Friday, October 11, 2024

-->

नयाँ पेयका रूपमा बजार तताइरहेको ‘बबल टी’

काठमाडौँ उपत्यकाका ठाउँठाउँमा अहिले ‘बबल टी’ पसल खुलेका छन् जहाँ परम्परागत चियापसल र ‘क्याफे’हरूमा पाइनेभन्दा भिन्न पेयको स्वादले सबै उमेरका ग्राहकहरूलाई तानिरहेको भेटिन्छ।

नयाँ पेयका रूपमा बजार तताइरहेको ‘बबल टी’
तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– साँझ घाम डुब्दै गर्दा पाटनको लबिम मलअगाडि सडकमा पाको उमेरको एक जोडी एकअर्काको हात समातेर जेब्रा क्रसिङबाट सडक पार गरिरहेका थिए। दुवैले अर्को हातमा एक/एक बोतल लिएका थिए। बोतल पारदर्शी भएकोले गुलाबी र पुदिना रंगको तरल पदार्थ बाहिरबाट सजिलै देखिन्थ्यो। त्यो कुनै जुसजस्तो देखिए पनि खासमा ‘बबल टी’ थियो।  

ललितपुर, कुमारीपाटीका ६० वर्षीय उमाकान्त अधिकारी आफ्नी ५६ वर्षीया श्रीमती देवीमायासँग महिनाको एक पटक लबिम मल पुग्छन्। किनकि कपडा व्यापारी अधिकारी दम्पतीलाई ‘बबल टी’ एकदमै मन पर्छ। दशैँअघि नातिनीले आफूसँगै लगेर ‘ज्यामिजको बबल टी’ खुवाएपछि मन पर्न थालेको उमाकान्तले बताए। त्यसयता यही स्वादका लागि उनीहरू बेला–बेला लबिम मल पुग्ने गरेका छन्। 

पहिले चिसो बबल टीको मात्र स्वाद लिए पनि त्यस दिन पहिलो पटक तातोवाला खाएको देवीमायाले बताइन्। “अरू बेलामा चिसो बबल टी खान्थ्यौँ। श्रीमान्लाई ब्लुबेरी र मलाई स्ट्रबेरी स्वादको मन पर्थ्यो। यसपालि चाहिँ तातो पनि खाई हेरौँ भनेर पिंक स्ट्रबेरी र हनीड्यु खायौँ, मिठो लाग्यो,” बबल चियाको ब्रान्ड चलेका स्वादबारे जानकार उनले भनिन्।

काठमाडौँ, बूढानीलकण्ठकी ३२ वर्षीया अस्मिता शर्मा सुवेदीले पहिलो पटक उत्सुकता मेट्न बबल टी पिउँदा मन परेको बताइन्। “बजारमा विभिन्न किसिमका चिसो पेय पदार्थ पाइन्छ। बबल टीको स्वाद कस्तो हुन्छ भन्ने जिज्ञासा थियो। त्यसैले केही वर्षअघि पहिलो पटक खाएको थिएँ,” उनले भनिन्, “अन्य पेय पदार्थभन्दा फरक, नौलो र मिठो लाग्यो।”

सुन्धाराका २६ वर्षीय रोहित सदाशंकर आफ्ना महिला साथीहरूको जबरजस्तीले बबल टी पिउने बानी बसेको बताउँछन्। “मेरा महिला साथीहरूले बबल टी धेरै पिउँथे। एक जनाले मलाई मिठो हुन्छ भन्दै जबरजस्ती पिउन लगाइन्। त्यसबेलादेखि पिउन थालेको बबल टी छुटाएको छैन,” उनले भने।

भंगालकी २० वर्षीया आस्मा केसीलाई कोरियाली र चिनियाँ सिरियलमा देखेको बबल टीले यसको स्वादसम्म पुर्‍यायो। “म कोरियन र चाइनिज सिरियल धेरै हेर्छु। त्यसमा कलाकारहरूले विभिन्न दृश्यहरूमा बबल टी खाइरहेको देखेको थिएँ,” उनले भनिन्, “यो के रहेछ, यसको स्वाद कस्तो हुँदो रहेछ भनेर जान्न उत्सुक थिएँ। केही दिनपछि नजिकैको पसलमा गएर खाएँ।”

लबिम मलमै भेटिएका १८ वर्षीय सौभाग्य चापागाईं आफूलाई दिदीले बबल टी खाने बानी लगाएको बताउँछन्। “म १६ वर्षको हुँदादेखि दिदी कतै गएर घर फर्किंदा बबल टी ल्याइदिनुुहुन्थ्यो। अहिले हप्तामा एक पटक भए पनि बबल टी पिउने बानी लागेको छ,” उनले भने। 

विगत केही वर्षदेखि नेपालमा विभिन्न किशोरकिशोरीदेखि वृद्धवृद्धासम्मका बीच बबल टी लोकप्रिय बन्न पुगेको छ। प्रसिद्धि कमाइरहेको बबल टीको उत्पत्तिको आफ्नै कथा छ।

बबल टीको उत्पत्ति 
सन् १९८० मा पत्ता लागेको ‘बबल टी’ ताइवानको प्रसिद्ध पेय हो। यसलाई ब्ल्याक पर्ल टी, बोबा टी वा तापियोका मिल्क टी पनि भनिन्छ। दर्जनौँ स्वादमा पाइने बबल टी मुख्य गरी चिया, दूध र ‘तापियोका’ दानाको मिश्रणबाट बन्छ। पहिले हातैले फिटेर तयार गरिने बबल टी तयार पार्न अहिले ‘शेकर मेसिन’ले सजिलो बनाइदिएको छ। 

बबल टीको खोजीका दुई फरक कथाहरू छन्। पहिलो कथाअनुसार सन् १९८० को दशकमा ताइवानको ताइचुङमा चुन शुई ताङ चियाघर स्थापना गर्ने लुइ हानसिहबाट यसको शुरूआत भएको हो। त्यसका उत्पादन विकास प्रबन्धक, लिन सिउ हुईले स्टाफ बैठकको क्रममा चियामा हालेको तापियोका दानाहरू सबैलाई मन पर्‍यो। त्यसपछि यो उत्पादनले चियाघरहरूमा विस्तारसँगै प्रसिद्धि पाउँदै गयो। 

बबल टी उत्पत्तिको अर्को कथा ताइवानकै ताइनानको हानलिन चियाघरसँग जोडिन्छ। त्यसका सञ्चालकहरूको दाबीअनुसार चियाघरका मालिक तु सोङ–ह आह–बो–लिआउले स्थानीय बजारमा देखेका साबुदानाजस्तै सेतो तापियोका दानाहरूबाट प्रेरित भएर १९८६ मा बबल टी पत्ता लगाएका थिए। उनले पछि यी परम्परागत ताइवानी तापियोका दाना प्रयोग गरेर चिया बनाए जसलाई पर्ल टी भनियो। 

फरक–फरक थालनीकर्ताहरूका आ–आफ्नै दाबीका कारण यसको जस लिने होडमा उनीहरूबीच विवाद भयो जसमा उनीहरूले वर्षाैंसम्म मुद्दामामिलामा बिताए। बबल टी कुनै व्यक्ति वा पसले जो कसैले पनि बनाउन सक्ने भएकाले बहस गर्नु जरूरी नभएको भन्दै अदालतले निरुपण गरेपछि अन्ततः सन् २०१९ मा त्यो लडाइँ टुंगियो। 

नेपालको पहिलो बबल टी
सन् २०११ सेप्टेम्बर ११ मा व्यापार शुरू गरेको ज्यामिज नेपालको पहिलो र प्रमाणित बबल टी ब्रान्ड तथा आपूर्तिकर्ता हो। अहिले चर्चित ‘ज्यामिज बबल टी’ को थालनी भने कफी पसल खोल्ने विचारबाट भएको थियो। यसका संस्थापक पासाङ लामाका अनुसार उनी अमेरिकामा रहँदा उनका एक ताइवानी साथीले बबल टी पसल खोल्ने तयारी गर्दा उनले पहिलो पटक थरी–थरी स्वादको बबल टी चाख्ने मौका पाए। त्यही बेला पासाङलाई बबल टीको स्वादले मोहनी लगायो।  

त्यसैताका आफ्नी बहिनी जाम्याङ डोल्मा लामाले कफी पसल खोलेर व्यवसाय गर्छु भनेपछि त्यतिबेला ‘हस्पिटालिटी’ पढिरहेका लामाले कफी पसलको सट्टा बबल टी पसल खोल्न सुझाव दिए। “नेपालमा कफी पसलहरू धेरै थिए। केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो,” उनले भने, “बबल टी नयाँ हुन्छ र धेरै स्वादहरूमा पनि पाइन्छ। एक पटक आफै बबल टी खाएर हेर अनि विचार गर भनेर बहिनीलाई भनेको थिएँ।”

नभन्दै बबल टीको स्वादले तानेपछि उनकी बहिनी यसैको पसल खोल्ने टुंगोमा पुगिन्। यो कसरी बनाउने भनेर ताइवानका आपूर्तिकर्ताहरूबाट तालिम लिएपछि लामा परिवारमा अर्को महत्वपूर्ण जिम्मेवारी आइपर्‍यो– अनुसन्धान र स्थान चयन। आमा र बहिनीले सबै काम सकिसकेपछि पसल ‘सेट अप’ गर्नुअघि पासाङ तीन महिनाका लागि नेपाल आए। त्यही बेलामा उनले बहिनीकै नामसँग मिलाएर ‘ज्यामिज बबल टी’ नामको पसल प्रारम्भ गरे। 

नक्सालको भाटभटेनी, सिटी सेन्टरको फुड कोर्ट र चक्रपथको भाटभटेनी गरी तीन ठाउँमा टी स्टोर खोल्ने योजना बन्यो। २०११ को सेप्टेम्बर ११ मा सिटी सेन्टरको फुड कोर्टमा पहिलो पसल खोलेपछि उनको योजना अन्ततः कार्यान्वयनमा आयो। यसरी ज्यामिज नेपालको पहिलो बबल टी आपूर्तिकर्ता बन्न पुग्यो।

तीन फरक ठाउँबाट राम्रो प्रतिक्रिया पाएपछि लबिम मल, केएल टावर र ठमेलमा पनि पसल विस्तार भयो। अहिले ज्यामिजका नेपालभर ५० भन्दा बढी आउटलेट र फ्रान्चाइज छन् भने भारतमा पनि विस्तार गर्ने उसको योजना छ।

थालनीकालका चुनौती 
बबल टी ताइवान, चीन, जापानलगायत अन्य एशियाली देशहरूमा पिउने चलन भए पनि नेपालमा यो पेय बिल्कुलै नयाँ थियो। त्यसकारण यसलाई यहाँ ल्याएर व्यवसाय बनाउन सजिलो थिएन। स्वादसँगै ब्राण्ड स्थापित गर्न शुरूका दिनमा धेरै कठिनाइको सामना गर्नुपरेको पासाङको अनुभव छ। 

उनका अनुसार बबल टीको बारेमा नेपालमा प्रायः कसैलाई थाहा थिएन। शुरूमा सिटी सेन्टरको फुड कोर्टमा सानो केचपको बट्टामा थोरै बबल टी र एक दुई वटा तापियोका दाना सित्तैमा दिँदा पनि कसैले खान मानेका थिएनन्। चाखिदिन तयार भएकाहरूलाई पनि कसरी खाने थाहा थिएन। त्यसबेला बबल टी कसरी खाने भनेर जिज्ञासुहरूलाई सिकाएको उनले बिर्सेका छैनन्। 

“तापियोका अहिले स्वाद पाएका जति सबै जनाले मन पराउनुहुन्छ। तर त्यतिबेला सबैले फाल्नुभएको थियो। चाख्नेहरूले तरल पदार्थ जति पिएर दाना चाहिँ फुत्त–फुत्त बाहिर फाल्नुभएको मलाई याद छ,” उनले भने “हामीले उहाँहरूलाई तापियोका दाना चपाएर खाने हो भनेर सिकाएका थियौँ। यसरी सिकाउँदै जाँदा व्यवसाय राम्ररी चल्न केही समय लाग्यो।”

अर्को कठिन मोड
बबल टीको व्यापार निकै राम्रोसँग चल्न थालेपछि गर्भवती भएकी पासाङकी बहिनीले व्यवसायमा पहिलेजस्तो समय दिन भ्याइनन्। अमेरिकाबाट फर्केका पासाङले आफैँ व्यवसाय सम्हाल्न थाले। थप फस्टाउनका लागि उनले सक्दो मिहिनेत गरे। तर जति प्रयास गरे पनि सोचेजस्तो भएन। व्यापार राम्रो नहुँदाको तनावले उनलाई सताइरहँदा अर्कोतिर कोभिड–१९ ले अचानक सारा विश्वलाई आक्रान्त पार्‍यो। व्यवसाय शिथिल भएपछि केएल टावर, ठमेल, सिटी सेन्टरको फूड कोर्ट र नक्सालको भाटभटेनीका पसलहरू बन्द गर्नुबाहेक पासाङसँग अर्को विकल्प रहेन। 

त्यो संकटको घडीमा व्यवसायको पुनरुत्थान गर्न उनले एउटा दह्रो हातको साथ पाए। उनी थिइन् पासाङकी महिला साथी भावना तुम्बाहाङ्फे जो अहिले ज्यामिज बबल टीकी प्रबन्ध निर्देशक छिन्। उनी पेशाले ट्राभल एजेन्ट हुन्। कोभिड–१९ को आपतकालीन समयमा उनी काठमाडौँमा फसेकी थिइन्। व्यवसाय डामाडोल भएर पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेका पासाङले त्यही बेला सहयोगको याचना गरेका थिए।  

“हामीले एक–अर्कालाई सन् २०१२ देखि चिनेका थियौँ। कुनै काममा हात हालेपछि त्यसप्रति उनले देखाउने समर्पण र इमान्दारीको बारेमा मलाई थाहा थियो। त्यसैले उनीप्रति भरोसा गरेर मद्दत मागेँ,” पासाङले भने।

व्यवसायको नाजुक अवस्था देखेर सघाउन राजी भएकी भावनाको साथ पाएपछि बबल टी पसलले नयाँ मोड लिन थाल्यो। सञ्चालनको सम्पूर्ण जिम्मेवारी भावनाले आफ्नो हातमा लिइन्। उत्पादनलाई सुधार्न विभिन्न पक्षहरूमा काम गरेको बताउने उनले भनिन्, “यसलाई लामो समयसम्म चलाउनुपर्छ भन्ने लाग्यो। त्यसैले पासाङसँग मिलेर बजार विश्लेषण, बबल टी बनाउने सामग्रीको गुणस्तर, खान योग्य छ कि छैन भनेर परीक्षण, उचित मूल्य निर्धारण, पसलको दर्ता लगायतको कार्य गर्न थाल्यौँ।” 

व्यवसायको बारेमा उनको दृष्टिकोण यतिमा मात्र सीमित थिएन। विभिन्न उमेरकालाई तालिम दिएर फ्रान्चाइज चलाउने अवसर दिँदै उद्यमशीलता विकास गर्ने सोच पनि बनाइन्। “मैले नेपालमा केही गर्नुभन्दा लाखौँ खर्च गरेर विदेश जाने धेरै देखेँ। निम्न आर्थिक पृष्ठभूमि भएका त झन् सपना नै नदेख्ने रहेछन्। त्यसैले सपना देखे यहाँ पनि गर्न सकिन्छ भनेर हौसला दिनुपर्छ जस्तो लाग्यो,” उनले भनिन्। 

त्यसपछि केही गर्छु भनेर सपना देख्नेहरूलाई उनीहरूले मिलेर निःशुल्क कर्मचारी तालिम र स्वामित्व प्रशिक्षण दिए। अपांगता भएका, एकल महिला र गरिब आर्थिक पृष्ठभूमि भएकालाई विभिन्न ठाउँबाट ल्याएर बबल टी बनाउने सीप, ग्राहक ह्यान्डलिङ, मार्केटिङ, लेखा र स्वामित्वसम्बन्धी तालिम दिएको भावना बताउँछिन्।

धेरै मिहिनेत र लगनीपछि सकारात्मक परिवर्तन देखिन थालेको पासाङले बताए। “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ज्यामिजलाई उत्पादनको गुणस्तरका लागि इजाजतपत्र दियो। शुरूमा यो प्राप्त गर्ने ज्यामिज बबल टी मात्र थियो। हाम्रो हरेक पसल दर्ता भयो,” उनले भने, “लगभग दुई वर्षको लगातार परिश्रमपछि बबल टी व्यापक मात्रामा बिक्री हुन थाल्यो। साथै हामी इच्छुक उद्यमी विकास गर्न पनि सक्षम भयौँ। अहिले एउटा पसलबाट कम्तीमा १०० देखि बढीमा २५ सय कपसम्म बबल टी बिक्री भएको रेकर्ड छ।”

गत वर्षदेखि ज्यामिजले विभिन्न स्वादमा जाडोको लागि तातो बबल टी शुरू गरेको छ। बबल टीको प्रतिकप मूल्य २५० देखि ४५० सम्म राखिएको पासाङले बताए। तातो बबल टी प्रचलनमा ल्याउने पहिलो देश नेपाल नै भएको उनको दाबी छ।  

बबल टी के कारणले लोकप्रिय भयो होला? ज्यामिज बबल टीकी प्रबन्ध निर्देशक भावनाको जवाफ छ, “फन, फ्रुटी र फ्यासनेबल भएर हो।” उनको व्याख्याअनुसार बबल टी पिएर सकिने बेलामा कपको पिँधमा भएको तापियोका दाना फेला पारेर खाँदा ‘फन’ अर्थात् रमाइलो हुन्छ। विभिन्न फलफूलहरूको स्वादमा बनाइने भएकाले यो ‘फ्रुटी’ हुन्छ। बबल टीको कप वा बोतल सजिलै हातमा लिएर हिँड्न मिल्ने भएर फ्यासनेबल पनि देखिन्छ।

ग्राहकहरूमाझ लोकप्रियता बढेसँगै नेपालमा धेरै बबल टी पसलहरू खोलिए। ज्यामिजजस्तै प्रसिद्ध ‘बोनम छा बबल टी’ पसल सन् २०२१ फेबु्रअरीमा बसन्तपुरमा खुल्यो। सञ्चालक सुधा खड्काका अनुसार उनी इन्टरनेशनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टमा पढाइ पूरा गरेपछि इन्टर्नसिपका लागि सन् २०१५ मा चीन गएकी थिइन्। उनले त्यहाँ तीन वर्ष काम गरिन्। चीनमा प्रख्यात भएको बबल टी व्यवसायको अवसर नेपालमा प्रचुर देखेर आफूले पसल खोल्ने निर्णय गरेको उनी बताउँछिन्। 

सम्भाव्यता अन्ययनपछि उनले खोलेको पसल आफ्ना साथीहरूसँग मिलेर चलाउन थालिन्। तीन महिनाको मिहिनेतपछि व्यापार राम्रो हुन थाल्यो। दिनमा ५०० देखि ६०० कपसम्म बिक्री भएको उनी बताउँछिन्। बोनम छाको बबल टीको माग बढ्न थालेछि अहिले पाटन र ठमेलमा समेत यसका तीन ‘आउटलेट’ छन्। ग्राहकको आकर्षण बढेसँगै बोनम छाले पनि यस वर्षदेखि तातो बबल टी बिक्रीमा ल्याएको सुधाले बताइन्। “हामीले बबल टीप्रेमी ग्राहकलाई जाडो मौसमको नयाँ मेनु ल्याएका छौँ जसमा विभिन्न स्वादको तातो बबल टी समावेश छ,” उनले भनिन्।

विश्वव्यापी लोकप्रियता 
सन् १९९० को दशकमा, बबल टीकोे लोकप्रियता पूर्वी र दक्षिणपूर्वी एशियामा फैलियो। ताइवानमा त बबल टी पेय पदार्थ मात्र नभएर संस्कृति र खाद्य इतिहासको स्थायी प्रतीक नै बनेको छ। २०२० मा ताइवानले अप्रिल ३० लाई आधिकारिक रूपमा राष्ट्रिय बबल चिया दिवसको रूपमा घोषणा गरेको थियो।

सन् २०१८ मा दक्षिणपूर्वी एशियामा बबल टीको अर्डर तीन हजार प्रतिशतले बृद्धि भएको रेकर्ड छ। यो पेय एशिया बाहिरका मेनुहरूमा पनि केही समयदेखि देखा पर्न थालेकोे छ। जर्मनीले सन् २०१२ मा ‘म्याकडोनाल्ड’को मेनुमा बबल टी थप्यो। कोभिड–१९ को संक्रमणलाई रोक्नको लागि अस्थायी रूपमा बबल टी पसलहरू बन्द गर्न सरकारी आदेश आएपछि सिंगापुरमा मानिसहरू अन्तिम पटक बबल टी पिउने भन्दै पसलतिर हतारिएका थिए। 

एलाइड मार्केट रिसर्चमा प्रकाशित अनुसन्धान लेखअनुसार सन् २०२२ मा तीन अर्ब डलर हाराहारीमा रहेको बबल टी उद्योगको बजार सन् त्यसको एक दशकपछि झण्डै साढे दुई अर्ब डलरले बढेर २०३२ मा ५.४ अर्ब डलर पुग्ने अनुमान छ। 


सम्बन्धित सामग्री