन्। धेरै दुःख र मेहनतपछि यो ठाउँमा आइपुगेको उनी सुनाउँछन्।

दयानाथ भन्छन्, “लगानी गर्न पैसा थिएन। ठूलो रकम दिन सक्ने क्षमता घरको थिएन। ऋण लिएर दुई/चार जना साथीहरूको समूह मिलेर आफैँले रेस्टुरेन्ट खोल्यौँ।”

त्यतिखेर उनलाई सानैदेखिको सपना पूरा भएको महसुस भएको थियो। रेस्टुरेन्ट राम्रै चलिरहेको थियो। त्यसलाई अझै राम्रो बनाएर निरन्तरता दिने कोशिश गर्दै थिए। तर, सोचेको जस्तो भएन। “पहिलो सपना पूरा हुन नसकेपछि लामो समय बेरोजगार हुन पुगेँ,” ती दिन सम्झिन्छन्।

काम केही नहुँदा मानसिक समस्याबाट पीडित भएका उनीसित ठूलो लगानी गर्न पैसा थिएन। रेस्टुरेन्ट बेचेको रकम बाँकी थियो। तर, त्यसबाट आफूले सोचेअनुसारको व्यवसाय गर्न सक्ने अवस्था थिएन।

“थोरै लगानीमा आफैँ केही गर्ने योजना बनाएँ र रन्जना हलभित्र चलिरहेको चिया पसल २० हजारमा किनेर सञ्चालन गर्न थालेँ,” दयानाथ भन्छन्, “२०७२ सालको भूकम्पले चिया पसल ठूलो बनाउने योजना भताभुङ्ग बनाइदियो।”

भूकम्पले उनको पसल नै ढल्यो। पसलसँगै सपनाको घर पनि ढल्न पुग्यो। परिवारलाई गाउँबाट ल्याएर छोराछोरीलाई शहरको राम्रो विद्यालय पढाउने उनको धोको पूरा हुन सकेन।

उनले हार भने मानेनन्। उनलाई लाग्यो, “मैले गरेको कर्म पुगेको रहेन छ। मेरा दुःखका दिन बाँकी नै रहेछ।”

हातमा सीप थियो। आफूले गरेको काम फेरि शुरू गर्ने सोचे राखे र नयाँ सडकमा ठेलामा चिया पसल राखे। घाम, पानी केही भन्न पाइँदैन थियो। त्यो दुःखले पसल छाड्ने सोच पनि राखे। तर, छाडेर पनि अरू के गर्ने विकल्प नै थिएन।

काम गर्दै जाँदा महानगरले पनि दुःख नदिएको होइन। तर, अहिलेको जस्तो सामान फाल्ने, ठेला नै लैजाने जस्ता दृश्य भने कहिले नदेखिएको दयानाथ बताउँछन्।

“पहिले गरिखानेका लागि ठाउँ थियो, जता जे गरे पनि महानगरले अहिलेको जस्तो दुःख दिँदैन थियो,” उनी भन्छन्, “अहिले गरिबको गरिखाने ठाउँ पनि बन्द गर्देको छ महानगरले।”

तीन वर्ष ठेलामा चिया बेचेर बिताएका दिनहरू सम्झन्छन् उनी। सबैले ‘चिया पसलको दाइ’ भनेर चिन्दै आएका छन्। उनी भन्छन्, “आफूले गरेको काम गलत हुनु हुँदैन, सुख–दुःख भनेको यस्तै हो।”

केही समयपछि दयानाथले परिवारलाई पनि आफैँसँग ल्याए र पसल पनि सडकबाट भित्र रन्जना हलअगाडि आफ्नै पसल सञ्चालन गर्दै आएको पनि पाँच वर्ष भयो।

स्वदेश नै ‘स्वर्ग’
“यस्तो सानोतिनो काम मान्छेको लागि केही होइन,” उनी भन्छन्, “अहिलेका मान्छे रातारात धनी हुन खोज्छन्, अनि सफलता कसरी मिल्छ त?”

नेपालमा नै सरकारले रोजगारको अवसर सिर्जना गर्न सके युवाहरू बिदेसिनु नपर्ने उनी बताउँछन्। युवाहरूले पनि कामलाई ठूलो सानो भन्न नहुने उनको भनाइ छ।

दयानाथ २०४५ सालमा सिन्धुपाल्चोकमा परिवारका जेठा छोरा भएर जन्मिएका हुन्। घरपरिवारका सबैले विदेश गए हुने भन्ने सोचेका थिए। तर, उनलाई अरूको गुलामी भएर बस्न मन पर्दैन थियो। त्यही कारण कति समय परिवारसँग बोलचाल बन्द हुन पुग्यो।

परिवार हुन् केही समय रिसाउँछन्, पछि मन कसो नफेरिएला भन्ने सोचले दयानाथले घर छाडेका थिए। “संघर्ष एक्लै गर्नुपर्ने रहेछ। दुःखमा साथ कसैको नहुने रहेछ। जब सफलता मिल्छ आफन्त आफैँ बन्ने रहेछन्,” दयानाथ भन्छन्।

छोरा–छोरीको पढाइ र आफ्नो हात पाखुरा चलुन्जेल आफ्नो पेसालाई निरन्तरता दिने सोच रहेको उनी बताउँछन्।


सम्बन्धित सामग्री