Wednesday, May 15, 2024

-->

काठमाडौँमा कसरी गरिखाँदैछन् ठेला र साइकलमा व्यवसाय गर्नेहरू?

गत वर्ष भएको स्थानीय तह निर्वाचनपछि काठमाडौँमा ठेला र साइकलमा व्यवसाय गर्नेको जीवन संकटतिर धकेलिएको छ। कतिपयले कम आम्दानी हुने वैकल्पिक पेसा थालेका छन्, कोही भने लुकिछिपी व्यापार नै गरिरहेका छन्।

काठमाडौँमा कसरी गरिखाँदैछन् ठेला र साइकलमा व्यवसाय गर्नेहरू
सबै तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– “घरपरिवार नभएको भए बालेनको शहर छोडेर जान्थेँ।”

चावहिल चोकबाट बायाँतर्फको गणेशस्थान गल्लीमा राति १० बजे भेटिएका रवीन्द्र साहले गुनासो गरे। काठमाडौँ महानगरपालिका–७ चावहिलमा २० वर्षदेखि बस्दै आएका बाराका रवीन्द्र मौसम अनुसारका फलफूल साइकलमा राखेर व्यापार गर्थे। तर, एक वर्षयता आफ्नो दैनिकी फेरिएको उनी बताउँछन्। 

रवीन्द्रको दिनचर्या एक्कासी ‘रातचर्या’ भएको छ। २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम नै उनले व्यापार राति सार्नुको प्रमुख कारण बन्यो।

उक्त निर्वाचनबाट काठमाडौँ महानगरको मेयरमा बालेन्द्र (बालेन) शाह निर्वाचित भए। मेयर शाहले काठमाडौँमा ‘फुटपाथ व्यवस्थापन’को नीति लिए। उनकै निर्देशनमा फुटपाथमा व्यवसाय गरिरहेकाहरूलाई हटाउन शुरू गरियो। साना व्यावसायीका ठेलागाडा र साइकल नगरप्रहरीको ‘निशाना’मा पर्न थाले। साइकल र ठेलागाढा हटाउने निर्णय गरेको महानगरले त्यसरी व्यापार गर्नेका सामान उठाउन थाल्यो। 

यो पनि: ६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

रवीन्द्रको साइकल पनि महानगरले दुईपटक जफत गर्यो। उनी केही दिन साइकलविहीन भए। व्यापार गर्ने बाटो बन्द भएपछि घरपरिवार भोको रहने अवस्था आयो। अनि, ३ हजार रुपैयाँमा अर्को साइकल किने। त्यसपछि, चावहिल चोक छाडेर गल्लीतिर व्यापार गर्न थाले, त्यो पनि राति मात्र।

“यो पेटले कहाँ मान्छ र! भोको रहन सकिँदो रहेनछ। सापट गरेर साइकल किनेँ। अहिले चोकमा बस्दिनँ,” उनी भन्छन्, “महानगरले व्यापार गर्न दिँदैन। साइकल लिएर जान्छ, सामान पोखिदिन्छ। मेरो पनि घरपरिवार छ। छोरा–छोरीलाई कसरी पढाउने होला? परिवारको खर्च कसरी टार्ने होला? यस्तै भयो भने काठमाडौँ छोडेर जानैपर्छ।”

जब साँझको ७ बज्छ, उनी टोकरीमा फलफुल राखेर भयका साथ गल्लीतर्फ साइकल घिसार्न थाल्छन्। “बालेनको शासन कडा छ। बिहान हातमा साइकल हुन्छ, बेलुकी साइकल हुँदैन कि भन्ने डर लाग्छ,” उनी भन्छन्।

क्यान्सरपीडित परिवारको बिथोलियो जीवन 
कीर्तिपुरकी अनु कार्कीले काठमाडौँ महानगरपालिका–३ महाराजगन्जमा ११ वर्षसम्म ठेला व्यापार गरिन्। शिक्षण र कान्ति बाल अस्पताल नजिक भएकाले प्रायः ग्राहक बिरामी कुरुवा हुन्थे। बेलुकी ७ बजेदेखि बल्न शुरू गरेको ठेलामाथिको आगो बिहान ५/६ बजेपछि मात्र निभ्थ्यो। त्यही व्यवसायबाट तीन जनाको परिवार चलेको थियो। छोरोलाई अंग्रेजी विद्यालयमा पढाएकी थिइन्।

एक वर्षअघि नगर प्रहरीले अनुको ठेला र सबै सामान उठाएर लगे। “म राति मात्र ठेला राख्थेँ। ठेला राख्न थालेको ११ वर्ष भइसकेको थियो। बालेन आएपछि महानगरले दुईपटक गाडा लियो। अरू सामग्री भुईंमा फालिदियो,” उनी भन्छिन्, “पहिलोपटक ठेला लगेपछि नयाँ किनेँ। फेरि लगिदियो। सिलिन्डर, अरू सामान लिएर गयो। कतै राख्न दिएन, त्यसपछि समस्या थपियो।”

अनु कार्की।

यहीबीचमा उनका श्रीमान् क्यान्सरबाट पीडित भए। छोरालाई पनि अंग्रेजी विद्यालयबाट निकालेर सरकारीमा भर्ना गरिन्। अहिले छोरा शिवपुरी माविमा कक्षा ८ मा अध्ययनरत छन्।

“ठेला चलाउन दिएको भए छोरा बोडिङमै पढाउने थिएँ। हामीले केही गर्न नसके पनि छोराले केही गरोस् भन्ने थियो। सपना टुट्यो,” उनी भन्छिन्, “आयस्रोत भएन, महानगरले व्यापार गर्न दिएन। अहिले निकै गाह्रो भइरहेको छ। हुनेको त घर होला, बारी होला। हामी नहुनेलाई पो संकट आइलागेको छ।”

यो पनि: फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

अनु अहिले महाराजगन्जस्थित ‘पब्लिक भान्छा घर’मा काम गर्छिन्। बिहान बेलुका हातमुख जोड्ने र श्रीमानको औषधि उपचार त्यहीँबाट जुट्ने उनले बताइन्। “होटेलमा काम गरेर महिनाको ११ हजार आउँछ। त्यसैले जेनतेन चलाइरहेको छु। यो महानगरले मर्ने अवस्थामा पुर्यायो,” उनले दुखेसो पोखिन्।

अनुसँगै महाराजगन्जमा ‘नाङ्लो व्यापार’ गर्ने माया क्षेत्रीको अवस्था पनि उस्तै छ। नाङ्लोसहित मायाको पाँच हजारको सामग्री महानगरले लिएपछि उनी ‘पब्लिक भान्छा घर’मै काम गर्न पुगेकी छन्। उनी भन्छिन्, “दिनभरी बेचेर साँझ खान पुग्थ्यो, त्यही पनि महानगरले उठाइदियो।” 

६२ वर्षीय माया काठमाडौँमा एक्लो छिन्। “मेरो कोही छैन। आफू बिमारी छु, त्यही नाङ्लो साथमा थियो, त्यो पनि महानगरले लियो,” उनी भन्छिन्।

वैकल्पिक ठाउँको आशा
स्थानीय तहको चिर्वाचनअघि ललितपुर घर भएकी उषा खत्री काठमाडौँको बानेश्वरमा चटपटे र पानीपुरी बेच्थिन्। चुनावपछि महानगरबाट खटाइएका नगरप्रहरीहरूले चटपटे–पानीपुरीको सामान लिएर ठेला हटाउन निर्देशन दिए। चार वर्षदेखि ठेलाबाटै उनले घरव्यवहार धानिरहेकी थिइन्। उनी भन्छिन्, “दिउँसो ठेला राख्दिनँ। राति पनि महानगर आउँछ कि भन्ने मनमा चिसो पस्छ।”

उषा खत्री।

दिउँसो उषा घरेलु काम गर्छिन्। साँझ लुकिछिपी ठेला निकाल्छिन्। “साँझ तीन घण्टा व्यापार गर्छु, ७/८ बजेसम्म। पहिलाजस्तो व्यापार हुँदैन, गाह्रो छ,” उनी भन्छिन्, “महानगरले गरिखान दिँदैन। घरमा काम शुरू गरेको छु। घरमा पनि मालिकको प्यारो नभएपछि निकाल्दिन्छन्। गरिबको कोही हुँदैन।” 

ठेलामा मकै पोलेर जीवन निर्वाह गरिरहेकी कल्पना पोखरेल पनि खुशी छैनन्। “अब छोराछोरी पढाउन सकिँदैन होला, महानगरले व्यापार गर्न दिँदैन,” कल्पना भन्छिन्, “पहिला कालोपुलमा काँचो र पोलेको मकै बेच्थेँ। भत्केको पुलमा पनि बेचँे। अहिले महानगरको हातबाट ठेला जोगाउनै गाह्रो छ। ठेला कसरी जोगाउने होला भनेर रातभरि सोच्नुपर्ने अवस्था छ।”

यो पनि: ठेला र साइकल जफत गरेर सिधै कवाडमा, महानगर प्रहरी भन्छ- काठमाडौँमा कुनै ठाउँ दिँदैनौँ

मकै ल्याउनकै लागि उनी बिहान ३ बजे उठेर कालिमाटी पुग्छिन्। त्यसरी ल्याएको मकै र ठेला जोगाएपछि मात्र साँझ बिहानको छाक टर्छ। “व्यापारतिर ध्यान दिने हो भने महानगर कतिबेला आएर ठेला लिन्छ भन्ने डर लाग्छ, महानगरतिर ध्यान दिने हो भने व्यापार हुँदैन,” उनको गुनासो छ।

कल्पना पोखरेल।

ठेलामा व्यापार गर्नेहरूका लागि महानगरले कतै व्यवस्थापन गरिदिए राहत पुग्ने कल्पना बताउँछिन्। तर, महानगरले व्यवस्थापन गर्ला भन्ने उनलाई विश्वास छैन। “आठ वर्षदेखि ठेलामा व्यापार गर्दै आएको थिएँ। ‘यहाँ गरेर खा’ भनेर ठाउँ दिएको भए, परिवार पाल्न कठिन हुने थिएन। त्यस्तो कहाँ गर्छ र? हामीलाई लखेट्छ। कुटपिट गर्छ,” उनी भन्छिन्, “दिनभरि कमाएर बेलुका खानेलाई लखेट्नु ठीक भएन।”

साइकल तथा ठेलालाई निषेध छः महानगर
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर साइकल तथा ठेलागाडा व्यवसायीलाई निषेध अभियान चालु रहेको बताउँछन्। अभियान प्रभावकारी रूपमा बढिरहेको पनि उनको भनाइ छ।

मानन्धरले त्यस्तो व्यवसाय गरिरहेकाहरूका लागि ‘अलिअलि सोचिरहेको’ बताए। “महानगरले यस विषयमा अलिअलि सोचिरहेको छ। हाम्रो योजनामा छ। आगामी असार ६ गते महानगरकोे नीति तथा कार्यक्रम आउँदैछ, त्योबेला यो विषयमा केही आउनसक्छ।”

काठमाडौँ महानगर प्रहरी प्रमुख एसपी राजुराज पाण्डेले केही समयअघि उकालोसँग कुरा गर्दै महानगरलाई साइकल र ठेलारहित बनाउने अभियान फिर्ता नहुने बताएका थिए। ठेला र साइकलमा व्यवसाय गर्नेलाई महानगरले देख्न पनि नचाहेको उनको भनाइ थियो।

पाण्डेले भनेका थिए, “महानगरसँग साइकल र ठेलाको लागि जग्गा खाली छैन, त्यसैले हामी उनीहरूलाई जग्गा उपलब्ध गराउन सक्दैनौँ।”


सम्बन्धित सामग्री