Sunday, April 28, 2024

-->

गाँजाबारेको धारणा बदल्न ‘गाँजा स्टोर’ चलाइरहेका विनायक

गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।

गाँजाबारेको धारणा बदल्न ‘गाँजा स्टोर’ चलाइरहेका विनायक
तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– बत्तीसपुतलीस्थित द्वारिकाज होटलको सामुन्ने एउटा पसलको सटरमा ‘गाँजा स्टोर’ लेखिएको छ। त्यो नाम देखेर धेरैले अनौठो मान्छन्। कतिलाई त्यहाँ गाँजा नै पाइन्छ जस्तो पनि लाग्छ, कति बाहिरबाटै पसल नियाल्छन् भने कति चासो दिएर भित्र पस्छन्। पस्नेहरू प्राय: युवा हुन्छन्। उनीहरू त्यहाँभित्र राखिएको ‘प्रडक्ट’हरू हेरेर आकर्षित हुन्छन्। ४० वर्ष कटेकाहरूले चाहिँ खरिद पनि गर्छन्। 

सर्ट, पाइन्ट, जुत्ता, ब्याग, ट्राउजर, योग म्याट, गलैँचा, तेल र जेलहरू यहाँ उपलब्ध छन्। ती सबै गाँजाको प्रजाति ‘हेम्प’बाट निर्मित सामग्री हुन्। यस्ता सामान ५० भन्दा बढी प्रकारका छन्। बत्तीसपुतली निवासी विनायकराज पाण्डे गाँजा स्टोरका सञ्चालक हुन्। औपचारिक रूपमा स्टोर खोलिएको एक वर्ष भए पनि पसल सञ्चालनमा आएको चाहिँ साढे चार महिना मात्र भएको छ। 

विनायक भन्छन्, “हेम्प र मरिवाना दुवै क्यानाबिस प्लान्ट हो, तर दुवै एकै होइनन्। एउटै जस्तो देखिने कारणले फरक छुट्ट्याउन गाह्रो हुन्छ। बरु यहाँ दुवैलाई गाँजाकै मान्यता दिइएको छ। मैले आँट गरेर खोलेको यो पसलको नामले धेरैलाई अच्चमित बनाउँछ। बुझ्नेहरू यहाँका सामग्रीहरू उत्साहित भएर खरिद गर्छन्। नबुझ्नेहरू आउँछन्, हेर्छन् र फर्किन्छन्।”

गाँजा भनेको नसा लिने वस्तु मात्र हो भन्ने भाष्यलाई जरैदेखि उखेलेर फ्याँक्न आफूले गाँजाको ‘बाइप्रडक्ट’हरू बेच्न शुरू गरेको विनायक बताउँछन्। गाँजालाई वैधानिकता दिनु त परको कुरा, हेम्पलाई पनि अवैधानिक करार गरेकोमा आफूलाई अजीव लागेको उनले सुनाए।


विनायक सन् २०१९ देखि ‘लिगलाइज नेपाल’सँग आबद्ध छन्। लिगलाइज नेपाल पछिल्लो ७-८ वर्षदेखि नेपालमा गाँजालाई वैधानिकता दिनुपर्छ भनेर अभियान सञ्चालन गर्दै आएका युवाहरूको संगठन हो। उनीहरूको मुख्य माग नै गाँजालाई वैधानिकता प्रदान गरेर गाँजा खेती गर्न दिनुपर्छ भन्ने हो।

“यो देशको अधिकांश भूभागसँग गाँजा उब्जाउन सक्ने क्षमता छ। उब्जनी पनि भइरहेको छ, बिना कुनै खेतिपाती। तर अल्पबुझाइका कारण प्रहरीले त्यसलाई नष्ट गर्छ र बहादुर कहलाउँछ,” विनायक भन्छन्, “उनीहरूले मरिवाना र हेम्पबीचको अन्तर नै बुझेका छैनन्। त्यही प्रडक्ट अन्य देश पुग्दा महँगोमा बिक्री हुन्छ। हामी चाहिँ नष्ट गरिरहेका छौँ।”

‘प्रोसेसिङ सेन्टर’ नहुँदा घाटा 
विनायकले गाँजा स्टोरका लागि नेपालभित्रबाटै सामग्रीहरू ल्याउँछन्। देशको अधिकांश भूभागका गाँजा प्रहरीले नष्ट गरे पनि प्रहरीको पहुँच नभएका दुर्गम क्षेत्रमा हुने हेम्प विराटनगर पुग्छ। त्यहाँ प्रोसेसिङ भएपछि काठमाडौँको कपडा दोकानहरूमा आउने गरेको उनी बताउँछन्।

“नेपालमा प्रहरीबाट लुकाएर उत्पादन गरिएको हेम्पको ‘मार्केट’ जम्मा ३५ प्रतिशत छ जुन पर्याप्त छैन। त्यसकारण व्यापारीहरू चीनमा हेम्पबाट निस्केका फाइबरहरू ल्याएर कपडा उत्पादन गर्छन्,” विनायक भन्छन्, “जबकि चिनियाँ हेम्पभन्दा नेपाली हेम्प कति धेरै गुणस्तरीय छ। तर के गर्ने? गाँजा देख्नेबितिक्कै प्रहरीले फाँडेर गाउँ नै उजाड बनाइदिन्छन्।”  


काठमाडौँस्थित ठमेल क्षेत्रमा यी सामग्रीहरू धेरथोर देखिए पनि गाँजाबाट निर्मित सामग्री मात्रै बेच्ने पसल आफ्नो बाहेक अन्यत्र कतै नभएको विनायकको दाबी छ। नेपाल सरकारले प्रोसेसिङ मेसिन नै राख्न नदिँदा नेपाललाई नै घाटा भएको उनी बताउँछन्। 

“नेपालमा हेम्पलाई वैधानिकता दिने हो र प्रोसेसिङ मेसिन जडान गर्न दिने हो भने यहाँको सारा कटन इन्डस्ट्री नै ओरालो लाग्छ,” उनी भन्छन्, “हेम्पमा पैसा छ भन्ने धेरैलाई थाहा छ। तर कटन इन्डस्ट्रीको एकाधिकार छ। उनीहरू नै यसलाई वैधानिकता दिलाउन चाहँदैनन्।” 

विनायकका अनुसार धेरैले नेपालमै उत्पादन गरेको सामान किन यति धेरै महँगो भनेर प्रश्न गर्छन्। “उत्पादन नै हुन दिँदैनन् अनि कहाँबाट सस्तोमा पाइन्छ? खेत बाँझो राखेर युवा विदेशमा छन्। तर सरकारले यसलाई अझै अवैधानिक भन्दै प्रतिबन्ध लगाएको छ,” उनी भन्छन्, “खेती गर्न रोक लगाउने भनेको मरिवाना हो, हेम्प होइन। यी दुईबीचको फरक बुझ्नुपर्‍यो नि। त्यही बुझाउन मैले यो व्यवसाय शुरू गरेँ।”

मध्यरातमा फुरेको नाम
लिगलाइज नेपालसँग आवद्ध रहेर विनायक नेपालमा गाँजालाई जसरी पनि वैधानिकता दिलाउने अभियानमा छन्। व्यावसायिक खेती गरेर गाँजा उब्जाउन सके देशको अर्थतन्त्रमा योगदान पुग्ने उनको दाबी छ। त्यसैका लागि सन् २०१९ यता उनी निरन्तर लिगलाइज नेपालका सदस्यहरूसँगै सक्रिय छन्।


'लिगलाइज नेपाल'का सदस्यहरू काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दर्जनौँ पटक पक्राउ परिसकेका छन्। उनीहरूको अभियानमा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गर्ने गरेको विनायक बताउँछन्। तर पनि अभियान निरन्तर चलिरहेको छ।

“गाँजाको वैधानिकताबारे संसदमा कुरा उठ्छ। विचार विमर्श हुन्छ। बहस र छलफल हुन्छ। तर गाँजा ‘ड्रग्स’ अर्थात लागूऔषध मात्रै होइन भन्ने कुरा राज्यले बुझ्नै चाहँदैन,” उनी भन्छन्, “गाँजा खेतीबाट सबैभन्दा बढी देशलाई नै फाइदा हुन्छ। यसको महत्वलाई संसारले बुझिसके। धेरै देशले वैधानिकता दिएर ठूलो रकम कमाइरहेका छन्। तर हामी अझै अलमलमै छौँ।”

गाँजाबाट पहिला पनि सामान नबनेका होइनन्। तर मानिसहरूलाई विश्वास नलागेका कारण गाँजाबाट निर्मित सामग्री मात्रै बेचेर सबैलाई सुसूचित गर्नुपर्ने उनलाई महसुस भयो। विनायकले यस्तो पसल खोल्ने योजना सन् २०२२ मै बनाए। तर उनी पसलको नामले रोकिए। उनी शुरूदेखि नै नाम ‘क्याची’ हुनुपर्छ भन्नेमा सचेत थिए। महिनौँसम्म उनलाई नामबारे दुविधा भइरह्यो। 

“एक रात सुत्नेबेला यस्तै पसलबारे सम्झिरहेको थिएँ। गाँजाबाटै बनेको सामान बेच्ने हो भने 'गाँजा' शब्द छुटाउनुहुन्न भन्ने लाग्यो। त्यसपछि गाँजा पहिलो शब्द हुनेमा म कन्भिन्स भएँ,” उनी भन्छन्, “दोस्रो शब्द पनि लगत्तै फुर्‍यो। सामान्यतया ‘स्टोर’ भनेको बृहत् हुन्छ। त्यहाँ धेरै प्रकारका वस्तु पाइन्छ भन्ने मेसेज दिन्छ। त्यसैले ‘गँजा स्टोर’ नै राख्नुपर्छ भन्ने लाग्यो। त्यही राखेँ।”


कम्पनी रजिस्ट्रार कार्यालयमा विनयाकलाई अनेकौँ प्रश्न सोधियो। गाँजा नै बेच्न लागेको हो कि भन्ने शंका कार्यालयका कर्मचारीहरूलाई लागेको विनायक बताउँछन्। तर गाँजाबाट निर्मित सामग्रीबाहेक अन्य जुनसुकै चिज बेचे पनि कारबाहीको भागिदार हुन तयार भएको पटक–पटक बताएपछि अन्त्यमा उनलाई त्यो नाम राख्ने स्वीकृति दिएको उनी सम्झन्छन्।

अस्ट्रेलियाबाट फर्केपछि ‘गाँजा स्टोर’ 
विनायक राजगुरु परिवारका हुन्। उनका काका बडागुरु केशरीराज पाण्डेले २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्रलाई गद्दीमा बस्दा श्रीपेच लगाइदिएको उनलाई झलझली सम्झना छ। उनी सानै छँदा हजुरबुबा बितेका कारण उनलाई त्यसबारे खासै जानकारी छैन। बुवा भने व्यापारमै रमाएर अस्ताए।

बुवाको असामयिक निधनपछि विनायक अस्ट्रेलियाबाट नेपाल फर्केका थिए। त्यसयता उनी उता गएका छैनन्। उनका जेठा दाइ बुवाको काजक्रियाकै क्रममा बितेपछि उनीमाथि थप पारिवारिक जिम्मेवारी आइलाग्यो। त्यसपछि उनले नेपालमै बस्ने निर्णय गरे।

सन् २००८ मा विनायक अस्ट्रेलिया पुगेका थिए। त्यतिखेरका सारा युवाहरूलाई अस्ट्रेलियाको 'हावा लागेको' विनायक बताउँछन्। विद्यालय शिक्षा र आईएस्सी काठमाडौँबाटै गरेका उनी ‘साउन्ड इन्जिनियरिङ’ गर्न सिड्नी पुगेका थिए।

“शुरूमा मैले त्यहाँ संघर्ष गर्नुपर्‍यो। अक्सर यहाँबाट विदेश जाने सबैको पहिलो चाहना नै आत्मनिर्भर बन्ने हुन्छ। मेरो पनि त्यही थियो। यहाँ लाज लाग्ने काम त्यहाँ गर्वका साथ गर्ने स्वभाव नेपालीको जीनमै छ जस्तो लाग्छ,” उनी भन्छन्।


अस्ट्रेलिया पुगेर जिन्दगीको पहिलो काम उनले ‘क्लिनिङ’बाट शुरू गरे। त्यतिखेर उनी साताको आठ सय अस्ट्रेलियन डलर कमाइ गर्थे। पछि उनी धेरै ठाउँमा क्लिनिङको काम गर्न थाले। थप मान्छे आफै ‘हायर’ गरेर काममा लगाउन थाले। त्यसपछि उनको कमाइ साताको १६ सय डलर पुग्यो। 

“म बैंक र डिपार्टमेन्टल स्टोर गरी जम्मा ३० वटा जति ठाउँमा क्लिनिङको काम सम्हाल्थेँ। गाडी पनि किनेको थिएँ मान्छे ओसारपसार गर्न,” उनी भन्छन्, “लगभग पाँच वर्ष जति त्यसरी काम गरेँ। साउन्ड इन्जिनियरिङ पढेकाले डीजेको काम पनि गर्थें।”

करिब ६ वर्षको बसाइपछि विनायकलाई सिड्नी छोड्न मन लाग्यो। सन् २०१५ मा उनी मेलबर्न ‘सिफ्ट’ भए। त्यहाँ नयाँ व्यवसाय शुरू गरे, नेपाली उत्पादन ‘इम्पोर्ट’ गरेर बिक्री गर्ने। त्यहाँ उनले नेपालबाट लुगाफाटो र भाँडाकुडा मगाएर आफ्नो स्टोरमार्फत बेच्न थाले। उनको व्यवसाय बिस्तारै फस्टाउँदै थियो। तर बीचमै बुबाको निधनले सन् २०१९ मा उनी नेपाल फर्किए। 

“म नगएपछि त्यहाँको स्टोर त्यत्तिकै छाडियो। यहाँ पनि पारिवारिक कामकाज र कोरोना महामारीले तीन वर्ष जति अलमलिएँ,” उनी भन्छन्, “पछि के गरूँ–गरूँ भयो, अनि लिगलाइज नेपालसँगको आबद्धताले गाँजा स्टोरसम्म पुर्‍यायो।”


सम्बन्धित सामग्री